INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरससम्बन्धी प्रदेश १ को अवस्था (चैत २८ गते)

प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ०७६ चैत २८ गतेसम्ममा कोरोना भाइरससँग लड्न ४ हजार १ सय ९८ जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ । प्रदेशभरी ४ सय ३२ ओटा आइसोलेशन बेडको व्यवस्था गरिएको छ । प्रदेशभरी चैत २८ गतेसम्म ५ सय ९४ थान पीपीई (पर्सनल प्रोटेक्सन एक्युप्मेण्ट) व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ ।

प्रदेश १ मा यस अवधिमा १ सय ८० जनाको स्वाब परीक्षण गरिएको छ । जसमा १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ र २८ जनाको रिपोर्ट आउन बाँकी छ । चैत २८ गतेसम्म प्रदेश १ मा ५१ महिला र ५ सय ५७ पुरुष सहित ६ सय ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा ३ हजार २ सय ९५ जना बसेका छन् । प्रदेशभरि ६ सय १० महिला र २ हजार ६ सय ८५ पुरुष होमक्वारेन्टाइनमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

इन्सेक मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार चैत २८ गतेसम्म मोरङमा १ सय ५९ जना पुरुष र १२ जना महिला गरी १ सय ७१ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङमा १० ओटा स्थानीय तह र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँले २५ गरी ६ सय ७५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । मोरङमा १ सय २७ ओटा आइसोलेशन बेड तयार गरिएको छ । ग्रामथानमा चार ओटा, पथरीशनिश्चरेमा १० ओटा, विराटनगरमा १४ ओटा, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १८ ओटा, मङ्गलबारे अस्पताल उर्लावारीमा १५ ओटा, कोशी अस्पतालमा ४६ ओटा, हाम्रो अस्पतालमा तीन ओटा, सुरक्षा अस्पतालमा पाँच ओटा र विराट मेडिकल कलेजमा १२ ओटा आइसोलेशन बेड तयार गरिएको छ । मोरङमा चैत २८ गतेसम्म १ हजार ५२ जना पुरुष र २ सय ४३ जना महिला गरी १ हजार २ सय ९५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । चैत २८ गतेसम्म मोरङमा तीन जना महिला र सात जना पुरुष गरी १० जनालाई आइसोलेशनमा राखिएको छ । मोरङमा ६१ जनाको स्वाब परीक्षण गरिएकोमा ५९ जनाको रिपोर्ट नेगेटिभ र तीन जनाको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आउन बाँकी तीन जना कोशी अस्पतालका रहेका छन् ।

कोरोना भाइरसका शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको ल्यावको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चैत २८ गते निरीक्षण गर्नुभएको छ । कोरोना भाइरसको कोशी अस्पताल विराटनगरबाट शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुरु गर्नुपूर्व मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्यावको निरीक्षण गर्नुभएको हो । विराटनगरबाट कोरोना परीक्षणका लागि आवश्यक तयारी सकिएपछि प्रदेश सरकारबाट ल्यावको निरीक्षण गरिएको हो । ल्यावको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याव काठमाडौँपछिको ठूलो क्षमताको भएको बताउनु भयो । उहाँले विराटनगरको ल्यावबाट दैनिक बढीमा २ सय जना सम्मको नमूना सङ्कलन गर्न सकिने बताउनु भयो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेण्ट डा. संगीता मिश्राले चैत २९ गतेदेखि परीक्षण सुरु गरिने बताउनु भयो ।

क्वारेन्टाइनमा बसेकाहरूको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)का लागि चैत २८ गते प्रदेश १ का ४ जिल्लामा टोली खटिएको छ । मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलसोत क्वारेन्टाइनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले वताउनु भयो । चैत २९ गते भित्रमा प्रदेश १ का १४ ओटै जिल्लामा रहेका क्वारेन्टाइनमा बसेकाको टेस्टका लागि आवश्यक सामान किट र पीपीई पठाइसकिने मन्त्री घिमिरेले बताउनु भयो ।

उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधीश तथा कर्मचारीहरूले सङ्घीय सरकारले स्थापना गरेको कोरोना विपद् कोषमा १ लाख ७९ हजार रुपियाँ जम्मा गरेका छन् । रजिष्ट्रार नवराज दुलालका अनुसार चार जना न्यायाधीश, रजिष्ट्रार, अधिकृत तथा अन्य कर्मचारीको तलबबाट कट्टा हुने गरी रकम जम्मा गरिएको हो । विपद् कोषमा रकम जम्मा गर्न अरूलाई पनि प्रेरित गर्ने आफूहरूको उद्देश्य रहेको दुलालले बताउनु भयो ।

राहत वितरणमा अनियमितता गरेको भन्दै विराटनगर महानगरपालिका -६ का वडा सदस्यमाथि हातपात भएको छ । चैत २७ गते राती विराटनगर -६ की वडा सदस्य सुशीला पासवानमाथि स्थानीयको एक समूहले हातपात गरेको हो । हातपात गर्ने स्थानीय ४० वर्षीय रामनारायण पासवान, ४२ वर्षीय ललिता पासवान र ४३ वर्षीय तुलसीदेवी पासवान रहेको मोरङ्ग प्रहरीले जनाएको छ । उनीहरूलाई चैत २७ गते राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङ्गका डिएसपी मानबहादुर राईले जानकारी दिनु भयो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मोरङ क्षेत्र नम्बर ३ का चारवटा स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको छ । सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकालाई मन्त्री ढकालले स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको हो । मन्त्री ढकालले एक ओटा स्थानीय तहलाई २५ हजार रुपियाँका दरले राहत रकम समेत उपलब्ध गराउनु भएको छ ।

मोरङ क्षेत्र -१ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बूले दुई ओटा स्थानीय तहको विपद् कोषमा १ लाख रुपियाँ जम्मा गर्नु भएको छ । उहाँले उर्लाबारी नगरपालिकाको विपद् कोषमा ५० हजार रुपियाँ र मिक्लाजुङ गाउँपालिका विपद् कोषमा ५० हजार रुपियाँ प्रदान गर्नु भएको छ ।

राष्ट्रिय युवासङ्घ जिल्ला कमिटी मोरङ तथा नगर कमिटी बेलबारीले बेलबारी नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । ११ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट नगरपालिकालाई हस्तान्तरण गरेको जिल्ला कमिटी सदस्य तोशिष सुवेदीले बताउनु भयो । स्वास्थ्य सामग्री बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ उर्लाबारीले चैत २८ गते उर्लाबारी नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको राहत कोषमा ५१ हजार ९ सय ८० रुपियाँ जम्मा गरेको छ । नगरपालिकालाई २५ केजीका २० बोरा चामल, १३ केजीका ६ बोरा भुजा, २५ केजीका २ बोरा चना र ३० पाकेट भएका ७१ कार्टुन चाउचाउ नगर प्रमुख खड्ग फागोलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुरेन्द्र सुवेदीले बताउनुभयो ।

इन्सेक उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार व्यक्तिबाट कोरोना भाइरस सर्ने जोखिम बढी भएकाले त्यसको न्यूनीकरणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को पहलमा चैत २८ गते सदरमुकाम गाईघाट बजारमा मापदण्ड बनाइएको छ । बजारलाई व्यवस्थित बनाउन इन्सेक, गैरसरकारी संस्था महासङ्घ, मानव अधिकार सञ्जाल, त्रियुगा उद्योग बाणिज्य सङ्घ, त्रियुगा नगरपालिका- ११ र स्थानीय प्रशासनको सहयोगमा सामान खरिद-विक्री गर्दा सामाजिक दूरी कायम रहने गरी मापदण्ड तय गरिएको छ ।

लकडाउनको समयमा अत्यावश्यक सेवा सुचारू गरेसँगै बजार व्यवस्थापन हुन नसक्दा जोखिम बढेको भन्दै सर्वसाधरणले चौतर्फी रूपमा जोखिम नियन्त्रण हुनु पर्ने आवाज उठाएपछि प्रशासनको सहयोगमा नागरिक समाजका अगुवाहरूले बजार मापदण्ड तय गरेका हुन् । नागरिक समाजको निर्णयसँगै स्थानीय प्रशासनले पनि बजारलाई थप व्यवस्थित बनाउने निर्णयगरेको छ । जिल्ला सुरक्षा समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन कमाण्ड गु्रपको टोलीले तरकारी बजारको अनुगमनपछि व्यवस्थित गर्ने निर्णय गरेको छ ।

