विश्वव्यपी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि संघिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेका छन् । सम्भावित सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि लकडाउन गरिएको छ । लकडाउनलाई पुर्णरूपमा पालना गरिएको अवस्था छ । यदपी सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको संख्यामा बृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले चैत २२ गते मात्रै सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा सङ्क्रमण रहेको पृष्टि गरेको छ । यसले सुदूरपश्चिमबासीहरूमा थप त्रास र भय श्रृजना गरेको छ । सुदूरपश्चिम प्रदेशमा मात्रै सङ्क्रमित हुनेको संख्या चैत २२ गतेसम्म चार पुगेको छ । इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले चैत २२ गते पठाउनु भएको सूचनाका आधारमा सतर्कताका लागि प्रदेश अन्तर्गत भइरहेका पुर्व तयारी र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण गरिएको छ ।
इन्सेक कैलाली जिल्ला प्रतिनिधि मैनामोती चौधरीका अनुसार सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा थप तीन जना व्यक्तिमा चैत २२ गते कोरोना भाइरस नमुना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि यस क्षेत्रका नागरिकहरूमा थप सन्त्रास फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा तीन जनामा कोरोना भाइरस सङ्क्रमण रहेको पुष्टि गरेपछि यस प्रदेशमा सङ्क्रमित हुनेको संख्या चार पुगेको छ ।
सङ्क्रमित देखिएका तीन जना मध्ये ३४ वर्यीया महिला यस भन्दा अगाडी सङ्क्रमित देखिएका धनगढीका युवककी भाउजु रहेको र अन्य दुई जना क्रमस कैलाली जिल्लाकै लम्कीका २१ वर्षीय युवक र कञ्चनपुर जिल्ला बेदकोटका ४१ वर्षीय पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लम्कीका २१ वर्षीय युवक भारतको मुम्बइबाट आएका हुन भने बेदकोटका ४१ वर्षीय पुरूष भारतकै उत्तराखण्डबाट आएका हुन् । ३४ वर्षीय महिला भने पहिलो स्थानीय सङ्क्रमित हुन् ।
सङ्क्रमित तीनै जनाको सेती प्रादेशिक अस्पताल, धनगढीको आइसोलेसन कक्षमाराखि उपचार भइरहेको छ भने उनीहरूको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाले महिलाहरूका लागि धनगढीस्थित पोलिटेक्नीक इन्टिच्यूटमा २२ बेडको क्वारेन्टाइन तयार गरेको छ । धनगढीस्थित पोलिटेक्नीक इन्टिच्यूटमा तयार गरिएको क्वारेन्टाइनमा आवश्यक सम्पुर्ण सुविधाहरू उपलब्ध हुने गरी तयार गरिएको धनगढी उपमहानगरपालिकाका उपमेयर शुसिला मिश्र भट्टले बताउनु भयो । पुरूष र महिलाहरूलाई एउटै स्थानमा राख्दा लैङ्गिक संवेदशिलता नहुने र विभिन्न प्रकारका समस्या हुने भएकोले महिलाहरूका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको उपमेयर मिश्र भट्टको भनाइ छ ।
कैलाली जिल्लास्थित स्थानीय तहमा हलसम्म २४ ओटा क्वारेन्टाइनहरू तयार गरिएको छ भने हालसम्म ३ सय ६४ पुरूष,७३ महिला, १२ बालक र १३ बालिका गरी जम्मा ४ सय ३७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न नेपाल सरकारले चैत ११ गतेबाट गरेको लकडाउनले नेपाल भारतको सिमाना जुलाघाटमा अलपत्र परेका नेपाली नागरिकहरूलाई भारतीय सरकारले क्वारेन्टाइनमा राखेको जनाएको छ ।
