INSEC Online

📅 २०८३ जेष्ठ २१

लकडाउनका बेला निस्किएका बालकको हत्या

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको अपरिचित व्यक्तिले हत्या गरेको अवस्थामा वैशाख १ गते शव फेला परेको छ ।

‘लकडाउन’मा चैत ३० गते राति खाना खाएर घर बाहिर निस्केका साहको हत्या भएको भन्दै उहाँको बुवा ज्ञानु भनिने जानु साह स्वर्णकारले ईलाका प्रहरी कार्यालय कञ्चनरुपमा वैशख १ गते उजुरी दिनु भएको छ ।

टाउकोमा फलामको गह्रौ वस्तुले प्रहार गरेको चोटपटक र तीन÷चार ठाउँमा काटेर हत्या गरेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो । डिएपी मिश्रका अनुसार भारदहस्थित कंकालिनी मन्दिरदेखि साढे एक किलोमिटर दक्षिण कोशी पश्चिमी तटबन्ध नजिकको झ्याङ्गमा हत्या गरेर मिल्काइएको अवस्थामा सुरजको शव फेला परेको हो ।

घटनास्थलमा फेला परेको रगत लागेको मास्क मृतकको र अर्को सफा रहेको मास्क अभियुक्तको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा रगतका छिटाहरु छन् ।

घटना अनुसन्धानका लागि धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढबाट आएको तालिम प्राप्त कुकुरले कोशी बाँधको बाटो हुँदै दुई किलोमिटरको दुरीमा रहेको भलुवा गाउँको बाटो लागेको र गाउँको चौबाटोमा पुगेर ट्रयाक छाडेको डिएसपी मिश्रले बताउनु भयो ।

शवलाई पोस्टमार्टमका लागि वैशख १ गते धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

अन्य

भिडियो