साँझको समयमा तरकारी बजार भिडभाड हुने भएकाले त्यसलाई मध्यनजर गरी सामाजिक दूरी कायम गरेर तरकारी किनबेच गर्ने, भिडभाड कम गर्ने, आफूलाई चाहिने भन्दा अनावश्यक तरकारी नछुने जस्ता निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रशासनले नियम पालना गरी सङ्क्रमणबाट बच्न र सरकारले लगाएको लकडाउनलाई सफल पार्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

नागरिक समाजका अगुवाहरूले गाईघाट बजार अनुगमनपछि खाद्यान्न, दूग्धजन्य, मासु, औषधि तथा ग्याँस पसल अगाडी सामाजिक दूरी कम्तिमा तीन फिट कायम रहने गरी गोलो घेराको सङ्केत कायम गरेका छन् । ‘पसलहरूमा भिडभाड बढ्न थालेपछि, दूरी कायम रहने गरी गोलो घेरा राखेका हौ, अधिकारकर्मी महेश्वरी राईले भन्नु भयो ।

उदयपुरमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय तहहरूले सञ्चालनमा ल्याएका फिवर क्लिनिकमा जाँच गराउनेको सङ्ख्या चैत २८ गते मात्र १ सय १२ जना पुगेका छन् । भाइरस पहिचानका लागि राखिएका फिवर क्लिनिकमा रूघाखोकी तथा जरो आएका ६४ जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार कटारी नगरपालिकामा १६ जना, चौदण्डी नगरपालिकामा ३१ जना, उदयपुरगढीमा गाउँपालिकामा सात जना र ताप्ली गाउँपालिकामा १० जना रहेका छन् । त्यसैगरी, सामान्य रूघाखोकीका ४८ जना रहेका छन् । तथ्याङ्कअनुसार कटारी नगरपालिकमा १६ ओटा, उदयपुरगढी गाउँपालिकामा चार ओटा र ताप्ली गाउँपालिकामा १६ ओटा रहेका छन् । कटारी नगरपालिकामा १२ ओटा, चौदण्डी नगरपालिकामा ११ ओटा, त्रियुगा नगरपालिकामा १४ ओटा, बेलका नगरपालिकामा ६ ओटा, उदयपुरगढी गाउँपालिकामा सात ओटा, ताप्ली गाउँपालिकमा नौ ओटा, रौतामाई गाउँपालिकामा नौ ओटा र लिम्चुङ्गबुङ्ग गाउँपालिकामा पाँच गरी जिल्लाभरी ७३ ओटा फिवर क्लिनिक स्थापना गरिएको छ ।

परीक्षणका क्रममा उनीहरूलाई सामान्य रूघा/खोकी, जरो देखा परेपछि होम क्वारेन्टाइनमै बस्न सुझाव दिइएको छ ।

जिल्लाका आठ ओटा स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या चैत २८ गतेसम्म महिला नौ जना गरी ६९ जना रहेको छ । कटारी नगरपालिकामा तीन जना महिला र २३ जना पुरुष गरी २६ जना, चौदण्डीगढी नगरपालिकामा दुई जना महिला, चार जना पुरुष, त्रियुगा नगरपालिकामा आठ जना, बेलका नगरपालिकामा १२ जना, रौतामाई गाउँपालिकामा आठ जना र लिम्चुङ्गबुङ्ग गाउँपालिकामा तीन जना महिला र चार जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लामा होमक्वारेन्टाइनमा बस्नेको सङ्ख्या चैत २८ गतेसम्म कटारी नगरपालिकाका चार जना महिला गरी २ सय ८४ जना पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी बेलका नगरपालिकामा १ सय ७३ जना, त्रियुगा नगरपालिकामा ७९ जना, कटारी नगरपालिकमा चार जना महिलासहित २२ जना, ताप्ली गाउँपालिकमा सात जना र लिम्चुबुङ्ग गाउँपालिकामा तीन जना रहेका छन् ।

