INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोनाको आशङ्का गरिएकी महिलालाई क्वारेण्टाइन ल्याउन नमान्ने एम्बुलेन्स चालक बर्खास्त

द्रुत परीक्षण (र्‍यापिड डायगनोष्टिक टेष्ट) मा कोराना भाइरस पोजेटिभ देखिएकी महिलालाई क्वारेण्टाइन सम्म ल्याउन नमान्ने नेपाल रेडक्रस बिहुँ शाखाका एम्बुलेन्स चालकलाई बर्खास्त गरिएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–७ इनारपानीकी ६५ वर्षीया महिलाको र्‍यापिड टेष्टमा कोराना भाइरस पोजेटिभ देखिएपछि काठेखोला गाउँपालिकाले कोरोना सङ्क्रमण र सङ्क्रमणको आशङ्का गरिएका बिरामी बोक्न तयार पारेको नेपाल रेडक्रस बिहुँ शाखाका चालकले एम्बुलेन्स बिग्रिएको भन्दै बिरामी बोक्न नसक्ने बताएका थिए ।

चालकलाई कोरोना सङ्क्रमणबाट बच्न, बिरामी ल्याउन लैजान, पीपीइको प्रयोग र डिस्पोज गर्ने तालिम दिएर अतिरिक्त व्यवस्था गरिएको भएपनि बिरामीलाई क्वारेण्टाइनमा ल्याउनुपर्याे भन्दा चालकले फोनबाट एम्बुलेन्स बिग्रिएको बताएका थिए ।

चालकले बिरामी बोक्न अस्वीकार गरेपछि उहाँलाई तत्कालै बर्खास्त गरिएको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभएको छ ।

चैत ३० गते दिउँसो द्रुत परीक्षण (र्‍यापिड डायगनोष्टिक टेष्ट ) गरिएको भएपनि चालकले एम्बुलेन्स बिग्रिएको छ भनेपछि जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले राति ११ बजे महिलाको घरमै पुगेर उद्धार गरी भिमसेन माध्यमिक विद्यालयको क्वारेण्टाइनमा राखेको छ ।

यसभन्दा अगाडी पनि बागलुङ नगरपालिकाकी कोरोना सङ्क्रमित ६५ वर्षीया महिलालाई अस्पताल ल्याउन नेपाल रेडक्रस सोसाईटी बागलुङका एम्बुलेन्स चालकले मानेका थिएनन् ।

उनी अस्पतालमा एम्बुलेन्स र चाबी छोडेर फरार भएका थिए । सङ्क्रमित महिलालाई स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका सवारी चालक दिपक पराजुली अस्पताल ल्याउनुभएको थियो।

अन्य

भिडियो