भारतको पिथौरागढका डिएम् विजयकुमार जोग्दण्डेका अनुसार अलपत्र नेपाली नागरिकहरूलाई जुलाघाट आसपासका विभिन्न ६ ठाउँमा क्वारेन्टाइन स्थापना गरी राखिएको छ । तर, भारतीय पत्रकार र क्वारेन्टाइनमा बस्दै आएका नेपाली नागरिकहरूका अनुसार क्वारेन्टाइन नभई धर्मशाला, मन्दिर र विद्यालयहरूमा राखिएको छ ।
खानाको लागि व्यवस्था भएपनि अलपत्र परेका नेपालीहरूलाई सामुहिक रूपमा एकै ठाउँमा राखिएको र विश्व स्वास्थ्य संगठनले निर्धारण गरे अनुसार उनीहरूलाई क्वारेन्टाइनमा नराखिएको भारतीय पत्रकारहरूको भनाइ छ ।
अहिले बैतडी, बझाङ लगायत कर्णाली प्रदेश गरी जम्मा २ सय ४६ जना नेपाली नागरिकहरूलाई भारतको झुलाघाटस्थित मन्दिर, विद्यालय, धर्मशाला लगायतका सार्वजनिक स्थानमा राखिएको छ ।
भारतको झुलाघाटस्थित क्वारेन्टाइनमा राखिएका नेपाली नागरिकहरूले फोन गरेर आफूहरूलाई नेपाल फर्कन पहल गरिदिन अनुरोध गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुु भयो ।
उनीहरूको अवस्था बुझ्नका लागि पिथौरागढका डिएमलाई इमेल गर्दा अहिलेसम्म प्रतिउत्तर नआएको उहाँको भनाइ छ ।
जिल्लामा लकडाउनको प्रभाव विगतका दिनझै यथावत छ । ग्रामिण क्षेत्रमा खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै स्थानीय नागरिकहरूले चिन्ता व्यक्त गरेका छन् ।
डिलाशैनी गाउँपालिकामा खाद्यान्न अभाव हुने देखिएको अध्यक्ष उकेन्द्र बोहराको भनाइ छ । खाद्यान्नमा पनि कालोबजारी हुन थालेको उपभोक्ताहरूको गुनासो छ । तरकारीमा मौजात रहेको आलुु, टमाटर लगायतमा २० रूपियाँसम्म बढी भाउ तिर्नु परेको स्थानीय उपभोक्ता प्रमानन्द बडुको गुनासो छ ।
‘लकडाउन हुनुुभन्दा अगाडी ३५ रूपियाँ प्रतिकेजिका दरले किनेको आलु हाल प्रतिकेजि ५० मा पनि पाउन गा¥हो भएको छ ।’ उहाँले भन्नु भयो ।
स्वास्थ्यकर्मीहरूको लागि पीपीइ प्रयाप्त नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको जिल्ला अस्पताल, बैतडीका डाक्टर बसन्तराज जोशीको भनाइ छ । दशरथचन्द नगरपालिकाका स्वास्थ्य संयोजक दुुर्गादत्त भट्टका अनुसार पीपीइ अभावका कारण स्वास्थ्य सेवा दिन कठिन भएको छ । स्वास्थ्य संस्थाहरूमा जेष्ठ नागरिकहरूको सामान्य प्रेसर जाँज गर्न समेत स्वास्थ्यकर्मीहरूले नमानिरहेको जेष्ठ नागरिकहरूको गुनासो छ ।
औषधि आयत नभएकाले जिल्ला अस्पतालमा औषधिको अभाव भएको डाक्टर बसन्तराज जोशीको भनाइ छ ।
इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुंगानाका अनुसार कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि कमलबजार नगरपालिकाले आफ्नो मातहतका १० स्वास्थ्य संस्थामा कार्यरत ४१ जना स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) वितरण गरेको छ ।
एक प्राथमिक स्वास्थ्य केन्द्र, आठ स्वास्थ्य चौकी र एक सामुदायिक स्वास्थ्य एकाइमा कार्यरत रहेका ४१ जना स्वास्थ्यकर्मीलाई एक÷एक सेट पीपीइ वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर विष्टले बताउनु भयो ।
