INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइसरसम्बन्धी प्रदेश २ को अवस्था (चैत २८ गते)

प्रदेश २ का विभिन्न जिल्लाहरूमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा केही व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने क्रम जारी रहेको छ । क्वारेन्टाइनमा बसेका शङ्स्कास्पद बिरामीको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सङ्ख्या पनि घट्न थालेको छ ।

सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको समाचारहरू प्राप्त भएका छन् । भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न खोज्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राख्ने गरिरहेको छ ।

साथै कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास तथा लकडाउनका कारण समस्यामा परेका गरिब, विपन्न समुदायलाई स्थानीय तहबाट भइरहेको राहत वितरण सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था यसप्रकार छ ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लामा कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि चैत २८ गतेसम्ममा पाँच महिला र २ सय ४२ जना पुरुषलाई विभिन्न क्वारेन्टाइनमा राखिएको छ । चैत २८ गते पाँच पुरुष थपिएका छन् भने दुई महिला र पाँच पुरुषलाई घर फर्काइएको छ । कञ्चनरुप नगरपालिका-१ स्थित दुर्गा आधारभूत निमावि ठेलियामा एक, बलान बिहुल गाउँपालिका-१ स्थित स्वास्थ्य चौकी मल्हनिया र तिरहुत गाउँपालिका-५ स्थित सरस्वती जनता मावि लोहजरामा दुई/दुई जना पुरुष थपिएका हुन् ।

यसैगरी, चैत २८ गते कञ्चनरुप नपा-१ स्थित दुर्गा आधारभूत निमावि ठेलियाबाट दुई महिला र एक पुरुष, महदेवा गाउँपालिका-१ स्थित नरबहादुर थापा मावि पकरीबाट तीन पुरुष तथा तिरहुत गाउँपालिका-५ स्थित सरस्वती जनता मावि लोहजराबाट एक जना पुरुष घर फर्किएका छन् । चिकित्सकहरूले उनीहरूलाई केही दिन घरमै एकान्तवासमा सुरक्षित भएर बस्न भनेका छन् ।

सप्तरीको १८ वटा स्थानीय तहले सञ्चालन गरेको ३२ वटा क्वारेन्टाइनमध्ये आठ ओटा क्वारेन्टाइन खाली छन् । कञ्चनरुप नपा-३ स्थित राष्ट्रिय मावि बनरैत टोलमा चैत २६ गते सात बेडको क्वारेन्टाइन थप भएपछि सप्तरीमा ३२ ओटा क्वारेन्टाइनमा बेडको सङ्ख्या ५ सय ८७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित ‘फिभर क्लिनिक’ मा चैत २८ गतेसम्म जरो जाँच गराएका मध्ये ५५ जनालाई क्वारेन्टाइनमा पठाइएको छ । स्वास्थ्य परीक्षण गराएकामध्ये ४० जनालाई होम क्वारेन्टाइनमा पठाइएको र १५ जनालाई सम्बन्धित नगरपालिका तथा गाउँपालिकाको क्वारेन्टाइनमा निगरानीमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताउनु भयो ।

चैत ९ गतेदेखि सञ्चालित ‘फिभर क्लिनिक’ मा चैत २८ गतेसम्म महिला ७४, पुरुष १ सय ५, बालिका २८ र बालक ३६ जना गरी २ सय ४३ जनाले स्वास्थ्य परीक्षण गराउनु भएको अस्पतालका मेडिकल रेकर्डर श्रवणकुमार सदाले जानकारी दिनु भयो ।

विश्वभर तिव्र रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट जोगाउन प्रहरीलाई समेत चैत २८ गते पीपीई प्रदान गरिएको छ । महामारीको जोखिम, रोकथाम र नियन्त्रणका लागि जिल्लास्थित क्वारेन्टाइन स्थल, अस्पताल र गस्ती गाडीमा खटिएका प्रहरीहरूलाई पीपीई वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाइँले जानकारी दिनु भयो ।

जनताको सुरक्षामा खटिने प्रहरीहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी सम्पूर्ण प्रहरीहरूलाई दुई/दुई थान मास्क, एक/एक थान सेनिटाइजर, पाँच/पाँच जोर पञ्जा पनि प्रदान गरिएको छ । प्रहरीका लागि चैत २८ गते ‘शमा चश्मा घर’ का सञ्चालक शेरु खानले प्रदान गर्नु भएको १ सय थान चश्मा समेत वितरण गरिने एसपी प्रसाइँले जानकारी दिनु भयो ।

