इन्सेक सुदूरपश्चिम प्रदेशअन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले चैत २९ गते पठाउनुभएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेशअन्तर्गत भइरहेका कार्यहरू र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण यसप्रकार रहेको छ ।
बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लाको पूर्वी उत्तरी क्षेत्रको बुढीनन्दा नगरपालिकामा भातरबाट फर्किएर होम क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरूको घरमै पुगेर चेकजाँच सुरु भएको छ । भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकालाई घरमै पुगेर कोरोना भाइरसको लक्षण भए/नभएको बारेमा चेकजाँच सुरु गरिएको बुढीनन्दा नगरपालिका सहायक स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले जानकारी दिनु भयो ।
बुढीनन्दा नगरपालिकाभरि चैत महिनामा ९६ जना भारतबाट र एक जना दक्षिण कोरियाबाट फर्किएको तथ्याङ्क नगरपालिकाले सङ्कलन गरेको जनाइएको छ । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम गिरीका अनुसार भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरू होम क्वारेन्टाइनमा रहेका छन् । होम क्वारेन्टाइनमा बसेकाहरूको घरमै स्वास्थ्यकर्मी पठाएर कोरोना भाइरसको लक्षण चेकजाँच सुरु गरिएको गिरीको भनाइ छ ।
बुढीनन्दा स्वास्थ्य शाखा, स्थानीय स्वास्थ्य संस्था र फेज नेपाल नामक गैरसरकारी संस्थाका स्वास्थ्यकर्मी गाउँगाउँमा पुगेर स्वास्थ्य चेकजाँच गरिरहेको संयोजक शाहीले जानकारी दिनु भयो ।
बडिमालिका नगरपालिकाले खाद्य संस्थानबाट खरिद गरी चैत २९ गते राहतस्वरूप वितरण गरेको चामल कुहिएको सोही नपा-४ का स्थानीय नरेन्द्र नाथले बताउनु भयो । नगरपालिकाले आफ्नो टोलमा ६ बोरा चामल वितरण गरेको र ६ ओटै बोराको चामल कुहिएको अवस्था रहेको नाथको भनाइ छ ।
नगरपालिकाले सो चामल स्थानीयले घरमै लिएर बाड्न भनी दिएको र घरमा ल्याएर खोलेर बाड्न खोज्दा चामलमा डल्लासहित कालो ढुसी परेको स्थानीयको आरोप छ । राहतस्वरूप आफूहरूलाई उपलब्ध गराएको चाम फिर्ता लिन नगरपालिकालाई स्थानीयले जानकारी गराएका छन् ।
बडिमालिका नगरपालिका-४ का १ सय ७५ जनालाई चामल वितरण गरिएको वडा अध्यक्ष सुरेन्द्र नाथले बताउनु भयो । ३० परिवारलाई २० केजीका दरले र १ सय ४५ जनालाई १० केजीका दरले राहत वितरण गरिएको नाथले बताउनु भयो । ओलेना टोलका स्थानीयहरूका लागि वितरण गरिएको ३० केजीका ६ बोरा चामल कुहिएको अवस्थामा पाइएकोले खाद्य संस्थानलाई नै फिर्ता गर्न लागिएको वडा अध्यक्ष नाथको भनाइ छ ।
ओलेना टोलबासीका लागि वितरण गरिएको चामल कुहिएको पाइए पनि अन्य व्यक्तिहरूले पाएको चामल खानयोग्य भएको वडा अध्यक्ष नाथले बताउनु भयो तर अन्य व्यक्तिहरूले पाउनुभएको चामलसमेत खानयोग्य नभएको स्थानीयको भनाइ छ । खाद्य संस्थानबाट नगरपालिकाले ३० किलोका ७० बोरा चामल खरिद गरेर नगरपालिकाकै वडा नम्बर ४ का स्थानीयहरूलाई राहतस्वरूप वितरण गरेको थियो ।
नेपाल खाद्य संस्थान, बाजुरा शाखाका प्रमुख मेखराज ओझाले गत वर्षको मौज्दात रहेको चामल भएकोले कुनै बोराको चामल बिग्रिएको हुन सक्ने बताउनु भयो ।
उहाँले भन्नु भयो- ‘हामीले ३० केजीका बोरा बिक्री गरेका हौँ । गत वर्ष मौज्दात रहेको चामल गोदाममा थियो । ढुवानीका क्रममा गत वर्षको चामल भएकोले बिग्रिएको हुन सक्छ । ६ बोरा चामल बिग्रिएको भेटिएकोले फिर्ता आएको छ ।’
बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले संस्थानको चामल खरिद गरी वितरण गर्ने निर्णय अनुसार नै चामल खरिद गरेर स्थानीयलाई वितरण गरिएको बताउनु हुन्छ ।
उहाँले भन्नु भयो -‘सडिएको चामल छ भन्ने मलाई थाहा थिएन् । वडा नम्बर ४ का स्थानीयहरूले गुनासो गरेपछि जानकारी पाए । हामीले त संस्थानको चामलमा कुनै कैफियत नहोला भनेर खरिद गरेका हौँ । चामल फिर्ता गर्न लगाएको छु ।’
प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले आफूलाई कुनै जानकारी नभएको तर गुनासो आएपछि खाद्य संस्थानसँग यस सम्बन्धमा जानकारी लिने बताउनु भयो ।
इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार भारतका विभिन्न शहरबाट फर्किएका ४ सय बढीको चैत २९ गते थ्रोट स्वाब नमूना सङ्कलन गरिएको छ । नेपाली सेनाको हेलिकेप्टर र कैलाश एयरको एमटी हेलिकेप्टरमार्फत आएको स्वास्थ्यकर्मीहरूको टोलीले जिल्लाका ६ स्थानमा तयार गरिएका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्दै आएका कूल ४ सय ६१ जनाको थ्रोट स्वाब नमूना सङ्कलन गरेको छ ।
शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरका ६४ जना, मालिकार्जुन गाउँपालिकाका १६ जना, लेकम गाउँपालिकाका चार जना र महाकाली नगरपालिकाका १ सय ११ जनाको थ्रोट स्याब सङ्कलन गरिएको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य सहसंयोजक लालजीरा भट्टले जानकारी दिनु भयो । थ्रोट स्वाब सङ्कलन गरिएकामध्ये १ सय ८१ जना पुरुष, १२ जना महिला र दुई जना बालकको थ्रोट स्वाब नमूना सङ्कलन गरिएको छ ।
मार्मा गाउँपालिकाका १ सय ३९ जना र अपिहिमाल गाउँपालिकाका ६ जनाको थ्रोट स्वाब मार्मा गाउँपालिकाको लटिनाथमा सङ्कलन गरिएको मार्मा गाउँपालिका सव इन्जिनियर विक्रम जोशीले जानकारी दिनु भयो । मार्मा गाउँपालिकामा एक जना स्थानीय र एक जना महिला स्वास्थ्यकर्मीको समेत थ्रोट स्वाब सङ्कलन गरिएको छ ।
मार्मा गाउँपालिकाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को नियन्त्रण तथा प्रचारप्रसारमा खटिएका स्वास्थ्य स्वयम्सेविकाहरूलाई ५ हजार रुपियाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । मार्मा गाउँ कार्यपालिकाको चैत २९ गते बसेको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाले तयार गरेको क्वारेन्टाइन तथा हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई लकडाउन अवधिभरि खाइपाइ आएको तलबमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले जानकारी दिनु भयो ।
नौगाड गाउँपालिकामा ४५ जनाको खारको दल्लेखस्थित पानीधारा अधारभूत विद्यालयमा थ्रोट स्वाब सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनु भयो । भारतका विभिन्न शहरबाट फर्किएका व्यक्तिहरूको थ्रोट स्वाब सङ्कलन गराएको धामीको भनाइ छ ।
दुहुँ गाउँपालिकाको हिकिलामा ३३ पुरुष र पाँच महिला गरी ३८ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको हिकिला स्वास्थ्यचौकी इञ्चार्ज प्रेमसिंह धामीले बताउनु भयो । जसमा १ जना बालक रहेका छन् । दुहुँमा ३५ जना क्वारेन्टाइनमा बसेका व्यक्ति र तीन जना होम क्वारेन्टाइनमा बसेकाहरूको थ्रोट स्वाब सङ्कलन गरिएको स्वास्थ्यचौकी इञ्चार्ज धामीको भनाइ छ ।
व्यास गाउँपालिकाको हुतीमा ३७ पुरुष र एक महिला गरी ३८ जनाको स्वाब सङ्कलन गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा सङ्कलन गरिएका थ्रोट स्वाबका नमूनाहरू स्वास्थ्यकर्मीको टोलीले चैत २९ गते नै परीक्षणका लागि काठमाडौँ लगेका छन् ।
