विश्वव्यपी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि संघिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेका छन् । सम्भावित सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तथा लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि चैत २३ गते प्रदेश सरकार र स्थानीय सरकारले थप निर्णय गरेका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको संख्यामा बृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले चैत २२ गते पृष्टि गरेसँगै यस प्रदेशमा पनि उच्च सर्तकता अपनाइएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले चैत २३ गते पठाउनु भएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेश अन्तर्गत भइरहेका तयारी र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण गरिएको छ ।
इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुंगानाका अनुसार प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला कमाण्ड समितिको चैत २३ गतेको बैठकले मंगलसेनस्थित क्वारेन्टाइमा रहेका ५३ जनाको स्वास्थ्य परीक्षणका लागि विशेषज्ञ टोली माग गर्ने निर्णय गरिएको छ ।
मंगलसेनस्थित क्वारेन्टाइनमा रहेका ५३ जना कैलालीमा फेला परेका कोरोना भाइरस सङ्क्रमित युवाको समूहसँगै यसअघि गौरीफन्टामा रहेको बताइएको छ । समितिले बजारमा खाद्यन्न मौज्दातको अवस्था विश्लेषण र अनुगमन गर्ने, लकडाउनको कार्यान्वयन अझै प्रभावकारी बनाउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयो ।
कोभिड – १९को सम्भावित जोखिमबाट बच्न तुर्माखाँद गाउँपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि ४४ ओटा सुरक्षा सामाग्री (पीपीइ) खरिद गरेरको छ ।
गाउँपालिकामा रहेका आठ स्वास्थ्य संस्थामा चार / चार ओटा पीपीइ वितरणको अन्तिम तयारी भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एकिन्द्रबहादुर वयकले बताउनु भयो । स्यानिटाइजर, पञ्जा र मास्क जस्ता सामाग्री स्वास्थ्य संस्थासँगै प्रहरी चौकी लगायत सार्वजनिक संस्थालाई दिइने बताइएको छ ।
तुर्माखाँद गाउँपालिकामा कुनै व्यक्तिलाई कोरोनाको लक्षण देखा परेमा परीक्षणपछि राख्न २५ बेडको क्वारेन्टाइन कालिकेश्वरी माविमा निर्माण गरिएको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताउनु भयो । कोरोना भाइरसबाट जोगिन र घरमै बस्न सचेतनामूलक अभियान थालिएको बताइएको छ ।
मेल्लेख गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका आठ स्वास्थ्य संस्थामा दुई दुई सेट सुरक्षा सामाग्री (पीपीइ) वितरण गरेको छ । स्वास्थ्यकर्मीले बिरामीको जाँचमा कोरोनाको सम्भावित सङ्क्रमण हुनबाट जोगाउन २० सेट पीपीइ खरिद गरेर वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मतबहादुर बुढाले बताउनु भयो ।
मेल्लेख गाउँपालिकाले कोरोनाको सम्भावित जोखिमलाई रोकथाम, नियन्त्रण र उपचारका लागि १० लाखको आपतकालिन कोष स्थापना गरेको छ । कोषमा अन्य व्यक्ति र संस्थाहरूले पनि सहयोग गर्न सकिने बताइएको छ ।
इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधिका अनुसार सुदूरपश्चिम प्रदेशमा कोराना भाइरस सङ्क्रमितहरूको संख्यामा बृद्धि भएसँगै जिल्लाका तीन ओटा नाकामा चैत २३ गतेदेखि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न र नाका क्षेत्रमा उच्च सर्तकता अपनाउनका लागि जिल्लाका तीन ओटा नाका क्रमसः परशुराम नगरपालिकाको तातापानी, शीर्ष र असुरानी क्षेत्रमा सशस्त्र प्रहरी बल परिचालन गरिएको हो ।
सशस्त्र प्रहरी बलका डिएसपी भुवनराज पन्तका अनुसार ससाना नाका र चोरबाटो हुँदै भारतमा रहेका नेपालीहरू नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमाराखि सइ दलबहादुर कुवरको नेतृत्वमा ३० जनाको टोली परिचालन गरिएको छ ।
विश्वभरी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन गरिएको अवस्थामा पनि परशुराम नगरपालिका – ६ को सिसमजाल घाटमा (माहाकाली नदि) पौडि खेलेर जोखिममोली दिनहुँ भारतबाट नेपाल प्रवेशमा नियन्त्रण नभएपछि सुरक्षाकर्मीलाई परिचालन गर्नु परेको हो ।
एउटा गाउँबाट अर्को गाउँमा जान पूर्णरूपमा रोक
गन्यापधुरा गाउँपालिकाको चैत २३ गते सम्पन्न आकस्मिक बैठकले एक गाउँबाट अर्को गाउँमा जान पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ ।
बैठकले गाउँपालिकाका हरेक गाउँ शिल गर्नुका साथै भारतबाट घर फर्किएकाहरूको उच्च निगरानी गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लको भनाइ छ ।
चैत २२ गते सुदूरश्चिममा एकैसाथ तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि भएपछि गाउँपालिकाले सजकता अपनाएको अध्यक्ष मल्लले जानकारी दिनु भएको छ ।
कैलालीका कोरोना सङ्क्रमित युवक चैत ११ गते गौरीफन्टा नाकाबाट नेपाल भित्रिएको बुझिएसँगै सर्तकता अपनाइएको अध्यक्ष मल्लले बताउनु भयो । सोही दिन जिल्लाको गन्यापधुरा गाउँपालिकामा ३० जना युवाहरू भित्रिएका र अहिले सबै घरघरमै बसिरहेकाले सबैलाई सेल्फ क्वारोन्टाइनमा सुरक्षित रूपमा बस्न गन्यापधुरा गाउँपालिकाले आग्रह समेत गरेको छ ।
इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार सरकारले लकडाउनमा कडाई गर्दै लगेपनि भारतको जिआईसी कलेज जौलजीविमा क्वारेन्टाइनमा राखिएका सात जना नेपाली मजदुर महाकाली नदी तरेर चैत २३ गते नेपाल भित्रिएका छन् ।
क्वारेन्टाइनमा खान, बस्न र सरसफाइको व्यवस्था नभएपछि ज्यान जोखिममा राखेर मरे मरौला भनेर सातै जनाले हात समातेर माहाकालि नदी तर्ने आँट गरेको उनीहरूको भनाइ छ ।
कहिल्यै नदी वारपार गरेका थिएनौ । क्वारेन्टाइन छोडेर नदी पुगेपछि सात भाइले कसम खाऔँ । बगेसँगै बगौला तर हात कसैले नछोड्ने कसम खायौँ । सातै जना सँगै हात समातेर हिड्याँै । सात जना मध्ये पौड्ने सक्ने कोहि थिएन् । तर, मर्नै परे आफ्नो देश आउने बेला मरौंला भनेर हिम्मत गरेरै नदी तरेउ । मार्मा गाउँपालिका –५ का रमेश महताले भन्नु भयो ।
६ दिन भयो क्वारेन्टाइनमा राखिएको ६ दिन भए पनि राम्रोसँग खाना र बस्न त परै जाओस पानी समेत नपाउने अवस्था भएपछि क्वारेन्टाइनबाट भागेर ज्यानको बाजी लगाएर नेपाल प्रवेश गर्न बाध्य भएको उनीहरूको भनाइ छ ।
भारत पिथौरागडको दुनाकोटमा सिचाईको काम गर्न गएका उनीहरूलाई डेढ महिना मात्रै भयो । गाउँमा रोजगारी केहि नपाइने र नयाँ वर्ष विशुको लागि नयाँ लुगा होला भनेर भारतमा मजदुरी गर्न गएको उहाँहरूले जानकारी दिनु भयो ।