प्रहरीले महामारीको जोखिमबाट जोगाउन विभिन्न १ सय स्थानमा जिङ्गल बजाइरहेको, माइकिङ गरिरहेको, सामाजिक सञ्जाल र स्थानीय एफ.एम.मार्फच सन्देशमुलक सूचनाहरू प्रचार-प्रसार गरी सर्वसाधारणलाई कोरोनाको उच्च जोखिमबाट सुरक्षित हुन र लकडाउन उल्लङ्घन नगर्न/नगराउन सुसूचित गरिरहेको उहाँले बताउनु भयो । एसपी प्रसाइँका अनुसार जिल्लाको सम्पूर्ण प्रहरी कार्यालयमा साबुन पानीले हात धुने व्यवस्था गर्नुका साथै लकडाउनलाई पूर्ण कार्यान्वयन गर्न प्रहरीहरू अहोरात्र खटिरहेका छन् ।

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार कोरोना परीक्षणको लागि चैत २८ गतेसम्म ६१ जनाको स्वाबको नमूना सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । जसमध्ये, भगवानपुर गाउँपालिकास्थित दुई वटा क्वारेन्टाइनबाट चैत २६ गते २३ जनाको र चैत २७ गते १८ जनाको स्वाव सङ्कलन गरिएको उहाँले बताउनु भयो । त्यसैगरी, धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइँ आइसोलेशन अस्पतालबाट चार जना र लक्ष्मीपुर पतारी गाउँपालिकास्थित रहेको क्वारेन्टाइनबाट ११ जनाको चैत २७ गते नै प्रादेशिक अस्पताल जनकपुरको टोलीले नमूना सङ्कलन गरी जाँचका लागि जनकपुर लगेको यादवले बताउनु भयो । जसमध्ये पाँचै जनाको रिपोर्ट निगेटिभ आएको र ५६ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनु भएको छ ।

लकडाउनको अवज्ञा गर्दै चलाएका सवारी साधानहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताउनु भएको छ । चैत २८ गते लकडाउनको उल्लङ्घन गरेको आरोपमा ४८ ओटा मोटरसाइकल र एक ओटा ट्रयाकटर, दुई ओटा अटो रिक्सा गरी ५१ ओटा सवारी साधनलाई आवश्यक कारबाहीको लागि नियन्त्रनमा लिएको डिएसपी घिमिरेले बताउनु भयो ।

कोरोना भाइरसको सङ्क्रमण भारतमा बढे देखिनै सीमा नाकामा सुरक्षा गस्तीमा कडाइ गरिएको छ । खुला सिमाना भएकोले मानिसहरू लुकिछीपि विभिन्न बहानामा आउने/जाने गरेको सूचनाको आधारमा सीमा सुरक्षामा थप कडाइ गरिएको सीमा सुरक्षा बलका एसपी प्रविण कँडेलले जानकारी दिनु भयो । भगवानपुर चेक पोष्टदेखि माडरसम्म पहिला ६ ओटा मात्र चेकपोष्ट रहेकोमा अहिले ३४ स्थानमा डिएसपीहरू सहितको टोली परिचालन गरी प्रत्येक ३ सय मिटर भित्र सशस्त्र प्रहरी खटाइएको एसपी कँडेलले बताउनु भयो ।

लकडाउनले गर्दा दलित, गरीब, ज्याला मजदुरी गर्ने परिवारका लागि राहत वितरण कार्य जारी रहेको लहान नगर पालिकाकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले बताउनु भयो । गत चैत २५ गतेदेखि वितरण गर्न सुरु गरेको र आजसम्म लहान नगरपालिकाको २४ नम्बर वडामा ६ सय ८१, १३ नम्बर वडामा ३ सय ६, १० नम्बर वडामा ३ सय ८३, १५ नम्बर वडामा ३ सय ९९, १६ नम्बर वडामा १ सय ५४, १७ नम्बर वडामा ३ सय ८२ र १८ नम्बर वडामा ३ सय १८ जना घरपरिवारहरूलाई राहत वितरण गरेको अधिकृत भुषालले बताउनु भयो । २०७७ बैशाख ३ गतेभित्र २४ वडामै राहत वितरण गरी सकिने उहाँले बताउनु भयो । राहत प्याकेजमा २० केजी चामल, चार केजी आलु, एक केजी दाल, एक लिटर तेल, साबुन दुई थान, नुन एक केजी र नगद २ सय रुपियाँका दरले वडा अध्यक्षहरूले तयार पारेको विवरण अनुसार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भुषालले बताउनु भयो ।