कारोना भाइरस (कोभिड-१९) उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकेप्टरमार्फत जिल्लामा आएको टोलीले जिल्लाका नौ ओटै स्थानीय तहमा भारतलगायतका अन्य मुलुकबाट फर्किएका व्यक्तिहरूको थ्रोट स्वाब सङ्कलन गर्ने गरी सबै क्षेत्र र भूगोल मिलाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भयो ।
स्वाब सङ्कलन टोलीमा प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी, सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी र स्थानीय स्तरका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
जिल्लामा १ हजार ४ सय ७ जना भारतलगायतका अन्य मुलुकबाट फर्किएको जिल्ला प्रशासन, कार्यालयको तथ्याङ्क रहेको छ ।
सर्वोच्च अदालतले चैत २५ गते भारतका सीमापारी रहेका नेपालीहरूको उद्धार गर्न आदेश दिएको भए पनि हालसम्म उनीहरूको उद्धार हुन सकेको छैन ।
लकडाउनका कारण नेपाल भित्रिन नसकी अलपत्र परेका नेपाली नागरिकहरूलाई भारत सरकार र नेपालमा अलपत्र परेका भारतीय नागरिकहरूलाई नेपाल सरकारले क्वारेन्टाइनमा राख्ने सहमतिअनुसार १ हजार बढी नेपाली नागरिकहरूलाई भारतको धारचुला जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरूले आफूहरूलाई खान, बस्न र सुत्न समस्या हुँदै आएको गुनासो गर्दै आएका छन् ।
दुई सातादेखि भारतको विभिन्न क्वारेन्टाइनमा दार्चुला जिल्लाका २ सय २६ जना, बैतडी जिल्लाका ४ सय २२ जना, बझाङ जिल्लाका २ सय ७१ जना, कैलाली जिल्लाका ६९ जना, डडेल्धुरा जिल्लाका २३ जना, अछाम जिल्लाका १८ जना, कञ्चनपुर जिल्लाका ११ जना, डोटी जिल्लाका एक जना, सुर्खेत जिल्लाका १५ जना, जाजरकोट जिल्लाका तीन जना र दैलेख जिल्लाका दुई जना रहेको बताइएको छ ।
नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा विगतका वर्षहरूमा मनाइँदै आएको विसु पर्व यो वर्षमनाउनमा रोक लगाइएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण फैलिन सक्ने भन्दै सांस्कृतिकरूपमा मनाइने विसु पर्व यो वर्षतीन ओटै स्थानीय तहमा मनाउन रोक लगाइएको हो ।
लकडाउन जारी रहेको अवस्थामा यस्ता चार्डपर्व नमाउन तथा भीडभाड नगराउन तीन ओटै स्थानीय तहले अपिल गरेका छन् । नयाँ वर्ष प्रारम्भ भएको दिनमा यस क्षेत्रमा एक सातासम्म धुमधामका साथ विसु पर्व मनाउने गरिन्छ । स्थानीयस्तरमा भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने अवसरको रूपमा विसुलाई लिइँदै आएकोमा देशमा कोराना भाइरसको सङ्कटको कारण विसु पर्व मनाउन रोक लगाइएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनु भयो ।
गाउँपालिकाले चैत २८ गते सार्वजनिक सूचना जारी गर्दै विषम परिस्थितिमा नयाँ वर्षको अवसरमा मनाइने विसु पर्व नमाउन तथा आयोजना नगर्न आग्रह गरेको छ । अपिलमा भनिएको छ, देशको यस सङ्कटको घडीमा राष्ट्रलाई बचाउन यो पटक विसु पर्व आयोजना नगरौँ ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाले समेत यसअघि नै सार्वजनिक अपिल गर्दै जिल्लामा मनाइने विसु पर्व नमाउन तथा सभासम्मेलन नगर्न/नगराउन आग्रह गरिसकेको छ ।
इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार क्वारेन्टाइनमा बसेका नागरिकहरूको चैत २९ गतेदेखि ६३ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । र्यापिड टेस्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, बैतडीका जनस्वास्थ्य अधिकृत भुवनप्रसाद जोशीले जानकारी दिनु भयो ।
