कारोना भाइरसको माहामारी र सङ्क्रमण रोकथामको लागि बागमती प्रदेश सरकार, जिल्ला र स्थानीय तहले आ-आफ्नो क्षेत्रमा सक्रिय भएर काम गरिरहेको पाइएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले चैत २१ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसा कोरोना सङ्क्रमणको आशङ्कामा चितवनमा २०, काठमाडौँ, ललितपुरमा र सिन्धुपाल्चोकमा तीन/तीन जना, भक्तपुर र मकवानपुरमा एक/एक जनालाई आइसोलेशनमा राखिएको छ । यस्तै काठमाडौँमा नौ जनालाई थप सङ्कास्पद मानी आइसियुमा राखिएको मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म २ सय ७५ जनालाई आइसोलेशनमा राखी स्वाब परीक्षण पश्चात निगरानीमा पठाएको जनाएको छ ।
प्रदेशका १३ जिल्लामा २ हजार ८३ वेडको क्वारेन्टाइन निर्माण गरिएको मन्त्रालयको तथ्याङ्क छ । प्रदेशभित्र ५ सय ४९ वेड आईसोलेशन, एकसय ७८ वेड आईसीयु र ६ सय ९२ थान पीपीईको प्रबन्ध भएको प्रवक्ता सुवेदीले बताउनुभयो । त्यस्तै, थप १ हजार १ सय ४६ क्वारेन्टाइन शैया, १ हजार २ सय २९ वटा आईसोलेशन शैया र २३ वटा आईसीयु शैय्या समेत तयारीको क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।
प्रदेश स्तरीय -यापिड रेस्पोन्स टिम तथा उच्चस्तरीय अनुगमन समिति निर्माण
इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार कोरोना संक्रमण नियन्त्रण तथा उपचारमा समन्वय गर्न प्रदेश स्तरीय -यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरिएको छ । २४ घण्टे सहायता कक्षको प्रबन्ध गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ । प्रदेशभित्र अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने व्यवस्था गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनु भयो । प्रदेशभित्र ११ हजार २ सय ९० मेट्रिकन चामल, ३२ हजार मेट्रिक टन नुन र खाना पकाउने ग्याँस ८४ हजार सिलिण्डर मौज्दात रहेको र विक्री वितरण सहज बनाइएको उहाँको दाबी छ ।
यसै गरी कोरोना सङ्क्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन ७१, एनेस्थ्योलोजिस्ट ३१, मेडिकल अफिसर दुईसय ५१, नर्सिङ सुपरभाईजर ३४, स्टाफ नर्स सातसय १३, हेल्पर/नर्स सहयोगी ४ सय ७५ र १ सय ५७ जना ल्याबोरेटरी प्रर्सनलाई तयारी अवस्थामा राखिएको छ ।
काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार जिल्लामा सात गाउँपालिका र ६ नगरपालिका गरी १३ वटा स्थानीय तहमा १३ आइसोलेशन कक्ष र २ सय ५६ वटा क्वारेन्टाइन कक्ष तयारी अवस्थामा रहेका छन् । विदेशबाट घर फर्किएका ३ सय ४९ जना सेल्फ आइसोलेशनमा रहेका छन् ।
धुलिखेल अस्पतालमा कोरोना भईरस परीक्षण चैत्र २३ गतेबाट सुरु हुने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भएको । डाक्टर झाका अनुसार धुलिखेल अस्पतालमा पहिलो चरणमा साताको दुई पटक परीक्षणको ब्यवस्था मिलाइएको हो । परीक्षणको लागि डाक्टरहरुलाई पिपिई र परीक्षण किटको व्यवस्था गरिएको छ । कोरना भाईरस परीक्षणका लागि धुलिखेल अस्पताललाई बागमती प्रदेश सरकारले २० लाख रुपैया अनुदान सहयोग गरेको छ ।
धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमान ताम्राकारले अस्पतालमा कोरोना परीक्षणका लागि सबै तयारी पुरा भएको बताउनु भयो । प्रवक्ता ताम्राकारका अनुसार प्रयाप्त परीक्षण किट र डाक्टरहरुका लागि पिपिई आइसकेपछि दैनिक रुपमै कोरोना परीक्षण गर्न सकिन्छ ।
तेमालका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री
तेमाल गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा अत्यावश्यकीय सामग्री उपलब्ध गराएको छ । पालिकाले स्वास्थ्यकर्मीका लागि अति आवश्यक व्यक्तिगत सुरक्षा लुगा (पिपिई) २० थान, ग्लोब्स ५ हजार, २ सय एमएलको सेनिटाइजर ५ सय र १ सय एमएलको १ हजार थान सबै स्वास्थ्य संस्थामा पु-याएकाे हो । पालिकाले नियमित बाहेक कोरोना भाइरसका कारण अभाव हुन सक्ने १५ प्रकार एन्टिबायोटिक औषधि समेत सबै स्वास्थ्य संस्थामा पुर्याइसकेको स्वास्थ्य संयोजक शिवहरी पाठकले जानकारी दिनुभयो । पालिकाभित्र सात ओटा स्वास्थ्य चौकी, तीन ओटा सामुदायिक स्वास्थ्य इकाइ र धुलिखेल अपस्तालको शाखाका सहित ११ ओटा स्वास्थ्य संस्था रहेका छन् । अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री पु-याउन पालिका अध्यक्ष सलाम सिं तामाङ आफै पुग्नुभएको थियो । स्वास्थ्य शाखा संयोजक पाठकका अनुसार नीजि मेडिकल ती ओटा रहेका छन् । गाउँपालिकामा ५७ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
यसैबीच काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ ले राहत वितरण गरेको छ । वडाले दैनिक ज्याला मजदुरी गर्ने र विपन्न घरपरिवारलाई राहत वितरण गरेको हो । १५ किलो चामल, १ किलो दाल, १ किलो चिनी, १ प्याकेट नुन, १ लिटर तेल, २ वटा साबुन बितरण गरिएको वडा अध्यक्ष शिवकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार २५० घर परिवारलाई राहत वितरण गरिएको छ ।
यसै गरी ललितपुर जिल्ला प्रतिनिधि दीपक प्रसाद घिमिरेका अनुसार जिल्लामा रहेका एम्बुलेन्सहरूको अवस्था सङ्कलन कार्य सुरु भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुर जिल्लाको तीन वटा गाउँपालिकामा एक/एक वटा एम्बुलेन्स रहेका छन् भने कोन्ज्योसोम र महाँकाल गाउँपालिकामा चिकित्सकीय सेवा छैन । बाग्मती गाउँपालिकाको भट्टेडाँडा हेल्थपोष्टमा एकजना चिकित्सक कार्यरत छन् । ललितपुरको पाटन अस्पताललाई कोभिड–१९ को हब हस्पिटलका रुपमा लिइएको छ । ललितपुरमा चैत २१ गतेसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका बिरामी भेटिएका छैनन् । जिल्लाभर ६१ ओटा एम्बुलेन्स रहेकोमा हालको अवस्था अद्यावधिक गर्न लागिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताउनु भयो ।
बिपन्न परिवारलाई राहत वितरणका लागि ललितपुर महानगरपालिका सहित तीन ओटा नगरपालिकाले तथ्याङ्क फाराम वितरण गरेका छन् । उनीहरूले हरेक वडामा चैत २३ गतेसम्ममा तथ्याङ्क लिइसक्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनु भयो ।
कोभिड–१९ का ३३ जना संकास्पद बिरामीको स्वास्थ्य परीक्षण गर्दा ३० जनाको नेगेटिभ नतिजा आएको छ भने ३ जनाको नतिजा आउन बाँकी रहेको छ । ललितपुरमा अहिलेसम्म ४० थान पिपिइ जनस्वास्थ्य कार्यालय मार्पmत उपलब्ध गराइएको छ । यसको आवश्यकता धेरै संख्यामा रहेको जनस्वास्थ्य प्रमुख डा.खगेश्वर गेलालले बताउनु भयो ।
