INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था (चैत ३० गते)

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लगाइएको २० दिन पुरा भएको छ । हालसम्म प्रदेश ५ मा कुनै पनि व्यक्तिमा सङ्क्रमण देखिएको छैन । प्रदेश र स्थानीय तह सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेका छन् ।

इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी आश्रमका पुजारी तथा पुजा पाठमा सङ्लग्नहरूलाई रोगको सङ्क्रमण रोक्न प्यूठान नपाका मेयर अर्जुनकुमार कक्षपतिले विभिन्न स्वास्थ्य सामाग्रीहरू प्रदान गरेको छ । २ सय गोटा सावुन, ४ सय ५० थान  मास्क, दुई बोतल फिनायल र २ सय थान हेण्ड सेनिटाइजर आश्रमका पुजारीलाई हस्तान्त्रण गरेको मेयर कक्षपतिले बताउनु भयो ।

नेपाल र भारतबाट पर्यटक तथा धर्मालम्वीहरू आउने आश्रममा कोरोनाको सङ्क्रमण कारण चैत ८ गतेदेखि नै मन्दिर प्रवेशमा रोक लगाएको मन्दिर व्यवस्थापन समितिले जानाएको छ । हाल आश्रममा, पुजारी, गुरु  र बटुक (वेद पढने विद्यार्थी) गरी २ सय जना बस्दै आउनु भएको छ ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिम रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा गठन गरिएको सङ्कट व्यावस्थापन केन्द्रले जिल्लाका स्थानीय तहमा भएका गतिविधिहरूको अनुगमन थालेको छ । स्थानीय तहमा कोरोना जोखिम न्यूनिकरणका लागि गरिएको लक डाउनको अवस्था, क्वारेन्टाइन र त्यसमा बसेका व्यक्तिको अवस्था, राहत वितरण र खाद्यान्न मौज्दातको अवस्थाको बारेमा जानकारी लिने काम भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो ।

उहाँले लकडाउन बढ्दै गए बिपन्न परिवारलाई थप राहत कसरी वितरण गर्ने, स्थानीय उत्पादनको अवस्था र कृषि फर्महरूको उत्पादनलाई नष्ट हुन नदिन स्थानीय तह र प्रशासनको समन्वयका बिषयमा पनि छलफल र योजना निर्माणको काम भइरहेको बताउनु भयो ।

अहिलेसम्म १ सय १९ स्थानमा निर्माण गरिएका क्वारेण्टाइन बेडमा ५५ जना बसेको र उनीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको शर्माले बताउनु भयो ।

इन्सेक नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न जारी गरिएको लकडाउनको पछिल्ला दिनहरुमा उल्लङ्घन हुन थालेपछि जिल्ला प्रशासन र स्थानीय सरकारहरूले अनुगमनलाई तिव्रता दिदैं लक डाउनमा कडाई गर्न थालेका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर दैनानु दिन बढ्न थाले पछि, सिमावर्ती जिल्लाको रुपमा रहेकाले सम्भावित जोखिम रोक्न कडाइ गरिएको हो ।

रागग्राम नपाले वितरण गरेको राहतमा अखाद्य वस्तु वितरण गरेको विवाद आएपछि परीक्षणका लागि  गुणस्तर तथा नापतौल विभाग, भैरहवामा नमूना पठाइएको छानविन समितीका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले बताउनु भयो ।

जिल्लामा १ सय २४ जना क्वारेण्टाइनमा रहेका छन् हालसम्म क्वारेण्टाइनबाट तोकिएको समय पुरा गरि ७५ जना घर फर्किसकेका छन् । हालसम्म जिल्लामा सङ्क्रमित बिरामी भेट्टिएको छैन ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तीका अनुसार कोरोना रोकथाम तथा व्यवस्थापनका लागि स्थानीय तहले स्थापना गरेको विपद व्यवस्थापन कोषमा विभिन्न व्यक्ति र संस्थागत रुपमा सहयोग सङ्कलन भइरहेको छ । सुनिल स्मृति गाउँपालिको को पछिल्लो जानकारी अनुसार अनुसार ६ लाख ७९ हजार ३ सय ४० रुपियाँ जमा भएको छ । साहस नेपालले ५ लाख ४० हजार, राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रिय सदस्य रितमान पुनले ११ हजार १ सय ११, वडा नम्बर २ महेन्द्रीले ५ हजार, पञ्जिकरण पोषण र गाउँपालिकाका अन्य कर्मचारी बाट संयुक्त रुपमा १ लाख २९ हजार ८ सय ६१ रुपियाँ जमा गरेका छन् । गाउँपालिकाले २५ लाख बाट स्थापना गरेको कोषलाई ४० लाख रुपियाँ पुर्‍याउने लक्ष्य राखेको छ । गाउँपालिकाले एम्बुलेन्स चालकहरूलाई सुरक्षाको लागि पीपीई हस्तान्तरण समेत गरेको छ ।

