छाउगोठमा जलेर घाइते हुनु भएकी दुल्लु नपा–६ की ४४ वर्षीया बसन्ती बिकको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको छ ।
कर्णाली प्रदेश अस्पतालले अप्रेशन खर्च र बेड निःशुल्क गरेको भए पनि अधिकांश औषधि बाहिरबाट किन्नु परेको र अन्य खर्च गरी ९० हजार रुपियाँ सकिएको भन्दै उहाँका पति नवराज बिकले थप रकम जुटाउन समस्या भएको इन्सेक प्रतिनिधिसँग गुनासो गर्नुभयो ।
नवराजले भन्नुभयो-‘०७७ असार ८ गते पोलिएकी पत्नीलाई गाउँमा झारफुकले निको नभएपछि साउनको तेस्रो हप्ता दुल्लू अस्पताल लिएको र त्यहाँबाट रिफर गरेपछि प्रदेश अस्पतालमा ल्याएका हौँ ।’
नवराजका अनुसार छाउगोठमा सुतेको बेला जाडो भएपछि आगो बालेर ताप्न लाग्दा बसन्तीको शरीर जलेको हो ।
उपचार गर्न ढिलो ल्याइएको कारण चिकित्सक टोलीलाई कठिन भएको डाक्टर निर्मल रसाइलीले बताउनुभयो । ‘पाकेको घाउमा किटाणु नष्ट गर्न केही दिन पर्खिनु परेकोले पछि मात्र शरीरको अर्को भागको छाला काटेर स्क्रीनग्राफी गर्यौँ ।’- डाक्टर रसाइलीले भन्नुभयो ।
उपचार गर्ने क्रममा बसन्तीलाई छारे रोग पत्ता लागेर त्यसको पनि उपचार भइरहेको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।
तीनै तहका सरकारले ०७६ पुसदेखि करिब २ महिना चलाएको छाउगोठ भत्काउने अभियानको क्रममा दैलेखमा झण्डै ३ सय छाउगोठ भत्काइए पनि सचेतना प्रभावकारी हुन नसकेक कारण अहिले पनि धेरै ठाउँमा छाउपडी प्रथा कायमै छ ।
मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा १६८ को उपदफा ४ ले महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ३ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।