INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरससम्बन्धी प्रदेश १ को अवस्था (चैत २९ गते)

प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ०७६ चैत २९ गतेसम्ममा कोरोना भाइरससँग लड्न ४ हजार २ सय ९ जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ । प्रदेशभरी ४ सय ३२ वटा आइसोलेशन बेडको व्यवस्था गरिएको छ । ४४ वटा आइसीयु बेड तयार गरिएको छ ।

प्रदेश १ मा यस अवधिमा २ सय ११ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा १ सय ८९ जनाको रिपोर्ट नेगेटिभ र २२ जनाको रिपोर्ट आउन बाँकी छ । चैत २९ गतेसम्म प्रदेश १ मा ५९ महिला र ५ सय ३३ पुरुष सहित ५ सय ९२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । होमक्वारेन्टाइनमा ३ हजार ४ सय १७ जना बसेका छन् । प्रदेशभरि ६ सय १९ महिला र २ हजार ७ सय ९८ पुरुष होमक्वारेन्टाइनमा बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा चैत २८ गतेदेखि र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) सुरु भएको छ । चैत २९ गतेसम्म ९३ जनाको आरडिटी गरिएको छ । आरडिटी गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

इन्सेक मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार चैत २९ गतेसम्म मोरङमा ५३ जना पुरुष र एक जना महिला गरी ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मोरङमा १० ओटा स्थानीय तह र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँले २५ गरी चैत २९ गतेसम्म ६ सय ९३ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । मोरङमा १ सय २७ वटा आइसोलेशन बेड तयार गरिएको छ । मोरङमा चैत २९ गतेसम्म १ हजार ६० जना पुरुष र २ सय ४५ जना महिला गरी १ हजार ३ सय ५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मोरङमा ६३ जनाको स्वाब परीक्षण गरिएकोमा ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । मोरङमा २८ ओटा आइसीयु बेड तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनु भयो ।

विराटनगर महानगरपालिका-१९ का १ सय ४१ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । शिखर अर्गनाइजेशन अन्तर्गतको नटराज एग्रो र तुलसी मोटर पम्प प्रालिले विराटनगर महानगरपालिका-१९ का दलित र ज्याला मजदूरी तथा विपन्न वर्गलाई खाद्यान्न वितरण गरेको हो । स्थानीय सरदार टोलमा चैत २९ गते विपन्न परिवारलाई प्रति परिवार चामल १२ किलो, दाल १ किलो र तेल १ लिटर उपलब्ध गराइएको छ । विराटनगर महानगरपालिका-१९ का वडाध्यक्ष बद्रीनारायण सरदार, शिखर अर्गनाइजेशनका प्रबन्धक सीताराम बड्तौला र छविलाल विश्वकर्माको उपस्थितिमा त्यसक्षेत्रका विपन्नलाई राहत वितरण गरिएको थियो ।

विराटनगर महानगरपालिका-१९ महानगर आवास योजना, नमूना टोलमा बसोबास गर्ने सुकुम्बासी परिवारलाई खाद्यान्न वितरण गरिएको छ । १५ परिवारलाई विराटनगर महानगरपालिकाका तर्फबाट चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न उपलब्ध गराइएको छ ।

विराटनगर महानगरपालिका-१९ का १६ सय ३१ परिवारलाई राहत वितरण गर्नुपर्ने तथ्याङ्क सङ्कलन गरिएकोमा यसअघि १६ सय ११ परिवारलाई वितरण गरिएको र छुट भएकालाई चैत २९ गते राहत उपलब्ध गराइएको वडाध्यक्ष सरदारले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आहृवान गरेको लकडाउन कार्यान्यन गराउन खटिएका सुरक्षाकर्मीलाई लायन्स क्लव अफ विराटनगर युनिकले व्यक्तिगत सुरक्षा सामग्री र खाजा वितरण गरेको छ । चैत २९ गते  विराटनगर प्रवेशद्वार (ढाट) देखि रोडशेष चोक, विराटनगर मेनरोड हुँदै पुष्पलाल चोकसम्म डिउटीमा खटिएका प्रहरीहरूलाई मास्क, सर्जिकल पञ्जा र खाजा वितरण गरिएको हो । सुरक्षामा खटिएका प्रहरीहरूलाई प्रोत्साहन गर्ने भावना साथ खाजा र मास्क लगायतका सामग्री सहयोग गरिएको क्लवका अध्यक्ष लक्ष्मण घिमिरेले जानकारी दिनु भयो ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाले स्थानीय युवाहरूको समन्वयमा टोलटोलमा सुलभ दरमा हरियो तरकारी पुर्‍याउन थालेको छ । लकडाउनको कारणले स्थानीयहरू बाहिर निस्कन नपाइरहेको बेलामा स्थानीयलाई सेवा दिने उद्देश्यले सेवा सञ्चालन गरिएको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले बताउनुभयो ।

