विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड) १९ को जोखिमलाई मध्यनजर गर्दै गण्डकीप्रदेशका विभिन्न जिल्लाका स्थानीय तहले कोषको स्थापना गरेका छन् ।
बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङका १० वटै स्थानीय तहले ‘कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोष’ स्थापना गरेका छन् ।
बागलुङ जिल्ला कोरोना संक्रमण उच्च जोखिममा रहेकाले यसको रोकथाम र नियन्त्रणसंगै कोरोनाको प्रभावले जिल्ला बासीमा परेको प्रत्यक्ष प्रभावलाई कम गर्नका लागि कोष स्थापना गरिएको हो ।
जिल्लाको बागलुङ नगरपालिकाले ५० लाख रुपियाँको ‘कोरोना विपत राहत उद्धार कोष’ स्थापना गरेको छ । नगरले स्थापना गरेको कोषमा जिल्लाका उद्योगी व्यवसायीले १ लाख २० हजार र आदर्श सञ्चार सहकारी संस्थाले ५० हजार रुपियाँ सहयोग गरेका छन् ।
कोषको रकम कोरोना संक्रमण, रोकथाम र कोरोनाको कारणले आइपर्ने जस्तोसुकै विपत व्यवस्थापनमा पनि खर्च गरिने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकारज पौडेलले जानकारी दिनुभयो ।
नगरका स्वास्थ्य संस्थाको लागि आवश्यक स्वास्थ्य सामाग्री, औषधि, नगरका मजदुर, श्रमिकका लागि खाद्यन्न व्यवस्थापन लगाएत कोरोना संक्रमितलाई उद्दार र राहत यसै कोषबाट गरिने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै ढोरपाटन नगरपालिकाले ४० लाख रुपियाँको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोष स्थापना गरेको छ । कोषबाट नगरभित्रका विपन्नलाई खाद्यन्न, स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री र औषधि उपलब्ध गराइने नगरप्रमुख देव कुमार नेपालीले बताउनुभएको छ । उहाँले आवश्यक परे कोषमा रकम थप गरिने बताउनुभयो ।
गलकोट नगरपालिकाले नगरपालिकाको विपत व्यवस्थापन कोषबाट २० लाख रुपियाँ झिकेर ‘कोरोना रोकथाम तथा व्यवस्थापन कोष’ स्थापना गरेको छ ।
त्यस्तै जिल्लाको जैमिनी नगरपालिकाले ३० लाख रुपियाँको ‘कोरोना रोकथाम तथा व्यवस्थापन कोष’ स्थापना गरेको छ । कोषको रकम नगर क्षेत्रभित्र ज्याला मजदुरी गर्नेहरुलाई खाद्यन्न, स्वास्थ्य संस्थालाई औषधी, सुरक्षा सामाग्री तथा आर्थिक सहयोगको लागि खर्च हुने नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
जिल्लाको काठेखोला गाउँपालिकाले १० लाखको ‘कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोष’ स्थापना गरेको छ । गाउँपालिकाले स्थापना गरेको कोषमा आदर्श सञ्चार सहकारी संस्थाले ५० हजार र अन्य ५ जना व्यक्तिले व्यक्तिगत रुपमा ५० हजारका दरले ३ लाख जम्मा गर्दा १३ लाख रुपियाँ पुगेको छ ।
तमानखोला गाउँपालिकाले १२ लाख रुपियाँको कोष स्थापना गरेको छ । ताराखोला गाउँपालिकाले ५ लाख रुपियाँ, निसिखोला गाउँपालिकाले १० लाख, बडिगाड गाउँपालिकाले १० लाख र बरेङ गाउँपालिकाले ३० लाख रुपियाँको ‘कोरोना रोकथाम तथा व्यवस्थापन कोष’ स्थापना गरेका छन् ।
पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार स्थानीयतहहरुले कोरोनाबाट प्रभावित बनेका व्यक्ति तथा परिवारहरुका लागि राहत प्रदान गर्न आ—आफ्नो तहमा कोष स्थापना गर्ने र रकम तथा खाद्यन्न संकलन गर्ने कार्य सुरु गरेका छन् । जसमध्ये पर्वतको कुश्मा नगरपालिकाले ५० लाख, फलेवास नगरपालिकाले ३५ लाख र जलजला गाउँपालिकाले ३० लाखको विपद् कोष स्थापना गरी राहत समेत सोहि कोषबाट आवश्यकता अनुसार प्रयोग गर्ने जनाएको छ ।
महाशिला गाउँपालिकाले ८ लाख, मोदी गाउँपालिकाले ८ लाख, विहादी गाउँपालिकाले १५ लाख र पैञ्यु गाउँपालिकाले २५ लाख बराबरको कोरोना संक्रमण रोकथाम कार्यका लागि कोष स्थापना गरेका छन् ।
फलेवास नगरपालिकाका शिक्षक र कर्मचारीहरुले ३ दिनको तलब कोषमा राख्ने गरी निर्णय भएको छ जसबाट १२ लाख रुपियाँ कोषमा रकम थप भएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार कोरोनाबाट सिर्जित समस्याबाट पीडित भएका नागरिकलाई राहत दिन जिल्लाका सबै स्थानीय तहले विपद व्यवस्थापन कोष स्थापना गरेका छन् । व्यास नगरपालिकाले सबैभन्दा धेरै १ करोडको कोष स्थापना गरेको छ ।
शुक्लागण्डकी नगरपालिकाले ६० लाख, भानु नगरपालिकाले २० लाख र भिमाद नगरपालिकाले २६ लाख रुपियाँको कोष स्थापना गरेका छन् भने अन्य गाउँपालिकाले पनि विपद व्यवस्थापन कोष स्थापना गरेका छन् ।
लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार लमजुङ जिल्लामा पालिकाहरुले मजदुर र विपन्न दलित परिवारको लागि भनेर अवाश्यकता अनुसार राहत तथा विपद कोष स्थापना गरेका छन । जसमा बेसीशहर नगरपालिकाले १ करोड विपद तथा राहत कोष स्थपान गरेको छ ।
मध्यनेपाल नगरपालिकाले १ करोड २० लाख, मर्स्याङदी गाउँपालिकाले ५० लाख, सुन्दरबजार नगरपालिकाले ३७ लाख, क्वलासोथर गाउँपालिकाले २० लाख, राइनास नगरपालिकाले १८ लाख, दोर्दी गाउँपालिकाले १० लाख र दुधपोखरी गाउँपालिकाले १० लाख रुपियाँ राहतको लागि विनियोजन गरेको छ ।
कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार गण्डकी प्रदेश सरकारले खोलेको कोरोना भाइरस रोकथाम आपतकालिन कोषमा सोमबारसम्म २५ वटा संस्थाबाट रकम जम्मा भएको मुख्य मन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोषमा हालसम्म करिब ९० लाख रुपियाँ जम्मा भएको छ ।