इन्सेक सुदूरपश्चिम प्रदेशअन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले चैत २७ गते पठाउनु भएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेश अन्तर्गत स्थानीय तहले गरिरहेका कार्यहरू र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण यसप्रकार रहेको छ ।
डोटी जिल्ला प्रतिनिधि बासुदेव जोशीका अनुसार जिल्लामा स्वास्थ्यकर्मीका लागि चाहिने अत्यावश्यक सुरक्षा सामग्री चैत २७ गते आइपुगेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको बताउनु भयो ।
जिल्लाका विभिन्न स्थानीय तहमा तयार गरिएका क्वारेन्टाइनमा बसेका ३ सय ५ जना र अन्य २५ जना गरी ३ सय ३० जनाको चैत २६ गते कोरोना भाइरस परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले पठाएको विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली र जिल्लास्थित अस्पतालका स्वस्थ्यकर्मीहरूको संयुक्त टोलीले स्वाब नमूना सङ्कलन गरेको हो ।
शिखर नगरपालिकाले तयार गरेका तीन ओटा क्वारेन्टाइनबाट ८४ जना, चवराचौतारास्थित क्वारेन्टाइनबाट ७६ जना, मौवाबाट ७५ जना, सेती सभाहल राजपुरबाट ५० जना, विपिनगरबाट ४५ जना गरी ३ सय ३० जनाको स्वाब नमूना परीक्षणका लागि सङ्कलन गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो ।
परीक्षणका लागि सङ्कलन गरिएको स्वाब चैत २६ गते नै स्वास्थ्य मन्त्रालयले पठाएको हेलिकेप्टरमार्फत धनगढी पठाइएको जनाइएको छ ।
बझाङ जिल्ला प्रतिनिधि रमेश केसीका अनुसार कोरोना भाइरस (कोभिड-१९)को सर्तकता अपनाउन नेपाल सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मेला सञ्चालन गरेको भन्दै जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीसहित नौ जनालाई चैत २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा छविसपाथिभेरा गाउँपालिका-२ का वडा अध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडा अध्यक्ष केशवराज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना, बानीमष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुईजना सहयोगी पण्डित डम्बरबहादुर धामी, पुजारी जयकृष्ण जोशी, स्थानीय रजबार इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंह रहनु भएको छ ।
छविसपाथिभेरा गाउँपालिकामा लाग्ने धार्मिक मेला बान्नीकी चैतली सञ्चालन गरेको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले चैतली मेलाको मष्टा मन्दिरबाट गिरफ्तार गरेको हो ।
कोरोना भाइरसको महामारी फैलिन नदिन लकडाउन गरिएको समयमै लकडाउनको उल्लङ्घन गरी मेला सञ्चालन गरेकोले उहाँहरूलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर नेत्रबहादुर बोहराले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले लकडाउनको महत्वलाई नबुझी आफूखुसी मेला सञ्चालन गरेको सूचनाका आधारमा प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो – लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन अनुसार १ सयदेखि ६ सय रुपियाँसम्म जरिवाना वा एक महिनादेखि ६ महिनासम्म कैदको व्यवस्था छ । कसुर प्रमाणित भए कानुनअनुसार कारवाही हुन्छ ।
हरेक वर्षको चैत शुक्ल त्रयोदशीका दिन मनाइने बान्नीको चैतली मेला यस वर्षचैत २४ गते परेको थियो ।
दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार व्यास गाउँपालिकाको चैत २६ गते बसेको बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोराना भाइरसको नियन्त्रण तथा व्यवस्थापन र घुम्ती खाद्य आपूर्तिको लागि ४५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
कोषमा तत्काललाई ३० लाख रुपियाँ राख्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले जानकारी दिनु भयो । गाउँपालिकाभरि खाद्यान्न अभाव हुन नदिन खाद्य आपूर्ति कोष निर्माण गर्ने निर्णयगरिएको र खाद्य आपूर्ति कोषको लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरिएको अध्यक्ष बुढाथोकीको भनाइ छ ।
गाउँपालिकाले वित्तीय समानिकरण युवा स्वरोजगार कार्यक्रमको लागि छुट्याइएको २५ लाख रुपियाँ र लघुउद्यम सिर्जना कार्यक्रमको लागि छुट्याइएको २० लाख रुपियाँ बजेटलाई रकमान्तर गर्दै कोषमा राख्ने निर्णय गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