सिरहा जिल्ला अन्तर्गत सबै स्थानीय निकायहरूमा लाग्ने साप्ताहिक हाटबजारहरू पूरै बन्द हुन सकेका छैनन् । हप्ताको सातै दिन प्रायः लाग्ने हाटबजारहरूमा दैनिक उपभोग्य सामग्रीहरू विक्री वितरण गर्न, खरिद गर्न मानिसहरूको भिड लाग्ने गर्दछ । सरकारले चैत ११ गतेदेखि देशैभर लकडाउन गरेपनि नियमित लाग्ने हाटबजारमा आँशिक प्रभाव मात्र परेको देखिन्छ । स्थानीय सुरक्षाकर्मीहरूले गएर बन्द गराएपनि सुरक्षाकर्मी गएपछि पुनः भिड लगाएर बजारहरू सञ्चालन हुने गरेको छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेका अनुसार प्रमुख जिल्ला अधिकारी सहित स्थानीय निकायका प्रमुख र सुरक्षा निकायहरू बीच बजारहरू बन्द गर्ने सहमति भएपनि स्थानीय निकायहरूले पूर्ण चासो नलिदा पूर्ण रूपमा बन्द हुन नसकेको बताउनु भयो । प्रहरीले प्रयास गरिरहेको तर सबैको सहकार्यले मात्र सम्भव हुने भएकाले जनता पनि आफै सजग हुन जरुरी रहेको डिएसपी घिमिरेले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेका अनुसार क्वारेनटाइनमा शङ्कास्पद बिरामीहरूलाई निगरानीमा राख्ने क्रम जारी रहेको बताउनु भयो । उहाँका अनुसार केही व्यक्तिहरू क्वारेन्टाइनमा बसेर गइसकेका छन् भने चैत २८ गतेसम्म १५ जना महिला, १ सय २३ जना पुरुष गरी १ सय ३८ जना क्वारेन्टाइनमा बसिरहेको बताउनु भयो । त्यसैगरी, होमक्वारेन्टाइनमा तीन महिला सहित ८० जना निगरानीमा रहेको डिएसपी घिमिरेले बताउनु भयो ।

धनगढीमाई नपा-१ स्थित महेन्द्र गेनाई अस्पतालमा कोरोना सङ्क्रमणहरूको उपचारको लागि १८ बेडको आइसोलेशन वार्ड तयार गरिएको छ । सो आइसोलेशन वार्डमा चैत २८ गतेसम्म चार जनालाई उपचारको लागि राखिएको आइसोलेशन शाखाका इन्चार्ज डा. शुभाष मण्डलले बताउनु भयो । डा. मण्डलका अनुसार आइसोलेशनमा रहेका चार जनाकै स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुर पठाएको बताउनु भयो । स्वाब सङ्कलन गरिएको नमूनाको प्रतिवेदन नआएको डा. मण्डलले बताउनु भयो ।

इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्र सिंहका अनुसार बटेश्वर गाउँपालिका-१ मा २ सय ९० घरपरिवारलाई राहत सामग्री प्रदान गरिएको छ । एक परिवारमा चार जनासम्म सदस्य रहेको परिवारलाई १० किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर खानेतेल र एक थान साबुन वितरण गरिएको छ । एक परिवारमा चार भन्दामाथि सदस्य रहेको परिवारलाइ १५ किलो चामलसहितको राहत सामग्री प्रदान गरिएको छ ।

बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रर्मिलादेवी सिंह र वडा अध्यक्ष शैलेन्द्र महतोलगायत प्रहरीहरूको रहोवरमा चैत २८ गते राहत वितरण गरिएको हो । उपाध्यक्ष सिंहका अनुसार प्रदेश २ सरकारले उपलब्ध गराएको १० लाख र अपुग रकम गाउँपालिकाबाट थप गरी  बटेश्वर गाउँपालिकाका १७ सय घरपरिवारलाई राहत वितरण गरिएको छ ।

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार प्रदेश २ सरकारले जलेश्वर अस्पताललाई ५० बेडको साथै विशेष अस्पतालको रूपमा स्तरोन्नती गर्दै कोभिड-१९ महामारीबाट यस क्षेत्रका नागरिकलाई उपचारमा राहत दिन तत्कालै आइसियु सहितका सेवा सञ्चालनको तयारी गरिएको छ ।

