INSEC Online

📅 २०८३ जेष्ठ २१

निषेधाज्ञा उल्लङ्घन गर्दै रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबिच झडप

ललितपुरको पुल्चोकमा कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रणा र रोकथामको लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गर्दै  स्थानीय युवाको एक समूहले रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भदौ १८ गते प्रहरीसँग झडप हुँदा सात जना प्रहरी र एक जना युवा घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका सहायक प्रवक्ता एवम् डिएसपी सन्तोस तामाङका अनुसार प्रहरीतर्फ इन्सपेक्टर रमेश कुमार श्रेष्ठको हातमा चोट लागेको छ भने प्रहरी हवल्दारहरू पोर्ने लिस मिस्त्री र सूर्य बस्नेतको टाउको र पिठ्यूँमा चोट लागेको छ ।

त्यसैगरी प्रहरी जवान कमलप्रसाद घिमिरेको हात, खुट्टा, ढाड र टाउका चोट लागेको छ भने प्रहरी जवानहरू विजयकान्त चौधरी, अशोक बन्जारा र अमृत खड्कालाई सामान्य चोट लागेको छ । झडपमा पाटन बस्ने श्यामसुन्दर श्रेष्ठ गम्भीर घाइते हुनु भएको छ ।

घाइतेहरू मध्ये प्रहरी ट्राफिक प्रहरीका जवान कमलप्रसाद घिमिरे र स्थानीय श्यामसुन्दर श्रेष्ठको पाटन अस्पतालमा उपचार भइरहेको छ । अन्य सबै घाइतेको अल्का अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भएको अल्का अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनको निशेधाज्ञा उलङ्घन गरी युवाहरूको समूहले रातो मत्स्येन्द्रनाथको रथ तान्न लाग्दा घटना भएको पत्रकार प्रशान्त मालीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका ट्राफिक जवान कमलप्रसाद घिमिरेमाथि युवाको समूहले कुटपिट गरेको थियो । उहाँको टाउको तथा पिठ्युँमा चोट लागेको छ ।

लगत्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी परीसरलाई निर्देशन दिनु भएको थियो । त्यसक्रममा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । सोही क्रममा श्यामसुन्दर श्रेष्ठ घाइते भएका थिए ।

अन्य

भिडियो