INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरससम्बन्धी प्रदेश २ को अवस्था (वैशाख १ गते)

प्रदेश २ अन्तर्गत पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका-२ मा रहेको मस्जिदमा बस्दै आएका तीन जना व्यक्तिहरूमा कोरोना सङ्क्रमण पाइएपछि उक्त क्षेत्रमा सुरक्षाकर्मीले शील गरी आवश्यक स्वास्थ्य जाँच र सुरक्षाको सम्पूर्ण विधिहरू कार्यान्वयन गरिएको छ । जसअनुरूप कन्ट्राक्ट ट्रेसिङ गरिएको ९४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका सबै जनाको स्वाब सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी, कन्ट्राक्ट ट्रेसिङ गरिएका व्यक्तिहरूको विस्तृत विवरण लिने कार्य भइरहेको छ । प्रदेश २ सरकार सामाजिक विकास मन्त्रालयले ०७७ वैशाख १ गते गरेको मिडिया ब्रिफिङ्मार्फत उक्त जानकारी दिएको हो ।

यस प्रदेशमा पहिलो पटक बीरगञ्जमा कोरोना सङ्क्रमण देखिएपछि उक्त क्षेत्रमा कोरोनाको तिव्र जाँच गर्नुपर्ने आवश्यकतालाई महसुस गरी बीरगञ्जमा रहेको नारायणी अस्पतालमा उच्च क्षमताको पिसिआर मेसिन छिट्टै जडान गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैबीच, रौतहट जिल्लामा ०७७ वैशाख १ गते १९ वर्षीय एक युवालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । इशनाथ नगरपालिका-५ मोतिपुरका ती युवा लकडाउनको बेला भारतको नयाँदिल्लीबाट चैत १६ गते नेपाल आएको जनाइएको छ । ती युवकसँगै प्रदेशमा हालसम्म चार जनाको रिपोर्ट पोजेटिभ आएपछि कोरोना सङ्क्रमित सङ्ख्या चार पुगेको छ ।

साथै, कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला जिल्लामा भएको प्रयास तथा लकडाउन सम्बन्धमा इन्सेक जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था यसप्रकार छ ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अुनसार जिल्लामा पहिलो पटक र्‍यापीड डाइग्नोस्टिक किटमार्फत गरिएको ७३ जनाको कोरोना परीक्षणको परिणाम नेगेटिभ आएको छ । राजविराज, कञ्चनरुप, बोदेबर्साइन, खडक, हनुमानगर कंकालिनी नगरपालिका, अग्नीसाइर कृष्णसवरण, बलान विहुल, तिलाठी कोइलाडी र महादेवा गाउँपालिकामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

चार ओटा टोली बनाई वैशाख १ गतेदेखि विभिन्न क्वारेन्टाइनमा परीक्षणका लागि आठ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ । हाल सप्तरीको विभिन्न ३२ ओटा क्वारेन्टाइनमा पाँच महिलासहित दुई सय २५ जना छन् । यो अवधिमा क्वारेन्टाइनबाट घर फर्किसकेका २ सय ३८ जनाको समेत सम्बन्धित स्थानीय तहमै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गर्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो ।

निमित्त प्रमुख यादवका अनुसार १४ दिन पुगेपछि क्वारेन्टाइनमा निगरानीमा बसेका व्यक्तिहरूको परीक्षण गरिने छ । १४ दिन क्वारेन्टाइनमा बसेका उनीहरूलाई थप सात दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण पश्चात मात्र घर पठाइने छ । परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएमा बिरामीलाई आइसोलेशनमा राखी पीसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँज्न धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने छ ।

सरकारले ‘र्‍यापीड टेष्ट’ विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना भाइरस जाँच गर्ने निर्णय गरेसँगै चैत ३० गते सप्तरीलाई ८ सय ६० किटहरू उपलब्ध गराएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई १ सय ६०, कञ्चनरूप स्वास्थ्य चौकीलाई १ सय र स्वास्थ्य कार्यालय सप्तरीलाई ६ सय थान किट उपलब्ध भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । किट उपलब्ध हुनासाथ परीक्षण सुरु गरिएको जनाउँदै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासले मलेरियाको परीक्षण पनि सँगै भइरहेको बताउनु भयो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. दासले क्वारेन्टाइनहरूमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर यो विधिबाट परीक्षण सुरु भएपछि रिपोर्ट छिटो आई उपचार सहज हुने विश्वास व्यक्त गर्नु भयो ।