दि रिभर ओभरसिज काठमाडौँले बेलबारी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा चैत २९ गते १ लाख १ हजार १ सय ५ रुपियाँ जम्मा गरेको छ । ओभरसिजले बेलबारी नगरपालिकाका नगर प्रुमख ज्ञानेन्द्र सुवेदीलाई सो रकम हस्तान्तरण गरेको हो । चैत २९ गते युवा जागरण अभियान बेलबारीले १० हजार रुपियाँ कोषमा जम्मा गरेको छ । मिरमिरे एग्रो प्रालि बेलबारी नगरपालिका- ८ ले ५ हजार रुपियाँ जम्मा गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

विराटनगर प्याब्सनले ४० क्वीन्टल चामल र ४ क्वीन्टल दाल राहत सहयोग उपलब्ध गराएको छ । विराटनगर क्षेत्रमा रहेका विपन्न परिवारको सहयोगका लागि राहत उपलब्ध गराएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनु भयो । प्याव्सन विराटनगरका अध्यक्ष इन्द्र राईले सो राहत सामग्री हस्तान्तरण गर्नुभएको महानगरले जनाएको छ । प्रदेश तथा केन्द्रीय प्याव्सनको रोहवरमा प्याव्सन विराटनगरले राहत वितरण गर्ने प्याव्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले बताउनु भयो ।

इन्सेक भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा चैत २९ गतेसम्म ३० जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ । पाँच जना महिला र आठ जना पुरुषलाई होम क्वारेन्टाइनमा राखिएको छ । चैत २९ गतेसम्मको अवधिमा ३० बेडको आइसोलेशन निर्माण गरिएको छ । जिल्लामा क्वारेन्टाइनको क्षमता ३ सय ३६ पुगेको छ । जिल्लाभर ७६ ओटा हेल्थडेक्स स्थापना गरिएको छ ।

कोभिड-१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै टेम्केमैयुङ गाउँपालिका-३ ले १ लाख १२ हजार रुपियाँको कोरोना राहत कोष स्थापना गरेको छ । स्वास्थ्य सामग्री तथा लकडाउनको कारण खाद्यान्न सङ्कटमा परेका श्रमिक, विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गर्न राहतकोष स्थापना गरिएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनु भयो । वडाध्यक्ष पूर्णप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति समेत गठन गरिएको छ । विदेशबाट आएका सात जना स्थानीयलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

उद्योग वाणिज्य सङ्घ भोजपुरले जिल्लाका क्रियाशील पत्रकार र जिल्ला प्रहरी कार्यालय भोजपुरलाई मास्क हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका लागि ४ सय ५० थान मास्क, ५ लिटर सेनिटाइजर र पत्रकारका लागि ५० थान मास्क हस्तान्तरण गरिएको हो । उद्योग वाणिज्य सङ्घ भोजपुरको पहलमा उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले भोजपुर शाखालाई उपलब्ध गराएको ५ सय थान मास्क र ५ लिटर सेनिटाइजर उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष ध्रुवलाल श्रेष्ठले बताउनु भयो ।

इन्सेक ओखलढुङ्गा जिल्ला प्रतिनिधि शिवप्रसाद ढुङ्गानाका अनुसार चैत २९ गतेसम्म जिल्लामा एक जना बङ्गलादेशका विदेशी नागरिक क्वारेन्टाइनमा छन् । विदेशबाट फर्किएका १ सय १५ जना पुरुष र २९ जना महिला गरी १ सय ४ जना पहिचान गरिएको छ । हालसम्म आठ बेडको आइसोलेशन र १ सय ९० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । चैत २९ गतेसम्म एक विदेशी र तीन नेपालीसहित चार जनालाई सरकारी क्वारेन्टाइनमा राखिएको छ । ६ जनाको स्वाब सङ्लन गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ  ।

