INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरस सम्बन्धमा प्रदेश २ को अवस्था विश्लेषण

कोरोना भाइरस (कोभिड१९)को रोकथाम र नियन्त्रणका लागि प्रदेश २ का जिल्लाहरूमा शङ्का लागेकाहरूको परिक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने क्रम जारी रहेको जिल्ला प्रतिनिधिहरूबाट जानकारी प्राप्त भएको छ । भारत दिल्लीको निजामुद्दिनस्थित मरकज जमातमा सहभागी भई घर फर्केका नेपाली नागरिकहरू उच्च जोखिममा रहेको बताउँदै उच्च सतर्कता अपनाइएको छ । उपचारको लागि जाँदा उपचार नगर्ने अस्पताल एवम् डाक्टरहरूका कारण केही नागरिकहरूको मृत्यु भएको भन्दै दोषीमाथि कारवाहीको माग इन्सेक लगायतका सङ्घ संस्थाले गरेको सूचना जिल्ला प्रनिनिधि प्राप्त भएको छ । लकडाउनबाट गरिब, ज्याला मजदुरी गर्ने अति विपन्न तथा असहाय समुदायमा परेका असरलाई मध्यनजर गर्दै राहत राहत वितरणको क्रम जारी रहेको छ ।

महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार महोत्तरीको विभिन्न नगरपालिका र गाउँपालिका गरी ७ सय ७४ जना होम क्वारेन्टाईनमा रहेका छन् ।

कारोना भाइरस सम्बन्धी गतिविधिबारे चैत २३ गते प्रदेश २ का सामाजिक विकास मन्त्रालयले गराएको मिडिया ब्रिफिङ्गमा सो जानकारी गराइएको हो ।

महोत्तरीमा १६ क्वारेन्टाईन स्थल सङ्ख्या रहेकोमा ३ सय ७ बेडको व्यवस्था रहेको छ । क्वारेन्टाईनमा ५२ जनालाई राखिएको छ भने ७ सय ७४ जना होम क्वारेन्टाईनमा रहेका छन् ।

तयारी आवस्थामा राखिएका १४ आईसोलेसन बेड रहेकोमा अहिले सम्म कोहि पनि आईसोलेसनमा नरहेको सामाजिक विकास मन्त्रालय, प्रदेश २ का सचिव रामप्रसाद घिमिरेले आज भएको कोरोना भाईरस सम्बन्धी मिडिया ब्रिफिङ्गमा जानकारी दिनु भएको छ ।

लक डाउनमा किसानलाई चैते बाली भित्र्याउने चिन्ता

कोरोना भाइरसका कारण विश्व त्रसित र देश लकडाउनमा रहँदा तराईमधेशका जिल्लामा बस्ने किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ ।

यो समय किसानहरू खेतमा काम गर्ने भए पनि लकडाउनका कारण उनीहरू खेतसम्म पुग्न सक्ने अवस्था छैन । खेतमा गहुँ पाकेर झर्ने अवस्थामा पुगिसकेको किसानहरूको भनाइ छ ।

देशमा नोबेल कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन लकडाउन हुँदा मानिस घर बाहिर निस्कन नपाएपछि किसान खेतमा पाकेको गहुँबाली कसरी भित्र्याउने भन्ने चिन्तामा छन् ।

गौशला नपा५ का वडा अध्यक्ष समेत रहनु भएका कृषक भोज बहादुर दर्लामीले भन्नुभयो,–‘खेतमा लगाइएको गहुँ, रहरी दाल र मसुरो पाकेर झर्ने अवस्थामा पुगिसक्यो कसरी भित्र्याउने भन्ने चिन्ता लाग्न थालेको छ ।

उहाँले हिउँदमा भएको वर्षाले केही गहुँ नष्ट गरिसकेको भए पनि बचेको बाली भित्र्याउने समयमा देशमा भएको लकडाउनले भोकमरी ल्याउने बताउनु हुँदै भन्नुभयो,–‘अघिल्लो वर्षमा अहिलेसम्म गहुँ घरमा भित्र्याउन सकिन्थ्यो ।