सप्तरीमा रहेको तीन ओटा क्वारेन्टाइनमा वैशाख १ गते पाँच जना थप भएका छन् । तिलाठी कोइलाडी गाउँपालिका-८ स्थित लक्ष्मी बल्लभ नरसिंह माविमा एक, सुरुङ्गा नपा-५ स्थित मसिलाल जनता मावि र छिन्नमस्ता गाउँपालिका-३ स्थित चौरसिया धर्मशालाको क्वारेन्टाइनमा दुई/दुई जना पुरुष थप भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

क्वारेन्टाइनमा पाँच जना पुरुष थप भएपछि क्वारेन्टाइनहरूमा बस्नेको सङ्ख्या बढेर पाँच महिला र २ सय २० पुरुष भएका छन् । सप्तरीको १८ ओटा स्थानीय तहले सञ्चालन गरेको ३२ ओटा क्वारेन्टाइनमा ५ सय ८७ ओटा बेड रहेको छ ।

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लामा वैशाख १ गतेसम्म १२ महिला र १ सय २० जना पुरुष क्वारेन्टाइनमा बसिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताउनु भएको छ । त्यसैगरी होम क्वारेन्टाइनमा पाँच महिलासहित ८९ जना निगरानीमा रहेको उहाँले बताउनु भयो ।

सिरहा नगरपालिका-२० मा लकडाउन उल्लङ्घन गर्दै नेपाल प्रवेश गर्न खोज्ने भारतीय र सशस्त्र प्रहरी बीच वैशाख १ गते दिउँसो झडप भएको छ । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजगर गरी सरकारले गरेको लकडाउन उल्लङ्घन गरी नेपाल प्रवेश गर्न खोज्ने भारतको जिल्ला मधुवनी थाना लदनीया महुलिया घर भएका राजेन्द्र कुमार यादवले पाँच प्याकेट ल्याक्टोजिन दुध लिएर नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीका जवानले नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाएको र पछि स्थानीय मोहन कुमार यादवको नेतृत्वमा आएका करिब २५ जनाको समूहले भारत र नेपालको लकडाउनलाई उल्लङ्घन गरी डिउटीमा रहेका सशस्त्र प्रहरी जवानहरूलाई ढुङ्गामुढा गरी आक्रमण गर्दा झडप भएको सशस्त्र प्रहरी बल नं. ७ हेक्वाका एसपी प्रविन कँडेलले बताउनु भयो । झडपमा सशस्त्र प्रहरी जवान राजन चौधरीको टाउकोमा चोट लागेको छ । त्यसैगरी, झडपमा मोहनकुमार यादवसमेत घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको एसपी कँडेलले बताउनु भयो ।

धनगढीमाई नगरपालिकाको १४ ओटै वडामा वडा कार्यलयको समन्वयमा प्रति परिवार चामल १५ केजी, दाल एक केजी, नुन एक केजी, खानेतेल एक लिटर, हात धुने साबुन दुई ओटा, मास्क दुई ओटाको दरले प्रदान गरिएको नगर प्रमुख हरिनायारण चौधरीले बताउनु भयो ।  नगरपालिकाले वडा- १ का २ सय ५०, वडा- २ का १ सय ५७, वडा- ३ का ५ सय १२ , वडा- ४ का १ सय ९०, वडा- ५ का १ सय ५०, वडा- ६ का १ सय ९५, वडा- ७ का १ सय १३, वडा- ८ का १ सय ५, वडा- ९ का २ सय २८, वडा- १० का २ सय ८०, वडा- ११ का ३ सय १५, वडा- १२ का २ सय ७७, वडा- १३ का १ सय ४५ र वडा- १४ का १ सय ७ परिवारलाई राहत वितरण जारी रहेको जनाइएको छ  ।

इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार विश्वव्यापी रूपमा फैलिदै गरेको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनमा परेर समस्यामा परेका गरिब, विपन्न, दलित तथा मजदुरहरूलाई राहत वितरण कार्य वैशाख १ गते समेत जारी रहेको छ ।

जनकपुरधाम उमनपा-९ स्थित महिला अधिकारकर्मी शिला झाको समन्वयमा ५९ घरपरिवारलाई राहत प्रदान गरिएको छ । चामल, दाल, नुन, आलु, स्वाविन र तेल लगायतको खाद्य सामग्री राहत स्वरूप प्रदान गरिएको महिला मानव अधिकार रक्षक सञ्जाल धनुषाकी अध्यक्ष झाले बताउनु भयो ।