चैत २८ गते राती लकडाउन उल्लङ्घन गरेर सदरमुकाम ओखलढुङ्गा आएका सिरहा जिल्ला महुलीका तीन जनालाई चैत २९ गते क्वारेन्टाइनमा राखिएको छ । उनीहरूसहित अर्का एक जना विदेशीको स्वास्थ्य अवस्था पनि स्थिर रहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थ लगायतका वस्तु जिल्ला प्रशासन कार्यालयले ढुवानीका लागि सवारी पास उपलब्ध गराई ढुवानी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायले अनुगमन गरिरहेका छन् ।

सिद्धिचरण नगरपालिकाले असङ्गठित मजदुर तथा दैनिक ज्यालादारी काम गरेर परिवार पाल्ने पहिचान गरेर राहत दिने मापदण्ड तयार गरेको छ । नगरपालिका भरि ४ सय ९० जना पहिचान गरिएको छ । कोरोना भाइरस सम्भावित सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि २३ लाख १५ हजार रुपियाँको कोष निर्माण गरेको छ । कोषमा जनप्रतिनिधिहरूको १५ दिनको सेवा सुविधा बापतको रकम थप गर्ने, स्वास्थ्यकर्मीहरूलाई एक महिनाको सुविधा थप गर्ने निर्णय गरेको सिद्धिचरण नगरपालिकाका अध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनु भयो ।

उद्योग वाणिज्य सङ्घ ओखलढुङ्गाले सञ्चारकर्मी तथा मानव अधिकारकर्मीहरूलाई सेनिटाइजर तथा माक्स वितरण गरेको छ । अग्रभागमा रहेर कोरोना रोकथाम तथा नियन्त्रणको अनुगमन र समाचार सम्प्रेषण गर्ने काममा खटिएकाहरूको सुरक्षाका लागि सुरक्षा सामग्री दिइएको अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनु भयो ।

जिल्लामा जरो नाप्ने थर्मल अभाव भएको छ । खरिद गर्न बजारमा समेत नपाइएपछि समस्या आएको हो । मानेभञ्ज्याङ्ग गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिने सरकारी कर्मचारीहरूलाई अतिरिक्त सुविधा र खाजा खर्च दिने निर्णय गरेपनि सँगै खटिएका सुरक्षाकर्मीहरूलाई भने उक्त सुविधा दिइएको छैन । राति र दिउँसो समेत गाउँपालिकाका कर्मचारीसँग खटेर खाजा खान नपाएको सुरक्षाकर्मीहरूको गुनासो छ । सुरक्षाकर्मीको गुनासो व्यवस्थापन गर्न गाउँपालिकालाई ध्यानाकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताउनु भएको छ ।

इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार चैत २९ गतेसम्मको अवधिमा जिल्लामा १२ सय क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) मा २० ओटा आइसोलेशन बेड तयार गरिएको छ । जिल्ला अस्पताल इनरूवामा चार ओटा र इटहरी सामुदायिक अस्पतालमा चार ओटा गरी २८ ओटा आइसोलेशन बेड निर्माण गरिएको छ ।

धरान उपमहानगरपालिकामा प्रहरीले लकडाउनको उल्लङ्घन गरी मर्निङवाक गर्नेहरूलाई चैत २९ गते नियन्त्रणमा लिएको छ । मर्निङवाक गर्ने १ सय ६३ जनालाई नियन्त्रणमा लिई लकडाउन उल्लङ्घन नगर्ने शर्तमा रिहा गरेको छ । लकडाउन उल्लङ्घन गर्नेलाई घर जान दिएपनि प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन भने लकडाउनपछि मात्रै फिर्ता दिने इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनु भयो ।

धरान उपमहानगरपालिकाले स्थापना गरेको ‘फुड बैङ्क’मा सुनसरी उद्योग वाणिज्य सङ्घले विभिन्न सङ्घ संस्थाको सहयोगमा चैत २९ गते ५ हजार केजी चामल जम्मा गरेको छ । लकडाउन बढ्दै जाँदा दैनिक ज्यालादारीमा काम गर्नेहरूका लागि चामल लगायत उपभोग्य वस्तु जम्मा गरेको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