पीपीइ सामाग्री प्राप्त भएपछि उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षा जोखिम न्यून हुने र आत्मबलमा वृद्धि हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर विष्टको भनाइ छ ।
पीपीइसहित मास्क, पञ्जा लगायतका सामाग्री वितरणसँगै नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको टोलीले वडामै पुगेर कोरोना भाइरस विरूद्धको सचेतना र तयारीका बारेमा समेत जानकारी दिइरहेका छन् ।
मंगलसेन नगरपालिकाले १३ वडाका बासिन्दालाई २ हजार ८ सय २५ मास्क वितरण गरेको जनाएको छ । वडा तहमै पुगेर सम्भावित जोखिमबाट सचेत, सजग रहन मास्क वितरण गरिएको नगरप्रमुख पदमबहादुर बोहराले जानकारी दिनु भयो ।
बान्नीगढी जयगढ गाउँपालिकाले ६ ओटै वडामा स्यानिटाइजर, साबुन, पञ्जा वितरण गरेको छ । गाउँपालिकामा रहेका ६ ओटै वडाका हरेक स्थानमा गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर खड्का, उपाध्यक्ष लोकेन्द्रबहादुर साउँद र स्वास्थ्य शाखा प्रमुख वसन्तबहादुर रावल वडामै पुगेर सरसफाइ सामाग्री वितरण गरिएको छ ।
नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिका कार्यसमितिले रामारोशन गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा २० हजार रूपियाँ सहयोग हस्तान्तरण गरेको छ ।
इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार नेपाल सरकारले घोषणा गरेको लकडाउन पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन् । लकडाउन उल्लङघन गरी सवारी चालउने ३८ जनालाई कारवाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दानबहादुर रोकायले बताउनु भयो ।
लकडाउनको समयमा पनि जिल्लाका विभिन्न क्षेत्रमा यवाहरू भलिबल,ब्याटम्यान्टीन खेल खेलिरहेका छन् । लकडाउनको उल्लङ्घन गरी खेल खेलीरहेको अवस्थामा युवाहरूलाई नियन्त्रणमा लिई सम्झाइ बुझाइ अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कोरोनाको आशङ्कामा जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा भर्ना गरिएका १६ वर्षीय एक बालकको स्वाब परीक्षण रिर्पोट चैत २१ गते नेगेटिभ आएको छ ।
लकडाउन भइरहको समयमा बाहिर जिल्लाबाट भित्रिने क्रम नरोकीएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेको भनाइ छ ।
कारोना भाइरसका संभावित बिरामीहरूको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा दुई बेड, जिल्ला समन्वय समितिको सभाहलमा १० बेड र कोल्टि प्राथामिक रूवास्थ्य केन्द्रमा दुई बेडको आइसोलेसन कक्ष बनाएको जिल्ला अस्पताल बाजुराका डाक्टर रूपचन्द्र बिश्वकर्माले जानकारी दिनु भएको छ ।
जिल्लामा कुल २१ ओटा क्वारेन्टाइन तयार गरिएको छ भने हालसम्म १ सय ९ जनालाई क्वारेन्टाइनमा राखेका छन् ।
जिल्लामा प्रयाप्त स्वास्थ्य उपकरणहरू छैनन् । उपरण नहुँदा स्वास्थ्यकर्मी नै बढी जोखिममा रहेका छन् । जिल्लाका नौ ओटै स्थानीय तहले प्रत्येक वडा टोलमा गएर राहतको लागि पहिचान घरधुरीको संख्या सङ्कलन गर्नुको साथै जनचेतानका काम गरिरहेका छन् ।
इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका घर भएका ४१ वर्षीय पुरूषमा कारोना भाइरस सङ्क्रमण देखिएको छ ।
