INSEC Online

📅 २०८३ जेष्ठ २१

बलपूर्वक बेपत्ता पार्ने कार्यविरूद्धको दिवसको अवसरमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

बलपूर्वक बेपत्ता पार्ने कार्यविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा धनुषाका बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले भदौ १४ गते प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतलाई भेटेर सात बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

हरेक वर्ष विश्वभर अगष्ट ३० का दिन जुनकुनै पक्षले बलपूर्वक बेपता पारिएका नागरिकहरूको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, एड्भोकेसी फोरम, थर्ड एलायान्स र ओरेक नेपालले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारका तर्फबाट अन्जुदेवी दत्तले मुख्यमन्त्री राउतलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

विगतमा भएका बलपूर्वक बेपत्ता, यातना, बलात्कार, मानवताविरूद्धको अपराध, युद्ध अपराध लगायतका मानव अधिकार एवम् मानवीय कानुनको गम्भीर उल्लङ्घनका घटनामा निष्पक्ष अनुसन्धान गरी दोषीलाई दण्डित गर्ने सन्दर्भमा राष्ट्रिय कानुनमा रहेका रिक्ततालाई सम्बोधन गर्ने गरी आवश्यक कानुन निर्माण गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
photo20200831dhanusha (2)
गम्भीर मानव अधिकार उल्लङ्घनका जिम्मेवार व्यक्तिले कुनै पनि स्वरूपको (तथ्यगत तथा कानुनमिश्रित) क्षमादानको सुविधा प्राप्त नगर्ने तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूको स्वतन्त्रता तथा विश्वसनीयतालाई सुनिश्चित गर्ने गरी सर्वोच्च अदालतका आदेशहरू तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डसमेत अनुरूप हुनेगरी तत्काल सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन लगायतको माग ध्यानाकर्षण पत्रमार्फत गरिएको छ ।
photo20200831dhanusha (3)
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री लालवावु राउतले १० वर्षे द्वन्द्वकालमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका नेपालीको हालसम्म पनि अवस्था सार्वजानिक हुन नसकेकाले यसप्रति प्रदेश २ सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।
photo20200831dhanusha (1)
यसैबिच जिल्ला युवा सञ्जाल धनुषा, इन्सेक प्रदेश २ कार्यालय, एडभोकेसी फोरम, थर्ड एलायन्स र ओरेक नेपालको संयुक्त पहलमा बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा बेपत्ता पारिएकाहरूको सम्झनामा जनकपुरधामस्थित बाह्रविगाहामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्य

भिडियो