इनरूवा नगरपालिका-४ र ८ का मुसहर र दलित परिवारले चैत ११ गतेदेखि एक छाक मात्र खाना खाँदै आएको गुनासो गरेका छन् । उनीहरूले लकडाउनका कारण ज्याला मजदूरीमा काम गर्न नपाउदा एक छाक मात्रै खानु परेको गुनासो गरेका हुन् । सरकारले भोका नागरिकलाई जिवीकोर्पाजनका लागि खाद्यान्न वितरण गर्न भनेपनि आफूहरूले नपाएको स्थानीयले बताएका छन् । इनरूवा नगरपालिकाले भने ३ सय परिवारलाई राहत वितरण गरेको जनाएको छ ।

इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार कोरोना भाइरसको प्रारम्भिक चरणको परीक्षण रिर्पोटमा उदयपुरका थप १८ जनाको स्वास्थ्य रिर्पोट नेगेटिभ आएको छ । यससँगै जिल्लामा आशङ्का गरिएका मध्ये ३१ जनाको रिर्पोट नेगेटिभ देखिएको हो ।

र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत रगत परीक्षण गर्दा पछिल्लो १८ जनाको रिर्पोट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिनु भयो । आरडिटी किट जिल्लामा उपलब्ध भएपछि स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमै पुगेर परीक्षण गर्दा यस्तो रिर्पोट आएको उहाँले बताउनुभयो ।

टोलीले रौतामाई गाउँपालिकाको मुर्कुचीका चार जना, चौदण्डीगढी नगरपालिकाको हडियाका ६ जना र त्रियुगा नगरपालिकाको मोतीगडाका आठ जना गरी १८ जनाको रगत परीक्षण गरिएको थियो । आरडिटी किटबाट रक्त परीक्षण गरेको १५ मिनेट भित्रै रिपोर्ट आइसक्ने प्रविधि भएकाले परीक्षण कार्य सहज र सरल रहेको उहाँले बताउनुभयो । ‘यो प्रविधिबाट रगत परीक्षण गरेको १५ मिनेटमै रिपोर्ट आउँदो रहेछ,’ सुवेदीले भन्नुभयो, ‘त्यसैले केही दिनभित्रै स्वास्थ्यकर्मी टोली जिल्लाका सबै क्वारेन्टाइनमा परिचालन गरी परीक्षण गरिसक्ने योजना बनाउदैछौँ ।’ आरडिटी किटमार्फत परीक्षण गरिएपनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने र त्यसपछि घर पठाएर होम क्वारेन्टाइनमा थप सात दिन बस्नु पर्ने सुवेदीले बताउनु भयो ।

आरडिटी प्रविधिबाट कोरोना परीक्षण गरिएका मध्ये पुनः १० प्रतिशतको स्वाब परीक्षण गर्नु पर्ने जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले बताउनु भयो । उहाँले आरडिटी किटबाट रगतमा कोरोना पोजेटिभ देखिएमा अर्को चरणको परीक्षण ‘स्वाब टेस्ट’ गर्नुपर्ने बताउनु भयो । ‘आरडिटी गर्दा र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ देखिएमा उसलाई होम क्वारेन्टाइनमा पठाइन्छ । उहाँले भन्नुभयो, ‘तर, जसको रिपोर्ट पोजेटिभ देखिन्छ, त्यस्तालाई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गर्नुपर्छ ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाका आठ जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकाका चार जना र बेलका नगरपालिकाको एक जना गरी १३ जनाको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ । जिल्लामा हालसम्म ६७ जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण कार्य भइरहेको छ ।

त्यस्तै, कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय तहहरूले सञ्चालनमा ल्याएका फिवर क्लिनिकमा जाँच गराउनेको सङ्ख्या चैत २९ गते एकै दिन १ सय २३ जना पुगेका छन् । भाइरस पहिचानका लागि राखिएका फिवर क्लिनिकमा रूघाखोकी तथा जरो आएका ४८ जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार कटारी नगरपालिकामा आठ जना, उदयपुरगढी गाउँपालिकामा चार जना र ताप्ली गाउँपालिकामा १६ जना रहेका छन् ।