असहाय संरक्षण मञ्च जनकपुरधामको तर्फबाट जनकपुरधाम उमनपा-१ स्थित पुलचौकमा २५ जना र वडा- ७ स्थित जानकीनगरमा २५ घरपरिवार गरी ५० जनालाई राहत सामग्री वितरण गरिएको छ । मञ्चका अध्यक्ष समाजसेवी वैद्यनाथ साह, धर्मेन्द्र साह र बाल अधिकारकर्मी आशुतोष झा लगायतको सहभागितामा चामल, दाल, आलु, नुन, तेल र स्वाविन लगायतको खाद्य सामग्री प्रदान गरिएको हो ।

जनकपुरधाम उमनपा-१६ स्थित कपिलेश्वरमा राष्ट्रिय युवा क्लव सञ्जाल र न्यू भिजन संस्थाले आयोजना गर्दै आएको निःशुल्क भोजन शिविरलाई वैशाख १ गते पनि निरन्तरता दिएको न्यू भिजनका अध्यक्ष रञ्जित यादवले बताउनु भयो । दैनिक साँझ र बिहान भात, दाल र तरकारी लगायतको खाना पकाएर गरिब, विपन्न तथा मजदुरहरूलाई वितरण गर्दै आएको राष्ट्रिय युवा क्लव सञ्जालका अभियन्ता रक्की साहले जानकारी दिनु भयो ।

क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित महेन्द्रनगरमा नेकपाका नेता महेन्द्र यादवले आफ्नो लगानीमा निःशुल्क भोजन कार्यलाई वैशाख १ गते समेत निरन्तरता दिएका छन् । नेकपाका नेता यादवले १० दिनदेखि बिहान र बेलुका खाना खुवाउँदै आएका छन् । दैनिक २ सय भन्दा बढी जनाले निःशुल्क भोजनमा खाना खाँदै आएको नेता यादवले बताउनु भयो ।

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार महोत्तरीमा क्वारेन्टाइन सङ्ख्या १७ रहेकोमा ३ सय ३० बेड पुर्‍याइएको छ । क्वारेन्टाइन हालसम्म ८३ जना रहेका छन् भने ८ सय १७ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि सरकारले जारी राखेको लकडाउनको अवधि तेस्रो साता कट्न लागेपछि दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने मजदुर, गरिब तथा विपन्न समुदायहरूको जनजीवन कष्टकर बन्दै गएको छ । त्यसमा पनि यस्ता समुदायका लागि सरकारले वितरण गर्ने राहतमा समेत ढिलाई हुँदा कतिपय यस्ता गरिब विपन्न वर्गहरू भोकभोकै बस्न बाध्य छन् ।

भँगहा, औरही, गौशला, लोहारपट्टी र रामगोपालपुर नगरपालिकाहरुले राहत वितरणको कार्य अन्तिम चरणमा रहेको जनाएको छ भने जलेश्वर नगरपालिका, वलवा, मनरासिस्वा, मठिहानी र वर्दिवास नगरपालिकाले वितरण गर्ने तयारीमा रहेको जनाएको छ ।

नगरपालिका बाहेक रहेका पाँच ओटा गाउँपालिकाहरू एकडारा, पिपरा, महोत्तरी, सोनमा, र सम्सीमा समेत राहत वितरणको कार्य तयारीको अवस्थामा रहेको महोत्तरी जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले बताउनु भयो । उहाँका अनुसार राहत वितरण प्रक्रियालाई एकद्वार प्रणालीबाट लागु गर्नुको साथै पीडितहरू कोही पनि नछुटुन, यसका लागि पालिकाहरू सचेत हुनुपर्ने समन्वय भइरहेको छ । राहत वितरणमा ढिलाइ भइरहेकोले सबैभन्दा बढी मुसहर र डोम समुदायलाई छाँक टार्न ठूलो समस्या भइरहेकोले यसतर्फ स्थानीय तहहरूले ध्यान दिनुपर्ने मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका अध्यक्ष समेत रहेका इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहले बताउँदै राहतमा ढिलाई भए यस्ता दैनिक ज्यालामजदुरी गर्ने समुदायको अवस्था कष्टकर हुन सक्ने बताउनु भयो ।

पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले पिपरा गाउँपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा १ लाख रुपियाँ सहयोग गर्नु भएको छ । चैत ३० गते विपद् व्यवस्थापन समितिको बैठकमा अध्यक्ष चौधरीले विपद् व्यवस्थापन समितिका अध्यक्ष अरुण ठाकुरलाई उहाँले निजी तर्फबाट सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भयो । बैठकमा अध्यक्ष चौधरीले सरकारले घोषणा गरेको लकडाउनको कारण धेरै नै अवस्था नियन्त्रणमा रहेको भन्दै गाउँपालिकाको विभिन्न वडाहरूमा राहत वितरण कार्य जारी रहेको बताउनु भयो । गाउँपालिकामा ४ हजार ५ सय गरीब असहाय रहेकोमा वैशाख २ गतेदेखि पहिलो चरणमा २८ सय घरपरिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष चौधरीले बताउनु भएको छ ।

प्रदेश २ सरकारले १० लाख र यस गाउँपालिकाबाट २५ लाख रुपियाँ राहतको लागि सहयोग गरेका छन् । हालसम्म सो गाउँपालिकामा ३९ हजार मास्क र साबुन वितरण भइसकेको जनाएको छ ।

इन्सेक सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार जिल्लामा ७८ पुरुष र चार जना महिला गरी ८२ जनालाई क्वारेन्टाइमा राखिएको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले जानकारी दिनु भएको छ । जिल्लाका स्थानीय तहमा कूल ३ सय ८६ क्वारेनटाइन बेड रहेको छ ।

धनकौल गाउँपालिकाका सीमा नाका र दक्षिण भारतको जिल्ला मेजरगञ्ज तर्फबाट वैशाख १ गते बिहान ४ बजेतिर धनकौल गाउँपालिकाका बोर्डरबाट आएको एक जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका धनकौल गाउँपालिकाकाकै रहेकाले दिउँसो २ बजे धनकौल गाउँपालिकामै रहेको कोरेन्टाइनमा राखिएको जिल्ला समन्वय समितिका सभापति चौधरीले जानकारी दिनु भएको छ ।

इन्सेक रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्लामा ०७७ वैशाख १ गते १९ वर्षीय एक युवालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । इशनाथ नगरपालिका-५ मोतिपुरका ती युवा लकडाउनको बेला भारतको नयाँदिल्लीबाट चैत १६ गते नेपाल आएको बुझिएको छ । घर आउनासाथ गाउँलेहरूले क्वारेन्टाइनमा राखेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो । इशनाथ नगरपालिकाको सीमा भारतसँग जोडिएको छ । इशनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले ती युवक गत चैत १६ गते दिल्लीबाट नेपाल आएको जानकारी पाएपछि चैत १७ गते नै इशनाथ नगरपालिका-५ मा रहेको औरैया मावि क्वारेन्टाइनमा राखिएको जानकारी दिनु भयो । चैत २९ गते स्वास्थ्यकर्मीको टोली आएर नमुना परीक्षण गर्न काठमाडौँ पठाइएको थियो । युवक भारतको मोतिहारी जिल्लासम्म बसमा आएका थिए । त्यसपछि उनी हिँडेरै घर आइपुगेका थिए । ती युवक दिल्लीमा मजदुरी काम गर्दै आएका थिए । अहिले पनि सङ्क्रमित युवक क्वारेन्टाइनमै रहेका छन् ।

रौतहट जिल्लामा एउटा पनि आइसोलेशन बेड नभएकाले सङ्क्रमित युवकको उपचार जिल्लामा हुन नसक्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार उनलाई नजिकैको कोभिड अस्पतालमा लैजाने तयारी भइरहेको छ । कोभिड १९ को उपचारका लागि जनशक्ति र उपकरण नभएकै कारण जिल्लामा उपचार हुन नसक्ने रौतहटका जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण साहले पनि बताउनु भयो । प्रदेश २ मा जनकपुर र बीरगञ्जको नारायणी अस्पताललाई कोभिड अस्पताल तोकेको छ ।