इन्सेक भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार भोजपुरमा चैत २८ गते सम्म ३० जना पुरुषलाई क्वारेन्टाइनमा र पाँच जना महिलालाई होम क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म जिल्लामा १९ ओटा आइसोलेशन कक्ष निर्माण गरिएको छ । जिल्लामा क्वारेन्टाइनको सङ्ख्या ३ सय ३६ पुगेको छ । जिल्लाभर ७६ ओटा हेल्थडेक्स स्थापना गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणलाई न्यूनीकरण तथा रोकथाम गर्न प्रदेशस्तरीय कोरोना जनसुरक्षा कोषमा पूर्वाधार विकास कार्यालय भोजपुरले ६० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालयले चैत २८ गते बजार अनुगमन गरेको छ । व्यापारीले दैनिक उपभोग्य समानमा कालोबजारी गरेको स्थानीयको गुनासो आउन थालेपछि बजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनु भयो ।

इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार इलाममा आइसोलेशनका लागि थप नौ बेडको तयारी भएको छ । जिल्ला समन्वय समितिको नयाँ भवनमा नौ बेड तयार भएको हो । इलाम अस्पतालमा यसअघि नै दुई बेडको आइसोलेशन तयार गरिएको थियो । तयार गरिएको नौ बेडको  आइसोलेशनको पनि इलाम अस्पतालले हेर्ने भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिनु भयो । जिल्लाका संस्थागत क्वारेन्टाइनमा २७ जनालाई राखिएको छ भने होम क्वारेन्टाइनमा ३ सय ३५ जना रहेको जनाइएको छ । लकडाउनमा चैत २८ गते पनि बजार, सडकलगायत सबै सुनसान छन् । कार्यालयले यो अवधिमा पनि सवारी साधन नचलाउन र सामाजिक दूरी कायम गर्न लिखित आदेश जारी गरेसँगै सर्वसाधारणबाट आदेश पालना गरेर सरकारलाई सहयोग मिलेको छ ।

कोरोना भाइरसको सङ्क्रमणको खतरालाई मध्यनजर गर्दै भारतबाट नेपाल प्रवेश गर्ने इलामका विभिन्न नाकामा सुरक्षा पोष्ट राखिएको छ । इलाममा पर्ने  नेपाल-भारत सिमा क्षेत्रका विभिन्न सात स्थानमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना गरिएको हो । लकडाउनको समयमा भारतबाट आउनेक्रम नरोकिएपछि सुरक्षा सतर्कताका लागि पोष्ट स्थापना गरिएको हो । भारतसँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाको जिर्मले, सूर्योदय नगरपालिकाको समाल्बुङ्ग, छब्बिसे, हिले, मानेभञ्ज्याङ्ग, माइजोगमाई गाउँपालिकाको मेघमा र सन्दकपुर गाउँपालिकाको जौबारीमा अस्थायी सुरक्षा पोष्ट राखिएको सशस्त्र प्रहरी बल १ नम्बर गण हेडक्वाटर इलामले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहले क्वारेन्टाइनका लागि थप व्यवस्था गर्न लागेको जनाएका छन् । सूर्योदय नगरपालिकाले ८० बेडको, रोङ गाउँपालिकाले ८० बेडको र चुलाचुली गाउँपालिकाले ५० बेडको क्वारेन्टइनको थप व्यवस्था गर्न अध्ययन थालेको जनाएका छन् ।

इन्सेक सङ्खुवासभा जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार चैत २८ गतेसम्म सङ्खुवासभामा होम क्वारेन्टाइनमा बस्ने एक जना मात्र भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिनु भयो । २८ गते जिल्ला अस्पताल खाँदबारीमा १७ जना महिला र २१ जना पुरुषले जरो क्लिनिकमा जाँच गराएको जिल्ला अस्पतालले जनाएको छ । जिल्लामा अहिलेसम्म १ सय १५ बेडको क्वारेन्टाइन र १६ बेडको आइसोलेशन बेड तयारी अवस्थामा छन् । अहिलेसम्म जिल्लाभर कुनैपनि शङ्कास्पद प्रकारका बिरामी नरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरस (कोभिड- १९)को सङ्क्रमण फैलिन नदिन स्थानीय तहले आ-आफ्नो क्षेत्रका नाका बन्द गरेर नाकामा स्वास्थ्यकर्मी सहितको हेल्प डेक्स स्थापना गरेका छन् ।  सिलिचोङ गाउँपालिकाले ३ सय ९५ परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिका भित्रका पाँच ओटै वडामा विपन्न परिवार र दैनिक ज्यालादरी गर्ने परिवारलाई राहत वितरण गरिएको सिलिचोङ गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनु भयो ।

