INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरससम्बन्धी प्रदेश २ को अवस्था

प्रदेश २ का विभिन्न जिल्लाहरूमा सीमा-नाकाबाट नेपाल प्रवेश गर्नेहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको समाचारहरू प्राप्त भएका छन् । खोला र जङ्गल लगायतको बाटो प्रयोग गरी भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न खोज्नेहरूलाई प्रहरीले निगरानी बढाएको छ ।

स्थानीय तहमा लाग्ने हाटबजार, मेला तथा कार्यक्रमहरू बन्द गरिएको छ भने ठेलागाडा प्रयोग गरी अति आवश्यक सामग्री विक्री वितरण गर्न दिइएको समाचार जिल्ला प्रतिनिधिहरूबाट प्राप्त भएको छ ।

धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार जिल्लामा हालसम्म १६ वटा ठाउँमा ३ सय ५४ बेड क्षमताका क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ । हालसम्म ९६ जना क्वारेन्टाइनमा रहेका छन् । ५६ जना होम क्वारेन्टानमा रहेका छन् । धनुषामा १२ बेड क्षमताको आइसोलेशनमा सात जना बिरामी रहेका छन् ।

जनकपुरधामको प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान गरिएपनि पर्याप्त व्यवस्थापन र समन्वय नहुँदा नमुना परीक्षण प्रभावित हुँदै ढिलो रिपोर्ट आइरहेको छ । प्रदेश २ का आठ ओटै जिल्ला भारतीय सीमा नाकासँग जोडिएकाले उच्च जोखिममा रहेको छ ।

प्रदेश २ को लागि प्रादेशिक अस्पतालमा दैनिक १२ ओटासम्म परीक्षण गर्न सक्ने क्षमताका पिसिआर मेसिन सङ्घीय सरकारले उपलब्ध गराएको छ । पिसिआर मेसिन अझै थप गरेपनि यसले प्रदेशमा थेग्न सक्ने अवस्था नरहेको परीक्षणमा खटिएका ल्याब विज्ञ सुरेन्द्र मुधुमको बुझाइरहेको छ । प्रदेश २ मा निकै घना बस्ती रहेकाले गर्दा पनि नमुना परीक्षणका लागि एकै पटकमा ७२ ओटा नमुना परीक्षणको नतिजा दिनसक्ने रियल टाइम पिसिआर मेसिनको आवश्यकता रहेको ल्याब विज्ञ मुधुम बताउनु हुन्छ ।

प्रादेशिक अस्पताल जनकपुरमा कोरोना भाइरस (कोडिभ-१९) को परीक्षणमा निकै समस्या देखिएको परीक्षणमा संलग्न चिकित्सकहरूले गुनासो गरेका छन् । विद्युतको समस्याको साथै ल्यावमा प्रदेश सरकार र सङ्घीय सरकार र जनस्वास्थ्य प्रयोगशालको समन्वय नहुँदा परीक्षणमा ढिलाइको साथै समस्या भइरहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका प्रमुख राम विनय साहले बताउनु भयो । प्रमुख साहका अनुसार ‘ल्याबमा हाइ टेम्परेचर पोशाक लगाएर लगातार ६ देखि ८ घण्टासम्म उभिएर काम गर्नु पर्छ, हामी उच्च जोखिममा छौँ । तर, आरामका लागि कुरै छोड्नुस बस्ने ठाउँ पनि व्यवस्थापन हुन नसकेकाले समस्या भएको बताउनु भयो ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको व्यक्तिको सङ्ख्याको अनुपातमा अहिले न्युन गतिमा नमुना परीक्षण भइरहेकाले जोखिम बढी रहेको ल्याबका अर्का विज्ञ विवेक तिम्लसिनाले बताउनु भयो ।

पिसिआर मेसिन सञ्चालन, आवश्यक उपकरण परिपूर्ति र परीक्षणमा खटिएका स्वास्थ्यकर्मीसँग प्रदेश सरकार लगायत कुनै पक्षले समन्वय नगर्दा नमुना परीक्षण सुस्त गतिमा भइरहेको छ ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले लकडाउन अवधिभरका लागि मन्त्रालयले प्रदेशका किसानहरूलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तयारी भइरहेको बताउनु भयो । किसानलाई राहत दिनका लागि प्रदेशभरका किसानको लगत सङ्कलन भइरहेको साहले बताउनु भयो ।