क्वारेन्टाइनको नाममा ५०/ ६० जनालाई एउटै कोठमा राखिएको, पिसाब फेर्न बाहिर जान समेत नदिने गरेको र सुत्नलाई ठेलमठेल गरेर रात काट्नु पर्ने बाध्यता भएपछि आफूहरू काली पार गरेर आएको मार्मा गाउँपालिका – ५ कै राजेन्द्र महताको भनाइ छ ।
उहाँले भन्नु भयो – ‘ क्वारेन्टाइनमा बस्ने नेपालीको अवस्था बिजोग छ । फोन गरे पनि गालीगलौज गर्छन् । मिडियामा फोन गरेको भनेर हप्कीदप्की दिने गरेका छन् । समयमै उद्धार गर्न नसक्ने हो भने आधा त भोक र चिन्ताले मर्न बेर छैन् । पटक पटक भारतीय पुलिसको गाली खानुभन्दा आफ्नै देशको क्वारेन्टाइनमा पुगेर बस्नु उचित ठानेर ज्यान जोखिममा राखेर माहाकाली तरेर आएका हौँ ।’
माहाकाली नदी तरेर नेपाल फर्किनेमा मार्मा गाउँपालिका – ५ का जगदीश बोहरा, प्रकाश बोहरा, उमेश बोहरा, राजेन्द्र महता, जनक महता, रमेश महता र राजेन्द्र महता रहेका छन् । उनीहरूलाई भारत सरकारले ६ दिनदेखि पिथौडागडस्थित जिआईसी जौलजीविको क्वारेन्टाइनमा राखेको थियो ।
यस्तै मार्मा गाउँपालिका – ५ का विजय महता, महाकाली नगरपालिका – २ का रूपसिह सितोली र सन्तोष सितोली उकुको सलेतीमा ट्युब तरेर चैत २२ गते नेपाल भित्रिएका छन् ।
लकडाउनको समयमा ठेकेदारले गाउँमै खाना दिएर बसालेको थियो तर गाउँलेले आफूहरूलाई भगाएपछि बाध्य भएर गाउँ फर्किनु परेको विजय महताले बताउनु भयो ।
नेपाल भित्रिएका १० जनालाई सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई सम्बन्धित ठाउँमा पठाउने विषयमा स्थानीय तहसँग सम्पर्क गरेर पठाइने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भयो ।
नेपाल भारत लकडाउन भएपछि दुई देशबीच भएको सहमति अनुसार भारत उत्तराखण्डकोे पिथौरागढ प्रशासनले १ हजार ६ नेपालीलाई पाँच सेल्टरमा राखेको छ । धार्चुलामा रहेको मिनी स्टेडियममा ३ सय २५ जना, बालुवाकोट महाविद्यालयमा ३ सय ७१ जना, जौलजिबीमा २ सय २५ जना, निगलपानीमा ३२ जना र बरममा ५३ जना नेपालीलाई राखिएको छ ।
अन्तरपालिका र जिल्ला आवागमनमा रोक
सरकारले लकडाउनमा कडाई गर्दै लैजाने गरेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय, दार्चुलाले चैत २३ गते चार बुदे निर्देशन जारी गर्दै जिल्लामा अन्तरपालिका र जिल्ला आवागमनमा पूर्ण रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम अधिकार प्रयोग गर्दै जिल्लामा अन्तरपालिका र आवागमनमा पूर्ण रोक लगाएको हो ।
कोभिड १९ को सङ्क्रमणा रोकथाम तथा नियन्त्रणमा पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा हुन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै लकडाउनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देशन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाले लकडाउन अवधिभर अन्तरपालिका तथा जिल्लामा हुने आवागमनलाई बन्द गरिएको छ । यस्तै जिल्लामा यसअघि अत्यावश्यक सामाग्रीको आपूर्तिको लागि बिहान ७ बजेदेखि बिहान १० बजेसम्म पसलहरू खुला गरिएकोमा सो अवधिमा भीडभाड बढि हुने गरेको भन्दै समयावधि घटाइएको छ । जसनुसार अब अत्यावश्यक वस्तु, दुध, पानी, तरकारी, खाद्य, ग्याँस र औषधी पसल मात्र बिहान ७ः३० देखि ९ बजेसम्म डेढ घण्टा खुला रहने जनाइएको छ ।
यसअघि अत्यावश्यक सेवाको लागि जिल्ला प्रशासन कार्यालयबाट जारि गरिएका सबै प्रकारका गाडीका पासहरू बन्द गरिएको छ ।