सबै स्थानीय तहहरूले बिपन्न परिवारको लगत सङकलन गरिरहेका छन् । त्यसको अन्तिम जानकारी आउन केही दिन लाग्ने छ । गोदावरी नगरपालिकाले जुनसुकै बिरामी बोक्ने एम्बुलेन्सलाई प्रति बिरामी एक हजार रुपैयाँ दिने निर्णय गरेको छ भने बिरामीले पैसा तिर्नु नपर्ने नगरप्रमुख गजेन्द्र महर्जनले बताउनु भयो ।
चैत १९ गते राती सिराहाबाट ल्याएर महालक्ष्मी नगरपालिका–४, खरिबोट, इमाडोलस्थित मस्जिदमा छोडिएका १३ जना इन्डोनेसियन नागरिकहरूलाई सुरक्षित स्थानमा राखिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनु भयो । उनीहरू नेपाल आएको ७० दिन नाघि सकेको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको कोरोना सम्बन्धी कमाण्ड पोष्ट (जिल्ला सुरक्षा समिति) पहिलो पटक बनेको हुनाले बिपद् व्यवस्थापन समितिभन्दा फरक भएका कारण एकीकृत तथ्याङ्क सङ्कलन हुन नसक्नु र सूचनाको महत्व बुझ्ने सरकारी संयन्त्र नहुँदा काम गर्न समस्या सिर्जना भएको देखिन्छ । हरेक स्थानीय तहले दैनिक गतिविधिका एकीकृत सूचना दिने व्यवस्था गर्नु पर्ने खाँचो छ ।
यसैबीच इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकोरोना भाइरस (कोभिड–१९) को संक्रमण थप तीन जनामा देखिएको जानकारी दिएको छ । भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले चैत २२ गते जानकारी दिनुभएको हो । महिला यसअघि कैलालीमा सङ्क्रमण भेटिएका पुरूषको आफन्त हुन् । नेपालमा कोभिड–१९ को संक्रमितको संख्या नाै पुगेको छ । उनीहरूको केही दिनअघि स्वाब लिएको र परीक्षणका क्रममा सङ्क्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताउनुभयो । तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै काठमाडौँको टोखा नगरपालिकाले कोरोना नियन्त्रणका लागि दुइ करोड ५० लाखको राहत कोष स्थापना गरेको छ । टोखाको २१ गते बसेको ५२ औँ कार्यपालिकाको बैठकले विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरसबाट हुनसक्ने सम्भावित सङ्क्रमण रोक्न कोष स्थापना गरेको नगरपालिकाका मेयर प्रकाश अधिकारी जानकारी दिनुभयो ।
त्यसैगरि टोखा नगरपालिकाले टोखाले राहत वितरणका लागि वडालाई एक/एक लाख नगद विनियोजन गरेको र २१ गतेको बैठकले वडा नं. १ मा चार लाख रूपियाँ र अरु १० वडामा पेश्कीस्वरुप सात/सात लाख रूपियाँ रकम विनियोजन गरेको मेयर अधिकारीले जानकारी दिनुभयो ।
टोखा नगरपालिकाले बनाएको राहत मापदण्डअनुसार तीन जनाभन्दा धेरै व्यक्ति भएको परिवारलाई ३० किलोग्राम चामल, तीन किलोग्राम दाल, दुई प्याकेट नुन, दुई लिटर खानेतेल, चार पुरिया साबुन र दुई किलोग्राम चिनी रहेको छ । दुई जनासम्मको परिवारले तीन जनाभन्दा धेरै व्यक्ति भएको परिवारभन्दा आधा खाद्यान्न पाउनेछन् । टोखा नगरपालिकाले रकमको आधारमा तीन जनाभन्दा बढी परिवारलाई २ हजार ५ सय रूपियाँ बराबरको खाद्यान्न र त्यसभन्दा कम व्यक्ति भएको परिवारलाई रु. १ हजार २ सय ५० बराबरको खाद्यान्न वितरण गर्नेछ ।
कोरोना भाइरस (कोभिड –१९)को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा र महाबौद्ध उपशाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान संचालन गरेका छन् ।
