INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरस सम्बन्धमा प्रदेश २ को अवस्था विश्लेषण

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि प्रदेश २ का जिल्लाहरूमा आईसोलेसन बेडहरू थप्ने क्रम जारी रहेको जिल्ला प्रतिनिधिहरूबाट जानकारी प्राप्त भएको छ । सङ्का लागेकाहरूको परिक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने क्रम पनि बढ्दो छ । भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरूमाथी प्रशासनले निगरानी बढाएको छ । अक्षय कोष स्थापना गरि सङ्का लागेकाहरूको तिब्र गतिमा परिक्षण तथा क्वारेन्टाइनमा राखिने क्रम बढ्दो रहेको जिल्ला प्रतिनिधिहरूबाट जानकारी प्राप्त भएको छ ।

महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरूमाथी प्रशासनले निगरानी गर्दै आएको छ ।

विश्व नै कोरोनाको महामारीले आक्रान्त रहेको बेला यसै साता धादिङ्गको ईट्टाभट्टामा काम गर्ने महोत्तरीका करिव ३ सय ५० श्रमिक बाहेक भारत तथा अन्य तेस्रो मुलुकबाट आएका ५ सय ८० जनामाथी महोत्तरी प्रशासनले निगरानी राखेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट प्राप्त तथ्याङ्क अनुसार भारत, कतार, मलेसिया, साउदी, दुवई लगायतका अन्य मुलुकबाट आएको सबै नेपालीमाथि प्रशासनले निगरानी राखेको हो ।

अन्य मुलुकबाट रोगसँगै लिएर आउने सम्भावनाका बिच सबै बाहिरबाट आउने नागरिकलाई विशेष निगरानीमा राखिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले  बताउनु भएको छ । उहाँले क्वारेन्टाईनहरु समेत जिल्लाका विभिन्न स्थानहरूमा निर्माण भइरहेको बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय तथा विभिन्न पालिकाहरुबाट प्राप्त तथ्याङ्क अनुसार महोत्तरीको मटिहानी नगरपालिकामा ४६, एकडारा गाउँपालिकामा ५०, रामगोपालपुर नगरपालिकामा सात, औरही नगरपालिकामा ११, महोत्तरी गाउँपालिकामा १८, सोनमा गाउँपालिकामा ३९, लोहारपट्टी नगरपालिकामा २७, गौशाला नगरपालिकामा ५९, पिपरा गाउँपालिकामा ३५, बर्दिवास नगरपालिकामा ५२, मनरा सिस्वा नगरपालिकामा १३१, भंगहा नगरपालिकामा ७३ र बलवा नगरपालिकामा १५ जना विदेशबाट आएकाहरू राखिएका छन् ।

यी बाहेक गत चैत ४ गते र ६ गते कतार एयरवेजका ११ जना, एयर अरेवियाको चार जना र दिल्लीबाट आएको एयर इमिरेटका तीन जना समेत माथी प्रशासनको नजर छ । अधिकांश ती सबैले १४ दिने क्वारेन्टाईनको समय पार गरिसकेको र कोरोना भएको लक्षण नदेखिएको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।

Table20200405Mahottari1

मा.वि.बनौटा क्वारेन्टाइनमा राखिएका भारतबाट आएका नेपालीहरु र उनको परिवारले किन राखेको भनेर दुःख दिने गरेको वडाअध्यक्षको गुनासो छ । यद्यपी १४ दिने क्वारेन्टाईन पुरा गराउने प्रयत्नमा आफुहरु रहेको बलवा नगरपालिका वडा नं. ७ बनौटाका वडाअध्यक्ष विजय महतोले बताउनुभयो ।

जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र, लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव, रामगोपालपुर नगरपालिकाका मेयर अशोक मण्डल, पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरी, सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव तथा औरही नगरपालिकाका मेयर सुनिल यादव लगायतकाले आफ्नै पीडा पोख्नु भयो । उहाँहरु सुपथ मुल्य भन्दा निक्कै महङ्गो सामग्रीहरु बजारमा रहेको र सो लिन जाँदा समेत आवश्यकक्ता अनुसार नपाएको बताउनुभयो । निर्धारित मुल्यमा सामान नपाउने, बढीमा लिए भ्रष्टाचारी ठहरिने र नलिए जनताले अयोग्य भन्न थाल्ने लगायतका विभिन्न समस्याका बिच कोरोना विरुद्धको आफुहरुको अभियान जारी रहेको बताउनु भयो ।

विभिन्न पालिकाहरुले केन्द्रबाटै भएको निर्देशन बमोजिम राहत वितरणको लागि विपन्नहरुको सुची तयार गर्ने कार्य समेत भईरहेको बताउनु भयो ।