जिल्लास्थित विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाइनमा बसेका ५५ जना र सीमा प्रहरीचौकी झुलाघाटमा खटिएका आठ जना प्रहरीको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोट नेगेटिभ आएको उहाँको भनाइ छ ।
सुर्नया गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा रहेका १५ जना, दोगडाकेदार गाउँपालिकाका पाँच जना, डिलाशैनी गाउँपालिकामा १६ जना र दशरथचन्द नगरपालिकाका १९ जना र आठ जना सुरक्षाकर्मी गरी ६३ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो । टेस्ट गरिएका सबै जनाको रिपोट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको जनस्वास्थ्य निरीक्षक जोशीले बताउनु भयो । क्वारेन्टाइनमा १४ दिन बसिसकेकाहरूको र्यापिड टेष्ट गरिएको र सबै जनाको रिपोर्ट नेगेटिभ आएकोले घर पठाइएको जनाइएको छ ।
विभिन्न नगरपालिका र गाउँपालिकाले तयार गरेका क्वारेन्टाइनमा बसेका तर थ्रोट स्वाब सङ्कलन नभएका व्यक्तिहरूको पनि र्यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनु भयो । जिल्लाका सिगास गाउँपालिका र पाटन नगरपालिकामा चैत ३० गते र्यापिड टेष्टका लागि नमूना सङ्कलन हुने बताइएको छ ।
सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि चैत २८ गते आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल, बैतडीका प्रमुख डा.बसन्तराज जोशीले जानकारी दिनु भयो ।
३२ वर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको डा. जोशीले जानकारी दिनु भयो । उहाँको स्वास्थ्य अवस्था स मान्य रहेको डा.जोशीले बताउनु भयो । आइसोलेसनमा भर्ना गरिएका प्रहरी जवानको थ्रोट स्वाब सङ्कलन गरेर परीक्षणका लागि धनगढी पठाइसकिएको उहाँले जानकारी दिनु भयो ।
यसअघि पनि जिल्ला अस्पातलमा दुई जनालाई कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा आइसोलेसनमा भर्ना गरिएको भए पनि उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।
इन्सेक डोटी जिल्ला प्रतिनिधि बासुदेव जोशीका अनुसार के.आई.सिंह गाउँपालिकाले चैत २९ गते सूचना जारी गरी सुदूरपश्चिम प्रेदशमा मनाइने विसु वर्प र नयाँ वर्ष २०७७ भीडभाड तथा एक घरबाट अर्को घरमा नगइ घरमै बसेर सुरक्षितसँग मनाउन आग्रह गरेको छ । कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेको अवस्थामा चार्डपर्व र मेला आयोजना गर्नु सबैका लागि जोखिम भएकोले गाउँपालिकाले यस वर्षो विसु पर्व र नयाँ वर्षभीडभाड र आवतजावत नगरेरै मनाउन आग्रह गरिएको गाउँपालिकाका वडा अध्यक्ष हर्कबहादुर विष्टले बताउनु भयो ।
इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरेका २ सय २६ जनामध्ये १ सय ११ जनाको नमूना परीक्षण रिपोर्ट चैत २९ गते नेगेटिभ आएको छ । वयलपाटा अस्पतालमा भर्ना भएका ५१ जना र मङ्गलसेनस्थित क्वारेन्टाइनमा रहेका ६० जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनु भयो ।
मङ्गलसेनस्थित क्वारेन्टाइनमा रहेका तीन जना, अछाम अस्पतालमा रहेका ४३ जना र कमलबजारस्थित क्वारेन्टाइनमा रहेका ६८ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय, अछामका प्रमुख ढुङ्गानाले बताउनु भयो ।
स्वास्थ्य मन्त्रलायबाट खटाइएका डाक्टरसहितको प्राविधिक टोलीले अछामका वयालपाटा, मङ्गलसेन र कमलबजार गरेर चैत २६ र २७ गते २ सय २६ जनाको स्वाब सङ्कलन गरेर परीक्षणको लागि काठमाडौँ पठाएको थियो ।