व्यास गाउँपालिकाको बैठकले गाउँमा कोराना भाइरसको जोखिम बढ्न नदिन भारतलगायत अन्य क्षेत्रबाट आएका व्यक्तिहरू क्वारेन्टाइनमा बसे उनीहरूका परिवारलाई राहत दिने निर्णयसमेत गरेको छ ।
गाउँपालिकाभरि हाल भारतका विभिन्न शहर, तेस्रो मुलुक, महेन्द्रनगर, काठमाडौँ र धनगढीलगायतबाट १ सय ९२ जना व्यास गाउँपालिकामा भित्रिएका छन् ।
गाउँपालिकाको बैठकले गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिन औषधि खरिदको लागि बजेट विनियोजन गर्ने, गाउँमा कोरोना भाइरसबाट बच्ने उपायबारे प्रचारप्रसार गर्न र जनचेतना अभिवृद्धि गर्नका लागि स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने र स्वास्थ्यकर्मीहरू जनचतेना अभिवृद्धिमा खटिएबापत १ हजार रुपियाँ प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।
यसअघि सङ्घीय सरकारले प्रचारप्रसारमा खटिने स्वास्थ्य स्वयम्सेविकालाई १ हजार ५ सय रुपियाँ दिने निर्णयगरेको छ ।
गाउँपालिकाभरिका ६ ओटै वडा कार्यालयलाई कोरोना भाइरस रोकथाम व्यवस्थापनको लागि २० हजार रुपियाँका दरले बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले सुपथ खाद्य पसल सञ्चालन गर्न कृषि शाखामार्फत गर्ने भएको छ ।
व्यास गाउँपालिकाले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग र असहायलाई उपलब्ध गराउने राहतसम्बन्धी नमूना मापदण्ड २०७६ स्वीकृत गरेको छ भने, राहत उपलब्ध गराउनमा सहयोग पुर्याउने सङ्घसंस्था, व्यक्ति दातृ निकायलाई एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णयभएको गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीका स्वकीय सचिव दिपक खातीले जानकारी दिनु भयो ।
गाउँपालिकाले राहत उपलब्ध गराउन अहिले ६ ओटै वडामा तथ्याङ्क सङ्कलनको काम गरिरहेको छ ।
व्यास गाउँपालिका-६ तिगरमका स्थानीयहरूले लकडाउनका कारण दैनिक ज्यालामजदुरी गर्न नपाउँदा खाद्यान्न सङ्कट उत्पन्न भएको गुनसो गरेका छन् ।
व्यास गाउँपालिका-६ की नन्दा कुँवरले लकडाउनका कारण महाकाली किनारमा बालुवा र गिट्टी कुट्न नपाएपछि आफूलाई बिहानबेलुकीको छाक टार्न समस्या भएको बताउनु हुन्छ ।
उहाँले भन्नु भयो- ‘गिट्टी कुटेर कमाएको पैसाले छोराछोरीलाई पढाउँथे । घरको दैनिक छाक टार्दै आएकी थिएँ । अहिले न काम छ, न घरमा खाद्यान्नको जोहो नै ।’
नेपाल-भारत लकडाउनको असर दैनिक मजदुरी गरेर खाने परिवारमा परेको छ । दुई सातादेखि नेपाल-भारत लकडाउन हुँदा दैनिक मजदुरी गरेर खाने परिवारको छाक टार्नै समस्या भएको छ ।
व्यासको मात्र होइन सदरमुकाम खलङ्गामा दैनिक भारी बोकेर गुजारा चलाउनेहरू पनि अहिले समस्यामा परेका छन् । महाकाली नगरपालिका-४ का ५० वर्षीय राजु लुहारको परिवारले पनि समस्या परेको बताउनु भएको छ ।
उहाँले भन्नु भयो- ‘पहिले भारी बोकेर दैनिक ३ सय रुपियाँ जति कमाउँथे । अहिले बन्द भनेपछि काम गर्न पाइएको छैन् ।’
जिल्ला हलिया मुक्ति समाजका अध्यक्ष दानीराम तिरुवा अहिले लकडाउनका कारण हलियाहरूले पनि काम नपाउँदा दैनिक छाक टार्नै समस्या भएको बताउनु हुन्छ ।
उहाँले भन्नु भयो- ‘साहुको काम गरेर गुजारा चलाउने तथा मजदुरी गर्नेहरू अहिले काम नपाउँदा बिहानबेलुकी के खाने भनेर चिन्तामा छन् । हामीलाई कसैले राहत दिएको पनि छैन ।’
व्यास गाउँपालिकास्थित सुनसेरा डिपोको चामल बिक्री गर्दै आउनु भएका नरेन्द्र भट्ट एकसातादेखि खाद्य संस्थानको चामल डिपोमा नरहेको बताउनु हुन्छ ।
उहाँले भन्नु भयो- ‘डिपोको चामल पुगेको छैन । चामल ठेकेदारले पठाउँछु भनेको छ । दुई चार दिनभित्र आइपुग्छ होला ।’
व्यास गाउँपालिकाले श्रमिक र असहाय परिवारको विवरण सङ्कलन गरिरहेको गाउँपालिका कृषि शाखा प्रमुख विश्वेश्वरप्रसाद बडुले बताउनु भयो ।
व्यास गाउँपालिकाको बैठकले घुम्ती खाद्य पसल सञ्चालनको लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरेकोले खाद्य समस्या नआउने कृषि शाखा प्रमुख बडुको भनाइ छ ।
महाकाली नगरपालिकाले अहिले मजदुर र असहाय व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरिरहेको नगरप्रवक्ता पुष्करराज जोशीले बताउनु भयो ।
अपिहिमाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणसिंह धामीले खण्डेश्वरी खाद्य डिपोमा ३ सय क्वीन्टल खाद्यान्न मौज्दात रहेकोले खाद्य सङ्कट नहुने बताउनु भयो ।
कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दका अनुसार अहिले नै अभावको अवस्था नदेखिएको बताउनु भयो ।
कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार महाकाली अस्पतालमा बिरामीसँग प्रत्यक्ष सम्पर्कविना नै उपचार गर्ने प्रविधि सञ्चालनमा ल्याइएको छ । नयाँ प्रविधि आएसँगै स्वास्थ्यकर्मीले पीपीई नलगाएर नै कोभिड-१९ सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको ‘टेस्टिङ्ग बुथ’बाट स्वास्थ्य जाँच गर्न सक्ने भएका छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग सङ्कायले भीमदत्त नगरपालिका र राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा अस्पतालमा पीपीई आवश्यक नपर्ने गरी कोरोना जाँच कक्ष ‘कोरोना टेस्टिङ्ग बुथ’ बनाएको हो ।
बुथ निर्माण गरिएपछि अस्पतालमा कोरोना सङ्क्रमण जाँचका लागि सहज भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताउनु भयो ।
जिल्लामा कोराना भाइरस सङ्क्रमणको रोकथामका लागि भारतीय सीमा क्षेत्रमा आवतजावतमा थप कडाइ गरिएको छ । सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उक्त क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २ सय २० जना सशस्त्र प्रहरी जवानलाई परिचालन गरिएको छ ।
सीमा क्षेत्रमा घुसपैठ गरी भारतबाट नेपाल फर्किने क्रम रोक्न थप सशस्त्र प्रहरी परिचालन गरिएको हो । एक पोष्टमा २० जवान रहने गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरी उपरीक्षक शाहुको भनाइ छ । हाल पुनर्वासदेखि खल्लामुसेट्टीसम्म अस्थायी पोष्ट राखिएको छ ।
जिल्लाका मुख्य नाकामा पहिलेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भारतबाट फर्केका बेदकोट नगरपालिकाका ४२ वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सीमा नाकामा थप कडाइ गरिएको हो ।
डडेल्धुरा जिल्ला प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेकाहरूको ‘थ्रोट स्वाब’ नमूना सङ्कलन कार्य सुरु भएको छ । चैत २७ गते नेपाली सेनाको हेलिकोप्टरमार्फ स्वाब सङ्कलन गरिने उपकरण (भिटिएम) ल्याइएपछि थ्रोट स्वाब सङ्कलन सुरु भएको हो ।
जिल्लाका तीन स्थानबाट थ्रोट स्वाब सङ्कलन गरिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र सादनीबाट कोरोना परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरिँदैछ ।
जिल्लाको भित्री मधेसमा रहेका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको त्रिवेणी बहुमुखी क्याम्पस र सादनीबाट थ्रोट स्वाब सङ्कलन गरिँदैछ ।
अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाहरूको डडेल्धुरा बहुमुखी क्याम्पसबाट नमूना सङ्कलन गरिने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनु भयो ।
उहाँले भन्नु भयो- ‘१ सय ९० थान भिटिएम सेनाको हेलिकेप्टरमार्फत जिल्लामा आएको छ । कोराना परीक्षणका लागि जिल्लाका १ सय ९० जनाको थ्रोट स्वाब सङ्कलन गरिने छ । सङ्कलित नमूना चैत २७ गते नै धनगढी हुँदै काठमाडौँ पठाइने जनाइएको छ ।
हालसम्म १ सय ७ जना स्थानीय तहले तयार गरेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका छन् भने अन्य होम क्वारेन्टाइनमा बसेका छन् ।
नेपाल लकडाउन भएकै दिन चैत ११ गते गौरीफन्टा नाका भएर भारतबाट नेपाल भित्रिएकाहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले गाडीको व्यवस्था गरी जिल्लामा पठाएपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो । सो नाकाबाट आएकामध्येबाट कैलालीका एकजनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि उनीसँगै डडेल्धुरा आएकाहरूमा कोरोनाको परीक्षण गर्न स्वाब सङ्कलन गरिँदैछ ।
थ्रोट स्वाब सङ्कलनका लागि जिल्लास्थित स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ ।
बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको र्यापिड टेष्ट सुरु हने भएको छ ।
दिपायलबाट चैत २७ गते जिल्ला आइपुगेको विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोलीले जिल्लास्थित स्वास्थ्यकर्मीहरूलाई चैत २७ र २८ गते दुई दिन (भिटिएम) तालिम सुरु गरेको छ । तालिमपश्चात् चैत २८ गतेदेखि र्यापिड टेष्टका लागि नमूना सङ्कलन कार्य सुरु हुने जिल्ला अस्पताल बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भयो ।