दर्लामीले भन्नुभयो,–‘अहिले खेतसम्म पनि जान सक्ने अवस्थ छैन, विश्व नै विपत्तिमा छ । बाहिर निस्कन मिल्दैन । प्रशासनले कडाइ गरेको छ । घरमा खाना छैन, खेतको बाली भित्र्याउन पाइने हो कि होइन, कुनै ठेगान छैन ।

हिउँदमा बढी वर्षा भएको कारण किसानले लगाएको अन्न बालीमा पहिले नै ठूलो क्षति पुगेको बताउनु हुँदै उहाँले बाँकी रहेको गहुँ पनि पाकेर खेतमै झर्ने अवस्थामा पुगेको किसानहरूको गुनासो छ ।

त्यसैगरी औरही नगरपालिकाका मेयर समेत रहनु भएका अर्का किसान सुनिल यादवले भन्नुभयो,–‘अझै पनि मौसमको कुनै भर छैन । अहिले कुन बेला मौसम खराब हुन सक्छ । त्यसैले कसै गरी गहुँ बाली भित्र्याउने व्यवस्था सरकारले गरिदिनृ पर्दछ ।

गौशाला नपा१२ बस्ने रामशोभित सिंह कुशवाहाले जम्मा डेढ विगहा जग्गामा गहुँ खेती गुर्न भएको छ । तर गहुँ काट्नको लागी खेताला नपाएपछि गहुँ काट्न समस्या परिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अहिले यहाँ नेपाल सरकारले कारोनासँग जित्नका लागि महोत्तरी लगायत देशैभर लकडाउन गरेको कारणले खेतालाहरू काम गर्न आउन मान्दैनन् ।

उहाँले आफु सपरिवार खेतमा लागेको गहुँ काट्ने तरखरमा रहेको बताउनुभयो । कुशवाहालाई एकतर्फ कारोनाको त्राशले गर्दा नेपाल सरकारले लकडाउनसँगै स्वास्थ्यको चिन्ता छ भने अर्कोतर्फ खेतमा लगाएको बाली कसरी काट्ने भन्ने चिन्ता छ ।

सामाजिक दुरी कायम राखेर भए पनि गहुँ काट्ने कशवाहाले बताउनुभयो । उहाँका अनुसार हाटबजारहरू पनि लाग्न नदिएकोले धेरै परिश्रम गरेर खेतमा उब्जाएको तरकारीहरू पनि बेच्न समस्या भएको भन्नुभयो ।

गौशाला११ बस्ने कालीपुरका तुलसी महतोलाई पनि चिन्ताले सताएको छ । उहाँले पनि एक विगहामा गहुँ खेती गर्नुभएको छ । गहुँ आफैले काटेपनि दाइनो कसरी गर्ने भनेर चिन्ता महतोलाई छ । गहुँ दाइनो गर्ने थ्रेसरवालाहरू आउँछ कि आउँदैन, यदि आयो भने प्रहरीले लखेट्छ कि भन्ने गुनासो उहाँको छ ।

त्यस्तै गरी खेतमा छर्ने मलखाधको अभाव, पानीको अभावर खेतमा लगाउने बालीको बीउको अभाव रहेको उहाँले बताउनुभयो ।

किसानहरू आफ्नो सुरक्षालाई ध्यानमा राख्दै खेतको बाली भित्र्याउने काम गर्न सक्ने ईलाका प्रहरी कार्यालयका गौशालाका इन्स्पेक्टर प्रकाश रेगमीले बताउनु भयो ।

यन्त्रले गहुँ काट्ने गरेको भए पनि किसानले डिजेल नपाएको गुनासो गरेका छन् । सरकारले नै डिजेलको बिक्री वितरणमा रोक लगाएको भन्दै आयल स्टोरहरूले डिजेल दिन नमानेको किसानहरू बताउँछन् ।

मेशिनले गहुँ काट्दा मानिस जमघट पनि नहुने र गहुँ पनि भित्र्याउन सकिने भएकाले सरकारसँग किसानलाई डिजेलको व्यवस्था गरी गहुँ भित्र्याउनका लागि सहज बनाइदिन किसानहरूले आग्रह गरेका छन् ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार भारत दिल्लीको निजामुद्दिनस्थित मरकज जमातमा सहभागी भई घर फर्केका चार जना नेपालीलाई चैत २३ गते तिलाठी कोइलाडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाका उहाँहरुलाई तिलाठी कोइलाडी गाउँपालिका८ स्थित लक्ष्मी बल्लभ नरसिंह मावि बभनगामा कट्टीको क्वारेन्टाइनमा राखिएको विपद व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिनुभयो ।

