INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरस सम्बन्धमा प्रदेश २ को अवस्था विश्लेषण

कोरोना भाइरस (कोभिड१९)को रोकथाम र नियन्त्रणका लागि प्रदेश २ का जिल्लाहरूमा शङ्का लागेकाहरूको परिक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने क्रम जारी रहेको जिल्ला प्रतिनिधिहरूबाट जानकारी प्राप्त भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका२ एक व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशङ्कामा क्वारेन्टाइनमा राखिएको जानकारी प्राप्त भएको छ । विभिन्न शङ्कास्पद मानिसहरूको स्वाब परिक्षण गरिँदै छ भने परिक्षणको रिपोर्ट नेगेटिभ आइरहेको छ ।

सीमा नाकाहरूमा कडाई गरिएको जानकारी प्राप्त भएको छ । सीमा नाकाहरूमा गिरफ्तार भारतीयहरूलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाउने काम भएको छ भने सीमा नाकाहरू थप सुरक्षाकर्मीहरू नेपाल सरकारले खटाएको छ । जिल्ला प्रतिनिधिहरूबाट प्रदेशभरमा कोरोना भाइरस रोकथामकालागि पहलहरू भएको र यसमा स्थानीय, व्यापारी, प्रदेश सरकार लगायत राजनीतिक पार्टीको समेत समन्वय रहेको जानकारी प्राप्त भएको छ ।

धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार प्रदेश २ मा स्वाब परीक्षण भएको ४३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । विभिन्न स्थानको क्वारेन्टाइन र आइसोलेशनमा रहेका कोरोना भाइरसको आशङ्का गरिएका १ सय १३ जनाको स्वाब सङ्कलन गरिएको छ । ती मध्ये ७० जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रादेशिक अस्पताल जनकपुरधाममा परीक्षणका लागि लिइएको ४३ ओटै सङ्कलित नमूना नेगेटिभआएको कोरोना द्रुत रोकथाम प्राविधिक समितिका संयोजक समेत रहनु भएका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनुभएको छ ।

चैत २४ गते बेलुका ७ बजे सम्मको विवरण अनुसार प्रदेश २ मा २७ जनालाई आइसोलेशनमा राखिएको छ । चैत २३ गते २२ जना र चैत २४ गते ५ जना थप भएपछि २७ जना सङ्क्रमणको आशङ्का गरिएका बिरामीहरूको भर्ना गरिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा रहेको १२ बेडको आइसोलेशन वार्डमा १२ जना बिरामी रहेका छन् ।

प्रदेश २ मा अहिलेसम्म क्वारेन्टाइनमा ८ सय ६९ र होम क्वारेन्टाइनमा १ हजार १ सय ७७ जना  रहेका छन् । प्रदेश २ मा हाल सम्म १ सय ४२ स्थानमा क्वारेन्टाइन राखिएको छ । त्यसमा २ हजार ९ सय १८ बेड रहेको छ ।

प्रदेशमै सबै भन्दा बढी ३१ स्थानमा सप्तरी जिल्लामा क्वारेन्टाइन स्थापना गरिएको छ । ५ सय ४० बेड रहेको क्वारेन्टाइनमा २ सय ६४ जना छन् । महोत्तरी जिल्लामा सर्वाधिक ७ सय ७५ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

कोरोना भाइरसको आशङ्कामा वडा अध्यक्ष क्वारेन्टाइन भर्ना

भारतको मधुवनीमा एक महिना लामो बसाइपछि धनुषाको जनकनन्दनी गाउँपालिका बस्ने वडाध्यक्षलाई गाउँलेहरूको दबाबमा क्वारेन्टाइनको लागि भर्ना गरिएको छ ।  जनकनन्दनी गाउँपालिका४ स्थित उच्चमाध्यमिक विद्यालय खजुरीमा स्थापना गरेको क्वारेन्टाइनमा चैत २४ गते बिहान भर्ना भएका हुन् ।

काम विशेषले एक महिना भारत बसेर वडाध्यक्ष पाठक चैत २२ गथे राति घर फर्कनु भएको थियो । भारतमा लामो समय बसेर घर फर्किदा कोरोना भाइरसको आशङ्का गरेर गाउँलेहरुले वडाध्यक्षलाई १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेका थिए । तर वडाध्यक्षले आफुलाई केही नभएको भन्दै गाउँमै घुमफिर गर्न थालेपछि स्थानियहरुले ईलाका प्रहरी कार्यालय खजुरीमा वडाध्यक्षलाई क्वारेन्टाइनमा राख्न निवेदन दिएका थिए ।