कोरोना भाइरस (कोभिड –१९ ) सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेपछि पनि सरसफाइकर्मीले काठमाडाँ महानगरको सफाइलाई जारी राखेका छन् । अहिले उनीहरूलाई थप व्यक्तिगत सुरक्षाको पोशाक अभाव रहेको छ ।
काठमाडौँ उपत्यकाको सफाइ, सार्वजानिक शौचालय सुधार र स्वच्छता कायम गर्न क्रियाशील गैरसकारी सस्था ‘गुथि’ ले वाटर एड नेपालको आर्थिक एवम् प्राविधिक सहयोग तथा फोरमैला व्यवस्थापन सङघको सहकार्यमा काठमाडौँ महानगरपालिका र कीर्तिपुर नगरपालिका कार्यरत ५०० सफाइकर्मीलाई व्यक्तिगत सुरक्षालाई ख्याल गरी आवश्यक सुरक्षा सामग्री वितरण गरेको छ । ती सामग्रीमा ग्लोभ, मास्क र सुरक्षा पोशाक (पिपीइ) रहेका गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।
त्यस्तै कोरोनाका संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरूका लागि काठमाडौँ महानगरपालिकाले राहत वितरण गरेको छ । काठमाडौँ महानगरपालिकाका वडा नम्बर १३ मा चैत २२ गते दैनिक ज्यालादारीमा काम गर्ने तीन सय १७ मजदुरका परिवारलाई राहत वितरण गरिएको छ । राहतमा प्रत्येक परिवारलाई ५ केजी चामल, १ केजी दाल, १ लिटर खाने तेल, २ केजी चिउरा, १ केजी नुन र चार वटा माक्स वितरण गरिएको हो ।
यता नागार्जुन नगरपालिकामा १०० मजदुर भोकै हुने अवस्था आएकाले उनीहरूलाई खाद्यान्न वितरण गरिएको वडा नं १ वडाध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।
खाद्यान्नमा १५ केजी चामाल, २ केजी दाल, दुई डल्ला साबुन, दुई केजी आलु, एक पाकेट नुन र एक किलो चिउरा वितरण गरिएको लामाले बताए ।
यता कालीमाटी तरकारी र फलफूलको थोक तथा खुद्रा बजार मध्ये खुद्रा पनि हटाएको छ । २२ गतेदेखि कालीमाटी बजार विकास समितिले लकडाउनको अवधिभर खुद्रा पसल हटाउने निर्णय गरेको हो । खुद्रा बजारमा मानिसहरूको भीड जम्मा भएको र त्यसले लकडाउनको उल्लंघन भएको भन्दै समितिले खुद्रा पसल बन्द गराउने निर्णय गरेको छ । तरकारी किन्न आएको भन्दै बिहान र साँझ सर्वसाधरणको भीड जम्मा हुन थालेपछि त्यसले जोखिम निम्त्याएको भन्दै २१ गते जनप्रतिनिधि, प्रहरी, सेना र बजार विकास समितिका पदाधिकारीहरूबीच भएको छलफलपछि मात्रै २२ गते शनिवारबाट खुद्रा तरकारी पसल हटाएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रुगम कुँवरले जानकारी दिनुभयो ।
धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार त्रिपुरासुन्दरी गाँउपालिका र ज्वालामुखी गाउँपालिकाले महामारीको रुप लिएको कोरोना भाईरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कार्य योजना तयार गरेको छ ।
सरकारले गरेको लकडाउन पछि गाँउपालिकाले खाद्यान्न सङ्कट भएकाहरूको तथ्याङ्क संकलन गर्ने, परिवार सङ्ख्याको आधारमा एकद्धार प्रणाली मार्फत राहत उपलब्ध गराउने, खाद्यान्न औषधि लगायत अत्यावश्यकीय बस्तुहरूको अभाव हुन नदिन गाउँपालिका अध्यक्षको संयोजनमा बजारको अनुगमन गर्ने निर्णय गरेको छ । त्यस्तै भारतलगायत अन्य मुलुकबाट गाँउपालिका आएकाहरूलाई क्वारेनटाईनमा राख्ने र निगरानी राख्ने निर्णय भएको गाँउपालिका अध्यक्ष शम्भु कुमार थापाले बताउनु भयो । त्रिपुरासुन्दरीमा ७० बेडको क्वरेनटाइनर पाँच बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ ।