पर्साको वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्नुभएका उहाँहरु चैत २२ गते राति राजविराज आईपुग्नु भएको थियो । चारै जना जमातीलाई राति स्थानीय एक मदर्शामा राखिएकोमा चैत २३ गते तिलाठी कोइलाडी गाउँपालिकाको एम्बुलेन्सबाट क्वारेन्टाईनमा राखिएको हो ।

भारतबाट लुकीछिपी सप्तरी प्रवेश गर्नेहरुहरुका कारण कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने उच्च सम्भावना रहेकोले कुनै पनि अपरिचित व्यक्ति वा बस्तीमा आएका बाहिरी व्यक्तिहरुलाई क्वारेन्टाईन पठाउन वा प्रहरीलाई खबर गर्न जिल्ला प्रशसन कार्यालय सप्तरीले आग्रह गरेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार सप्तरीको विभिन्न क्वारेन्टाइनमा राखिएको २ सय ५४ जनामध्ये १ सय ६ जना मुस्लिम समुदायका रहेका छन् । यसमध्ये अधिकांश इस्लाम धर्म प्रचारक संस्था तब्लिगी जमातद्वारा भारतको विभिन्न राज्यमा आयोजित ४० दिने धार्मिक सभा जमातमा सहभागी भई घर फर्केका बताइएको छ ।

राजविराज नगरपालिकामा ४२ जना, कञ्चनरुप नगरपालिकामा २२ जना, डाक्नेश्वरी नगरपालिकामा ६ जना, बोदे वर्साइन नगरपालिकामा १२ जना, खडक नगरपालिकामा सात जना, शम्भुनाथ नगरपालिकामा एक जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी राजगढ गाउँपालिकामा एक जना, हनुमाननगर कंकालिनी नगरपालिकामा दुई जना, अग्नीसाइर कृष्णा सवरण गाउँपालिकामा चार जना, छिन्नमस्ता गाउँपालिकामा तीन जना, महादेवा गाउँपालिकामा एक जना र बलान बिहुल गाउँपालिकामा एक जना रहेका छन् ।

भारत बिहार अररियाको फारबिसगञ्ज र रहुवाईस्थित विभिन्न मस्जिदबाट ४० दिनको जमातबाट फर्किएका राजविराजका आठ जनाको स्वाब परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको र क्वारेन्टाइनमा रहेकाहरुको अवस्था सामान्य रहेको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनु भयो ।

निजामुद्दीनस्थित जमातमा सहभागी धेरै जनामा कोरोनो सङ्क्रमण देखिएको भारत सरकारले सार्वजनिक गरेसँगै जमातमा सहभागी भएकाहरु उच्च जोखिममा रहेको कुरालाई ध्यान राखि भारतबाट फर्किएका जमातीहरुमाथि प्रहरीले निगरानी बढाएको छ ।

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार विश्वभर देखिएको महामारी कोरोना भाइरसकोे सङ्क्रमणलाई रोकथाम गर्न सिरहा जिल्लामा १७ ओटै स्थानीय तहको सहकार्यमा ४० बेडको आईसोलेसन अस्पताल र १७ ओटै स्थानीयतहको १९ स्थानमा गरी २ सय ४६ बेडको क्वारेनटाईन तयार पारेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले जानकारी दिनु भएको छ ।

भारत तथा विदेशबाट आएका ४ सय ६८ जनाको पहिचान भएको र उनीहरूलाई क्वारेनटाईन तथा सेल्फ क्वारेनटाईनमा राखेर निगरानी गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो । त्यसगरी क्वारेन्टाईनमा बस्ने बिरामीहरूको लागि खाने सम्पुर्ण व्यवस्थाहरु स्थानीय तहलेनै गरेको र सुरक्षा तथा उपचारको लागि सुरक्षा निकाय र स्वास्थ्य कार्यालयले सहयोग गरेको जानकारी प्रमुख जिल्ला अधिकारी गुरागाईले दिनु भयो ।