महोत्तरी जिल्लाको क्वारेन्टाईनको तथ्यांक :

Table20200405Mahottari2

यता जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तालिम हलमा २० वेडको र रणभिम गणमै ६ वेडको आईसोलेशन वार्ड समेत बनाइएको छ ।

महोत्तरी कोरोनाको उच्च जोखिममा रहेको वेला स्थानिय निकाय, प्रदेश सरकार र केन्द्र सरकारको आपसी समन्वय आवश्यक छ । यसबाट जोगिन लकडाउनमा आर्थिक अभाव भएर दुई छाक खान नपाएको जनता समेतलाई राहतको व्यवस्था गरि सबैको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी उहाँहरूकै काँधमा छ ।

बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार सिम्रोनगढ नगरपालिकाको सभाहलमा चैत २२ गते नगर प्रमुख बिजय शंकर यादवको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले नगरपालिकाका सबै वडामा नेपाल सरकारले तोकेको मापदण्ड र निर्देशन अनुसार राहत वितरण गर्ने निर्णय गरेको नगर प्रमुखले बताउनुभयो ।

बैठकले सबै वडाका राहत पाउने घर परिवारको तथ्याङ्क चैत २४ गते सङ्कल्न गर्ने बताउनुभयो । नगर प्रमुख बिजय शंकर यादवको अध्यक्षतामा पाँच सदस्यीय बिपद ब्यवस्थापन समिति गठन गरी सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद जयसवाल, नगर उप प्रमुख रिमा देवी कुशवाहा, कार्यपालिका सदस्य ओमप्रकाश ठाकुर, लेखा अधिकृत सोमेन्द्र चौधरी रहेको नगर प्रमुखले बताउनुभयो ।

पचरौता नगरपालिका–५ मा वडा अध्यक्ष लक्ष्मीप्रसाद यादवको संयोजकत्वमा राहत वितरण तथा व्यवस्थापन समिति गठन गरी सदस्यमा नेपाली कङ्गेसका रामजन्म शर्मा, ने.क.पा.का बिरेन्द्र महतो, सङ्घीय समाजवादीका सदस्य जितेन्द्र महतो तथा रा.ज.पा.का सदस्य धर्मेन्द्र प्रसाद जयसवाल, समितिको सदस्य सचिवमा वडा सचिव जितेन्द्र पण्डित रहेको लक्ष्मी प्रसाद यादवले बताउनुभयो ।

कलैया उपमहानगरपालिका–८ कार्यालयले चैत २२ गते लक डाउन बाट प्रभावित चार सय घर धुरीलाइ चामल, दाल, तरकारी, तेल, नुन, झुल राहत सामग्री बितरण गरेको वडा अध्यक्ष बिक्रम यादवले बताउनुभयो ।

गिरफ्तार गरी क्वारेन्टाईनमा

चैत २२ गते बिहान नौ बजे नौ जनालाई दश गजा नजिक फेटा गाउँपालिका–५ जोतपुर गमरिया टोलबाट ईलाका प्रहरी कार्यालय प्रसौनीले गिरफ्तार गरेको डिएपी गौतम मिश्रले बताउनुभयो ।

उहाँले गिरफेतार भएका नौ जना मुस्लिम समुदायका (जमाती) हरु सप्तरीको महादेवा गाउँपालिका–४ निवासी ५५ वर्षीय महम्मद जिवरेल, सोही ठाउँका २९ वर्षीय रोजिद शेष, सोही जिल्लाको कञ्जनपुर नगरपालिका–९ निवासी ६४ वर्षीय सफिद मियाँ, सोही ठाउका ५२ वर्षीय तजबुल मियाँ, ६४ वर्षीय मोहम्मद सफिज रहमान, ४८ वर्षीय मोहम्मद वकिल मियाँ, १८ वर्षीय मोहम्मद खुर्सेद, ४८ वर्षीय मोहम्मद जाकिर र ६३ वर्षीया मोहम्मद इसराइज मियाँ रहेको मिश्रले बताउनुभयो । उहाँले चेकजाँचको लागि क्वारेन्टाईनमा पठाएको बताउनुभयो ।

उनीहरु भारत बिहारको सितामढी र पुर्वी चम्पारण जिल्लामा रहेका विभिन्न मस्जिदमा चार दिन बस्दै नेपाल प्रवेश गरेका हुन् ।

