INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्क्रामक रोग सम्बन्धी कानुन बनाउन संसदीय समितिको निर्देशन

सङ्घीय संसदको प्रत्यायोेजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सङ्क्रामक रोग सम्बन्धी विषयमा सरकारले गर्ने काम कारबाही सहज बनाउन बन्दाबन्दीको समयमा नागरिकले निर्वाह गर्नुपर्ने विषयहरू समेटिएको कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ ।

वैशाख १६ गते बसेको समिति बैठकले सङ्क्रामक कानुनन अभावले सङ्क्रामक रोग निवारणमा समस्या देखिएकोले यस्तो निर्देशन दिएको हो ।

समितिले नागरिकको जीवन रक्षाको लागि उपचारको प्रभावकारी व्यवस्था गर्न, क्वारेण्टाइन स्थल तय गर्न, उपचार सामग्री पर्याप्त व्यवस्था गर्न, चिकित्सकको मनोबल उकास्न, श्रमजिविहरूको राहत व्यवस्था गर्न, बजार अनुगमन र आवागमन व्यवस्थित गर्न समेत सरकारलाई सुझाव दिएको सभापति रामनारायण बिडारीले जानकारी दिनुभयो ।

यस्तै सरकारले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको प्रयास सकरात्मक रहेको पनि जनाएको छ । त्यस्तै समितिको कामकारबाही र परिचय समेटिएको पुस्तिका तयार गर्ने, विभिन्न मन्त्रालयबाट प्राप्त हुन आएका प्रत्यायोजित विधायनहरूको अध्ययन कार्यलाई अघि बढाउने निर्णय गरेको छ । समिति सो ६२ औं बैठकले विभिन्न उपसमिति तथा अध्ययन कार्यदलहरू हेरफेर समेत गरेको छ ।

राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन अध्ययन कार्यदलका संयोजकमा सभापति बिडारी तथा सदस्यहरूमा चन्द्रबहादुर खड्का, सुमित्रा विसी र हरिराम चौधरी, सरकारी आश्वासन अध्ययन उपसमितिको संयोजकमा भगवती न्यौपाने तथा सदस्यहरूमा गोपाल भट्टराई, बिना पोखरेल, शान्तिकुमारी अधिकारी जिसी रहनुभएको छ ।

यस्तै, प्रत्यायोजित व्यवस्थापन अध्ययन उपसमितिको संयोजकमा राधेश्याम अधिकारी सदस्यहरूमा अगमप्रसाद वान्तवा , तुलसाकुमारी दाहाल, नरपति लुहार र नैनकला ओझा रहनुभएको छ । केही महिना अघि केही समितिमा केही सदस्यहरूको हरेफेर भएपछि उपसमितिहरू पनि हेरफेर गरिएको हो । यसअघि सरकारी आश्वासन अध्ययन उपसमितिको संयोजकमा बलराम बास्कोटा रहनुभएको थियो

यता कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रण गर्न सङ्क्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै सरोकारवालाले अर्को कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सो छलफलमा सभापति बिडारीले तत्काल सङ्क्रामक रोग ऐन संशोधन गर्नु उचित हुने तर्क गर्नु भयो । उहाँले सरकारलाई यस सम्बन्धी अध्यादेश ल्याउन सुझाव समेत दिनु भएको छ ।

सङ्क्रामक रोग ऐन अनुसार लकडाउन उल्लङ्घन गर्नेलाई तीन महिना कैद वा १ सय रुपियाँ जरिवाना वा दुबै सजाय हुन्छ । प्राप्त आदेशको पालना नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा ६ महिनासम्म कैद हुन सक्ने व्यवस्था छ ।

सङ्क्रामक रोग ऐनले नियम र निर्देशिका बनाउने कल्पना नगरेको बताइन्छ । सामाजिक दुरी, नागरिक सचेतना जस्ता विषयलाई समेत यो ऐनले कुनै सम्बोधन गरेको छैन् ।

अन्य

भिडियो