INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँका सडकमा तारबार गरियाे, एक स्थानीय तहबाट अर्काेमा जान रोक

कोरोना (कोभिड १९) को जोखिम बढदै गएपछि बागलुङका स्थानीय तहमा प्रवेश गर्ने नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शनिबार नेपालमा थप तीन जना संक्रमित भेटिए संगै जिल्लाका स्थानीय तह प्रवेश गर्ने नाकामा चेक जाँचलाई कडा पारिएको हो ।

 

जिल्लामा २ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पनि नागरिक सचेत नभएको भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्लाका सबै स्थानिय तहका प्रमुखको सक्रियतामा सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख गौलोचन शैजुले जानकारी दिनुभयो ।

‘यस अघि सदरमुकाममा लकडाउनलाई कडा गरिए पनि गाउँ गाउँमा मानिसहरु चहलपहल कम भएको थिएन’, शैजुले भन्नुभयो ‘कोरोनाको त्रास बढदा पनि नागरिकहरु सचेत नदेखिएपछि गाउँ गाउँमा प्रहरी परिचालन गरिएको छ ।’

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले एक स्थानीय तहदेखि अर्काे स्थानीय तहमा संक्रमण नफैलियोस भनेर सरकारले गरेको निर्णय सबैले पालना गनुपर्ने भन्दै बागलुङ नगरपालिकामा लकडाउनलाई कडाइ गरिएको बताउनुभयो ।

‘जिल्ला प्रवेश गर्ने नाकामा पहिले देखिनै कडाइ थियो, पौडेलले भन्नुभयो अब घरबाट बाहिर ननिस्कनुस भनेर प्रहरी परिचालन गरिएको छ ।’

बागलुङको ढोरपाटन नगरपलिकाका मेयर देवकुमार नेपालीले ढोरपाटन नगरपालिकामा अन्य पालिकाबाट कसैलाई पनि प्रवेश गर्न नदिने बताउनुभएको छ ।

‘देश लकडाउन गरे पनि जनताले पालना गरेको देखिएन’, नेपालीले भन्नुभयो ‘अब हामीहरुले हाम्रो नगर लकडाउन गर्दैछौ, आजैबाट ढोरपाटनमा अन्य पालिकाका व्यक्तिलाई प्रवेश गर्न रोक लगाइएको छ ।’

ढोरपाटन प्रवेश गर्ने नाकामा तारबार गरिदैछ, नेपालीले भन्नुभयो ‘मेरो नगरमा खाद्यन्न, स्वास्थ्य र सबै आवश्यकता पुरा गर्नको लागि म तयार छु, त्यसैले अब नगरमा कसैलाई प्रवेश दिइदैन ।’

 

जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले गुल्मीबाट जैमिनी प्रवेश गर्ने नाका छिस्तीमा हेल्थ डेक्स सहित प्रहरीले सुरक्षा दिइरहेको बताउनुभयो ।

बिरामी, दुध र खाद्यन्न बोकेका सवारी साधन बाहेक अन्यलाई नगर प्रवेशमा रोक लगाइएको उहाँले बताउनुभयो । अनावश्यक चलह पलह हुने र भिडभाड हुने झोलुङगे पुलमा बार लगाइएको उहाँले बताउनुभयो ।

 

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्माले गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको प्रवेशद्वार घोडाबाधेमा स्वमसेवक परिचालन गरेको बताउनुभयो ।

सेनासंग सहकार्य गरेर पैदल यात्रा गर्नेहरुको पनि अनिवार्य रुपमा परिचय खुल्ने कागजातले प्रवेश गर्ने प्रबन्ध मिलाएको उहाँले बताउनुभयो । खर्वाङ र गुल्मीको मुसिकोटबाट प्रवेश गर्ने नाकामा प्रहरी राखेर पूर्ण रुपमा आवत जावत बन्द गरिएको उहाँले बताउनुभयो ।

बागलुङको ताराखोला गाउँपालिकाका तीन वटा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको गाउँपालिका प्रमुख प्रकाश घर्तीले बताउनुभयो ।

गलकोट हुदै प्रवेश गर्ने नाकाको लागि गाउँपालिकाको ३ नम्बर वडा, काठेखोला गाउँपालिकाबाट अमरभुमी, माझखर्क प्रवेश गर्ने नाकाको लागि धनसिंह चोकमा हेल्थ डेक्ससंगै सुरक्षाकर्मी परिचालन गरिएको घर्तीले बताउनुभयो ।

म्याग्दी हुँदै ताराखोला प्रवेश गर्ने नाकामा पनि सुरक्षाकर्मी संगै जनप्रतिनिधी परिचालन गरिएको छ ।