प्रदेश नं. २ का सभामुख सरोजकुमार यादवले चैत २८ गते जलेश्वर अस्पतालको अनुगमन गर्नु भएको छ । जलेश्वर अस्पताललाई प्रदेश २ का सामाजिक विकास मन्त्रालयले विशेष अस्पतालमा स्तरोन्नति गरेपछि उहाँले अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा उहाँले प्रदेश सरकारले जलेश्वर अस्पताललाई १५ बेडबाट ५० बेडमा स्तरोन्नति गरिएपछि अनुगमन गरिएको सभामुख यादवले बताउनु भयो । उहाँले अहिले चलिरहेको कोभिड-१९ महामारीबाट यस क्षेत्रका नागरिकलाई उपचारमा राहत दिन तत्कालै आइसियु सहितका सेवा सञ्चालन गर्न निर्देशन समेत दिनु भयो ।

कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि विशेष अस्पतालको रूपमा तयार गर्ने उद्देश्य सहित ५० बेडको आइसोलेशन, १० बेडको भेन्टिलेटर र पाँच बेडको आइसियु कक्ष समेत तयार हुने भएको छ ।

यसअघि चैत २७ गते साँझ सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अस्पतालको स्तरोन्नती कार्यको अनुगमन समेत गर्नु भएको थियो । राज्यमन्त्री शर्माले जलेश्वर अस्पतालको अनुगमन गर्दै आइसोलेशनका लागि यथाशीघ्र सबै व्यवस्थापन गर्न जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजिव झा र जलेश्वर अस्पताल व्यवस्थापन सञ्चालन समितिको अध्यक्ष सुरेश पाण्डेयलाई निर्देशन दिनु भयो ।

त्यसैगरी, कोरोना भाइरसको महामारीसँगै पीपीईको अभाव देशभर महसुस भइरहेको अवस्थामा महोत्तरी रत्न तथा आभूषण सङ्घ बर्दिवासले जिल्ला अस्पताल बर्दिवासलाई १० थान पीपीई निःशुल्क वितरण गरेको छ । उक्त पीपीई बर्दिवास नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुरेन्द्र चौधरी र जिल्ला अस्पताल बर्दिवासका मेसु डा. विधानचन्द्र झालाई आभूषण सङ्घका अध्यक्ष सुधीर अग्रवालले हस्तान्तरण गर्नु भयो । आभूषण सङ्घले आफ्नो सामाजिक शाखा मार्फत यस क्षेत्रमा एम्बुलेन्स सेवा समेतको व्यवस्थापन गरेको सङ्घका अध्यक्ष सुधीर अग्रवालले बताउनु भयो ।

नेपाल-भारत खुला सीमा प्रयोग गरी भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोष्ट खडा गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि सीमानाकाबाट नेपाल प्रवेशमा पूर्ण रोक लगाइएको छ ।

महोतरीमा भारतसँग सीमा जोडिएको ३८ दशमलव ६ किलोमिटर खुला क्षेत्र छ । भारतबाट फर्कनेहरू यहीँबाट छिर्ने गरेका थिए । पर्सापतैली विष्णुपुर चकनी मुसहरपटि, जानकीनगर खैरा, नैन्ही, सकरी, बथनाहा, कटी, इटहर्वाकटी, पोखरभिण्डा, सम्सी खैरबन्नी रघुनाथपुर हर्दिनदीमा अस्थायी सुरक्षा पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गण हेडक्वार्टर प्रमुख एसपी नीरकृष्ण अधिकारीले बताउनु भयो ।

आठ जिल्लाका ४ सय ६४ किलोमिटरमा १ सयको हाराहारीमा चेकपोष्ट रहेकोमा कोरोना सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन उल्लङ्घन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउनेजाने क्रम नरोकिएको भन्दै प्रदेश २ प्रहरीले सीमा क्षेत्रमा थप २ सय २९ चेकपोष्ट थपेर त्यसको सङ्ख्या ३ सय २९ बनाएको छ । सीमानाकामा थप कडाइमा लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी ५ हजार ७ सय ३० प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत रहेपछि चेकपोष्ट सङ्ख्या बढाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

इन्सेक सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार जिल्ला अस्पताल मलङ्गवालाई कोरोना सङ्क्रमणबाट बच्नका लागि सुरक्षा सामग्री पीपीई चार सेट, सेनिटाइजर १० पिस र एन ९५ माक्स ४४ पिस जिल्ला समन्वय समितिले उपलब्ध गराएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अभिनाश सिंहले जानकारी दिनु भएको छ ।

क्षेत्र नं. २ का समानुपातिक सङ्घीय सांसद चन्दा चौधरीले आफ्नो नीजि लगानीमा कोरोना सङ्क्रमणबाट बच्नका लागि सुरक्षा सामग्री पठाएपछि आफूले उक्त सुरक्षा सामग्री मलङ्गवा अस्पताललाई हस्तान्तरण गरेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले जानकारी दिनु भएको छ ।

