कोहलपुर नपाले नगरभित्र प्रवेश र बाहिरीन रोक लगाए पश्चात डिउटीमा जाने स्वास्थ्यकर्मीहरूको आवत जावत बन्द भएपछि अधिकारकर्मीहरूको पहलमा वैशाख २३ गते सरोकारवाला निकायसँग गरेको छलफल पश्चात समस्या समाधान भएको छ ।
नेपालगञ्ज उपमनपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै कोहलपुर नगरपालिकाको आपतकालिन बैठकले नेपालगञ्ज – कोहलपुर सडक खण्डमा सम्पुर्ण सवारी साधन र आम नागरिकहरू समेतलाई आवत जावतमा रोक लगाए पश्चात नियमित रुपमा डिउटीमा आउने स्वास्थ्यकर्मीहरू प्रभावित भएको घटना सार्वजनिक भएको थियो ।
विशेष गरि भेरी अस्पताल,नेपालगञ्ज र मेडिकल कलेज कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत रोकिएपछि स्वास्थ्य सेवा प्रवाहमा समेत असर परेको थियो ।
उक्त घटनाका विषयमा सम्बन्धित अस्पतालका व्यवस्थापकहरूले सहजीकरणका लागि अनुरोध गरेपछि राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागाई, नेपाल बार एशोसियशनका बरिष्ठ उपाध्याक्ष सुनिल श्रेष्ठ , इन्सेक प्रदेश ५ का संयोजक भोला महतको पहलमा वैशाख २३ गते कोहलपुर नपाका मेयर लुटबहादुर रावत, कार्यकारी अधिकृत विरेन्द्र भारती र नेकपाका जिल्ला सचिव अशोक कोईराला, भेरी अस्पतालका डा.बद्रि चापागाई, मेडिकल कलेजकी मञ्जु कोइरालासँगको छलफछल पश्चात नेपालगञ्जबाट कोहलपुर र कोहलपुरबाट नेपालगञ्ज आउने जाने स्वास्थ्यकर्मीहरूलाई परिचय पत्र चेकजाँच गरि निर्वाध आवत जावत गर्न दिइने सहमति भएको इन्सेक प्रदेश ५ का संयोजक भोला महतले बताउनु भयो ।
पछिल्लो समय बाँके भित्र रहेका स्थानीयहरूले जनप्रतिनिधिहरूको निर्देशनमा ठाँउ / ठाँउमा बास, काठ र डोरी लगाएर आवत जावतमा रोक लगाएका छन । जसका कारण अति आवश्यकिय एम्बुलेन्स, दमकल, प्रहरीका साधन आदी समेतलाई आवत जावतमा असहज भएको छ ।