संक्रमित व्यक्ति माहाकाली नदिमा ट्युबमा तरेर चैत १४ गते कञ्चनपुरको ब्रम्हदेव नाका भएर नेपाल भित्रिएका थिए । उनी नेपाल भित्रिएलगत्तै बेदकोट नगरपालिकाले चैत १४ गतेबाट नै उनी सहित उनीसँगै भारतको उत्तराखण्डबाट आएका १० जनालाई नगरपालिकाको कृषि तालिम केन्द्रमा तयार गरेको क्वारेन्टाइनमा राखेको थियो ।
उनीहरूको काठमाडौँबाट आएको नेपाली सेनाको टोलिले चैत २० गते स्वाब परीक्षणका लागि नमुना लगेको थियो । क्वारेन्टाइनमा राखिएका १३ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि १ करोड बराबरको कोष स्थापना
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को जोखिम नियन्त्रण तथा रोकथामका लागि कृष्णपुर नगरपालिकाले १ करोड बराबरको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि चैत २० गते कृष्णपुर नगरपालिकामा बसेको नगर कार्यपालिकाको बैठकले विपद् व्यवस्थापन कोष स्थापना गर्ने निणर्य गरेको हो ।
नगरपालिकाले कोषमार्फत दैनिकी चलाउन समस्यामा परेका परिवारलाई राहत वितरण गर्ने योजना रहेको नगर प्रमुख कर्णबहादृुर हमालको भनाइ छ ।
नगर प्रमुख हमालले कोषमार्फत खाद्यान्न समस्या रहेका नगरवासीलाई दाल, चामल, नुन, तेल राहत स्वरूप उपलब्ध गराइने बताउनु भयो । नगरपालिकाले विपद् व्यस्थापन कोषमा सहयोगका लागि विभिन्न सरोकारवाला नियकायसँग अपील समेत गरेको छ । नगरपालिकाले सहयोग गर्न इच्छुकले एनसीसी बैंकको कृष्णपुर शाखामा रहेको खाता नम्बर १४८००००००५००१ मा रकम जम्मा गर्न सक्ने जनाएको छ ।
फर्किएका ४ हजार ७ सय ९२ मध्ये ५१ जना क्वारेन्टाइनमा
जिल्लाका नौ ओटै स्थानीय तहले सङ्कलन गरेको विवरण अनुसार भारत सहित अन्य मुलुकबाट जिल्ला फर्किएकाहरूको संख्या ४ हजार ७ सय ९२ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाए पनि हालसम्म कञ्चनपुर जिल्लामा ५१ ज्ना मात्रे क्वारेन्टाइनमा बस्दै आएका छन् ।
कृष्णपुर नगरपालिकामा सबैभन्दा बढि ८ सय १९ जना फर्किएका छन । यस्तै वेदकोट नगरपालिकामा भारत र अन्य देशबाट ७ सय ५५ जना, शुक्लाफाटा नगरपालिकामा भारत, युएई र जर्मनीबाट ७ सय ५० जना, पुर्नवास नगरपालिकामा भारत र अन्य मुलुकबाट ७ सय ३० जना, भीमदत्त नगरपालिकामा भारत र कतारबाट ७ सय २० जना फर्किएका छन ।
यसैगरी महाकाली नगरपालिकामा भारत र मलेसियाबाट ३ सय ६० जना, बेलौरी नगरपालिकामा २ सय ६९ जना, बेल्डाडी गाउँपालिकामा भारतबाट मात्र २ सय ५५ जना र लालझाडी गाउँपालिकामा १ सय ३४ जना स्वदेश फर्किएका छन ।
जिल्लामा ४ हजार ७ सय ९२ जना भारत सहित तेस्रो मुलुकबाट फर्किएको भएपनि अहिले सम्म ५१ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । अन्य सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।
सेल्फ क्वारेन्टाइनमा बसेकाहरूमाथि पनि स्वास्थ्यकर्मीले घरघरमै पुगेर निगरानी गरिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बताउनु भयो ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिले लकडाउनलाई व्यवस्थित गर्न भिडभाड नहुने गरी स्थानीय कृषकहरूले गहुँ काटने र थ्रेसर चलाउन पाउने, दैनिक उपभोग्य बस्तुको सहज आपुर्तीका लागि स्थानीय तहमा सञ्चालन गरिएका घुम्ती पसल सेवालाई थप सुदृढ र व्यवस्थित गर्ने निर्णय गरेको छ ।
इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार जिल्लाका तीन ओटा स्थानीय तहले कोरोना महाकारी रोकथाम तथा विपद व्यवस्थापन कोष स्थापना गरेका छन् ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रण तथा रोकथाम व्यवस्थपनको लागि स्थानीय तहले कोष स्थापना गरेका हुन् ।
नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाले विपद् व्यवस्थापन कोराना महामारी रोकथाम कोष निर्माण गरेका हुन् ।
नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षतामा चैत २२ गते बसेको गाउँ कार्यपालिका बैठकले कोराना भाइरस तथा विपद् व्यवस्थापन नियन्त्रणको लागि कोष बनाउने निर्णय गरेको हो ।
नौगाड गाउँपालिकाले विपद्कोषमा ९ लाख ७४ हजार रूपियाँ बजेट बिनियोन गरेको छ । भने, सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने ३ लाख रूपैयाँ पनि सोहि कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनु भयो ।
मार्मा गाउँपालिकाले कोराना भाइरस रोकथाम र व्यवस्थापनको लागि १५ लाख रूपियाँ बजेट विनियोजन गरी विपद् कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिनु भयो ।
शैल्यशिखर नगरपालिकाले कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २५ लाख रूपियाँको विपद् कोष निर्माण गरेको नगर प्रमुख अमरसिह धामीले जानकारी दिनु भयो । उक्त कोषमा नगरपालिकाले २१ लाख र सुदूरपश्चिम सरकारबाट प्राप्त हुने ४ लाख रूपियाँ सोहि कोषमा राख्ने निर्णय गरेको छ ।
नौगाड गाउँपालिकाले विपद् कोषमा कर्मचारी तथा नौगाड गाउँपालिका भित्र र बाहिर रहेका व्यक्तिले स्वस्र्फूत रूपमा सहयोग गर्न सक्ने जनाएको छ ।
नौगाड गाउँपालिकाले परान्त गाउँपालिकामा प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । हालसम्म गाउँपालिकाले हरेक वडा गरी ९६ बेडको क्वारेन्टाइन निर्माण गरेको छ भने क्वारेन्टाइनमा १६ जना राखेको छ ।
मार्मा गाउँपालिकाले हरेक क्वारेन्टाइनमा स्वास्थ्यकर्मी खटाउने तथा गाउँपालिकाभरी रहेका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई लगायतलाई २४ औँ घण्टा खुला राख्ने निर्णय गरेको छ ।
शैल्यशिखर नगरपालिकाले विपद कोषमा नगर कार्यपालिका पदाधिकारीको तीन दिनको बैठक भत्ता, नगरपापलिकाबाट नियुक्त भएका शिक्षकहरूबाट तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय गरिएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताउनु भयो ।
नगरपालिकाले कोराना भाइरस नियन्त्रण तथा रोकथामको लागि २४ औँ घण्टा खटिने कर्मचारीका लागि ५० देखि ७५ प्रतिशत प्रोत्साहन भत्ता थप दिने निर्णय गरेको छ । भने, कोरानाका आशङ्कामा चेकजाँचको लागि गोकुलेश्वर अस्पतालसम्म पुग्ने विरामी र नगरपालिकाभित्रका नागरिकलाई उपचारको लागि बाहिर लिदाँ एम्बुलेन्समा ५० प्रतिशत रकम छुट दिने जस्ता निर्णय गरिएको विष्टको भनाइ छ ।