प्रदेशमा कुखुरा व्यवसाय गर्ने किसानहरूलाई ठूलै घाटा भएको बताउँदै मन्त्री साहले प्रति कुखुरा १ सय २५ रुपियाँ र प्रति चल्ला १ सय रुपियाँ उपलब्ध गराउने निर्णय समेत भइसकेको बताउनु भयो । स्थानीय प्रशासन तथा स्थानीय सरकारमार्फत मुचुल्का उठाएर कुखुरा व्यवसायी मन्त्रालयमा आएको खण्डमा राहत पाउन सक्ने मन्त्री साहले बताउनु भयो ।

बैङ्कबाट ऋण लिएका किसानहरूलाई क्षतिपूर्ती उपलब्ध गराउनका लागि बैङ्कहरूलाई चिठ्ठी काटिएको मन्त्री साहले बताउनु भयो । मन्त्री साहले १० लाख रुपियाँसम्म कृषिका लागि ऋण लिएका किसानहरूलाई ब्याजमा १२ प्रतिशत छुट, १० लाख रुपियाँदेखि २५ लाख रुपियाँसम्म ऋण लिएकालाई ५० प्रतिशत र २५ लाख रुपियाँभन्दा माथि ऋण लिएका किसानलाई २५ प्रतिशतसम्म ब्याजमा छुट दिने तयारी सहित व्यवस्था गर्न मन्त्रालयले तयारी गरिरहेको बताउनु भयो ।

सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार लालबन्दी नपा-१५ स्थित परवानीपुरका स्थानीय बासिन्दाहरूले कालिञ्जोर खोला हुँदै सिन्धुली छिर्ने बाटो बन्द गरेका छन् । कोरोना भाइरस नियन्त्रण प्रयासका लागि नेपाल सरकारले गरेको लकडाउनलाई अटेर गरी अप्रत्यासित रूपमा मानिसहरूको चहल-पहल बढेपछि परवानीपुरका स्थानीयहरूले बाटो पूर्ण रूपमा बन्द गरेका छन् । सर्लाहीको उत्तरतर्फपर्ने ग्रामीण क्षेत्र लालबन्दी नपा-१५ स्थित परवानीपुर चोकदेखि सिन्धुलीको सीमाना चुरेसम्मका स्थानीयहरूले बाटोमा रूख ढालेर बन्द गरेका छन् ।

सरकारले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आह्वान गरेको भएपनि अटेर गरी उक्त क्षेत्रमा मोटरसाइकल, अटोरिक्सा तथा कारको आवत जावत अत्याधिक बढेपछि बाटोबन्द गर्नु परेको स्थानीय युवा मङ्गल स्याङ्तानले बताए ।

खोलामा माछा मार्न, फुर्सदको समयमा घुम्न तथा रमाइलो गर्न समूह बनाएर अपरिचित मानिसहरूले खोला तथा आसपासका गाउँहरूमा पुग्ने गरेका थिए । पछिल्लो समय कालिञ्जोर खोलाको बाटो भएर लागु औषधको समेत ओसार पसार हुने गरेको स्थानीयहरूले बताएका छन् ।

बलरा नगरपालिका-३ स्थित लक्ष्मीपुरमा कोरोनाबाट प्रभावित गरिब, मजदुर तथा अति विपन्न १ सय ३० परिवारलाई प्रति परिवार १० किलो चामल, दुई किलो दाल, पाँच किलो आलु, एक प्याकेट नुन, खाने तेल एक प्याकेट तथा एउटा साबुन वितरण गरेको झाले बताउनु भएको छ ।

स्थानीय सरकार मनपरी ढङ्गले बजेट दुरुपयोग गरी विकास निमार्णदेखि राहत वितरणको कार्यमा अनियमितता गर्दै आएको आरोप झाले लगाउनु भएको छ ।