जिल्लाका नौ ओटा स्वारेन्टाइनमा राखिएका मानिसहरूको र्यापिड टेष्ट सङ्कलन गरिने सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनु भयो । भण्डारीका अनुसार सदरमुकामको मालिका माविमा तयार गरिएको क्वारेन्टाइनमा राखिएकाहरूको चैत २८ गते नै नमूना सङ्कलन गरिने र टाढाका क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरूको चैत २९ गते नमूना सङ्कलन गरिने छ ।
पहिलो चरणमा नौ ओटा स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा बसेका १ सय १७ जना र क्वारेन्टाइनमा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको र्यापिड टेष्टका लागि नमूना सङ्कलन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिनु भयो ।
र्यापिड टेष्ट नमूना सङ्कलनका लागि बाजुरा अस्पताल, जिल्ला स्वास्थ्य र अन्य उपलब्ध स्थानीय तहका स्वास्थ्यकर्मीहरू परिचालन गरिएको पन्तको भनाइ छ । पहिलो चरणमा ३ सय थान भिटिएम जिल्लामा ल्याइएको छ ।
बडिमालिका नगरपालिकाको मालिका माविमा ३५ जना, कालिका आधारभूत विद्यालयमा तीन जना, त्रिवेणी नगरपालिकाको तोली स्वास्थ्यचौकीमा १८ जना, बुढीगङ्गा नगरपालिकाको टाँटे स्वास्थ्यचौकीमा चार जना, त्रिशक्ति माविमा आठ जना, थुमा माविमा दुई जना, खप्तड छेडेदह गाउँपालिकाको मष्टेश्वरी माविमा चार जना, स्वामीकार्तिक खापर गाउँपालिका केन्द्र सुईजीउलामा ३४ जना र गौमुल गाउँपालिकाको कृर्तिचौर माविमा नौ जना गरी जम्मा १ सय १७ जना चैत १२ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका छन् ।
अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार नगर क्षेत्रभित्र रहेका कोरोना भाइरसको उपचारमा संलग्न १६ स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई मङ्गलसेन नगरपालिकाले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) खरिद गरी चैत २७ गते वडामै गएर हस्तान्तरण गरिएको मङ्गलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले जानकारी दिनु भयो ।
चौरपाटी गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि २५ लाख रुपियाँको कोष चैत २७ गते स्थापना गरेको छ । कार्यपालिका बैठकको निर्णयअनुसार गाउँपालिका, जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिक र तलबबाट रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले जानकारी दिनु भयो ।
गाउँपालिकाले दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने परिवारलाई १५ दिनको लागि प्रतिव्यक्ति १० किलो चामल, तीन केजी दाल, एक लिटर तेल र एक केजी नुन दिने निर्णय गरेको छ ।
बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार काठमाडौँबाट सेनाको हेलिकेप्टरमा आएको विशेषज्ञ स्वास्थ्यकर्मीको टोलीले चैत २७ गते जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको थ्रोट स्वाब नमूना सङ्कलन गरेको हो ।
जिल्लाको पुर्चौडी नगरपालिका र पञ्चेश्वार गाउँपालिकामा क्वारेन्टाइनमा राखिएका ४ सय २५ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो ।
पुर्चौडी नगरपालिकाबाट ३ सय ४३ जना र पञ्चेश्वार गाउँपालिकाबाट ८२ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । जसमा ६ जना महिलासमेत रहेका छन् ।
कोरोना भाइरस उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकेप्टरमार्फत आएको स्वास्थ्यकर्मीको टोलीले सङ्कलन गरेको स्वाब नमूना चैत २७ गते नै काठमाडौँ पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनु भयो ।
भारतलगायत अन्य मुलुकबाट ठूलो सङ्ख्यामा नागरिकहरू जिल्ला फर्किएका भए पनि हाल जिल्लास्थित विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाइनमा ५ सय १३ जनालाई राखिएको छ ।
पहिलो चरणमा पुर्चौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा थ्रोट स्वाब सङ्कलन कार्य सुरु गरिएको र दोस्रो चरणमा अन्य स्थानीय तहका क्वारेन्टाइनमा रहेकाहरूको पनि थ्रोट स्वाब सङ्कलन गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनु भयो ।