कोरोना सङ्क्रमणको आशङ्का गरिएकामा अछाम अस्पताल र वयलपाटा अस्पतालको आइसोलेसनमा रहेका, मङ्गलसेन र कमलबजारको क्वारेन्टाइनमा राखिएका व्यक्ति, होम क्वारेन्टाइनमा बसेका, कोरोना भाइरससँग मिल्दो लक्षण भएका, उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको समेत स्वाब सङ्कलन गरिएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति, अछामले पछिल्लो समयमा भारतबाट फर्किएका व्यक्तिहरूबाट कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन सक्ने विश्लेषण गरेको छ । रोजगारीको क्रममा भारतमा रहेका ४ हजारभन्दा बढी व्यक्ति जिल्ला फर्किएका छन् ।
पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाको संयुक्त बैठकले दुवै स्थानीय तहका नागरिकबीच भइरहेको आवातजावत चैत २९ गतेबाट पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सामाजिक दूरी कायम गर्दै दुई स्थानीय तहका जनप्रतिनिधिको सीमाक्षेत्र कालापानीमा बसेको बैठकले आ-आफ्नो क्षेत्रका बासिन्दालाई घरमै सुरक्षित बस्नका लागि लकडाइ गर्नुपर्ने सहमति भएको रामारोशन गाउँपालिका-३ का कार्यवाहक अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिनु भयो । संयुक्त बैठकमा सुरक्षाकर्मीको समेत सहभागिता रहेको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशका चार नगरप्रमुखले भिडियो कन्फरेन्सबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीसँग सुदूरपश्चिम कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकोले सङ्घीय सरकारको विशेष ध्यान जान आग्रह गरेका छन् । अछामको मङ्गलसेन नगरपालिका, बाजुराको बडिमालिका नगरपालिका, बैतडीको पाटन नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाका प्रमुखले मन्त्री त्रिपाठीसँग सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालको स्तरोउन्नती, दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीको पूर्ति र उपकरणको माग गर्नुभएको छ । सुदूरपश्चिमका नौ ओटै जिल्लामा भारतबाट फर्किएका व्यक्तिहरूको स्वाब परीक्षण गर्ने सवालमा सङ्घीय सरकारको ध्यान जानुपर्नेमा नगरप्रमुखले जोड दिनुभएको मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जानकारी दिनु भयो ।
लकडाउनका क्रममा खाद्यान्न अभावमा सहयोग गर्न साँफेबगरस्थित प्रभु बैङ्क लिमिटेडले साँफेबगर नगरपालिकालाई ४० हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । उक्त बैङ्कले ३० किलोका २५ बोरा चामल, २५ केजीका दुई बोरा दाल, १० लिटरको एक पेटी तेल र ५० किलोको एक बोरा नुन हस्तान्तरण गरिएको बैकका प्रबन्धक धर्म बुढाले जानकारी दिनु भयो ।
इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण डेरामा बस्दै आएका विद्यार्थीहरूलाई खाद्यान्न समस्या भएपछि भीमदत्त नगरपालिका-१८ कटानस्थित महेन्द्रनगर माविले समस्यामा परेका विद्यार्थीका लागि खाद्यान्न वितरण सुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुरूप विद्यालयले आफ्नै कोषबाट जनप्रतिनिधि र सरकारी निकायको रोहबरमा विद्यार्थीहरूलाई राहतस्वरूप चामल, दाल, तेल र सुरक्षा सामग्री वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले बताउनु भयो । उनका अनुसार पहिलो दिन नौ जना विद्यार्थीलाई विद्यालयमै सामाजिक दुरी कायम गरेर प्रतिव्यक्ति पाँच किलो चामल, दुई किलो दाल, एक किलो नुन, मिक्स मसला, तेल, चिउरा र चाउचाउ वितरण गरिएको छ ।