लालबन्दी नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी परिवार चलाउने अतिविपन्न ४ हजार १ सय परिवारलाई राहत वितरण गरेको नगर प्रमुख मानबहादुर खड्काले बताउनु भयो । नगरपालिकाभित्र बसोबास गरेका ४ हजार ४ सय ३६ जना विपन्न गरिब परिवारको नामावली सङ्कलन गरी राहत वितरणका लागि वडा कार्यालयमा पठाइएको थियो । राहत वितरण सम्बन्धी मापदण्ड अनुसार नगरपालिकाले एक जना मात्र सदस्य भएको परिवारलाई प्रति परिवार पाँच किलो चामल, एक किलो दाल, एक किलो नुन र दुई लिटर खाने तेल, पाँच जना वा सोभन्दा भन्दा बढी सदस्य भएका परिवारहरूलाई १५ किलो चामल, दाल, नुन र तेल वितरण गरेको नगर प्रमुख खड्काले बताउनु भयो ।

नगरपालिकाले ४३ लाख २९ हजार ७ सय ५६ रुपियाँ बराबरको कोरोना भाइरस विपद् विपन्न सहायता कोष खडा गरी उक्त राहत वितरण गरेको लालबन्दी नगरपालिकाका कम्प्युटर अपरेटर कोमल हरी गौतमले बताए ।

जिल्ला अस्पताल सर्लाहीमा बिना भेन्टिलेटरको १५ शैय्याको आइसोलेशन बेड तयार गरिएको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण तिव्र रूपमा बढिरहेको अवस्थामा जिल्लाका भारतसँग जोडिएका सीमा नाकाहरूमा सङ्क्रमणको उच्च जोखिम रहेको बताउँदै सदरमुकाम मलङ्गवा स्थित जिल्ला अस्पतालमा १५ शैय्याको आइसोलेशन वार्ड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसिले बताउनु भयो । आइसोलेशन निर्माण भइसकेकोले अब कोरोना सङ्क्रमित विरामीको जिल्लामा नै उपचार गरिने जिसिले बताउनु भयो ।

जिल्ला अस्पतालको लगानीमा तयार गरिएको आइसोलेशमा कोरोना सङ्क्रमित बिरामीहरूलाई तत्काल उपचारको लागि आइसोलेशनमा राख्ने गरी तयार गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अभिनाश कुमार सिंहले बताउनु भयो ।

आइसोलेशन वार्डको लागी चाहिने अति आवश्यक भेन्टिलेटर, स्टाफ नर्स, अनमी तथा सुइपर समेत अभाव भएकोले आइसोलेशन वार्ड नामको लागि मात्र स्थापना गरिएको र आइसोलेशन वार्ड राख्न दक्ष जनशक्ति तथा भेन्टिलेटर आवश्यक भएपनि केही पनि व्यवस्था नगरी आइसोलेशन स्थापना गर्न आवश्यक नरहेको सर्लाही जिल्ला क्षेत्र नं. १ का सङ्घीय सांसद प्रमोद साहले बताउनु भयो ।

क्वारेन्टाइनमा राखिएको बिरामी माथि शङ्का लागेको खण्डमा नजिकको आइसोलेशन वार्डमा रेफर गर्दा उपयुक्त हुने सांसद साहले बताए ।

बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कलैया उमनपा-३ का १ सय ३० परिवार, उमनपा-१७ का १ सय २० परिवार, उमनपा-२१ का ६ सय परिवार, उमनपा-२४ का ४ सय ५० परिवार उमनपा-२६ का ५ सय परिवार र उमनपा-२७ का ९ सय अति विपन्न वर्गका परिवारलाई चैत २७ गते नगर प्रमुख राजेश राय यादव, नगर उप-प्रमुख रहिमा खातुन, वडा अध्यक्ष जलाउदिन मंसुर, सुगन्धप्रसाद महतो, पुनदेवप्रसाद रौनियार, हरिलाल चौधरी, महेश साह र रेयाजुलहक अंसारीले राहत सामग्री वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव राजेन्द्रप्रसाद घिमिरेले बताउनु भयो । उहाँले अति विपन्न, गरिब, असहाय, दैनिक ज्यालादारी गर्ने मजदूर वर्गका नागरिकलाई राहत वितरण गरी नोवेल कोभिड-१९ नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनका समयमा छाक टार्न सहयोग गरेको बताउनु भयो । राहतमा प्रति परिवार चामल १५ किलो, दाल एक किलो, नुन एक किलो, आलु चार किलो र खाने तेल ५ सय ग्राम वितरण गरिएको नगर प्रमुख यादवले बताउनु भयो ।