त्यसैगरी, सामान्य रुघाखोकीका ७५ जना रहेका छन् । तथ्याङ्कअनुसार कटारी नगरपालिकामा २७ जना, चौदण्डीगढी गाउँपालिकामा ३१ जना, उदयपुरगढी गाउँपालिकामा सात जना र ताप्ली गाउँपालिकामा १० जना रहेका छन् । जिल्लाको कटारी नगरपालिकामा १२ ओटा, चौदण्डी नगरपालिकामा ११ ओटा, त्रियुगा नगरपालिकामा १४ ओटा, बेलका नगरपालिकामा ६ ओटा, उदयपुरगढी गाउँपालिकामा सात ओटा, ताप्ली गाउँपालिकामा नौ ओटा, रौतामाई गाउँपालिकामा नौ ओटा र लिम्चुङ्गबुङ्ग गाँउपालिकामा पाँच ओटा गरी जिल्लाभरी ७३ वटा फिवर क्लिनिक स्थापना गरिएको छ ।

जिल्लाका आठ स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या महिला ९ जना, पुरुष ६३ जना गरी ७२ जना रहेको छ । कटारी नगरपालिकामा तीन जना महिला र २३ जना पुरुष गरी २६ जना, चौदण्डीगढी नगरपालिकामा दुई जना महिला र चार जना पुरुष, त्रियुगा नगरपालिकामा आठ जना, बेलका नगरपालिकामा १४ जना, रौतामाई गाउँपालिकामा नौ जना र लिम्चुङ्गबुङ्ग गाउँपालिकामा चार जना महिला र पाँच जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ ।

इन्सेक सोलुखुम्बु जिल्ला प्रतिनिधि भोजराज कार्कीका अनुसार थुलुङ दूधकोशी गाउँपालिकाले ४ सयभन्दा बढी विपन्न परिवारलाई चैत २९ गते राहत वितरण गरेको छ । लकडाउनको कारण समस्यामा परेका ४ सय ७९ अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनु भयो । गाउँपालिकाको तथ्याङ्क अनुसार वडा-१ नेलेका ४९, वडा- २ काँगेलका ३१, वडा- ३ पञ्चनका ३२, वडा- ४ जुबुका ७३, वडा- ५ जुबुका ५७ वडा- ६ मुक्लीका ८०, वडा- ७ देउसाका ३५, वडा- ८ देउसाका ३७ र वडा- ९ लोखिमका ८५ घरपरिवारलाई राहत वितरण गरिएको छ । उनीहरूलाई वडा कार्यालयको सिफारिस अनुसार प्रतिव्यक्ति ३० केजी चामल, ५ केजी दाल, १ केजी नुन, १ लिटर खानेतेल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिनुभयो ।

विपन्न परिवारलाई राहत वितरण सकिएकाले दीर्घरोगीहरूलाई औषधि वितरणको तयारी थालेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष असिम राईका अनुसार दीर्घरोगीको तथ्याङ्क सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेकाले केही दिनभित्र एक महिनाको औषधि वितरण गरिने छ । जिल्लाको आठ वटा स्थानीय तहमध्ये अहिलेसम्म राहत स्वरूप खाद्यान्न वितरण गर्ने एक मात्र स्थानीय तह थुलुङदूधकोशी हो ।

महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीका अनुसार अति विपन्न परिवारको तथ्याङ्क सङ्कलन गर्ने काम चैत २९ गतेसम्म ७० प्रतिशत पूरा भएको छ । सोताङ गाउँपालिकाले भने २ सय १२ घर परिवार अति विपन्न भएको तथ्याङ्क सङ्कलन गरेको गाउँपालिका अध्यक्ष वीरबहादुर राईले जानकारी दिनुभयो ।

लिखुपीक गाउँपालिकाले तथ्याङ्क सङ्कलनको कार्य अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । चौथो चरणको लकडाउन भए मात्रै राहत वितरण गर्नुपर्ने अवस्था आउने गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिनु भयो । माप्यदूधकोशी गाउँपालिका उपाअध्यक्ष जुनीता माया मगरका अनुसार चैत ३० गतेसम्म सबै वडाले तथ्याङ्क सङ्कलन गरिसक्ने छन् । तथ्याङ्क सङ्कलन भएपछि राहत वितरण कार्य अगाडि बढाउने उहाँको भनाइ छ ।