वडाध्यक्षलाई क्वारेन्टाइनमा राख्ने विषयमा ईलाका प्रहरी कार्यालय खजुरीमा निवेदन आएपछि प्रहरी इन्स्पेक्टर देवेन्द्र रोकायाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग छलफल गर्दै गाउँलेहरुको दबाबमा चैत २३ गते बिहान वडाध्यक्षलाई क्वारेन्टाइनमा बस्न लगाएका हुन् । जनकनन्दनी गाउँपालिकामा अहिले नौ जना क्वारेन्टाइनमा रहेका छन् ।

जनकनन्दनी गाउँपालिकाले २० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा भर्ना भएका सबैका लागि गाउँपालिकाले खाजा, खाना र अन्य व्यवस्था मिलाएको जनकनन्दनी गाउँपालिकाका फोकल पर्सन अयोधी दासले जानकारी दिनुभयो ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनमा बस्नु भएकी कञ्चनरुप नपा११ गोरपारकी एक महिलाको रिपोर्ट चैत २४ गते नेगेटिभ आएको छ ।

धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उहाँको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

भारतको राजस्थानबाट १५ दिन अघि आउनु भएकी महिलालाई उच्च ज्वरो आएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनमा चैत २२ गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणको आशङ्कामा आइसोलेशनमा भर्ना भएकी महिलाको घाँटीको स्वाब परिक्षणका लागि धरान पठाइएको थियो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भारतबाट आएकी महिलाको एकान्त बासमा बस्ने अवधि सकिए पनि ज्वरो, खोकी निको भएपछि मात्र घर पठाइने बताउनु भयो ।

ज्वरो आएपछि जाँचका लागि चैत २१ गते प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुप पुग्नु भएकी उहाँलाई स्वास्थ्यकर्मीहरुको सुझावअनुसार चैत २१ गते कञ्चनरुप नगरपालिका१० स्थित दुर्गा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखेर चैत २२ गते राजविराज अस्पताल पठाइएको थियो ।

कोरोनाबाट जोगिन सीमा–नाकामा थप कडाई

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत २४ गतेदेखि नेपालभारत आवतजावत ठप्प गर्न सशस्त्र प्रहरी बलले अस्थायी बोर्डर आउट पोस्ट (बिओपी)हरू खडा गरी सीमाको ५५ स्थानमा परिचालन गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि र खुला सीमाको फाइदा उठाउँदै खेत, खोलाबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिए पछि नेपालभारत सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरी सुरक्षा सर्तकता बढाइएको हो ।

सीमाबाट हुने आवतजावतमा रोक लगाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गणले नियमित बाहेक थप १६ ओटा अस्थायी पोस्ट खडा गरी पैदल गस्ती समेत थालेको सशस्त्र एसपी उद्धब न्यौपानेले जानकारी दिनुभयो ।

भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि रहेको सातओटा बिओपीको जिम्मेवारी क्षेत्र औसत दुरी ११/१२ किलोमिटर रहेकाले सीमानाका पूर्ण रूपमा नियन्त्रण गर्न कठिनाई भइरहेको थियो सशस्त्र एसपी न्यौपानेले भन्नुभयो–‘नियमित बाहेक थप १६ स्थानमा अस्थायी पोस्ट खडा गरी ५५ स्थानमा केन्द्रित गरी सशस्त्र प्रहरी परिचालन गरिए पछि सीमामा आवतजावत पूर्ण रूपमा ठप्प हुनेछ ।

सशस्त्र प्रहरीले ६ ओटा खाली रहेको विद्यालय, टहराहरू र १० ओटा पालमा समेत क्याम्प खडा गरी ५५ स्थानमा परिचालन गरिएको जनाएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा पाँच, डाकनेश्वरी नगरपालिकामा नौ, बोदे बर्साइन नगरपालिकामा १२, छिन्नमस्ता गाउँपालिकामा सात, राजगढ गाउँपालिकामा १०, तिलाठी कोइलाडी गाउँपालिकमा चार र बलान बिहुल गाउँपालिकामा आठ स्थानमा सशस्त्र प्रहरी परिचालित भएका छन् ।

जिल्लाको भारतीय सीमामा ५५ ओटा केन्द्र राखि २४ घण्टा निगरानी सुरु गरिएको र मातहतका सबै पोस्टले आआफ्नो क्षेत्र निगरानी गर्ने गरी गस्ती गरिरहेको जानकारी दिनु हुँदै सशस्त्र एसपी न्यौपानेले भन्नुभयो–‘भारतसँग जोडिएको खेत, खोलादेखि गल्ली सम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी गरिरहेका छौँ ।