बारा उधोग बाणिज्य सङ्घ कलैयाले चैत २७ गतेदेखि अर्को सूचना जारी नगरेसम्म कलैयाको हाटबजार बन्द गरेको विज्ञप्ति मार्फत आग्रह गरेको सङ्घका अध्यक्ष विनोद साहले बताउनु भयो । उहाँले चैत २७ गतेदेखि कलैया बजारमा तरकारी बिक्री वितरण गर्न रोक लगाएको बताउनु भयो । उहाँले नगरभित्र ठेला, रिक्सामा तरकारी बिक्री वितरण गर्न व्यवसायीहरूलाई अनुरोध गर्नु भयो ।

जितपुरसिमरा उपमहानगरपालिका-१७ जैतापुरमा राहतमा कमसल खाद्यान्न वितरण गरेको स्थानीय ४० वर्षीय प्रेम लामाले बताउनु भयो । उहाँले सोना मन्सुलीको चामल भनेर कमसल, पुरानो र नराम्रो खान नमिल्ने चामल विपन्नलाई वितरण गरेकाले चर्को मूल्य देखाई कमसल चामल बाँड्ने कार्यमा संलग्नलाई कारबाही गर्न माग गर्नु भयो ।

वडाका १ सय ७९ अति विपन्न परिवारको पहिचान गरी चैत २६ गते वितरण गर्न लागेकोमा चैत २७ गते राहत वितरण गर्दा स्थानीयले वडा कार्यालय घेराहाली राहत वितरण गर्न रोकेको वडा सदस्य सञ्चराम थिङ्ले बताए । उहाँले सोही वडाको उपेन्द्र किराना पसलले गल्ति गरेकाले जनप्रतिनिधिहरू बदनाम भएको बताउनु भयो । महामारीका बेला गरिब र विपन्नको गाँसमा लापरवाही गर्ने किराना पसलेलाई कारबाही गरिनु पर्ने स्थानीय ४५ वर्षीय जगदिश चौधरीले बताउनु भयो ।

राम्रो समानको मूल्य लिन र कमसल तथा खानै नहुने चामल दिएकाले कालो बजारी गरेको आरोप वडा अध्यक्ष नवराज खड्काले लगाउनु भयो । नराम्रो चालमको बदलामा अर्को खान योग्य चामल उपलब्ध गराउने शर्तमा किराना सञ्चालक उपेन्द्र साहले स्वीकार गरेर चामल फिर्ता लगेको वडा अध्यक्ष खड्काले बताउनु भयो ।

महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार मरहा खोलामा गिट्टी कुटेर गुजारा चलाउने गौशाला नपा-५ मुसहर टोलकी रामकलीदेवी सदाको दैनिक ज्याला तीन सातादेखि ठप्प छ । आम्दानी बन्द भएपछि छिमेकीसँग मागेर खाएको दुई साता भइसकेको छ ।

चैत २७ गते घरमै राहत सामग्री लिएर गौशाला उद्योग बाणिज्य सङ्घको टोली आइपुग्यो । ५५ वर्षीया रामकलीको आँखा रसाए । फुसको भत्केको छाप्रोभित्र सुत्ने चटाइ, माटोको ओभानो चुल्हो र भाँडो देखाउँदै रामकलीले भन्नु भयो- ‘यो दुई सातादेखि बिहान खाए साँझ भोकै, साँझ खाए बिहान भोकै बस्नु परेको थियो । राहतले १० दिनसम्म गुजारा चल्ने भयो ।’ राहतमा चामल, दाल, आलु, सोयाबिन, खानेतेल, नुन, साबुन पाएपछि सङ्घका अध्यक्ष रामराजा प्रसाद साहलाई धन्यवाद दिँदै रामकलीले भन्नु भयो- ‘चुल्होचौका बन्द थियो । ऐंचोपैंचो गरेर जेनतेन पेट भर्दै थियौँ ।’