विष्णु गाउँपालिकाका सीमा नाका र दक्षिण भारतको जिल्ला सितामढीबाट चैत १८ गते बिहान ४ बजे आएका विष्णु गाउँपालिका सिमराका दुई जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला समन्वय समितिका सभापति चौधरीले बताउनु भएको छ ।

लामो अवधिको लकडाउनका कारण रामनगर गाउँपालिकामा ज्याला मजदुरी गरी खाने अति विपन्न परिवारका लागि ६ कुइन्टल चामल, ५० किलो दाल तथा स्वास्थ्य तथा सुरक्षाको क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि २ सय थान मास्क, ३ सय पिस पन्जा तथा १५ वटा सेनिटाइजर नेकपाका जिल्ला सदस्य गोगुल राउतले रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्मा र प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई संयुक्त रूपमा एक कार्यक्रमका बीच चैत २८ गते प्रदान गर्नु भएको नेकपा हरिवन नगर कमिटीका सचिव अर्जुन पन्तले बताउनु भयो ।

नेकपा जिल्ला कमिटी सर्लाहीले आफ्ना सबै तहका जनवर्गीय सङ्गठन, नेता, कार्यकर्ता, विद्यार्थी र शुभेच्छुक सबैलाई सहयोगका लागी अपिल गरेको थियो । सोही अनुरुप पार्टीका जिल्ला सदस्य राउतले आफ्नो व्यक्तिगत रूपमा खाद्यान्न तथा सुरक्षा सामग्री प्रदान गरेको नेकपा र्सलाहीले जनाएको छ ।

इन्सेक रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा क्वारेन्टाइनमा बसेका शङ्स्कास्पद बिरामीको सङ्ख्या घट्न थालेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण गरिएको क्वारेन्टाइनहरूमा गत चैत २३ गतेसम्म २ सय ४४ जना रहेका थिए भने चैत २८ गतेसम्म त्यो सङ्ख्या घटेर २ सय ३७ पुगेको छ । तीमध्ये १९ जना महिला र २ सय १८ जना पुरुष रहेका छन् । लकडाउन सुरु भएदेखि नै भारत लगायत विभिन्न स्थानबाट आउनेलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था मिलाइएको छ । सोही व्यवस्था अनुसार चोर बाटो प्रयोग गरेर नेपाल आएकाहरूलाई गिरफ्तार गरेर क्वारेन्टाइनमा राख्ने गरिएको छ । जिल्लाको गौर, गरुडा, चन्द्रपुर, कटहरिया, मौलापुर, बौधिमाई, फतुवाविजयपुर, माधवनारायण, देवाही गोनाही, ईशनाथ, राजपुर लगायतका स्थानमा गरी कूल २७ वटा क्वारेन्टाइन निर्माण भई सञ्चालनमा रहेका छन् । बाहिरबाट आउने कोरोनाका शङ्कास्पद व्यक्तिलाई राख्नका लागि कुल २७ ठाउँमा गरी ८ सय ३६ बेड सङ्ख्याको क्वारेन्टाइन सञ्चालनमा रहेको छ भने शङ्क्रमितलाई उपचार गर्न २५ बेडको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनु भयो । जिल्लाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनबाट उपचारपछि ४६ जना घर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रामनरेश साहले बताउनु भयो । त्यस्तै, अहिलेसम्म १७ जनाको स्वाब परीक्षण गरिएको र उहाँहरूको रिपोर्ट नेगेटिभ आएको नायब सुब्बा साहले बताउनु भयो । क्वारेन्टाइनमा रहेका बिरामीको औषधिउपचार खर्चका साथै डाक्टर तथा बिरामीको खानपिन लगायत सबै व्यवस्था स्थानीय तहले नै गर्दै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरेको लकडाउनको चैत २८ गते १७ दिन पुगिसकेको छ । लकडाउनका कारण सबैभन्दा बढी मर्कामा दैनिक ज्यालादारी गर्ने मजदुर एवम् विपन्न परिवारहरू परेका छन् । चन्द्रपुर नपा-९ स्थित मुसहर बस्तीका मुसहर समुदायका मानिसहरूलाई लकडाउनले गर्दा ज्यानै लिने होकी भन्ने पिरले सताउन थालेको छ । निकै पिछडिएको यो समुदायका अधिकाँश मानिसहरू दैनिक ज्यालादारी गरेर आफ्नो छाक टार्ने गर्दछन् । तर, लकडाउनले गर्दा उनीहरूको कमाइ ठप्प भएको छ र घरमा भएका खाद्यान्न पनि सकिन थालिसकेको छ । यस्तो अवस्थामा चन्द्रपुर नगरपालिकाले समयमै राहत वितरण नगर्दा के खाने भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको छ । नगरपालिकामा राहत वितरण गर्नका लागि भनेर एक हप्ताभन्दा अगाडि नै उनीहरूको नामावली सङ्कलन गरेर लगेपनि हालसम्म वितरण नगरेको स्थानीय दुलारी देवी बताउँ छिन् । उनले नाम सङ्कलन गरेपछि चाँडै राहत पाइने आश लागेतापनि आजसम्म राहत नपाउँदा निराशा छाएको बताउँदै जतिसक्दो चाँडो राहत वितरण गर्न माग गरेकी छिन् । यस सम्बन्धमा चन्द्रपुर नपा-९ का वडा अध्यक्ष गोविन्द दुलालसँग प्रतिक्रिया लिँदा उहाँले रातह पाउनेको नामावली सङ्कलन गर्ने काम सकिएकाले अब केही दिनभित्रै प्रक्रिया पुर्‍याएर राहत वितरण गर्ने बताउनु भयो । त्यस्तै चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरीले केन्द्रिय सरकारले मापदण्ड तोकिदिएकाले सोही मापदण्ड अनुसार बाँड्ने तयारी गर्दा ढिलाइ भएको भन्दै आफूले राहत वितरण कार्य छिटो सक्न १० ओटै वडाका वडा अध्यक्षलाई निर्देशन दिइसकेको बताउनु भयो ।