प्रशासनको ध्यानाकर्षण

लक डाउन बाट प्रभावित भएकाहरुलाई स्थिानीय तहहरुमा विभिन्न व्यक्ति संघ–संस्थाहरुले राहत वितरण गर्दै आइरहेको भन्ने जनगुनासो आएकोले जिल्ला प्रशासन कार्यालयका सिडिया रुद्र प्रसाद पण्डितले चैत २२ गते सुचना जारी गरी नेपाल सरकारको निर्देशन अनुसार अति आवश्यक सेवा बाहेक अन्य व्यापार, कलकारखाना, संघ–संस्था, यातायात लगायतका क्षेत्रहरुमा हाल निषेधाज्ञा जारी गरेको बताउनु भएको छ ।

उहाँले दैनिक रोजीरोटी गर्ने र अति विपन्न वर्गका व्यक्तिहरुलाई लामो लकडाउनले गर्दा खानपिनमा समस्या भएको बताउनु भयो । उहाँले नेपाल सरकार, प्रदेश सरकारबाट विपद्धको समयमा खानपिनको समस्या भएका व्यक्तिहरुको व्यवस्थापनको लागि राहत वितरण गर्ने मापदण्ड निर्देशिका २०७२ जारी भैसकेकोले कुनै पनि व्यक्ति, संघ–संस्था तथा समुहले राहत तथा चन्दा सङ्कलन नगर्नु नगराउनु हुन सुचना मार्फत अनुरोध गर्नु भएको छ ।

उहाँले कुनै इच्छुक व्यक्ति, संस्था वा समुहले सहयोग गर्न चाहेमा स्थानीय तहको विपद् व्यवस्थापन समितिमा जम्मा गर्नका लागि अनुरोध गनुभएको छ ।

उहाँले स्थानीय तहले सोको जानकारी जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराई सङ्घीय तथा प्रदेश सरकारको राहत वितरण मापदण्ड निर्देशिका २०७६ अनुसार कुनैपनि व्यक्तिहरुलाई दोहोरो नपर्ने गरि समानुपातिक न्यायका हिसाबले अति आवश्यक व्यक्तिहरुलाई मात्र राहत वितरण गर्ने व्यवस्था गर्नु गराउनु हुन आग्रह गर्नु भएको छ ।

क्वारेन्टाईनमा बस्नेको संख्या ४१

बैदेशिक रोजगारी बाट फर्किएका वा अति आवश्यक कामले देश बाहिर रहेका युवा वा नागरिकहरुलाई क्वारेन्टाइनमा राखेर स्वास्थय परिक्षण गर्ने अभियान सञ्चालन भएको जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोर सिंहले बताउनुभयो ।

कोरोना भाईरसका सङ्क्रमितहरुका लागि स्थापना गरिएका क्वारेन्टाईनमा कोरोना भाईरसको सङ्क्रमण देखिए आइसोललेसनमा राख्ने र उपचार गर्ने व्यवस्था रहेको कलैया अस्पतालका डा. प्रेमशंकर चौरसियाले बताउनुभयो ।

चैत २२ गते जितपुरसिमरामा ११ जना,कलैया अस्पतालमा नौ जना, महागढिमाई नगरपालिका बबुआइनमा १६ जना, पचरौता नगरपालिकामा दुई जना र सुवर्ण गाँउपालिकामा एक जना गरी जम्मा ४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयका कर्मचारी शंकर प्रसाद गुप्ताले बताउनुभयो ।

पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार पर्साको ग्रामीण तहमा रहेका स्थानीय तहले समेत क्वारेन्टाइन बनाएर शङ्कास्पद व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्न थालेका छन् ।

कालिकामाई गाउँपालिकाले श्री ने.रा.प्रा.वि. हरिहरपुरमा बनाएको आठ बेडको क्वारेन्टाइनमा दुई जनालाई राखिएको प्रमुख प्रशासकिय अधिकृत राजु साहले वताउनु भयो । क्वारेन्टाइनमा राखिएका उहाँहरू केही दिन अघि भारतबाट आउनु भएको थियो ।

छिपहरमाई गाउँपालिकाले श्री मंगल माविमा निर्माण गरेको १५ वेडको क्वारेन्टाइनमा नौ जनालाई राखिएको छ । यस्तै पकहा मैनपुर गाउँपालिका गाउँपालिकाले बनाएको नौ बेडको क्वारेन्टाइनमा पाँच जना, पोखरिया नगरपालिकाको क्वारेन्टाइनमा सात जना, पर्सागढी नगरपालिकाले वडा नं ८ र ६ मा गरी दुई स्थानमा गरि तयार गरेको १० वेडको क्वारेन्टाइनमा तीन जना रहेका छन् ।