ज्वालामुखी गाउँपालिकाले पालिका अन्तर्गतका सम्पूर्ण मानविय बस्तीहरूमा भाईरसको सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न बिषादी छर्कनेलगायतका जनचेतना मुलक कार्यक्रम गर्दै आएको गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सेनाले बताउनु भएको छ । ज्वालामुखी गाँउपालिकाले हालसम्म ७० जना क्षमताको क्वारेनटाईन निर्माण भएको बताईएको छ ।
धादिङबेसी सदरमुकाममा भने २० आइसोलेशन बेड थप गरेकोछ । यसपछि ३९ बेडको सङ्ख्या पुगेको छ । हालसम्म जिल्लामा ५ सय ७५ बेडको क्वारेनटाइन भएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभयो ।
ज्वालामूखी र त्रिपुरासुन्दरीले विदेशबाट आएकाहरूको नियमित फलोअप गर्ने, उनीहरू होम क्वारेनटाइनमा बस्न भनिएको, र कुनै पनि स्वास्थ्य समस्या आएमा तत्काल उपचारको व्यवस्था मिलाउने गरी योजना बनाएको इन्सेक प्रतिनिधि समेतको सहभागितामा गाउँमा गरिएको अनुगमनमा भेटिएको छ । नागरिकहरूलाई सकारात्मक सन्देश दिने र औषधि छारेर मनोसामाजिक रुपमा आत्मबल बलियो बनाउने किसिमका काम गरिरहेको गाउँपालिकाहरूको भनाइ छ ।
यसै गरी सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार पेट्रोलपम्पले कालो बजारी गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–७ मेलचौरमा रहेको पेट्रोलपम्पका मालिकलाई चैत २१ गते बेलुकी प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । जिल्लाको केही बजारहरूमा लकडाउन उल्लङ्घन गरेर केही नागरिकहरू सडकमा आउने गरेकोले अवको सुरक्षा रणनिति फरक ढङ्गले अगाडि बढ्नुपर्ने जिल्ला प्रहरी कार्यायका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो ।
जिल्लामा ३४ जनालाई क्वाराइन्टाइनमा राखिएको छ भने तीन जनालाई आइसोलेशनमा राखिएको छ । चौतारासागाचोकगढी नपा–७ मेलचौरमा पाँच जना सुनकोशी गाउँपालिका–५ स्थित पाङ्ग्रेटारमा २४ जना र बलेफी गाउपालिका–१ जलबीरेमा पाँच जना गरी जम्मा ३४ जना क्वाराइन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाइले बताउनु भयो । उहाँको भनाइ अनुासर त्याहाँ रहेकोहरूलाई सम्बन्धित नगर र गाउँपालिकाले स्वास्थ्य लगायत सम्पुर्ण ब्यवस्थापन गरेका छन् । बाह्रविसेको प्राथमिक स्वास्थ्य केन्द्रमा तीन जना आइसोलेशनमा राखिएको छ ।
काठमाण्डौमा मजुदुरी गरी बस्ने बाह्रविसे नपा–९ राम्चेका २४ जना ०७६ चैत २१ गते बेलुका बस रिजर्भ गरेर घर जान लागेको अवस्थामा खाडिचौरमा पुग्दा शङ्का लागेर जिल्ला समन्वय समितिको अनुमतिले ती २४ जनालाई सुनकोशी गाउपालिका–५ स्थित पाङ्ग्रेटारमा रहेको क्वाराइन्टाइन केन्द्रमा राखिएको छ । उनिहरूको खानपिन, स्वास्थ्य जाँच सबै बाह्रविसे नगरपालिकाले गरिरहेको बाह्रविसे नपाका मेयर निमफुञ्जु शेर्पाले बताए ।