निर्वाचनमा मत माग्न दिनहुँ आउने नेता विपतको बेला नआएको भन्दै स्थानीयले असन्तुष्टि पोखेका छन् । तीन सातादेखिको लकडाउनका कारण मजदुर, गरिब, विपन्न परिवार समस्यामा छन् । नगरपालिका र गाउँपालिकाले राहत वितरण गर्न ढिलाइ गरेपछि गरिब दलितलाई खाने व्यवस्था मिलाएको संघका अध्यक्ष रामराजा प्रसाद साहले बताउनु भयो ।

गौशाला नगरपालिकाका प्रवक्ता भोजबहादुर दर्लामीले नगरपालिकाको बैठकले राहत वितरणका लागि वडाहरूमा बजेट पठाइएको बताउनु भयो । गरिब, विपन्न र लकडाउनले समस्यामा परेका परिवारलाई राहत उपलब्ध गराउने तयारी गरेको उहाँको भनाइ छ ।

प्रदेश २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न प्रदेश सरकारले एक साताअघि नै बजेट पठाएको थियो । तर, स्थानीय तहले राहत वितरणमा ढिलाइ गरेका छन् ।

पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले पर्सा क्षेत्र नं १ का सांसदलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्नु भएको छ । सांसद चैत २६ गते सीमावर्ती भारतको रक्सौलमा रहेको क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई भेट्न जानु भएको थियो । यादव त्यहाँ गएको विषयले जोखिम बढाएको भन्दै आलोचना भएपछि उहाँलाई क्वारेन्टाइनमा बस्न भनिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनु भयो ।

सांसदसँगै रक्सौल जानुभएका अन्यलाई पनि सेल्फ क्वारेन्टाइनमा बस्न भनेको उहाँले जानकारी दिनु भयो । उहाँहरू होम क्वारेन्टाइनमा हुनुहुन्छ । मैले उहाँहरूलाई त्यहीँ आग्रह गरेको छु र उहाँहरूले पनि त्यो प्रतिबद्धता जनाउनु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको दोस्रो चरणमा नेपाल प्रवेश गरेको र सीमा क्षेत्र निकै जोखिममा रहेको छ । यही बेलामा पर्सा क्षेत्र नं १ का सांसद सीमापारि रक्सौलमा रहेको हजारी मल उच्च माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा जानु भएको विषय विवादमा परेपछि उहाँलाई पर्साका प्रमुख जिल्ला अधिकारीले होम क्वारेन्टाइनमा रहन आग्रह गर्नु भएको हो ।

सीमा वार-पार क्वारेन्टाइनमा दुवै तर्फका नागरिक रहेका छन् । सङ्क्रमण नफैलियोस् भनेर दुवै देशका सरकार प्रमुख तहमा भएको समझदारी पछि यस्तो गरिएको हो । यसको उद्देश्य सङ्क्रमणलाई रोक्नु हो । यस्तो समयमा सांसदको रक्सौल भ्रमण हाम्रा लागि जोखिमपूर्ण भयो त्यो जोखिमलाई कम गर्न क्वारेन्टाइनमा बस्दा ठीक हुने नेकपा पर्साका अध्यक्ष प्रभु हजराको भनाइ छ ।

सांसदले भने आफूले विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले तय गरेको प्रोटोकलको बर्खिलाप नगरेको बताउनु भएको छ । उहाँले भारतीय निकायबाट इजाजत लिएर पर्साका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएर आफू रक्सौल गएको बताउनु भयो । उहाँले पर्साका प्रमुख जिल्ला अधिकारीले आफूलाई होम क्वारेन्टाइनमा बस्नु भनेको बताउनु भयो । उहाँले आफू रक्सौल जानुको पछाडि खराब नियत नरहेको बताउनु भयो । यत्रो सङ्कटको विषयमा आम नागरिकलाई अपिल गर्दै हिँडेको छु उहाँले भन्नु भयो- ‘अनि मैले लापरवाही गर्छु होला र ?’