इन्सेक पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार चैत २९ गते पाँचथरमा नौ जना महिला र ५० जना पुरुष गरी ५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका एक जनालाई घर पठाइएको छ । जिल्लामा २३ बेडको आइसोलेशन र २ सय ४ जना बेड क्षमता भएको क्वारेन्टाइन तयार गरिएका छन् । हालसम्म ९ जनाको स्वाब परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । तत्काल कोरोना भाइरस पत्ता लगाउन चैत २९ गतेदेखि र्‍यापिड टेष्ट मार्फत स्वाब परीक्षणको सुरुआत गरिएको छ । इलाम र पाँचथर जिल्लाको सीमानामा अवस्थित राँके बजारबाट टेष्ट सुचारू गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसका लागि प्रदेश सरकारको तर्फबाट तीन जना र जिल्लाका एक जना गरी चार जनाको प्राविधिक समूहले परीक्षण गरेको छ । यस प्रकारको परीक्षणले २० मिनेटमा नै नजिता दिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीले बताउनु भयो ।

हिलिहाङ गाउँपालिकाले चैत २९ गतेदेखि विपन्न तथा मजदूरलाई राहत वितरण सुरु गरेको छ । १ हजार १ सय ३१ घरपरिवारलाई राहत वितरण गरिने अध्यक्ष भुवानी लिङ्देनले बताउनु भयो । हिलिहाङ गाउँपालिकाले कोराना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रकम सङ्कलन गर्न थालेको छ । कोषमा जनप्रतिनिधिमार्फत २ लाख ८८ हजार रुपियाँ, स्वास्थ्य सेवा बाहेक अन्य कर्मचारीबाट ७ लाख रुपियाँ र गाउँपालिकाको विपद् कोषबाट १५ लाख रुपियाँ जम्मा भएको अध्यक्ष लिङलेदनले बताउनु भयो ।

इन्सेक खोटाङ जिल्ला प्रतिनिधि रामधन राईका अनुसार चैत २९ गतेदेखि खोटाङमा आफूखुशी राहत वितरण गर्न रोक लगाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले राहत सामग्री एकद्वार प्रणालीबाट मात्रै वितरण गर्ने निर्णय गर्दै जथाभावी राहत वितरण गर्न रोक लगाएको हो । विभिन्न संस्था तथा व्यक्तिले जिल्लाका विभिन्न ठाउँमा पुगेर आफूखुशी राहत वितरण गर्न थालेपछि त्यसलाई व्यवस्थित गर्न एकद्वार प्रणाली लागु गरिएको हो ।

समाचारको विषयलाई लिएर नेपाली कांग्रेस खोटाङका जिल्ला सभापतिले पत्रकारलाई धम्की दिएको प्रति नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले ध्यानाकर्षण भएको जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका उदयपुर जिल्ला ताप्ली गाउँपालिकाका एक व्यक्तिलाई राख्ने क्रममा जिल्ला सभापति नरेशकुमार श्रेष्ठले अवरोध गरेको समाचार लेखेको विषयमा पत्रकार उत्तम चौलागार्इंलाई धम्की दिएकोप्रति महासङ्घले गम्भीर ध्यानाकर्षण भएको चैत २९ गते जनाएको छ । ०७६ चैत २३ गते प्रभाव न्युज डट कममा ‘क्वारेन्टाइनमा शङ्कास्पद बिरामी राख्न कांग्रेस सभापतिको अवरोध’ शीर्षकको समाचार प्रकाशित भएको आधारमा धम्क्याइएको विज्ञप्तिमा उल्लेख छ । समाचार प्रकाशन पश्चात् चैत २४ गते सभापति श्रेष्ठले ‘भेटघाटमा राम्रै चिनजान हुन्छ’, ‘पैसामा बिकेर समाचार लेखेको’, ‘यसले ज्यान पनि जान सक्छ’ भन्नेजस्ता शव्द प्रयोग गरेर धम्क्याएको भन्दै महासङ्घले विज्ञप्तिमार्फत विरोध जनाएको छ । महासङ्घका अध्यक्ष दमन राईले जारी गरेको विज्ञप्तिमा समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु निन्दनीय भएको उल्लेख छ ।

इन्सेक ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार चैत २९ गतेसम्म जिल्लामा १ सय ७४ वेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । १४ बेडको आइसोलेशन कक्ष बनेको छ । चैत २९ गतेसम्म जिल्लामा तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । सिदिङ्मा गाउँपालिकाको भञ्याङ्ग माविको क्वारेन्टाइनमा दुई जना, पाथीभरायाङ्वरक गाउँपालिकामा एक जना गरी तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । चैत २९ गतेसम्म क्वारेन्टाइनमा राखिएका सिरीजङ्गा गाउँपालिकामा आठ जना, फक्ताङलुङ गाउँपालिकामा दुई जना र फुङलिङ नगरपालिकामा तीन जना गरी १३ जनालाई छाडिएको थियो ।

