घोराही नपा-६ गिठेपानीकी ६० वर्षीया आइती विकको हत्या गरेको आरोपमा ६२ वर्षीय पति केशे कामीलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार गरेको छ ।
घरमा बसिरहेकी पीडित महिलालाई मङ्सिर ३० गते बिहान आरोपितले एक्कासी टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
आरोपितलाई प्रहरीले घरैबाट गिरफ्तार गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए । आरोपितले प्रहरी समक्ष अपराध स्वीकारेको पनि प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि राप्ती उप क्षेत्रीय अस्पतालमा राखिएको छ । घरायसी विवादका कारण घटना भएको भन्ने प्रहरी समक्ष आरोपितले बताएका छन् ।
आइतीले छोरा नजन्माएको आरोपमा पतिले यसअघि पनि पटक पटक कुटपिट गर्दै आएकाले हत्या गरेको छिमेकीले आरोप लगाएका छन् । आइतीका सात जना छोरी रहेका छन् ।