लकडाउनका कारण अण्डा बिक्री नभएपछि रौतहटका हाँस तथा कुखुरापालक किसानहरूले आफूले उत्पालन गरेको अण्डा नष्ट गर्न थालेका छन् । व्यावसायिक रूपमा पालन गरिएको हाँस तथा कुखुराबाट अण्डा उत्पादन भएकोमा लकडाउनका कारण विक्री नभएपछि बाध्य भएर नष्ट गर्नु परको किसानहरूले जनाएका छन् । बिक्री नभएपछि यसलाई भण्डारण गर्नपनि नमिल्ने भएकाले बाध्य भएर नष्ट गर्न थालेको रौतहट कुखुरा विकास सङ्घका अध्यक्ष रामविनोद पाण्डेले बताउनु भयो । चन्द्रपुर नपा-६ मा रहेको आफ्नो हाँस र्फमको अण्डा विक्री हुन छाडेपछि चैत २८ गते वडा अध्यक्ष खड्ग कुस्वारको रोहवरमा ६ हजार अण्डा नष्ट गरेको पाण्डेले बताउनु भयो ।

जिल्लामा किसानहरूले १४ हजार हाँस पालन गरेको अनुमान गरिएको छ । रौतहट जिल्लामा हाँसबाहेक अण्डा दिने लेस कुखुरा ३० हजार रहेको रौतहट कुखुरा विकास सङ्घका अध्यक्ष पाण्डेको जानकारी दिनु भयो । सरकारले स्थानीय बजार केही समयका लागि खुला गरेर अण्डा तथा मासुको व्यापारमा केही सहजता ल्याउनु पर्ने सङ्घका अध्यक्ष पाण्डेले माग गर्नु भएको छ ।

परोहा नपा-३ अन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्जिदमा एकै ठाउँमा सयौँको सङ्ख्यामा मुस्लिम जम्मा भएर सबेबारारातको अवसरमा नमाज पढिरहेको सूचनाका आधारमा गएका लौकाहा प्रहरी चौकीका असई मुनमुन सिंहलाई मुस्लिम युवाहरूले हातपात गरेका छन् । चैत २७ गते बेलुुकी ७ बजे मुस्लिमहरूको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाउँमा २ सय बढी मानिस नमाज पढिरहेका थिए । असई सिंहले लकडाउन उल्लङ्घन नगर्न र भीड गर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भनी सम्झाइरहँदा केही युवाहरूले उनीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर र सशस्त्र प्रहरी बेस क्याम्पका सुरक्षा निकायले अवस्था साम्य गराएको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले बताउनु भयो । प्रहरीमाथि हातपात गरेको आरोपमा परोहा नपा-३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाउँका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालु अन्सारीलाई गिरफ्तार गरिएको एसपी खड्काले बताउनु भयो । आरोपित तीनै जना नियन्त्रणमा रहेको र घटनाको प्रक्रिया अनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