सदरमुकाम फुङलिङमा चैत २९ गते बिहान निःशुल्क साग वितरण गरिएको छ । पाथीभरा क्षेत्रको भालुगौंडेमा उत्पादित साग वितरण गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपाने लगायतको सक्रियतामा साग वितरण गरिएको हो । भालुगौंडेका विष्णु पौडेलको परिवारले साग निःशुल्क उपलब्ध गराउनु भएको हो ।

कोरोना भाइरस नियन्त्रणका लागि जिल्लामा प्राप्त आवश्यक सामाग्री चैत २८ र २९ गते वितरण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको पहलमा प्राप्त सामग्री जिल्ला अस्पताल, तमोर अस्पताल, सुरक्षा निकाय, एम्बुलेन्स र स्थानीय तहलाई पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनु भयो । मास्क १ हजार १० थान, ६० जोर पन्जा, १० थान गाउन, पीपीइ नेपाली २५ थान, पीपीइ चाइनिज ३५ थान, बुट ३५ थान, ग्लोब्स पाँच बक्स, हेयर क्याप १ सय पिस, चस्मा ३५ पिस र १६ कार्टुन सेनिटाइजर मन्त्री भट्टराईको पहलमा प्राप्त भएको हो ।

इन्सेक झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार चैत २९ गतेसम्म झापाका १५ ओटा स्थानीय तहमा २७ ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको छ । ७ सय ४१ जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको स्थानीय तहले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा १ सय ९३ जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा १ हजार ४१ जनालाई राखिएको छ । मेची अञ्चल अस्पतालमा २५ बेडको आइसोलेशन निर्माण गरिएको छ । जसमा सात जनालाई राखिएको छ । झापामा चैत २९ गतेसम्म ११ जना बिरामी भर्ना भए, आठ जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । झापामा ३० जना डाक्टर, १ सय ३३ जना नर्स, २२ जना ल्याव टेक्निसियन, ८७ ओटा सुरक्षा दल, ६३ जना स्वयम्सेवक र १ सय २१ जना सहयोगी परिचालन गरिएको छ ।

झापा जिल्लास्तरीय कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार जिल्ला अनुगमन तथा समन्वय समितिले टोल विकास समिति मार्फत विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ । समितिको सचिवालयको चैत २९ गते निर्णय सार्वजनिक गर्दै त्यस्तो आग्रह गरिएको छ । वडातहबाट राहत वितरण गर्दा मानिसको भीड बढी भई सङ्क्रमणको जोखिम उच्च रहेको महसुस गरी त्यस्तो निर्णय गरिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताउनु भयो ।

बिर्तामोड, काँकडभिट्टा, दमक, धुलाबारी, झिलझिले, शनिश्चरे, चन्द्रगढी, लगायतका स्थानहरूमा लकडाउन उल्लङ्घन गर्ने ३ सय ८ जनालाई लकडाउन सेलमा सामाजिक दूरी कायम राखी बनाइएको गोलो घेराभित्र होल्ड गरी उभ्याइ लकडाउनको अर्थ र नागरिकको दायित्व सम्बन्धमा सचेत एवम् जानकारी गराई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

निजी विद्यालयहरूको सङ्गठन प्याव्सनले झापाको शिवसताक्षी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा १ लाख १ हजार १ सय ११ रुपियाँ जम्मा गरेको छ । शिवसताक्षी नगरमा रहेका निजी विद्यालयहरूको छाता सङ्गठन प्याव्सन नगर समितिले कोषमा रकम जम्मा गरेको प्याव्सन शिवसताक्षी नगरसमितिका अध्यक्ष अमृतकुमार तिम्सिनाले बताउनु भयो ।

नेपाल अलैंची व्यवसायी महासङ्घले बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा १ लाख रुपियाँ प्रदान गरेको छ । नेपाल अलैंची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईको टोलीले बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीलाई रकम हस्तान्तरण गरेको महासङ्घका महासचिव भट्टराईले बताउनु भयो ।