नेपालभारत सीमानाका बन्द र लकडाउन भएपनि जिल्लाका विभिन्न चोर बाटोबाट लुकीछिपी भारतबाट मानिसहरु आउने क्रम नरोकिएपछि कोरोनाको जोखिमबाट जोगिन सप्तरीसँग जोडिएका नेपालभारत सीमानाकामा सशस्त्र प्रहरीको तैनाती बढाउनुका साथै निगरानीलाई कडाईका साथ अघि बढाइएको हो ।

बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोरोना भाइरसको कारणले सङ्क्रमण रोकथाम गर्न नेपाल सरकारले लगाएको लक डाउनका करण कलैया उमनपा, ९ र १२ मा नगर प्रमुख राजेश राय यादवले ३ सय घर परिवारलाई चामल, आलु, दाल र खाने तेल राहत सामग्री वितरण गर्नु भएको बताउनु भएको छ । कार्यक्रममा वडा अध्यक्ष राजेश केशरी, अख्तर अंसारी, ५ नं वडाका पुरुषोतम लामा, नेपाली सेनाका रञ्जित लुईटेल, नेपाल प्रहरीका लक्ष्मण पाठक, सशस्त्र प्रहरीका रञ्जितकुमार मण्डलको सहभागिता रहेको यादवले बताउनुभयो । यसैगरी बारा उद्योग वाणिज्य संघले कलैया उपमहानगरपालिका७ र ८ मा मास्क र साबुन वितरण गरेको संघका अध्यक्ष बिनोद साहले बताउनुभयो ।

भारतीय नागरिकलाई गिरफ्तार गरी भारतीय सुरक्षाकर्मीको जिम्मा

नेपाल भारत सिमानाका नजिकै कलैया उपमहानगरपालिका१० मटिअर्वाबाट खेतको बाटो हुँदै नेपाल प्रवेश गर्न लागेका तीनजना भारतीय नागरिकलाई सरकारको निर्देशन अनुसार सिमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले दिउँसो गिरफ्तार गरी भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका गणपती, सशस्त्र प्रहरी एसपी दिग विजय सुवेदीले बताउनुभयो ।

उपचार नगरी रिफर गरेको आरोपमा मेडिकल कलेजलाई कारवाही गर्न सिफारिस

पर्साका सिडिओ विष्णु कुमार कार्कीले चैत २१ गते नेशनल मेडिकल कलेज पर्सालाई आवश्यक कारवाही गर्न गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई चलानी नं ३७८६ पत्र लेखी कारवाहीको सिफारिस गरेको बताउनु भएको छ ।

कलैया उमनपा२२ धोधाका २५ वर्षीय बिजय कुशवाहाको चैत १४ गते गहुँझार्ने मेसिन थ्रेसर चलाउँदा दुबै खुट्टाका पिडौला, दायाँ खुट्टाको पैताला र दायाँ हातको कुहिना र काँधको बिचमा चोट लागेकाले स्वास्थ्य चौकी भोडामा ३३ ओटा टाका लगाएर नेशनल मेडिकल कलेज वीरगंजमा चैत १५ गते राति १० बजे भर्ना भई उपचार गराएको पीडितका भाई १९ वर्षीय अक्षय कुमार कुशवाहाले जिल्ला प्रशासन कार्यालय पर्सामा चैत २१ गते उजुरी दिनु भएको थियो ।

कलेजको इमर्जेन्सीमा उपचारका लागि भर्ना गरिएकोमा ०७६ चैत १६ गते कोभिड१९ को शङ्कामा बिरामीलाई थप व्यवस्थापन, मूल्यांकन एवम् उपचारका लागि भनि काठमाडौँको टेकु अस्पतालमा रिफर गरिएको भनि पत्रमा उल्लेख गरीएको छ । बिरामीलाई वीरगंजका विभिन्न अस्पतालमा सम्पर्क गर्दा कुनै पनि अस्पतालले उपचार गर्न नमाने पछि काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज लग्दा मृत्य घोषणा गरी दिएको सिफारिस पत्रमा सिडिओले उल्लेख गर्नु भएको छ ।

नेशनल मेडिकल कलेज वीरगंजले कोभिड१९ भएको भनि रिफर गरेका बिरामीको टेकु अस्पतालले स्वाब परिक्षण गर्दा कोभिड१९ नेगेटिभ भएको रिर्पोटमा आएको टेकु अस्पतालल जनाएको छ । नेशनल मेडिकल कलेजले सामान्य ज्वरो आएका, इमर्जेन्सिमा उपचार गराइरहेका बिरामीलाई कोभिड१९ को लक्षण नदेखिएको अवस्थामा जिम्मेवारीबाट पञ्छिन उपचार नगरि अन्यत्र रिफर गरेको भनि मृतकका आफन्तले उजुरी दिएको बताउनु भयो । यस विषयमा विस्तृत छानविन गरी दोषीमाथि कारवाही गर्न आवश्यक देखिएकोले गृह मन्त्रालयलाई सिडिओ कार्कीले सिफारिस गर्नु भएको छ ।