त्यसैगरी सिरहा अस्पतालमा सात बेड, लहान अस्पपतालमा पाँच बेड, महेन्द्र गेनाई अस्पतालमा १८ बेड, आरके मेडिसिटि अस्पतालमा पाँच बेड र फुलकुमारी अस्पतालमा पाँच बेड गरी ४० बेडको आसुलेसन बेडहरु तयार गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । महेन्द्र गेनाइ अस्पताललाई हाल अस्थाइ रुपमा आजै देखि सञ्चालन हुने गरी कोरोना भाइरस विशेष अस्पताल सञ्चालनमा ल्याइएको बताउनु भयो । हाल सम्म आइसोलेसन वार्डमा कोही पनि उपचारको लागि नरहेको प्रजिअले बताउनु भयो ।

 दुई जनालाई परिक्षणको लागि प्रादेशिक अस्पताल लगियो

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले कोरोना परिक्षणको लागि चैत २२ गते दुई जनालाई प्रादेशिक अस्पताल जनकपुर लगिएको बताउनु भयो ।

आज उनीहरूको स्वाब परिक्षण गरिएको र परिणाम आउन बाँकि रहेको प्रमुख यादवले बताउनु भयो । प्रमुख यादवका अनुसार एक जनाको कोरोना परिक्षण सम्पन्न भई रिजल्ट निगेटिब आएको बताउनु भयो ।

इन्सेक लगायत सङ्घ संस्थाहरूद्वारा संयुक्त विज्ञप्ति

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानवअधिकार संरक्षण केन्द्र संजाल, ओरेक नेपाल, समग्र जनउत्थान केन्द्र, मुक्ति नेपाल, दलित जनकल्याण यूवा कल्ब लगायतका संघ संस्थाहरुले चैत २२ गते संयूक्त प्रेस बिज्ञप्ति प्रकाशित गरेका छन ।

प्रकाशित विज्ञप्तिमा कालो बजारी गर्नेलाई कारवाही, उपचारको लागि जाँदा उपचार नगर्ने अस्पताल, डाक्टरहरूलाई कारवाहीको माग, गर्भवतिसुत्केरीहरूको सहज उपचारको व्यवस्था, पालिकाहरूले तयार गरेको क्वारेन्टाईनमा रहेकोहरूको मापदण्ड अनुरुप उचित व्यवस्थापन हुनु पर्ने, गरीब, ज्यालादारी गर्ने परिवारहरूको पहिचान गरी खाद्यान्नको व्यवस्थापन गर्नु पर्ने सरोकारवालाहरूको ध्यानाकर्षण सहित विज्ञप्ति प्रकाशित गरेका छन् ।

सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार हरिवन नगरपालिकाले लकडाउनबाट प्रभावित हरिवनका स्थानीय नगरवासीलाई राहत प्रदान गर्न निर्माण गरेको प्रकोप व्यवस्थापन कोषमा २२ लाख रुपियाँ सङ्कलन भइसकेको छ ।

हरिवन नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा विभिन्न मनकारी व्यक्तिहरुले सहयोग गरेपछी उक्त रकम सङ्कलन भएको हरिवन नपाका प्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिनुभएको छ ।

खासगरी विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण फैलिन नदिन तथा रोकथाम र नियन्त्रणका लागि आवश्यक स्रोत साधन परिचालन गर्न एवम् लकडाउनबाट प्रभावित दलित, अपाङ्ग, तथा अति विपन्न गरिब परिवारहरुलाई सहयोग गर्न प्रकोप व्यवस्थापन कोष स्थापना गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिनुभएको छ ।

कोषमा रकम जम्मा भईसकेको हुँदा चैत २४ गतेबाट लकडाउन प्रभावितमा परेका परिवारहरुलाई राहत वितरण गर्ने कार्य सुरु गरिने प्रमुख प्रसाईले जानकारी दिनुभएको छ ।

