हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको हत्या आरोपमा सोही ठाउँका २० वर्षीय टिल्का भनिने चन्द्रशेखर मण्डल, १९ वर्षीय सुजितकुमार मुखिया र १९ वर्षीय प्याप्या भनिने कृष्णकुमार मुखियालाई वैशाख १७ गते सप्तरी प्रहरीले गिरफ्तार गरेको छ ।
अभद्र व्यवहारमा कारवाही भइरहेका आरोपितहरूलाई वैशाख १७ गते हत्या आरोपमा जिल्ला अदालतबाट १५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीले जनाएको छ ।
हत्याका आरोपितहरूमाथि कारवाही माग गर्दै मृतकका बुवा जानो साह स्वर्णकारले वैशाख १७ गते दिनु भएको उजुरी दर्ता गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिरदेखि साढे एक किलोमिटर दक्षिण कोशी पश्चिमी तटबन्धको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा हत्या गरेर मिल्काइएको अवस्थामा वैशाख १ गते सुरजको शव फेला परेको थियो । शवको पोस्टमार्टम धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख १ गते भएको छ ।
आरोपितहरूले प्रहरीसँगको प्रारम्भिक बयानमा चैत ३० गते राति चोरी गरेर नयाँ वर्षमा रमाइलो गर्ने योजना अनरूप भेला भएका चार जना साथीहरूले गाँजा र सोनपिच नामक सुलेसन (नशा) सेवन गरी बेहोसी अवस्थामा लात, फलामको कटर र खुकुरीले प्रहार गरेर सुरजको हत्या गरेको बताएका छन् ।
ईलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार हत्या स्वीकारेका आरोपितहरूले देखाएको स्थानमा गई हँसनीया दहमा मिल्काएको खुकुरी, आधा जलेको बोरा, डोरी रूपमा प्रयोग गरेको जुत्ताको लेस, झुग्गीमा लुकाएको ताला फुटाउने कटर फेला पारिएको छ ।
आपसमा मिल्ने साथीहरूका बीच पहिले कुनै मनमुटाव र झगडा नभएको, सोही बेला नशाको बेहोसीमा उठेको रिस थाम्न नसकी कुटपिट गरेर हत्या गरेको देखिएको भन्दै डिएसपी मिश्रले लागु औषधकै कारण हत्या भएको बताउनु भयो ।