तमानखोला गाउँपालिका र म्याग्दीको नाका सोले डाँडामा सशस्त्र प्रहरीले कडाइका साथ चेकजाँच गरेर आवत जावतमा रोक लगाएको गाउँपालिका प्रमुख जोकलाल बुढाले बताउनुभयो । उहाँले ढोरपाटन नगरपालिकाबाट प्रवेश गर्ने स्थानमा पनि बोङगादोभान प्रहरीले निगरानी बढाएको बताउनुभयो ।

काठेखोला गाउँपालिका प्रमुख अमर थापाले गाउँ गाउँका टोलसुधार समितिलाई परिचालन गरि गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको उहाँले बताउनुभयो ।

‘मुख्य नाकामा प्रहरीसंग सहकार्य गरेर अतिआवश्यक बाहेकका आवत जावतमा रोक लगाएका छौ’, थापाले भन्नुभयो ‘वडा वडामा पनि टोल सुधार समिति र युवा क्लबका सदस्यलाई परिचालन गरेर प्रवेश रोक लगाएका छौ ।’

बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले भिमगिठे, ग्वालीचौर र खर्वाङको प्रहरीसंग सहकार्य गरेर बुटवल, गुल्मी र गलकोटका विभिन्न नाकामा प्रवेश रोक लगाईएको बताउनुभयो ।

‘हामीहरुको मात्र प्रयासले हुँदो रहेनछ, गाउँमा जीप भरेर मान्छे आउँछन्, सोध्यो पास देखाउछन्’, पाइजाले भन्नुभयो ‘सिडियो एसपीले हामीले पास दिएका होइनौ भन्नुहुन्छ गाउँमा मनपरि देखिएको छ ।’

बागलुङको बरेङ गाउँपालिका प्रमुख कृष्ण पौडेलले गाउँपालिकामा गुल्मी र बागलुङका विभिन्न पाचँ ओटा नाकामा तारबार गरिएको बताउनुभयो ।

अति आवश्यक परे खोल्न मिल्ने गरि गुल्मीको शान्तिपुर प्रवेश गर्ने घट्टे नाका, गुल्मीको कालीगण्डकी प्रवेश गर्ने सातदोबाटो नाका, नाम्दुक नाका, गलकोट नगरपालिका प्रवेश गर्ने देउराली र गुल्मीको शान्तिपुर जोडने पहेलपाटा नाकामा तारबार गरिएको बताउनुभयो ।

दैनिक ज्याला दिने गरि तीन जनालाई प्रहरीसंगै नाकामा खटाएका छौ’ पौडेलले भन्नुभयो ‘गाउँपालिकामा जो कोहिलाई पनि प्रवेश गर्न रोक लगाइएको छ ।’ उहाँले गाउँपालिकामा कसैको निधन भएमा तीन दिनमा उम्कने गरि व्यवस्थापन गरिएको बताउनुभयो ।

निसिखोला गाउँपालिकाका प्रमुख तारानाथ पौडेलले सरकारले हिजोमात्र स्थानीय तह स्तरिय लकडाउनको व्यवस्था गरेको भएपनि आफू अहिलेसम्म वडा अध्यक्षहरुसंग भेटघाट हुन नसकेको भन्दै निर्णय गर्न नसकेको बताउनुभयो । सबै टाढा—टाढा हुनुहुन्छ, वडा अध्यक्षसंग भेट हुन पाएको छैन, भेटभाट पछि के गर्ने भनेर सल्लाह गर्नेछौं ।

त्यसैगरी बागलुङका प्रहरी एसपी नवराज भट्टले आइतबारबाट बागलुङमा लकडाउनलाई थप कडाइ गरिएको बताउनुभयो । जिल्लामा दुध, तरकारी र फलफुल पनि उपभोक्तालाई फोनमार्फत घरमै मगाउन र वितरकलाई घर–घरमै पुर्याइदिन आग्रह गरेको बताउनुभयो ।

मलामी जाँदा पनि थोरै भन्दा थोरै मानिसको सहभागीता गराउन सबैलाई आग्रह गरिएको छ, भट्टले भन्नुभयो लकडाउन उल्लङघन गर्नेलाई कारवाही गर्छौ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार बिहान लकडाउन उल्लङघन गर्दै अनावश्यक रुपमा सडकमा हिँडेका ४० जनालाई गिरफ्तार गरी दिनभर कार्यालयमा राखी सम्झाएर साँझ छोडेको छ । साँझको समयमा लकडाउन उल्लङघन गर्ने थप ५ जनालाई गिरफ्तार गरिएको छ ।

अन्य

भिडियो