सखुवा प्रसौनी गाउँपालिकाले श्री दिपनारायण मावि औंराहा पांचगावामा २० बेडको क्वारेन्टाइन मध्ये नौ बेडको तयारी भइसकेको गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारले बताउनु भयो ।

रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार रौतहटमा क्वारेन्टाइनमा बस्नेको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको र क्वारेन्टाइनमा बस्ने अधिकाङ्श भारत लगायत तेस्रो मुलुकबाट आएकाहरू छन् ।

रौतहटमा रहेका विभिन्न स्थानिय निकायहरुले तयार गरेको क्वारेन्टाईनमा बस्नेको संख्या २ सय ८ पुगेको छ । जसमध्ये, महिला १२ जना र पुरुष १ सय ९६ रहेका छन् । १३ जना लाई घर फर्काई सकेको छ र तीन जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।

रौतहटमा आवश्यकता अनुसार स्थानिय निकायहरुले क्वारेन्टाईन पनि थप गर्दै जाँदा चैत २२ गते सम्म विभिन्न स्थानिय निकायमा क्वारेन्टाइन बेड ८ सय ३६ रहेका छन् । त्यसैगरी आइसुलेसन वार्ड २५ ओटा रहेका छन् ।

लकडाउनको समयमा एम्बुलेन्स, दुुध बोक्ने गाडि, तोकिएको खाद्यान्न बोक्ने गाडि, ग्यास तथा दैनिक उपयोग हुने वस्तु व्यवस्थित तथा मर्यादित भएर चलाउन जिल्ला प्रशासन लगायत स्थानिय निकायले नियम बनाएको भएपनि विभिन्न व्यापारीले अति आवश्यक काममा हिड्दा लकडाउनको गलत फाइदा उठाएको चन्द्रपुर नपा–१ का देव भण्डारीले बताउनु भएको छ । उहाँलाई काठमाडौंबाट बिरामी डिस्चार्ज भएर रौतहट सम्म आइपुग्दा २० हजार लिएको बताउनु भएको छ ।

नेपाल सरकारको नियमअनुसार स्थानिय निकाय र वडा समितिले गरीब तथा अति आवश्यक व्यक्ति परीवारको लागि नामावलि बनाएर राहत वितरण गरिरहेका छन् ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कतार एयर र जमातबाट फर्किएकाहरूको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को आशङ्कामा कतार एयर वेजको क्युआर ६५२ बाट नेपाल फर्किएका सप्तरीका एक जनासहित नौ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कतार एयरवेजबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका जितेन्द्र मण्डलसहित भारतको तब्लिगी जमातबाट फर्किएका आठ जनाको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जानकारी दिएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार चैत २० गते स्वाब परिक्षणका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।

सप्तरीबाट पहिलो पटक नौ जनाको स्वाब नमूना परिक्षणका लागि धरान पठाइएको थियो । मण्डल कतार एयरवेजबाट चैत ४ गते नेपाल फर्किएका थिए भने राजविराज नगरपालिकाका आठ जना चैत १८ गते भारत बिहारको विभिन्न मस्जिदमा भएको जमातबाट फर्किएका थिए ।

मण्डल तिलाठी कोइलाडीस्थित लबन माविस्थित क्वारेन्टाइनमा बसेका छन् भने आठ जना राजविराज नगरपालिका–४ स्थित इस्लाम मियाँको घरमा क्वारेन्टाइनमा बसेका छन् ।

वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत २१ गते गरिएको १२ जनाकै स्वाब नमुनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

सप्तरीबाट पठाइएको नौसहित ओखलढुंगाबाट पठाईको दुई र भोजपुरबाट पठाइएको एक जनाको स्वाब नेगेटिभ रहेको प्रतिष्ठानले जनाएको छ ।

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार विश्वभर देखिएको कोरोनाको महामारीको सङ्क्रमणलाई रोकथाम गर्न सिरहा जिल्लामा १७ ओटै स्थानीय तहको सहकार्यमा ४० बेडको आईसोलेसन अस्पताल र १७ ओटै स्थानीयतहको १९ स्थानमा गरी २ सय ४६ बेडको क्वारेनटाइन तयार पारेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले जानकारी दिनु भयो ।

भारत तथा विदेशबाट आएका ४ सय ६८ जनाको पहिचान भएको र उनीहरुलाई क्वारेनटाइन तथा सेल्फ क्वारेनटाइनमा राखेर निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो । क्वारेन्टाइनमा बस्ने बिरामीहरुको लागि खाने बस्ने सम्पुर्ण व्यवस्थाहरु स्थानीय तहलेनै गरेको र सुरक्षा तथा उपचारको लागि सुरक्षा निकाय एवम् स्वास्थ्य कार्यालयले सहयोग गरेको जानकारी प्रमुख जिल्ला अधिकारी गुरागाईले दिनु भयो ।