चितवन जिल्ला प्रतिनिधिका दिपेन्द्र अधिकारीका अनुसार सामान्य प्रकृतिका अपराधमा पक्राउ पुर्जी लिन अदालत पुगेका प्रहरीलाई अदालतले पक्राउ पुर्जी दिन आवश्यक ठानेको छैन । कोरोना भाइरसको सङ्क्मणाकाे विषम परिस्थितिका कारण अहिलेको समयमा सामान्य प्रकृतिको अपराधमा प्रहरीलाई पक्राउ अनुमति नदिएको अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताउनु भयो । बलात्कार, हत्या, डाँकाजस्ता गम्भीर अपराधका हकमा पक्राउ पुर्जीका लागि अनुमति दिने गरिएको भन्दै श्रेष्तदार गिरीले सामान्य प्रकृतिको अपराधमा प्रहरीले आरोपीतकोे अभिभावक र आफन्तलाई जिम्मा लगाएर पछि पुन अनुसन्धान गर्न सकिने बताउनु भायो ।
सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेका अनुसार काठमाडौँबाट विपी राजमार्ग हुँदै सिन्धुली, रामेछाप तथा पूर्वी पहाड तथा तराईका जिल्ला तर्फ जाने यात्रुलाई सुनकोशी गाउँपालिकाले सहयोग गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको नेतृत्वमा यात्रुहरूलाई खाना पानी तथा गाडीको व्यवस्था गरि गन्तव्य तर्फ पठाउनेसम्मका काम भईरहेको छ ।
गाउँपालिकासँगै नेपालथोक प्रहरी, सुनकोशी युवा क्लबका अध्यक्ष विनोद श्रेष्ठ तथा स्थानीय व्यवसायीहरूको सहयोगमा उनीहरूलाई उद्धारको काम गरिरहेको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनु भयो ।
पैदल यात्रीका लागि शनिबार १७ कार्टुन पानी, १९ चाउचाउ कार्टुन र २ कार्टुन बिस्कुट बितरण गरिएको छ । गाउँपालिकाले बर्दिबाससम्मको निःशुल्क गाडी व्यवस्था गरि पठाएको गाउँपालिकाले जनाएको छ । यसैबीच कमलामाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एक सामुदायिक वन उपभोक्ता समूहले २० हजार रकम सहयोग गरेको छ । दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले नगरपालिका प्रमुख खड्गबहादुर खत्रीलाई २० हजारको चेक हस्तान्तरण गरेका हुन ।
यसै गरी रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्लामा भने कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म देखिएको छैन । फ्रान्सबाट फर्केका आएका दुई जनामा कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरू काठमाडौँमा आफ्नै घरमा क्वारेन्टाईनमा छन् ।
केही उपभोक्ताहरूले बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य बढेको भन्ने सूचना इन्सेकले दिएपछि कालिका गाउँपालिकाले इन्सेक प्रतिनिधि सहित बजार अनुगमन थालेको छ । ०७६ चैत २१ गते गाउँपालिका उपाध्यक्ष भवानी न्यौपाने, इन्सेकका जिल्ला प्रतिनिधि प्रहरीलगायतका प्रतिनिधि सहभागितामा कालिकास्थान, घुम्ती, जिवजिवे, गोम्बोडाडाँ, धारापानीलगायतका बजारमा माइकिङ गरेर प्रचार तथा केही पसल अनुगमन गरी केही खुल्ला गरेको पसलमा व्यापारीसँग भेटेर मूल्य सूचि सबैले देख्ने ठाउँमा राख्न, मिति सकिएको सामग्री बिक्री नगर्न, मूल्य बृद्धि गरेर बेचबिखन गरे नियमानुसार कानुनी कारबाही गर्नेबारे सचेत गराइएको थियो । आगामी दिनमा पसल खुल्ने समयमा नियमित अनुगमन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत बाचस्पत्ती सुनारले बताउनुभयो ।