चैत २१ गते नेपाली कांग्रेसबाट मेयर पदका प्रत्यासी उम्मेदवार दिलिपराज भण्डारीले २० हजार रुपियाँ, डेनमार्कमा रहनु भएका समाजसेवी नवराज कडरीयाले २० हजार रुपियाँ, हरिवन चेम्बर अफ कमर्सले १५ हजार ५ सय ५५ रुपियाँ, समाजसेवी कपलेश्वर प्रसाद गुप्ताले १० हजार २० रुपियाँ, समुद्धि बचत तथा ऋण सहकारी संस्था हरिवन(वडा नं.११) ले १५ हजार रुपियाँ, नेकपाका युवा नेता अर्जुन पन्तले १० हजार रुपियाँ, समाजसेवी सरोज उप्रेतिले ५ हजार ५ सय रुपियाँ र भक्तपुरमा रहेका समाजसेवी लक्ष्मी थापाले ५ हजार १ सय ५ रुपियाँ गरि जम्मा १ लाख २ हजार कोषमा जम्मा भएको छ ।

हाल सम्म २२ लाख रुपियाँ जम्मा भईसकेकोले प्रदेश सरकार राहत निर्देशिका अनुसार हरिवन नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका, आर्थिक रुपले अति विपन्न गरिब तथा दलित परिवारहरुलाई २५ केजी चामल, १ केजी दाल, नुन १ पोका, आलु ३ किलो, खाने तेल १ लिटर लगायत खाद्यान्न २४ गते देखि वितरण गरिने नगर प्रमुख प्रसाईले बताउनु भयो ।

चैत २१ गते लालबन्दी नगरपालिकामा रहेका पद्म भुवनेशरी वृद्धाश्रममा प्रमुख प्रसाई आफै गएर १ सय ५० किलो चामल, पाँच किलो दाल, पाँच लिटर तेल, ५० किलो आलु, पाँच किलो नुन, ५० पिस माक्स र १२ पिस साबुन राहत स्वरुप प्रदान गरिएको छ ।

लकडाउनबाट आश्रमका वृद्धवृद्धा प्रभावित भएकोले उक्त राहत सामग्री वितरण गरिएको प्रमुख प्रसाईले बताउनु भएको छ ।

नगरपालिकाले चैत २० गतेबाटै लकडाउनबाट अति प्रभावित बालबालिका आश्रम र वृद्धा आश्रमलाई राहत प्रदान गरेको बताउँदै अन्य प्रभावितहरुलाई आजबाट राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले जानकारी दिनुभएको छ ।

राहत वितरण गर्न गोडैता नगरपालिकामा वडा स्तरीय समिति गठन

विश्वभर माहामारीको रुपमा तिब्रगतिमा फैलिएको कोरोना भाईरस (कोभिड१९) बाट पीडित भएका मानिसहरुलाई राहत वितरण गर्न गोडैता नगरपालिकाको वडावडामा समिति गठन गरिने भएको छ ।

नगरपालिका भवनमा बसेको सर्वदलिय बैठकमा कोरोना भाईरसको महामारीको त्रासले सरकारले गरेको लकडाउनका कारण समस्यामा परेको किसान, गरिब, दलित तथा अतिविपन्न परिवारहरुको अनुगमन गरी राहत सामग्री खरिद तथा वितरणकालागि समिति गठन गरिएको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र रायले जानकारी गराउनु भएको छ ।

गोडैता भित्रका प्रधानाध्यापक, विभिन्न पार्टीका राजनितिक दल, वडा सदस्यहरु तथा सुरक्षा निकाय व्यक्तिहरुको उपस्थितिमा राहत वितरण समिति गठन गरिएको कार्यपालिका सदस्य सितल मुखियाले बताउनु भएको.छ ।

अधिकांश गरिब, दलित तथा अतिविपन्न समुदायहरुका मानिसहरुको बसोबासरहेको गोडैता नगरपालिकामा कोरोना भाईरसको महामारीको त्रास र सरकारले गरको लकडाउनका कारण यस नगरपालिकामा भारी सङ्ख्यामा आम नागरिकहरु प्रभावित भएका छन् । .लकडाउनबाट प्रभावित भएको नागरिकहरुलाई राहत वितरण गरी गरिब नागरिकको घाउमा मलम लगाउने अपेक्षा गरिएको छ तर नेपालमा विगतको समयमा राहत सामग्रीमा भएको चरम भ्रष्टाचार तथा अनियमितताको कारण सबै पीडित नागरिकले राहत पाउनेमा आम नागरिक विश्वस्त हुन नसकेको मावन अधिकारकर्मी मुेकेश मिश्राले बताउनु भएको छ ।