पीडित परिवारसँग सम्पर्कमा रहेर औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको इन्सेक अनलाईनमा ०७६ चैत १९ गते उक्त घटनाको समाचार प्रकाशन गरीएको थियो ।

बारामा कोरोना भाइरस रोकथाम र नियन्त्रण प्रयास

कोरोना भाइरस (कोभिड१९)को रोकथाम र नियन्त्रणका लागि नेपाली काङ्ग्रेस बाराले प्रदेश नं.२ सरकारका मुख्य मन्त्री लालबाबु राउतलाई ४० लाख ७५ हजारको चेक हस्तान्तरण गरेको नेपाली काङ्ग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवले बताउनु भयो । प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरी आवश्यक कार्यमा खर्च गरिने मुख्यमन्त्री लालबाबु राउतले बताउनु भयो । चेक हस्तान्तरण गर्न नेपाली काङ्ग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखर यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव र सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादव मुख्यमन्त्रीको कार्यालयमा चैत २३ जानुभएको थियो ।

जितपुरसिमरा उमनपा११ को मुसर बस्तीका ८१ घर परिवारलाई वडा कार्यालयले राहत वितरण गरेको छ । वडाका अति विपन्न मुसहर बस्तीमा भुजा र चिउता आएर बस्न बाध्य भएका परिवारलाई राहत वितरण गर्न पाउँदा खुशी लागेको वडा अध्यक्ष सरोज कुमार राउतले बताउनु भयो ।

कलैया उपमहानगरपालिका१२ धर्मनगरमा उद्योग वाणिज्य संघले अति विपन्न परिवारलाई माक्स वितरण गरेको शसीभुषण केशरीले बताउनु भयो । नगर उपप्रमुख रहीमा खातुनले कलैया उपनपा२२ भोडाहाका लक्षित समुदायलाई राहत सामग्री वितरण गरेको बताउनु भयो ।

विदेशबाट आएका र स्वदेशमा सङ्क्रमणको शङ्कामा सात जना नागरिकलाई चैत २४ क्वारेन्टाइनमा राखेर स्वास्थ्य अवस्था अनुगमन कार्य भइरहेको डिएसपी गौतम मिश्रले बताउनुभयो । उहाँले चैत २४ गते सम्म ८१ जना क्वारेन्टाइनमा रहेको बताउनु भयो । देवताल गाउँपालिकाको नेपाल भारत सिमाबाट ४० दिनको जमात पुरागरी घर फर्कीएका दुईजना मुस्लिम धर्मगुरुहरुलाई चैत २४ गते दिउँसो स्थानीयको सहयोेगमा देवताल गाँउपालिकाको क्वारेन्टाइनमा राखेको स्वास्थ्य कार्यालयका शंकर प्रसाद गुप्ताले बताउनुभयो । उहाँले जिल्लामा ८१ जना क्वारेटाइनमा रहेको र क्यारेन्टानइनका लागि जम्मा ३ सय ७ ओटा बेड तयारी अवस्थामा रहेको बताउनु भयो ।

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार विश्वभर देखिएको कोरोनाको महामारीको सङ्क्रमणलाई रोकथाम गर्न सिरहा जिल्लामा १७ ओटै स्थानीय तहको सहकार्यमा ४० बेडको आईसोलेसन अस्पताल र १७ ओटै स्थानीयतहको १९ स्थानमा गरी २ सय ४६ बेडको क्वारेनटाइन तयार पारेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले जानकारी दिनु भयो । आवश्यक्ता अनुसार बेड सङ्ख्या थप्न सकिने अधिकारी गुरागाईले बताउनु भयो ।

भारत तथा अन्य मुलुकबाट आएका ४ सय ६८ जना निगरानीमा

भारत तथा विदेशबाट आएका ४ सय ६८ जनाको पहिचान भएको र उनीहरुलाई क्वारेनटाइन, सेल्फ क्वारेनटाइनमा राखेर निगरानी गरिएको प्रमुख जिल्ला अधिकारी गुरागाईले बताउनु भयो । त्यसगरी क्वारेन्टाइनमा बस्ने बिरामीहरुको लागि खाने सम्पुर्ण व्यवस्थाहरु स्थानीय तहलेनै गरेको र सुरक्षा तथा उपचारको लागि सुरक्षा निकाय र स्वास्थ्य कार्यालयले सहयोग गरेको जानकारी प्रमुख जिल्ला अधिकारी गुरागाईले दिनु भयो ।