भारत तथा तेस्रो मुलुकबाट जिल्ला फर्कनेको सङ्ख्या स्थानीय तहका वडाबाट अद्यावधिक गर्न पत्राचार गरे अनुसार जिल्लाभर १६ जनाको मात्र जानकारी आएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । भारत र तेस्रो मुलुकबाट आउने नौकुण्ड गाउँपालिकामा तीन जना भेटिए । यहाँ १५ वेडको आइसोलेशन छ । गोसाँइकुण्ड गाउँपालिकाबाट वडा नं ६ मा एक जना दुवईबाट र वडा नं ५ का फ्रान्सबाट आएका दुई जना काठमाडौँ बसेका छन् । यहाँ आइसोलेशन बेड ३० वटा छन् । क्वारेनटाइन ९५ बेड रहेको छ । आमाछोदिङमो गाउँपालिकामा १५ बेड क्वारेन्टाईन छ । यहाँ तीन जना भारतबाट आएका छन् । उत्तरगया गाउँपालिकामा बिदेशबाट आएका चार जना छन् । यहाँ क्वारेन्टाइ ३६ जना छन् । नौकुण्ड गाउँपालिकामा बिदेशबाट तीन जना छन् भने क्वारेन्टाइ १५ बेडको रहेको छ । कालिका गाउँपालिकामा ५० बेडको क्वारेन्टाईन र जिवजिवे ग्रामीण अस्पतालमा १५ बेडको आइसोलेशन रहेको छ ।
दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्लामा चैत १८ गते देखिको निषेधाज्ञा कायम छ । बिहान ६ बजे भित्र र बेलुकी ६ बजे पछि एक घण्टाका दरले दैनिक उपभोग्य सामान खरिद गर्न मूख्य बजार क्षेत्रका लागि समय खुल्ला गरिएको छ । तोकिएको सयम बाहेक समयमा बजार निस्केमा साबुन पानीले हात धुने र एक घण्टा कोरोना संक्रमण बारे जानकारी लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
तामाकोशी गांउपालिकाले चैत २१ गते पालिका भित्रका पाँच वडा स्वास्थ्य चौकीलाई दुइ/दुइ सेटका दरले र दुइ स्वास्थ्य इकाईलाई एक/एक सेट पिपिई वितरण गरेको छ । अन्य पालिकाहरूले समेत आवश्यक्ता अनुसार स्वास्थ्य सामाग्री वितरण गर्दै आएका छन् ।
मेलुङ गाउपालिकाले आफ्नो पालिका भित्र टोलटोलमा सर्वपक्षिय छलफल गर्दै कोरोना सङ्क्मणा बिरुद्ध सचेतना कार्यक्रम र नेपाल बाहिरबाट आएका नेपालीको घर पहिचानका लागि रातो झण्डा राख्ने कामलाई निरनतरता दिईरहेको छ । जनप्रतिनिधी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी स्थानीय स्तरमै रहि स्वास्थ्य सम्वन्धि जनचेतना प्रवाह गर्दैछन् । गाउंघरमा हुने अनावश्यक भीडभाड कम गर्न र कारोना भाईरसवारे जानकारी गराउन जिल्ला प्रहरी कार्यालयले दुइ या तीन जना प्रहरीको टोली बनाई भित्रै रहन आग्रह गर्दै माईकिङका कार्यहरू निरन्तर छन् ।
लकडाउन र निषेधाज्ञाका कारण खाद्यान्न अभाव हुन नदिन विपन्न र मजदुरहरूको विवरण सङ्कलनको जिल्लाका सबै पालिकाहरूले गरेका छन् । बैत्यश्वर गाउपालिकाले पालिका भित्रका १ हजार २ सय घरधुरी विपन्न तथा मजदुरहरूलाई सङ्घीय सरकारले तोकेको मापदण्ड अनुसार प्रतिपरिवार (३० केजी चामाल, तीन केजी दाल, दुइ प्याकोट नुन, दुइ लिटर खाने तेल, चार अाेटा साबुन र दुइ केजी चिनी) सात दिन भित्र उपलब्ध गराउने निर्णय गरेको छ ।
यसैबीच, जिल्ला समन्वय समिति र जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू र स्थानीय जनप्रतिनिधीहरूबाट चैत २१ गते जिल्लाको भीमेश्वर र जिरी नगरपालिका तथा बैत्यश्वर गाउपालिकाको स्थलगत अनुगमन गरेका छन् । उक्त अनुगमनबाट बजार क्षेत्र तथा गांउमा लकडाउन र निषेधाज्ञा जारी भएको अवस्थामा मानिसको आवतजावत, सवारी साधनको प्रयोगको अवस्था, स्थानीय सरकारले तयार गरेका क्वारेण्टाईन तथा आईसोलेशन कक्षको अनुगमन गरेको थियो । अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डे, विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, भीमेश्वर नगर प्रमुख भरत केसी, जिरी नगर प्रमुख टङ्क जिरेल, तारादल गणका गणपति निकिल कुंवर, डिएसपी रेवतीरमण पोखरेल, सशस्त्र प्रहरी बल १८ नं. गुल्मपति मोहनबहादुर क्षत्री, जिल्ला स्वास्थ्य प्रमुख विभुकुमार झाले अनुगमन गर्नुभएको थियो ।
रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार जिल्लामा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या चैत २१ गते साँझ सम्म ८० पुगेकोे छ । गोकुलगङ्गा गाउँपालिकामा तीन जना, दोरम्बा गाउँपालिकामा चार जना, मन्थली नगरपालिकामा नौ जना, रामेछाप नगरपालिकामा २६ जना, सुनापति गाउँपालिकामा २२ जना, खाँडादेवी गाउँपालिकामा ११ जना, लिखुतामाकोशी गाउँपालिकामा पाँच जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । यसमध्ये ७२ जना होम क्वारेन्टाइनमा बसेका छन् । हालसम्म दोरम्बा गाउँपालिकामा ६ जना, गोकुलगङ्गा गाउँपालिकामा चारजना र मन्थली नगरपालिकामा एक जनाको स्वास्थ्य स्थिति सामान्य भएपछि निगरानीबाट छुटाइएको कर्णले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न पालिकाहरूमा ५३ बेड आइसोलेसन कक्षहरू २ सय ६६ बेड क्वारेन्टाइन स्थापना भई सकेका छन् । हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा सात, दोरम्बा गाउँपालिकामा सात, सुनापति गाउँपालिकामा ६ र खाँडादेवी गाउँपालिकामा ११ बेड आइसोलेशन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिनुभयो । त्यसैगरी मन्थली नगरपालिकामा २०, रामेछाप नगरपालिकामा ७०, दोरम्बा गाउँपालिकामा १६, खाँडादेवी गाउँपालिकामा ४३, गोकुलगङ्गा गाउँपालिकामा २१, उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४३ बेड क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिनुभयो ।
यसैबीच सबै स्थानीय सरकारले पालिमा लकडाउनको कारण दैनिक गुजरा चलाउन समस्या भएका परिवारको तथ्य सङ्कलन गर्न सुरु गरेका छन् । दुईदिन भित्र वडावडाबाट तथ्य सङ्कलन गरि पालिकामा बुझाउने र त्यस पछि राहात वितरणको काम सुरु हुने उमाकुण्ड गाउँपालिका २ बाम्तिका वडाअध्यक्ष खम्बध्वज बस्नेतले जानकारी दिनुभयो । पालिकाहरूले पछिल्लो समय विदेश बसेर फर्किएकाहरूको नाम सार्वजनिक गर्न काम पनि सुरु गरेका छन् । खाँडादेवी र गोकुलगङ्गा गाउँपालिकाले विभिन्न देशबाट घर फर्किएका मानिसहरूको नाम सार्वजनिक गरेका छन् ।
निष्कर्ष
स्थानीय तहका जनप्रतिनिधिहरू कोरोना भाइरसबाट हुने जोखिम र सङ्क्रमण हुन नदिन खटिरहेका छन् । तर देशबाहिरबाट आएका मानिसहरू गाउँमा भित्रिएका कारण जोखिम बढेको छ । यसले सङ्क्मण फैलने खतरा बढेको छ । तसर्थ बाहिरबाट आउने मानिसहरूलाई रोक्ने र आउने पर्ने बाध्यता हुनेलाई सोझै क्वारेन्टाइनमा राख्ने कुरामा ध्यान जान आवश्यक छ । ढुवानिका साधन नियमित नचल्दा बजारमा उपभोग्य सामाग्रिको अभाव हुन सक्छ । अहिले पनि संक्रमण फैलियो भने उपचार गर्ने स्वास्थ्यकर्मीलाई अत्यावश्यक उपकरणको अभाव छ । त्यसको व्यवस्थापनमा पनि ध्यान जान आवश्यक छ । नागरिकले पनि यो संकटको बेलामा संयमित हुन र राज्यले सजकताकाे लागि लागु गरेकाे नियमकाे पूर्ण पालना गर्नु नागरिकहरूकाे कर्तव्य हाे ।