इन्सेक बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्लामा हालसम्म कोरोना भाइरसको सङ्क्रमितहरूको लागि स्थापना गरिएको क्वारेन्टाइनमा १ सय १३ जना बसिरहेका छन् । जिल्लामा ३ सय ७ क्वारेन्टाइन बेड सङ्ख्या रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

कलैया उपमहानगरपालिका-२२ मटिअरीयाले वितरण गरेको राहत दाल, चालम किरा लागेको र कुहिएको भनी चैत २८ गते वडा कार्यालयलाई फिर्ता दिएर स्थानीयले वडा कार्यालय घेराउ गरेको सोही वडाका ४० वर्षीय विरेन्द्र कुशवाहले बताउनु भयो । वडामा बसेको सर्वदलीय बैठक अनुसार अति विपन्न, दलित, असाहय र गरिब परिवारलाई वितरण गरेको राहतमा वडा अध्यक्ष र वडा कार्यालयले खेलवाड गरेकाले सबै नागरिकले राहत फिर्ता गरी वडा कार्यालय घेराउ गरेको कुशवाहाले बताउनु भयो ।

कलैयाका समाज सेवी तथा युवा नेता मुकेश साहले अमानवीय कार्य भएकाले वडा कार्यालयले गल्ती सच्याई गुणस्तरीय र खान योग्य सामग्री वितरण गर्न आग्रह गर्नु भयो । मसिनो जिरा राइसको बोरामा किराले खाएको दाल र चामल रहेकाले पकाएर खान नमिलेर फिर्ता ल्याएको स्थानीयको आरोप थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी प्राप्त हुनासाथ वडा कार्यालयमा पुगेर अनुसन्धान गरी समस्या समाधानका लागि पहल गरेको बताउनु भयो । उहाँले गल्ती गर्नेले स्वीकार गरी गुणस्तरीय राहत सामग्री उपलव्ध गराउने र वडा कार्यालयले नागरिकलाई सहजरूपमा गुणस्तरीय सामग्री बाड्ने प्रतिबद्धता गरेकाले समाधान हुने बताउनु भयो । उहाँले समस्या समाधान नगरेमा कारबाही हुने बताउनु भयो ।

कोरोना भाइरस कोभिड-१९ हुन सक्ने आशङका गरी सरकारी अस्पतालले सेवा दिन चैत २५ गते आनाकानी गरेको आरोप जितपुरसिमरा उपमहानगरपालिका-१५ डुम्वरवाना निवासी ३२ वर्षीया बबिता बस्नेतले लगाउनु भएको छ । उहाँले शरीरमा डाबर आएर समस्या भएकाले चैत २५ गते नारायणी उपक्षेत्रीय अस्पतालको इमर्रजेन्सीमा जाँदा भर्ना लिन नमानेकाले दुई घण्टा चिकित्सकलाई बिन्ती गरेपछि भर्ना गरिएको बस्नेतले बताउनु भयो । उहाँले भर्ना भएपनि उपचारका लगि चिकित्सक र स्वाथ्यकर्मी नआउने, चेकजाँच र औषधि खान नदिएको बताउनु भयो ।

बिरामीलाई बोकेर विभिन्न अस्पतालमा जाँदा वास्तै नगरेको र सरकारी अस्पतालले राम्ररी उपचार गर्ने आशामा बिरामी लिएर जाँदा उपचार गर्न समस्या रहेको बिरामीसँगै गएकी पीडितकी आफन्त २५ वर्षीय पार्वती खड्काले बताउनु भयो । एम्बुलेन्स जान नमान्ने र अस्पतालले उपचार नगरिदिएकाले बिरामीको ज्यान जोगाउन समस्या भएको खड्काले बताउनु भयो । बबिता बस्नेतलाई एलर्जी भएकाले परीक्षण गर्ने साधन श्रोत नारायणी उपक्षेत्रिय अस्पतालमा नभएकाले केही समय र्इमजेन्सीमा राखी नेशनल मेडिकलमा लैजानका लागि सल्लाह दिएको मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनु भयो । बिरामीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको पार्वती खड्काले बताउनु भयो ।

महागढीमाई नपा-४ दहियारका १७ वर्षीय निरञ्जन सहनी केवटको उपचार पूरा नगरी नेशनल मेडिकल कलेजले रेफर गरेकाले बाटोमा मृत्यु भएको पीडित परिवारका विरेन्द्र सहनीले चैत २८ गते आरोप लगाउनु भएको छ । निरञ्जन काठमाडौँमा डकर्मी काम गर्दै आएकोमा लकडाउनको घोषणा भएपछि चैत १५ गते घरमा आएको उहाँले बताउनु भयो ।