पाँच ओटा अस्पतालमा ४० बेडको आइसोलेसन वार्ड तयार

सिरहा अस्पतालमा सात बेड, लहान अस्पपतालमा पाँच बेड, महेन्द्र गेनाई अस्पतालमा १८ बेड, आरके मेडिसिटि अस्पतालमा पाँच बेड र फुलकुमारी अस्पतालमा पाँच बेड गरी ४० बेडको आसुलेसन बेडहरु तयार गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । महेन्द्र गेनाइ अस्पताललाई हाल अस्थाइ रुपमा आजै देखि संचालन हुने गरी कोरोना भाइरस विशेष अस्पताल संचालनमा ल्याएको बताउनु भयो । हाल सम्म आइसोलेसन वार्डमा कोइ पनि उपचारको लागि नरहेको प्रजिअले बताउनु भयो ।

चारजनाको कोरोना परीक्षण, सबै नेगेटिभ

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले कोरोना परिक्षणको लागि चैत २२ गते तीन जनालाई प्रादेशिक अस्पताल जनकपुर लगिएको बताउनु भयो । स्वाब परिक्षण गरिएका सबैको नतिजा निगेटिभ आएको  प्रमुख यादवले बताउनु भयो ।

क्वारेनटाइन र होम क्वारेनटाइनमा ७ महिला १ सय ८० पुरुष सहित १ सय ८७ जना

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार क्वारेनटाइनमा शङ्कास्पद बिरामीहरुरुलाई निगरानीमा राख्ने क्रम जारी रहेको  बताउनु भयो । उहाँका अनुसार केही व्यक्तिहरु क्वारेन्टाइनमा बसेर गईसकेका छन् भने चैत २४ गते सम्म ६ जना महिला १ सय ११ जना पुरुष गरी १ सय १७ जना बसी रहेको बताउनु भयो । त्यसैगरी होम क्वारेन्टाइनमा एक महिला गरी ७७ जना निगरानीमा रहेको डिएसपी घिमिरेले बताउनु भयो ।

महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार महोत्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा ८ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् ।

महोत्तरीमा क्वारेन्टाईन स्थल संख्या १६ रहेकोमा ३ सय १० बेड रहेको छ । जसमा ५६ जना क्वारेन्टाइन स्थलमा बस्दै आएका छन् भने ७ सय ८० होम क्वारेन्टाइनमा छन् । यस सँगै जम्मा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ८ सय ३६ पुगेको हो ।

त्यसैगरी आईसोलेसन बेड सङ्ख्या १४ रहेकोमा अहिले सम्म कोहि पनि आईसोलेसनमा नरहेको प्रदेश २ का सामाजिक विकास मन्त्रालय सचिव रामप्रसाद घिमिरेले चैत्र २४ गते गरेको कोरोना भाईरस सम्बन्धी मिडिया ब्रिफिङ्गमा जानकारी दिनु भयो ।

साप्ताहिक हाट बजार बन्द गरिने

जिल्ला प्रशासन कार्यालय महोत्तरीले चैत २५ गतेदेखि स्थानीय तहहरुमा लाग्ने साप्ताहिक हाट बजारलाई पूर्ण रुपमा बन्द गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले चैत २४ गते एक सुचना जारी गर्दै कोरोना भाइरसको रोकथामका लागि लागु गरिएको लकडाउनलाई प्रभावकारी बनाउनको लागि जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने हाट बजार बन्द गर्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारि सुचनामा चैत्र २५ गते देखि तरकारीजन्य वस्तुहरुको विक्री वितरण ठेलागाडा, साइकल तथा टेम्पो मार्फत घुम्ती सेवा स्वरुप घरघर र टोलटोलमा सेवा दिन पाइने बताइएको छ ।

यस घुम्ती सेवालाई व्यवस्थित बनाउनको लागि स्थानीय तह र उद्योग वाणिज्य संघले समन्वय गर्ने व्यस्था गरिएको सुचनामा उल्लेख गरिएको छ ।

साथै सुचनामा अत्यावश्यक काममा एक जना बाहेक अनावश्यक भिडभाड र हिडडुल गरेमा सुरक्षाकर्मीहरुले आवश्यक बल प्रयोग वा नियन्त्रणमा लिने सक्ने जानकारी समेत गराइएको छ ।

अन्य

भिडियो