चन्द्रपुर नगरपालिका लगायतका नगरपालिकाका वडाहरूले नेपाल सरकारले तोकेको मापदण्ड अनुरूप २०७७ वैशाख ३ गतेभित्र पहिलो चरणको राहत विरतण गरिसक्नु पर्ने निर्णय गरेको छ । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा वैशाख १ गते बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव चेतराज बरालको संयोजकत्वमा बसेको बैठकमा प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना, चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, नेकपा जिल्ला इन्चार्ज युवराज भट्टराई, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देल, सशस्त प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेत, प्रहरी निरीक्षक नितेशकुमार सिंह, गढिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, चन्द्रपुर नगर उद्योग बाणिज्य सङ्घका अध्यक्ष सुनिल जैसवाल र महासचिव सुनिल साह लगायतको उपस्थिति रहेको थियो ।

बैठकले रौतहटको पूर्व-पश्चिम राजमार्गको दुवै नाकामा संयुक्त सुरक्षाकर्मी परिचालन गरी थप कडाई गर्ने भएको छ । पूर्वमा बागमति र पश्चिममा धन्सारमा सुरक्षाकर्मी परिचालन गरी पास नलिएका सवारी साधन चल्न नदिने र पैदल यात्रुलाई पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । बैठकले तरकारी तथा फलफुल वितरणका लागि उद्योग बाणिज्य सङ्घको सिफारिसमा स्थानीय स्तरमा उत्पादित तरकारी तथा कोल्डस्टोरमा रहेका तरकारी र फलफुल विक्री वितरण गर्न सीमित सङ्ख्यामा होमडेलिभरी गर्ने गरी सवारी अनुमति जारी गर्ने र सोको टेलिफोन नम्बर सहित प्रचार प्रसार स्थानीय एफएम तथा सञ्चार माध्यमबाट गर्ने निर्णय भएको छ ।

इन्सेक बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार महागढीमाई नगरपालिका-६ बबुआइनमा रहेको क्वारेन्टाइनमा ११ जना बसिरहेको नगर प्रमुख उपेन्द्र यादवले बताउनु भएको छ । नेपालभित्र र बाहिरबाट आउने नागरिक क्वरेन्टाइनमा बस्न नमानेकाले मापदण्डअनुसार बस्न र खानाको व्यस्था मिलाएको र प्रत्येका दिन क्वरेन्टाइनमा बसेकालाई ५ सय रुपियाँका दरले भत्ता दिने गरेकाले क्वारेन्टाइनमा राख्न सजिलो भएको उहँले बताउनु भयो ।

कलैया उपमहानगरपालिका-१३ बलिरामपुर र फुलवरीयामा वडा कार्यालयले चैत २६ गते ४ सय परिवारलाई वितरण गरेको रहरको दाल खानै नसकिने गुणस्तरहीन भएको भन्दै सोही वडाका २१ वर्षीय प्रमेश्वरप्रसाद यादव लगायत १६ जनाले २०७७ वैशाख १ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले यादव कोल्ड स्टोर शील गरी नमुना परीक्षण गर्न पठाएकाले नमुना परीक्षण प्रतिवेदन आएपछि मात्र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने बताउनु भयो । वडाध्यक्ष राजनप्रसाद कुर्मीले राहत सामग्री राम्रो वितरण गरेको र दाल मात्र खान योग्य छैन भनी जानकारी आएकाले सेवाग्राहीको घरमा गएर निरीक्षण गरी खान अयोग्य भए राम्रो दाल दिने व्यवस्था मिलाउने बताउनु भयो । जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर स्थानीय परमेश्वरप्रसाद यादव इन्सेकको कार्यालयमा पहल गरिदिनका लागि आउनु भएको थियो ।

नेशनल मेडिकल कलेज बीरगञ्जले र्इमर्जेन्सिमा उपचार भइरहेका बिरामीलाई कोरोना लागेको आशङ्का गरी उपचार रोकेर रिफर गरेपछि बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार गर्न जाँदा बीच बाटोमा चैत २६ गते मृत्यु भएका महागढीमाई नगरपालिका-४ दहियारका १७ वर्षीय निरञ्जन सहनी केवटको रिपोर्ट नेगेटिभ आएको छ । सोही दिन थ्रोट स्वाब कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको ल्याबमा परीक्षण गर्न पठाएकोमा चैत २९ गते कोरोना पुष्टी नभएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदन उपाध्यायले ०७७ वैशाख १ गते जानकारी दिएको पीडित परिवारका बालकन्हैया सहनी केवटले बताउनु भयो । चैत २५ गते नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार गराउँदा नेशनल मेडिकल कलेज प्रशासनले कोरोनाको लक्षण मिलेको अनुमान गरी दिउँसो केवटलाई रिफर गरेको थियो । बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार गर्न जाँदा बीच बाटोमा चैत २६ गते मृत्यु भएको पीडित परिवारले जनाएको थियो ।