सांसदको रक्सौल भ्रमण सङ्घीय संसदको सचिवलायलाई जानकारी छैन, त्यसो भएकोले पनि उहाँको भ्रमण विवादित भएको हो । सांसदले आफूले संसद सचिवालयमा सम्पर्क गरेको तर फोन स्वीच अफ रहेको बताउनु भयो ।

रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमिल्सनाका अनुसार जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण भएको क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या चैत २७ गते साँझसम्म २ सय ७१ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । चैत २६ गतेसम्म क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या २ सय ६० रहेको थियो । क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई खाने, बस्ने व्यवस्था स्थानीय तहले गर्दै आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो ।

क्वारेन्टाइनमा बस्नेहरूमा १६ महिला र २ सय ९ जना पुरुष रहेका छन् भने बाँकी रहेका ४६ जनामा भाइरसको कुनैपनि लक्षण देखा नपरेकोले घर पठाइएको छ । आइसोलेशन बेड २५ ओटा रहेको र हालसम्म आइसोलेशनमा एक जना पनि नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी चैत २७ गतेसम्म ६७ जनाको चेक जाँच भएतापनि १७ जनाको स्वाब सङ्कलन गरी परीक्षणमा पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

कोरोना भाइरसका कारण सरकारले लागु गरेको लकडाउनका कारण नेपाल भारतका सम्पूर्ण सीमा नाकाहरू बन्द रहेकाले भारत तथा अन्य मुलुकबाट चोर बाटो हुँदै नेपाल प्रवेश गर्नेहरूलाई गिरफ्तार गरी क्वारेन्टाइनमा राख्ने गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो । सम्पूर्ण नाकाहरूमा चौबीसै घण्टा सशस्त्र प्रहरीको ड्युटी रहने र बोर्डर भरी निरन्तर सेवा दिने सशस्त्र प्रहरी इन्स्पेक्टर अजय थापाले बताए ।

जिल्लामा ८ सय ३६ बेडको क्वारेन्टाइन सञ्चालनको अवस्थामा रहेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सबै स्थानीय तहहरूले आ-आफ्नो क्षेत्रभित्र राहत वितरण गर्दै आइरहेका छन्  । स्थानीय तहहरूले राहत वितरण गर्दै आएतापनि बसाइसराई कागजपत्र अनिवार्य माग गरिएकोले सबै परिवारको सो कागजात नभएको र कोठा-भाडामा बस्ने व्यक्तिहरूका लागि भोकभोकै बस्नु पर्ने अवस्था आइपरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको शङ्कास्पद व्यक्तिहरूको उपचारका लागि २५ बेडको आइसोलेशन तयारी अवस्थामा राखिएको, ५ सय ९१ ओटा पीपीइको व्यवस्था पनि गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार कोरोना परीक्षणका लागि भगवानपुर गाउँपालिका स्थित दुई ओटा क्वारेन्टाइनबाट चैत २६ गते २३ जनाको र चैत २७ गते १८ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । प्रादेशिक अस्पताल जनकपुरको टोलीले नमूना सङ्कलन गरी जाँचको लागि जनकपुर लैजाने बताउनु भयो ।

लकडाउनको अवज्ञा गर्दै चलाएका सवारी साधानहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहाले कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताउनु भयो । लकडाउनको उल्लङ्घन गरेको आरोपमा चैत २७ गते १२ ओटा मोटर साइकल, र दुई ओटा ट्रक, एउटा पिकअप भ्यान र एउटा जेसिभि गरी १६ ओटा सवारी साधनहरूलाई आवश्यक कारबाहीको लागि नियन्त्रनमा लिएको डिएसपी घिमिरेले बताउनु भयो ।