खाँदबारी नगरपालिकाले लकडाउनलाई कडाइका साथ पालना गर्न वडास्तरसम्म लकडाउन गरेको छ । त्यस्तै, खाँदबारी नगरपालिकाले सदरमुकाम खाँदबारी आउने गाडी तथा खाद्यान्न बोकेका ट्रकलाई खाँदबारी भित्रने नाका कत्लेभञ्याङमा किटाणु मार्न विषादी छर्किएपछि आधा घण्टा राखेर मात्र आउने व्यवस्था मिलाएको छ । खाँदबारी नगरपालिकाले मनकामना परिसरमा बस्ने वृद्धवृद्धा र गुरुकुलका ५० जनाभन्दा बढी व्यक्तिहरूलाई खाद्यान्न्ा वितरण गरेको नगर प्रमुख मसरिप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

इन्सेक झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार चैत २८ गते विर्तामोड नगरपालिकाले पहिलो चरणमा ६ हजार ९ सय ६० घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । नगरपालिकाले १० ओटै वडाका २८ हजार ५ सय ८६ व्यक्तिलाई पहिलो चरणमा राहत सामग्री वितरण गरेको नगरपालिका प्रमुख ध्रुव सिवाकोटीले जानकारी दिनु भयो । नगरपालिकामा विपन्न र असहाय व्यक्तिहरूलाई पहिलो चरणमा ११ लाख ३ हजार ७ सय ९५ रुपियाँको चामल वितरण गरिएको छ ।

बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा बिर्तामोड उद्योग वाणिज्य सङ्घले १ लाख १ हजार रुपियाँ  प्रदान गरेको सङ्घका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।

पूर्व विद्यार्थी समाज आदर्श विद्या मन्दिर घैलाडुब्बाले विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थीका ५० घरपरिवारलाई राहत वितरण गरेको विद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलाले बताउनु भयो ।

पाँचथर सरोकार समाज झापाले जिल्ला कारागार झापामा रहेका कैदीबन्दीहरूलाई हातधुने १ हजार १ सय थान लाइफव्वाई साबुन हस्तान्तरण गरेको छ । पाँचथर सरोकार समाज झापाका अध्यक्ष कमलप्रसाद खरेलको टोलीले जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र निरौलालाई ३२ हजार रुपियाँ मूल्य बराबरको हातधुने साबुन प्रदान गरेको पाँचथर सरोकार समाज झापाका महासचिव सुवास भट्टराईले बताउनुभयो ।

इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार सङ्घीय सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र जोखिम रोक्नका लागि जारी राखेको लकडाउनलाई प्रदेश १ र २ बीचको सीमामा थप कडाई गरेको छ । एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावतमा थप कडाइ गरेको हो । कोशी व्यारेज पश्चिम प्रदेश २ र पूर्व प्रदेश १ भएकाले सुनसरी प्रहरीले प्रदेश १ र २ बीचको आवतजावतमा थप कडाइ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सरकारको निर्णयकार्यान्वयनमा प्रदेश १ मा चैत २८ गतेबाट थप कडाइ गरिएको छ ।

इन्सेक तेहृथुम जिल्ला प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार चैत २८ गतेसम्म जिल्लामा १ सय २० जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको छ । जिल्लाको म्याङलुङ नगरपालिकामा तयार गरिएको क्वारेन्टाइनमा १७ जना, फेदाप गाउँपालिकामा २३ जना, मेन्छ्यायेम गाउँपालिकामा दुई जना र आठराई गाउँपालिकामा सात जना क्वारेन्टाइनमा राखिएको छ । जिल्ला अस्पतालमा निर्माण गरिएको १० बेडको आइसोलेशन वार्ड निर्माण गरिएकोमा दुई जनालाई राखिएको छ । उनीहरूको स्वाब परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।

अन्य

भिडियो