दशरथचन्द नगरपालिका– ४ स्थित जगन्नाथ बहुमुखि क्याम्पसमा निर्माण गरिएको एकिकृत क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो आएपछि इन्सेक प्रतिनिधिलगायत पत्रकारहरुको सयुक्त टोलीले वैशाख १० गते र वैशाख ११ गते इन्सेक जिल्ला प्रतिनिधि सदस्य रहेको मानव अधिकार अवस्था अनुगमन टोलीले क्वारेन्टाइनको अनुगमन गरेका छन् ।
क्वारेन्टाइनको डियूटीमा खटिएका कर्मचारीले राती ८ बजे नै कोठामा ताला लगाएर सुत्ने गरेका कारण आफूहरु दिसापिसावसमेत कोठाभित्रै गर्न बाध्य भएको भन्दै क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुले इन्सेक प्रतिनिधिलाई खबर गरेपछि वैशाख १० गते क्वारेन्टाइनको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुसँग सामाजिक दुरी कायम गरी उनीहरुका समस्याका बारेमा जानकारी लिनुकासाथै क्वारेन्टाइन व्यवस्थापनको अवस्थाका बारेमा अवलोकनसमेत गरेको थियो ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले रातीको समयमा आफूहरु बस्ने कोठामा ताल लगाएर कोठा भित्रै दिसापिसाव गर्न बाध्य पारिएको अनुगमन टोलीसँग गुनासो गरेका थिए ।
क्वारेन्टाइन अनुगमनपश्चात इन्सेक प्रतिनिधि र पत्रकारको टोलीले क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुको गुनासो सुनाउँदै क्वारेन्टाइन सुधार तथा व्यवस्थापनका लागि नगरपालिका र प्रहरी प्रशासनलाई सुझाव दिएको थियो ।
क्वारेन्टाइनमा राखिएका व्यक्तिहरू यसभन्दा अगाडी भग्ने गरेका कारण रातीको समयमा कोठामा ताला लगाउने गरिएको भएपनि आगामीदिनमा कोठामा ताला लगाउन नदिने दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले अनुगमन टोलीसँग प्रतिवद्धता जनाउनु भएको थियो ।
इन्सेकलगायत मानव अधिकारकर्मीको टोलीले वैशाख १० गते क्वारेन्टाइन अनुगमनपश्चात वैशाख ११ गते मानव अधिकार अवस्था अनुगमन टोलीले पुनः अनुगमन गर्दा क्वारेन्टाइनमा सुधार भएको मानव अधिकार अवस्था अनुगमन समितिका संयोजक प्रेम भाटले बताउनुु भयो ।
इन्सेक प्रतिनिधिलगायत पत्रकारहरुको सुझावपछि क्वारेन्टाइनमा सुधार आएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘व्यवस्थापनमा केही कमजोरीहरु थिए । तपाईहरुको अनुगमनपछि अहिले सुधारिएको छ । मापदण्ड अनुसारको बनाउन अझै नगरपालिकाले थुप्रै कुराहरु सुधार गर्नु पर्ने छ । मैले पनि क्वारेन्टाइनको वैशाख ११ गते अनुगमन गर्दा सुधार भएको पाए ।’
दशरथचन्द नगरपाकिालका विभिन्न वडाबाट ल्याइएका व्यक्तिहरुले आफूहरुलाई असुरक्षित रुपमा क्वारेन्टाइनमा राखिएको गुनासो गरेपछि साहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पाँच सदस्यीय छानविन समितिसमेत गठन गरिएको छ ।
दशरथचन्द नगरपालिका– ४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसमा निर्माण गरिएको एकिकृत क्वारेन्टाइनमा नगरपालिकाका विभिन्न वडाका चार जना महिलासहित १७ जनालाई राखिएको छ ।