सिरहा जिल्लामा प्रत्येक नयाँ वर्षको बैशाख १ र २ गते लहान नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, सिरहा नगरपालिका लगायतका स्थानहरूमा लाग्ने वार्षिक मेलाहरूमा भारत तथा नेपाल भित्रका लाखौं व्यक्तिहरूको जमघट हुने गर्दथ्यो । यस वर्ष जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समिति तथा स्थानीय निकायका प्रतिनिधिहरू बीच छलफल भई कोरोना सङ्क्रमणबाट बच्नको लागि मेला लाग्न नदिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेका अनुसार क्वारेनटाइनमा शङ्कास्पद बिरामीहरूरूलाई निगरानीमा राख्ने क्रम जारी रहेको बताउनु भयो । उहाँका अनुसार केही व्यक्तिहरू क्वारेन्टाइनमा बसेर गइसकेका छन् भने चैत २७ गतेसम्म १२ जना महिला, १ सय २२ जना पुरुष गरी १ सय ३४ जना क्वारेन्टाइनमा बसिरहेको जानकारी दिनु भयो । त्यसैगरी होम क्वारेन्टाइनमा तीन महिला गरी ७९ जना निगरानीमा रहेको डिएसपी घिमिरेले बताउनु भयो ।

धनगढीमाई नगरपालिका-१ स्थित महेन्द्र गेनाई अस्पतालमा कोरोना सङ्क्रमणहरूको उपचारका लागि १८ बेडको आइसोलेशन बेड तयार गरिएको छ । सो आइसोलेशन वार्डमा चैत २५ गते तीन जनालाई उपचारको लागि राखिएको आइसोलेशन शाखाका इन्चार्ज डा.शुभाष मण्डलले बताउनु भयो । डा. मण्डलका अनुसार आइसोलेशनमा रहेका तीनै जना र अन्य स्थानीय निकायहरूमा रहेका क्वारेन्टाइनहरूमा शङ्कास्पद व्यक्तिहरूका लागि कोरोना परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरबाट टोलि खटिएको र उहाँहरूले भगवानपुर गाउँपालिकामा नमूना परीक्षणका लागि स्वाबहरू कलेक्सन गर्न सुरू गरिसकेको छन् ।

पाँच जनाको स्वाब परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो ।

सिरहा जिल्लामा १७ ओटै स्थानीय तहको सहकार्यमा ४० बेडको आइसोलेशन अस्पताल र १७ ओटै स्थानीय तहको १९ स्थानमा गरी २ सय ४६ बेडको क्वारेनटाइन तयार पारेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताउनु भयो । आवश्यकता अनुसार बेड सङ्ख्या थप्न सकिने गुरागाईंले बताउनु भयो ।

भारत तथा विदेशबाट आएका ४ सय ६८ जनाको पहिचान भएको र उनीहरूलाई होम क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा राखेर निगरानीमा राखेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो । त्यसगरी क्वारेन्टाइनमा बस्ने बिरामीहरूको लागि खाने बस्ने सम्पूर्ण व्यवस्थाहरू स्थानीय तहले नै गरेको र सुरक्षा तथा उपचारका लागि सुरक्षा निकाय र स्वास्थ्य कार्यालयले सहयोग गरेको प्रमुख जिल्ला अधिकारी गुरागाइँले बताउनु भयो ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहर पोखरेलका अनुसार सप्तकोशी नगरपालिकापछि अग्निसाइर कृष्णासवरन गाउँपालिकाले लकडाउन प्रभावितहरूलाई राहत वितरण सुरू गरेको छ । कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले गरेको लकडाउनका कारण प्रभावित अति विपन्न परिवारको पहिचान गरी चैत २७ गतेदेखि राहत वितरण गर्न सुरू गरिएको हो । गाउँपालिकाले लक्षित समूह पहिचान तथा राहत वितरण समिति मार्फत विभिन्न वडाबाट राहत वितरण कार्य थालेको छ । गाउँपालिकाले विभिन्न वडाबाट सिफारिस गरी पठाइएका ३ हजार ५ सय भन्दा बढी परिवारलाई राहत वितरण गर्ने योजना बनाएको जनाएको छ ।

