काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा भदौ ३ गते मध्यरातिदेखि एक साताका लागि प्रमुख जिल्ला अधिकारीहरूद्वारा जारी निषेधाज्ञा एक साता थप गरेर भदौ १७ गतेसम्मलाई पुर्याइएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको भदौ २ गते बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोमा भदौ १० गते सो अवधिमा सात दिन थप गर्ने आदेश जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीहरूले छुट्टाछुट्टै आदेश जारी गरी यो अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरूरी देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले सङ्क्रामक रोग ऐन २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम भदौ १० गते राति १२ बजेदेखि भदौ १७ गते राति १२ बजेसम्मका लागि तोकिएका गतिविधिबाहेकका काम गर्न गराउन निषेध गरिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी महेशराज दाहालद्वारा जारी २० बुँदे आदेशमा काठमाडौँ जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लगाइएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले २० बुँदे र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १० बुँदे आदेश जारी गर्दै जिल्लाभर निषेधाज्ञा लागु हुने जनाइएको छ ।
तीन ओटै जिल्लामा अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
आदेश अनुसार होटल, रेष्टुरेन्ट, फुटपाथ पसल समेत बन्द हुनेछन् भने बैङ्कलगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।