इन्सेक कपिलवस्तु  जिल्ला प्रतिनिधि पार्बती अचार्यका अनुसार भारतीय प्रहरीले व्यवस्थापन गरेको कृष्णनगरको सीमानाको क्वारेण्टानको १६ जना नेपालीहरू रहेका छन् ।

शिवराज नगरपालिकामा सात जनाको र्‍यापिड जाँच पछि होम क्वारेण्टाइनमा बस्नकालागि घर पठाइको स्वास्थ्य प्रमुख चुडामणी भट्टराईले बताउनु भयो । शुद्धोधन गाउँपालिकामा १५ जनाको र्‍यापिड जाँच गरि सकिएको स्वास्थ्य संयोजक असफाक अहम्मद खाँले बताउनु भयो । क्वारेण्टाइनमा १४ दिन सम्म बसेका र रिपोर्टका आधारमा थप ७ दिन सम्म होम क्वारेण्टाइनमा बस्नकालागि परामर्श दिएर घर पठाइएको छ । कृष्णनगर नगरपालिमामा आठ जनालाई र्‍यापिड जाँच पछि होम क्वारेण्टाइनमा पठाइएको छ ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार राहत वितरणका क्रममा तीन जना भन्दा बढी सहभागि हुनमा रोक लगाएको छ । सामाजिक दुरी कायम गर्नुपर्नेमा राहत वितरणको नाममा झन भीड लगाएर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले तीन जना मात्र सहभागि हुन निर्देशन जारी गरेको हो । राहत वितरण गर्दा एकजना जनप्रतिनिधि, एकजना राहत दाता र अर्को राहत लिने व्यक्तिमात्रै सहभागि हुन भनिएको छ । राहतका नाममा विपद्को अवस्थालाई खिल्ली उडाउदै भीड लगाउने, फोटो खिच्ने र सामाजिक सञ्जालमा प्रचार गर्ने क्रम बढेपछि तीनजना भन्दा वढि सहभागि नहुन निर्देशन जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

जिल्लामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षणकालागि १ सय थान कीट जिल्लामा आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार धादिङबाट तीन दिनसम्म हिडेर घर आएका ६ जना युवाहरूलाइ पुर्वखोला गाउँपालिकाले चैत २९ गतेबाट क्वारेण्टाइनमा राखेको छ । पुर्वखोला गाउँपालिका-४ देवीनगरको धापखोला घर भएका युवाहरूलाई धापखोलाको मुकुन्द प्राविमा क्वारेण्टाइनको राखिएको हो । धादिङमा मजदुरी गर्दै आएका युवाहरू लकडाउनका खानपिनको समस्या भएकोले आउनु परेको हिरा डालाले बताउनु भयो ।

यसअघि पाल्पाका विभिन्न स्थानमा रहेका क्वारेण्टाइनमा बस्दै आएका ४४ जनामा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि एक हप्ता होम क्वारेण्टाइनमा बस्ने गरि घर जान अनुमति दिइएको र उनीहरू सबै घर फर्केको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनु भयो ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ७७ जना कोरोनाका सङ्कास्पद व्यक्तिहरूको नमूना परीक्षण गरिएकोमा ६९ जनाको रिपोर्ट नेगेटिभ आएको र आठ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताउनु भयो । जिल्लाका विभिन्न क्वारेण्टाइनमा हाल १ सय ८९ जना व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार जिल्लामा क्वारेण्टाइनमा १ सय २० को जना र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको छ ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना परीक्षण गर्न जिल्लाको आठ स्थानी तहका २६ वटा क्वारेन्टाइनमा बसेकाहरू मध्ये १४ दिन पुगेकाहरूको परीक्षण सुरू गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरूको परीक्षणको रिर्पोट नेगेटिभ आए घर पठाइने छ ।

जिल्लाका ८३ किलोमिटर क्षेत्र भारतीय सीमानासँग जोडिएका १२ स्थानमा सशस्त्र प्रहरीको अस्थायी चेक पोष्ट र ८९  स्थानमा सेन्ट्री पोष्ट स्थापना गरी निगरानी बढाइएको छ ।

लकडाउनको क्रममा जिल्ला बाहिरबाट आएका नागरिकलाई स्थानीय तहको क्वारेण्टाइनमा राख्ने गरी पठाइएको छ ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार भेरी आस्पतालमा कोरोना भाइरस जाँचको लागि पिसिआर मेसिन जडान भइसकेको भएपनि काम सुरू हुन सकेको छैन । भेरी आस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले मेसिन जडान गरेर तयार परेको बताउदैँ कोरोना भाइरस जाँचका लागि आवश्यक केमिकल नभएकोले काम सुरू नभएको बताउनु भयो ।  उहाँ ले केमिकल मन्त्रालयले पठाउने भएकाले मन्त्रालयबाट केमिकल आउनासाथ काम सुरू गरिने बताउनु भयो ।

अन्य

भिडियो