अवैध सीमा वारपार, अनावश्यक हिड्डुल, जमघट, खेलकुद, मर्निङ वाक, र खुला चौरमा जम्मा हुने तथा केटाकेटीहरूलाई बाहिर खुला छोड्ने कामलाई पूर्णतय रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ ।
महाकाली नगरपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सदरमुकाम खलंगा क्षेत्रका बजार क्षेत्रको अनुगमन भएको छ । खाद्य वस्तु र दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि गरेको भन्ने गुनासो आएपछि बजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो ।
सीमा क्षेत्रमा थप कडाइ, सशस्त्र प्रहरी परिचालन
भारतमा रोजगारीका लागि गएका नेपालीहरू महाकाली नदी भएर धमाधम आउन थालेपछि स्थानीय प्रशासनले भारतबाट आउने नाकाहरूमा थप कडाई गर्दै लगेको छ ।
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा कोराना भाइरस सङ्क्रमित भेटिएपछि महाकाली नदीमा पौडिएर आउने, तुइनमार्फत आउने र ट्युबमार्फत नेपाल भित्रिने नेपालीलाई रोक्न दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरी परिचालन हुने भएको हो ।
दार्चुलाको उत्तरी क्षेत्रको व्यास गाउँपालिका वडा नम्बर २ को दुम्लीङ, वडा नम्बर ५ को धौलाकोट, लेकम गाउँपालिकाको वडा नम्बर ३ लाली र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जौलजीविमा सशस्त्र प्रहरी खटिने भएका हुन् ।
कोरोना नियन्त्रण जिल्ला स्तरीय सुरक्षा समितिको बैठकले चार ठाउँमा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
जिल्लाको चार मुख्य नाकामा १० / १० जनाको दरले सशस्त्र प्रहरी खटाउने निर्णय गरिएको प्रजिज पौडेलले बताउनु भयो ।
गृह मन्त्रालयको अनुमति लिएर सीमा क्षेत्रमा सशस्त्र प्रहरी थप गर्न जनशक्ति माग गरिएको प्रमुख जिल्ल अधिकारी पौडेलले बताउनु भयो । कैलालीको वनभेडा तालिम केन्द्रबाट ४० जना सुरक्षाकर्मी दार्चुलाको लागि माग गरिएको र उनीहरू चैत २३ गते बेलुकी खलंगा पुग्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । तर, सीमामा रहेका नेपालीहरूले भने विपद्को समयमा आफूहरूले स्वदेश फर्कन पाउनु पर्ने माग गर्दै आएका छन् । आफूहरू क्वारेन्टाइनमा बस्न तयार भएको तर सरकारले आफूहरूका विषयमा चासो नलिएको उनीहरूको आरोप छ । भारतीय भूमीमा आफूहरूलाई निकै समस्या भएको सीमामा रहेका नेपालीहरूले बताएका छन् ।
इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार उच्च ज्वरो आएपछि एक जना २० वर्षीय युवकलाई चैत २३ गते जिल्ला अस्पताल,बाजुराको आइसोलेसन बेडमा भर्ना गरेर उपचार शुरु गरिएको छ । कोरोना भाइरसको समान्य लक्षण देखिएपछि उनलाई आइसोलेसनमा राखिएको जिल्ला अस्पतालका सूचना अधिकारी चुणमणी पन्तले बताउनु भयो ।
होम क्वारेन्टाइनमा बस्दै आएका युवकलाई उच्च ज्वरो र सख्खा खोकी लागेपछि उनलाई आइसोलेसन कक्षमा भर्ना गरी उपचार भइरहेको जिल्ला अस्पतालका डाक्टर रुपचन्द्र बिश्वकर्माले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो –‘भोली रगत परीक्षण गर्ने तयारीमा छौँ । रतगको रिर्पोट आएपछि उनको स्वाब नमुनाका बारेका निर्णय गर्ने छौँ ।’
युवकको स्वास्थ्य अवस्था समान्य रहेको डाक्टर बिश्वकर्माले भनाइ छ ।