INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरससम्बन्धी सुदूरपश्चिम प्रदेशको अवस्था (वैशाख १ गते)

इन्सेक सुदूरपश्चिम प्रदेशअन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले वैशाख १ गते गते पठाउनुभएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेशअन्तर्गत भइरहेका कार्यहरू र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण यसप्रकार रहेको छ ।

इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार कोराना भाइरस महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीयस्तरका स्वास्थ्यकर्मीहरूको संयुक्त टोलीले जिल्लास्थित तयार गरिएका तीन ओटा क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका १ सय ४५ जनाको थ्रोट स्वाब नमूना वैशाख १ गते सङ्कलन गरिएको छ । काठमाडौँबाट हेलिकेप्टरमा आएको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरी काठमाडौँ लिएर गएको जिल्ला अस्पताल, बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाको पूर्वी उत्तरी क्षेत्रको स्वामीकार्तिक खापर गाउँपालिकाको सुईजीउला, बडिमालिका नगरपालिकाको बाजुरा क्याम्पस र बुढीगङ्गा नगरपालिकाको भनोदय माविमा टोली पुगेर पहिलो पटक स्वाब सङ्कलन गरिएको जिल्ला अस्पताल, बाजुराका प्रमुख पन्तले बताउनु भयो ।

स्वाब सङ्कलन टोलीले स्वार्मीकार्तिक खापर गाउँपालिकाका ७३ जना, बुढीनन्दा नगरपालिकाका २० जना हिमाली गाउँपालिकाका ६ जना, बडिमालिकाबाट २७ जना, गौमुलका सात जना, खप्तड छेडेदह गाउँपालिकाका चार जना, त्रिवेणी नगरपालिकाका आठ जना गरी १ सय ४५ जनाको स्वाब सङ्कलन गरिएको पन्तको भनाइ छ ।

भारतलगायत अन्य मुलुकबाट जिल्ला भित्रिइ सम्बन्धित स्थानीय तहले तयार गरेका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेको १६ दिन पुगिसकेकाहरूको थ्रोट स्वाब सङ्कलन गरिएको हो ।

इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार बान्नीगढी जयगढ गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई आवतजावत र भीडभाड नगरी घरमै सुरक्षितरूपमा बस्न आग्रह गर्दै लकडाउन तथा निशेधाज्ञाको पालना गर्न आग्रह गरेको छ ।  विसु पर्वलगायतका मेला, जात्रा, भोजभतेर नगर्न सूचना जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङ्गानाले जानकारी दिनु भयो । अत्यावश्यक काममा समेत एक अर्काबीचमा सामाजिक दूरी कायम गर्न सूचना प्रवाह गरिरहेको अधिकृत ढुङ्गानाको भनाइ छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मङ्गलसेन नगरपालिका-१४ कालागाउँको वडा कमिटीले कोरोना भाइरसबाट जोगिनका लागि नगरपालिकाको वडा कार्यालयलाई २२ सय मास्क हस्तान्तरण गरेको छ । वडामा रहेका पार्टीले सदस्यबाट रकम सङ्कलन गरेर स्थानीयस्तरमा मास्क तयार गरेर वडा अध्यक्ष तेजबहादुर भण्डारीलाई हस्तान्तरण गरिएको नेकपा पार्टीका सदस्य गणेशबहादुर सोडारीले जानकारी दिनु भयो । नेकपाबाट प्राप्त भएका मास्क स्थानीयलाई वितरण गर्ने बताइएको छ ।

इन्सेक कैलाली जिल्ला प्रतिनिधि मैनामोती चौधरीका अनुसार लम्की बहुमुखी क्याम्पसको १४ दिन क्वारेन्टाइनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका-१ की ६५ वर्षीया महिलाको र्‍यापिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाई घर पठाइको थियो तर उनको थ्रोट स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि वैशाख १ गते उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । सङ्क्रमित महिलासहित १७ जना चैत ९ गते वीरगञ्जबाट लम्कीचुहा नगरपालिकामा आएका थिए । उनीहरू सबै जनालाई क्वारेन्टाइनमा राखिएको थियो । यी महिलासहित सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या पाँच जना पुगेको छ । यसभन्दा अगाडि धनगढीका दुई, लम्कीका एक र कञ्चनपुरका एक जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबै जनाको स्वास्थ्य उपचार सेती प्रादेशिक अस्पताल धनगढीमा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारले खडा गरेको कोरोना भाइरसको जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा एक महिनाको पारिश्रमिक दिने बताउनुभएको छ । सभामुख थापाले चैत ३० गते एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको उहाँका स्वकीय सचिव कविन्द्र रोकयाले जानकारी दिनु भयो । यसैगरी, उपसभामुख निर्मला जोशी वडालले कोरोना रोकथाम कोषमा १५ दिन बराबरको पारिश्रमिक र नेकपा सुदूरपश्चिम प्रदेशसभाका ३० जना सदस्यहरूले १५ दिनको हुन आउने पारिश्रमिकको ८ लाख रुपियाँ जम्मा गरेका छन् ।

अन्य

भिडियो