जितपुरसिमरा उपमहानगरपालिका-१८ बडहर्वामा ३ सय ३० विपन्न परिवारका लागि राहत वितरण गरेको वडाध्यक्ष अर्जुनप्रसाद दाहालले बताउनु भएको छ । उहाँले राहतका लागि वडाको परास, लामिडाँडा, कुस्माडी, विरेन्द्रनगरका दलित बस्ती र बडहर्वाका अतिविपन्नको पहिचान गरी राहत वितरण गरेको बताउनु भयो । उहाँले प्रतिपरिवार ३० केजी चामल, दाल दुई केजी, नुन एक केजी र खानेतेल एक लिटर वितरण गरेको बताउनु भयो । प्रमुख दलका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिहरूको वडा स्तरीय समिति बनाएर राहत वितरण गरेको दाहालले बताउनु भयो ।

करैयामाई गाउँपालिका-८ इटरहमा अति विपन्न, गरिब र दलित २ सय ३९ परिवारलाई राहत सामग्री वितरण गरेको वडा अध्यक्ष सुरेन्द्र साहले बताउनु भएको छ । वडाध्यक्ष साह इन्सेक बाराको सहजकर्ता हुन् । राहत वितरणमा गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामी, उपाध्यक्ष चित्रलेखा चौधरी र प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महतोले सहजिकरण गरी वितरण गर्न सहज भएको साहले बताउनु भयो ।

इन्सेक पर्सा जिल्ला प्रतिनिधि केसि लामिछानेका अनुसार कोरोना सङ्क्रमित तीन भारतीय नागरिकाको सम्पर्कमा आएका ५९ जनामा गरिएको र्‍यापीड टेष्टको रिपोर्ट नेगेटिभ आएको छ । चैत ३० गते उनीहरूमा गरिएको र्‍यापीड टेष्टको रिपोर्ट नेगेटिभ आएको हो । ०७७ वैशाख १ गते समेत टेष्ट भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो ।

सङ्क्रमितहरूको नजिकको सम्पर्कमा रहेकाहरूको थ्रोट स्वाब परीक्षणका लागि पठाउने तयारी भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदनकुमार उपध्यायले बताउनु भयो । वैशाख १ गते पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाँ सहित उनको परिवारका १८ जना सदस्य थ्रोट स्वाब परीक्षणका लागि स्वास्थ्यकर्मीले उहाँको घरमै गएर सङ्कलन गरेका छन् । बीरगञ्जमा तीन जना भारतीय नागरिक मुस्लिम समुदायका जामातीमा कोरोना भाइरसको सङ्क्रमण फेला परेपछि उनीहरूको सम्पर्कमा रहेको आशङ्कामा मियाँ र उहाँको परिवारको पनि थ्रोट स्वाब परीक्षणका लागि लिइएको हो ।

तीन जना सङ्क्रमित भारतीय नागरिकाको नजिकको सम्पर्कमा रहेका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । चैत ३० गते र वैशाख १ गते चार गरी आठ जनालाई नियन्त्रणलाई लिएर क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी गङ्गा पन्तले जानकारी दिनु भयो ।

बीरगञ्जमा उच्च सतर्कता अपनाइएको छ । सङ्क्रमित भेटिएको क्षेत्रलाई शील गरिएको छ । थप सुरक्षाकर्मी परिचालन गरेर लकडाउन थप कडा बनाइएको छ । औषधि पसल बाहेक अन्य पसल बन्द गराइएको छ । अत्यन्त जरूरी काममा बाहेक अन्य काममा घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

यसैबीच, बीरगञ्जमा कोरोना सङ्क्रमितको उपचार गर्ने दोस्रो तहको कोभिड अस्पताल तत्काल बन्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेर नरायणी अस्पताललाई पत्राचार गरेको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदनकुमार उपाध्यायले पनि पत्रको प्रतिक्षामा रहेको जानकारी दिनु भयो । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले यसको विषयमा सम्बन्धित मन्त्रालयका सचिवसँग कुराकानी गरेपछि सङ्घ सरकार अस्पताल खोल्ने निर्णयमा पुगेको हो ।

अन्य

भिडियो