गोडैता नगरपालिका भित्र जति समिति गठन गरेको भए पनि कुनै समितिले नगर भित्र केही नगरेको र स्थानीयहरुलाई केही राहत नदिइ मात्र पत्रकार तथा मानव अधिकारकर्मीहरुलाई झुठा कुरा भनिएको स्थानीय वीरेन्द्र राय यादवले बताउनु भएको छ ।

लकडाउनबाट प्रभावित २ सय ७८ परिवारले पाए राहत

मलंगवा नगरपालिकामा लकडाउनबाट प्रभावित २ सय ७८ अतिविपन्न तथा दलित परिवारले राहत पाएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले अह्वान गरेको लकडाउनका कारण ज्याला मजदुरी गरेर खाने मलंगवा नगरपालिका भित्रका अतिविपन्न दलित मजदुरी तथा अपाङ्ग परिवारहरुलाई मलंगवाका व्यापारीहरुले मिलेर राहत वितरण गरेको छन् ।

मलंगवा नगरपालिकाको १२ ओटानै वडाका अति विपन्न, दलित, मजदुरी तथा अपाङ्ग गरिब परिवारहरुलाई एक बोरा चामल, दूई किलो दाल, एक किलो चिउरा, दुई किलो आलु, दुई किलो प्याज, एक किलो सोयाविन तल, एक लिटर खाने तेल, मासाला, माक्स र हात धुने साबुन वितरण गरिएको दुर्गा अफसेट प्रेस मलंगवाको सञ्चालक सञ्जयकुमार गुप्ताले जानकारी दिनुभएको छ ।

व्यापारी खेम गोयल, विकास गोयल, जय प्रकाश अग्रवाल, नवनीत अग्रवाल, सत्यनारायण अगव्राल, राजु अगव्राल, रामएकवाल प्रसाद साह, सञ्जयकुमार गुप्ता, डा. घनश्याम प्रसाद साह (ओम किल्निक), मुकेश जयसवाल र चन्द्रकिशोर साहको सहयोगमा राहत वितरण गरिएको व्यापारी गुप्ताले बताउनु भएको छ ।

राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चैधरी, मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहन बहादुरजिसी, प्रहरी एसपी विश्वमणी पोखरेल, मलंगंवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी लगायत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार पर्सा जिल्लाका स्थानीय तहले जिल्ला भरिमा ३ सय १६ जना नागरिक बिदेशबाट आएको पहिचान गरेका छन् । जिल्ला भरिमा २ सय १८ बेडको क्वारेन्टाइन निर्माण भएको छ । अहिले क्वारेन्टाइनमा ३९ जना नागरिकहरु रहेका छन् । यी नागरिक पर्सा जिल्लाका हुन् ।

क्वारेन्टाइनबाट अहिले सम्म १ सय ३७ जना घर फिर्ता भएका छन् । बिदेशबाट सबै भन्दा बढी फर्किनेहरु ठोरी गाउँपालिकामा रहेका छन् । ठोरीमा ४८ जना बिदेशबाट नागरिकहरु फर्किएका छन् । त्यसमध्य दुई जना आइसोलेशनमा रहेका छन् । ती दुईको थ्रोट स्वाब परिक्षणको रिपोर्ट भने नेगेटिभ आएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता ललितकुमार बस्नेतका अनुसार ठोरी जगरनाथपुर र जिरा भवानी गाउँपालिकामा क्वारेन्टाइन बनेको छैन । जिरन भवानी गाउँपालिका र जिरा भवानीमा क्रमश २१ र ३१ नागरिक बिदेशबाट आएको देखिन्छ ।

यता वीरगंजको ठाकुुरराम बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा ३ सय ६० भारतीय नागरिक क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको सम्पूर्ण व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले जानकारी दिनु भयो ।

लकडाउनलाई अझै प्रभावकारी बनाउन स्थानीय प्रशासन थप कडा भएर प्रस्तुत हुने कार्कीको भनाई छ । हालसम्म लकडाउन उल्लंघन गर्ने  ५९ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउन भरि नियन्त्रण लिइएका मोटरसाकइलहरू मोटरसाइकल धनीले नपाउने व्यवस्था गरिएको छ ।

अन्य

भिडियो