गाउँपालिकाले वडा नम्बर १ का ६ सय ५०, वडा नम्बर २, ३ र ४ का ६/६ सय, वडा नम्बर ५ का ६ सय ६५ र वडा नम्बर ६ का ४ सय अति विपन्न परिवारलाई राहत प्रदान गरिने गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले बताउनु भयो । गाउँपालिकाद्वारा प्रति परिवार १५ किलो चामल, दुई किलो दाल, एक लिटर खानेतेलका दरले राहत वितरण गरेको वडा नम्बर ३ का वडाध्यक्ष अरूण चौधरीले बताउनु भयो । उहाँले पहिलो प्राथमिकतामा दलित समुदायलाई राखिएको समेत जानकारी दिनु भयो । समितिले वितरण गरेको राहत लक्षित समूह पहिचान गरी वितरण भए-नभएको बारे गाउँपालिकाले कडा निगरानी गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष चौधरी र उपाध्यक्ष मिना चौधरीले राहत वितरणको स्थलगत निरीक्षण गर्ने बताउनु भयो ।

कतिपय वडामा नेपाल सरकारको कार्यविधिलाई मिचेर राहत वितरण गर्न लागेको पाइएको उपाध्यक्ष मिना चौधरीले बताउनु भयो । बढी भिडभाड गर्ने, सर्वदलीय सर्वपक्षीय समिति गठन नगरी र समितिका पदाधिकारीको उपस्थिति बिना राहत वितरण गर्ने गरेको पाइएकाले कार्यविधिलाई कार्यान्वयन र पालना गर्न सुझाव दिएको उहाँले बताउनु भयो ।

गाउँपालिकाले लकडाउनको समयमा कोही भोकै बस्न नपरोस् भनी ६० लाख रुपियाँको राहत कोष समेत खडा गरेको छ । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त बजेट समेतलाई सोही कोषमा राखिएको र विभिन्न सङ्घ-संस्था र व्यक्तिले समेत समन्वय गरी गाउँपालिकामा राहत वितरण गर्दै आएको अध्यक्ष चौधरीले बताउनु भयो ।

त्यसैगरी, कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि चैत २७ गते २ सय ५० जनालाई क्वारेन्टाइनमा राखिएको छ । सप्तरीको १८ ओटै स्थानीय तहहरूले सञ्चालन गरेको क्वारेन्टाइनहरूमा २ सय ४४ पुरुष र ६ जना महिला गरी जम्मा २ सय ५० जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये एक जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीका स्थानीय तहहरूले ५ सय ८७ शैय्याको क्वारेन्टाइन सञ्चालन गरेका छन् । जसअनुसार नगरपालिकातर्फराजविराज नगरपालिकामा तीन स्थानमा गरी ७० शैय्या, कञ्चनरुप नगरपालिकामा पाँच स्थानमा गरी ७८ शैय्या, डाक्नेश्वरी नगरपालिकामा १२, बोदेबर्साइन नगरपालिकामा दुई स्थानमा गरी ३० शैय्याको क्वारेन्टाइन सञ्चालन गरिएको छ ।

यसैगरी, खडक नगरपालिकाले २० शैय्या, शम्भुनाथ नगरपालिकाले १० शैय्या, सप्तकोशी नगरपालिकाले दुई स्थानमा गरी ४२ शैय्या, सुरुङ्गा नगरपालिकाले २० शैय्या र हनुमाननगर कंकालिनी नगरपालिकामा दुई स्थानमा गरी ५० शैय्याको क्वारेन्टाइन सञ्चालनमा रहेको छ ।

गाउँपालिकातर्फ भने अग्निसाइर कृष्णासवरन गाउँपालिकामा २४ शैय्या, छिन्नमस्ता गाउँपालिकामा २५ शैय्या, महादेवा गाउँपालिकामा दुई स्थानमा गरी ५० शैय्या, तिलाठी कोइलाडी गाउँपालिकामा दुई स्थानमा गरी ५५ शैय्या, रुपनी गाउँपालिकामा तीन स्थानमा गरी ३४ शैय्याको क्वारेन्टाइन सञ्चालन गरिएको छ ।

यसैगरी, विष्णुपुर गाउँपालिकाले १५ शैय्या, बलान बिहुल गाउँपालिकाले १८ शैय्या, तिरहुत गाउँपालिकाले चार शैय्या र राजगढ गाउँपालकाले ३० शैय्या गरी सप्तरीमा कूल ५ सय ८७ शैय्याको क्वारेन्टाइन सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

अन्य

भिडियो