चैत १८ गते सामान्य जरो आएकाले गञ्जभवानिपुरस्थित नीजि क्लिनिकमा प्राथमिक उपचार गर्राई चैत २५ गते नेशनल मेडिकल कलेज विरगञ्जमा उपचारका लागि गएका थिए । उपचारका क्रममा नेशनल मेडिकल कलेज प्रशासनले कोरोनाको लक्षण मिलेको अनुमान गरी सोही दिन दिउँसो रेफर गरेको विरेन्द्रले बताउनु भयो । विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार गर्न जाँदा बिच बाटोमै चैत २६ गते निरञ्जनको मृत्यु भएको पीडित परिवारका विरेन्द्रले बताए ।

नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धीन अन्सारीले कोरोनासँग लक्षण मिलेकाले नारायणी उपक्षेत्रीय अस्पतालमा लगेर राम्रोसँग उपचार गराउनु भनी रेफर गरेको बताउनु भयो । हेल्थ केयरका सञ्चालक डा.अबुलेस अन्सारीले बाटोमा सहनीको मृत्यु भएकाले कारण खुल्न नसकेको बताउनु भयो ।

नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले शव प्रशासनको निगरानीमा शवगृहमा राखेको बताउनु भयो । उहाँले मृतकको स्वाब कोरोना परीक्षणका लागि हेटौँडा पठाएको र रिर्पोट आएपछि परिवारजनलाई खबर गर्ने बताउनु भयो ।

मृतक परिवारका पाँच जना र उपचारमा संलग्न रहेका हेल्थकेयर अस्पतालका चिकित्सक दुई जनालाई क्वारेन्टाइनमा राखेको जिल्ला प्रहरी कार्यालयका एसपी गङ्गा पन्तले बताउनु भयो । उहाँले स्वास्थ्य प्रतिवेदन आएपछि मात्र कार्यविधि अनुसार प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।

इन्सेक पर्सा जिल्ला प्रतिनिधि केसि लामिछानेका अनुसार जिल्लामा हाल ७८ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । विरगञ्ज महानगरपालिकासहित जिल्लाका १४ ओटै स्थानीय तहमा स्थापित क्वारेन्टाइनमा नेपाल बाहिरबाट आएका र शङ्कास्पद किसिमका ती व्यक्तिहरू क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

कोरोना रोकथामका लागि हालसम्म भए गरेका कार्यहरूको विवरण चैत २८ गते सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले १ सय ४१ जनालाई भने घर फिर्ता पठाइएको जनाएको छ । त्यस्तै, सार्वजनिक भएको विवरण अनुसार चैत महिनाको सुरु यता भारत लगायतका अन्य देशबाट ३ सय ३९ जना पर्सा जिल्ला भित्रिएका छन् । यसअघि, जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई वडागत रूपमा भारत लगायतका अन्य देशबाट आएका व्यक्तिहरूको विवरण संकलन गर्न भनेको थियो ।

यस्तै, विरगञ्जस्थित नारायणी अस्पतालमा बेड बिस्तार गरी २५ बेडको आइसोलेशन वार्ड बनाइएको छ । यस्तै, नेशनल मेडिकल र बयोधा अस्पतालले पनि आइसोलेशन वार्ड सञ्चालन गर्ने प्रतिबद्धता जनाए पनि सुरक्षा उपकरण र सामग्री नभएको भन्दै सञ्चालन नगरेको सो विवरणमा जनाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले २ सय ५० थान पीपीई लगायतका स्वास्थ्य सामग्री खरिद गरेको र कोरोनाका शङकास्पद बिरामी बोक्नका लागि नारायणी र आशाराम अस्पतालका गरी दुई ओटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो ।

त्यसैगरी, जिल्लामा विवरण तयार पार्दासम्म विभिन्न स्थानीय तहका १ हजार २ सय ४९ जना प्रभावितहरूलाई राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिनु भएको छ । यस्तै, लकडाउनलाई थप कडा बनाउन सशस्त्र प्रहरीका थप ५ सय जनशक्ति विभिन्न नाका र स्थानीय तहमा खटाइएको  छ । नियन्त्रणमा  लिइएका १ हजार ३६ सवारी जरिवाना पश्चात छोडिएको छ । त्यस्तै, अहिले पनि २ सय ८० सवारी साधन नियन्त्रणमा रहेको विवरण सार्वजनिक भएको छ । यस्तै, खाद्य सामग्री विक्री वितरणका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिनु भयो ।

अन्य

भिडियो