INSEC Online

📅 २०८३ जेष्ठ २१

लक डाउनका निर्णय कार्यान्वयन गर्न कैदीबन्दीद्वारा विभागलाई ध्यानाकर्षण–पत्र

कोरोना भाइरस(कोभिड–१९) को जोखिम नियन्त्रणका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्न जिल्ला कारागारका कैदीबन्दीले कारागार व्यवस्थापन विभागलाई ध्यानाकर्षण–पत्र लेखेका छन् । उनीहरूले कारागार व्यवस्थापन विभाग काठमाण्डौलाई चैत २८ गते ध्यानाकर्षण पत्र लेखेर कोरोनाको जोखिम नियन्त्रणका लागि सरकारले गरेका निर्णयहरू जिल्ला कारागार खाँदबारीमा समेत कार्यान्वयन गर्न माग गरेका हुन् ।

सरकारले निर्धारण गरेका व्यवस्था नहुँदा कारागारमा भयावह अवस्था आउन सक्ने भन्दै कैदीबन्दीहरूलाई सुरक्षित भएर बाँच्न पाउने नैसर्गिक अधिकार तथा मानव अधिकारको रक्षा गर्न कैदीबन्दीले माग गरेका छन् ।

ध्यानाकर्षण–पत्रमा कैदी तथा बन्दीहरूले कारागार व्यवस्थापन विभागलाई कारागारमा नयाँ कैदी तथा बन्दी ल्याउँदा उनीहरूको पूर्ण रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने उल्लेख गरेका छन् ।

कोरोना रोकथामका लागि कैदी तथा बन्दीहरूलाई स्वास्थ्य सामग्री चाँडो उपलब्ध गराउन र लक डाउनको जटिल परिस्थितीका कारण कारागारका कैदी र बन्दीले उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन् ।

उनीहरूले कारागार भित्रिने दैनिक उपभोग्य खाद्यान्न तथा अत्यावश्यक वस्तु सुरक्षित साथ उपलब्ध गराउन समेत माग गरेका छन् ।

कोरोना जोखिम कारागारमा बढी हुने भएकाले सरकारले लक डाउनका विषयमा गरेका निर्णय कार्यान्वयनका लागि कारागार व्यवस्थापन विभागको ध्यानाकर्षण गराएको कैदी दीपेश राईले बताउनुभयो ।

कोरोनाको जोखिमका लागि घण्टै पिच्छे साबुन पानीले हात धुनु पर्ने भएपनि कारागारमा पानी बेला–बेला मात्र आउने गरेका कारण समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

कैदी बन्दीले विभिन्न आठ बुदाँको ध्यानाकर्षण पत्र गृह मन्त्रालय काठमाण्डौ,कारागार व्यवस्थापन विभाग काठमाण्डौ र राष्ट्रिय मानव अधिकार आयोगलाई बोधार्थ खाँदबारी कारागारमार्फत दिएको कैदी दीपेश राईले बताउनुभयो ।

 

अन्य

भिडियो