सिरहा अस्पतालमा सात बेड, लहान अस्पपतालमा पाँच बेड, महेन्द्र गेनाई अस्पतालमा १८ बेड, आरके मेडिसिटि अस्पतालमा पाँच बेड र फुलकुमारी अस्पतालमा पाँच बेड गरी ४० बेडको आसुलेसन बेडहरु तयार गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो ।

महेन्द्र गेनाइ अस्पताललाई हाल अस्थाइ रुपमा चैत २२ गते देखि सञ्चालन हुने गरी कोरोना भाइरस विशेष अस्पताल सञ्चालनमा ल्याएको बताउनु भयो । हाल सम्म आइसोलेसन वार्डमा कोइ पनि उपचारको लागि नरहेको प्रजिअले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार क्वारेनटाइनमा शङ्कास्पद बिरामीहरुरुलाई निगरानीमा राख्ने क्रम जारी रहेको बताउनु भयो । उहाँका अनुसार केही व्यक्तिहरु क्वारेन्टाइनमा बसेर गईसकेका छन् भने चैत २२ गते सम्म १० जना महिला १ सय १७ जना पुरुष गरी १ सय २७ जना बसीरहेको बताउनु भयो । त्यसैगरी होम क्वारेन्टाइनमा ७७ जना निगरानीमा रहेको डिएसपी घिमिरेले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले कोरोना परिक्षणको लागि हाल सम्म कसैको पनि नमूना सङ्कलन नगरिएको बताउनु भयो ।

प्रदेश सरकार र नेपाली सेनाले हाल सम्म १ सय ५० थान पीपीइ उपलब्ध गराए पनि सो आवश्यकता भन्दा कम भएको प्रमुख यादवले बताउनु भयो । प्रमुख यादवका अनुसार एक जनाको कोरोना परिक्षण गराउँदा रिजल्ट निगेटिब आएको बताउनु भयो ।

लहान नगर पालिकाले सहरलियत दरमा किसानसँग तरकारी किनेर उपभोक्ताहरुलाई खरिद मुल्यमा चैत २१ गते देखि बिक्री गर्न लागेको लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम ननद भुषालले जानकारी दिनु भयो । बजार लगाउँदा भिड हुने र बजार मुल्य पनि बढी हुने गरेकोले किसानसँग किनेको मुल्यमा नै घुम्ति पसल सञ्चालन गरेर तरकारी बिक्री गरेको भुषालले बताउनु भयो ।

विपन्न वर्गहरुका लागि १ करोडको राहत कोष स्थापना

कोरोना सङ्क्रमणको महामारी फैलिए सँगै चैत ११ गते देखि नेपालमा पनि लक डाउन शुरु भएको छ । लामो समय सम्म पनि बन्द हुँदा दैनिक रुपमा ज्याला मजदुरी गरेर खाने गरीब, दलित तथा विपन्न परिवारहरूको लागि लहान नगरपालिकाले १ करोडको राहत कोषको स्थापना चैत २२ गते गरेको लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम नन्द भुषालले बताउनु भयो ।

प्रमुख भुषालका अनुसार “सङ्क्रामक रोग रोकथाम, नियन्त्रण, उपचार तथा राहतकोष कार्यविधि २०७६” पारित भएको र सोही कार्यविधि अनुसार रकम खर्च गर्ने बताउनु भयो । उक्त कोषमा प्रदेश सरकारले दिएको १५ लाख उनीहरुकै कार्यविधि अनुसार खर्च गरिने र कोष बृद्धिको लागि स्थानीय संघ–संस्था, उधोगी तथा व्यापारीहरुलाई अपिल गरिएको अधिकृत भुषालले बताउनु भयो ।

लहान नगरपालिकाकी उपप्रमुख सरियारकुमारी चौधरीले लहान नगरपालिकाले १ करोडको राहत कोष खडा गरेको र २४ वडाकै दलित, गरीब तथा विपन्न परिवारहरुलाई पहिलो चरणमा २० केजि चामल, १ केजी दाल, आलु, तेल लगायतका खाद्यान्न सामग्री र १ हजार ५ सय रुपियाँका दरले वितरण गर्ने निर्णय भएको बताउनु भयो । सबै वडाहरुले गरीब, दलित परिवारहरुका लागत सङ्कलन गरी सकेकोले चैत २५ देखि वितरण गर्ने बताउनु भयो ।

अन्य

भिडियो