लकडाउनका कारण काँकरभिट्टाका विभिन्न होटलमा बसेका ६६ जना बेखर्ची यात्रुलाई होटल व्यवसायी सङ्घको पहलमा निःशुल्क खानाको प्रबन्ध मिलाइएको छ । लकडाउन हुनुभन्दा दुई दिन अघि भारतबाट आएका ६० जना र लकडाउन भएकै दिन नेपालका पश्चिम ठाउँहरूबाट आएका ६ जना यात्रु काँकरभिट्टाका विभिन्न होटलहरूमा अलपत्र परेका छन् । २० दिनदेखि होटलमा बसेका यात्रुहरूले पैसा सकिएको बताएका छन् । होटलमा उनीहरूको १ लाख रुपियाँ भन्दा बढी बाँकी भइसकेको होटल व्यवसायीको भनाइ छ । आगामी वैशाख ३ गतेसम्म सङ्घले यात्रुहरूलाई मेस सञ्चालन गरेरै खाना खुवाउने भएको छ ।

झापा निर्वाचन क्षेत्र १ अन्तरगत प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले आफ्नो क्षेत्रका जनताको अवस्थाको जानकारी तथा राहत वितरण प्रक्रियाको अनुगमन गर्नु भएको छ । नगरले वडाको घरधुरीलाई आधार बनाएर पहिलो चरणमा १० प्रतिशतले सङ्ख्या निर्धारण गरी वितरण गर्न राहत उपलब्ध गराएको थियो ।

जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई गृह जिल्ला पुर्‍याइने भएको छ । कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरूलाई गृह जिल्ला पुर्‍याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिनु भएको छ ।

इन्सेक सङ्खुवासभा जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार चैत २९ गतेसम्म सङ्खुवासभामा होम क्वारेन्टाइनमा बस्ने सङ्ख्या दुई पुगेको छ । दुई हप्ता अघि भारतबाट आएका चैनपुर नगरपालिका-१ का ४५ वर्षीय पुरुषलाई चैनपुर नगरपालिकाले क्वारेन्टाइनमा राखिएको छ । खाँदबारी कारागारका एक कैदी पनि क्वारेन्टाइनमा राखेको कारागार प्रशासनले जनाएको छ । उनी केही दिनअघि बिरामी भएर उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गएर खाँदबारी कारागार फर्किएका थिए । चैत २९ गतेबाट जिल्ला अस्पताल खाँदबारीमा नै कोरोना भाइरस परीक्षण सुरु भएको छ । २८ गते बेलुका खाँदबारी अस्पतालमा प्रदेश सरकारले कोरोना भाइरस परीक्षण गर्न किट उपलब्ध गराएको थियो । जिल्ला अस्पतालमै परीक्षण गर्न किट उपलब्ध भएपछि खाँदबारीमै स्वाब परीक्षण हुने र पोजेटिभ रिपोर्ट आए मात्र धरान लगिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म १ सय १५ बेडको क्वारेन्टाइन र १६ बेडको आइसोलेशन तयारी अवस्थामा छन् ।

कोभिड- १९ को सङ्क्रमण फैलिन नदिन चैत २९ गते खाँदबारीमा बसेको राजनीतिक दलको बैठकले राहत वितरण तथा स्वास्थ्य सामग्री वितरणलाई पारदर्शी बनाउन जिल्ला, नगर, गाउँपालिका र वडास्तरसम्म सर्वदलीय समिति गठन गर्ने निर्णय गरेको छ ।

जिल्ला कारागार खाँदबारीका कैदीबन्दीले कोरोना जोखिम नियन्त्रणका लागि खाँदबारीमा कारागारमा पनि सरकारले निर्धारण गरेको उपायहरू लागू गर्न माग गरेका छन् । चैत २९ गते कारागार व्यवस्थापन विभागलाई ध्यानाकर्षा पत्र लेख्दै उनीहरूले राज्यले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेका छन् । कैदी बन्दीले विभिन्न आठ बुँदाको ध्यानाकर्षण-पत्र गृहमन्त्रालय काठमाडौँ, कारागार व्यवस्थापन विभाग काठमाडौँ र राष्ट्रिय मानव अधिकार आयोगलाई बोधार्थ खाँदबारी कारागार मार्फत दिएको कैदी दीपेश राईले बताउनु भयो ।

अन्य

भिडियो