INSEC Online

📅 २०८३ जेष्ठ २१

अति सीमान्तकृत माझी समुदायको अवस्था– न राहत, न कोरोनाको सचेतना !

कोरोना भाइरस (कोभिड¬ १९) को सम्भावित महामारीलाई रोकथाम गर्न सरकारले लकडाउन घोषणा गरेको दुई साता बितेपनि हिलिहाङ गाउँपालिका – ७ का अति सीमान्तकृत आदिवासी जनजाति माझी समुदायले राहत नपाएकोले गुनासो गरेका छन् ।

खोलामा माछा मार्ने र मजदूरी गरेर जीवीकोपार्जन गरिरहेका माझीहरूले कुनै निकायबाट चैत २५ गतेसम्म राहत सामग्री नपाएकाले दैनिक उपभोग्य सागम्री अभावका कारण जीवन कष्टकर बन्न पुगेको गुनासो गरेका हुन् । “ज्याला मजदूरी गर्ने ठाउँ छैन, पहिले जस्तो खोलामा माछा पाइन छाड्यो”– स्थानीय बुद्धिमान माझीले भन्नुभयो– “यहि अवस्था रहने हो भने भोकभोकै मर्न पर्ने अवस्था आउन सक्छ ।” एक दर्जनको सङ्ख्यामा रहेका परिवारका सदस्यहरूलाई खाद्यान्नको अभाव भएको उहाँले बताउनुभयो । माझी उत्थान सङ्घका अध्यक्ष समेत रहेका जसबहादुर माझीले समेत राहत वितरण गर्न कोही नआएको बताउनु भयो ।

हेंवा र तमोर खोलाको किनारमा बसोबास गर्ने यी माझी समुदाय भने अझै यो महामारीबाट बच्ने उपायका बारेमा सचेतना नभएको देखिएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि चैत २४ गते यस क्षेत्रमा पुग्दा कोही पनि माक्स लगाएका, सेनिटाइजर र साबुन प्रयोग गरेका वा सामाजिक दूरी कायम गरेर बसेका पाइएन । अहिलेसम्म कसैले पनि यस बारेमा कुनै जानकारी नदिएको बुद्धिमान माझीले बताउनुभयो ।

वडाध्यक्ष तिलविक्रम इधिङ्गोले चैत २५ गते बस्ने बैठकबाट निर्णय हुने बताउनुभयो । राहत पाउनु पर्ने व्यक्तिहरूको सूचना सङ्कलन भइरहेको र बैठकपछि आवश्यकता अनुसार वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

अन्य

भिडियो