बागमती प्रदेशमा चैत २० गते एक जना कोराना सङक्रमित भेटिएका छन् । कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको सङ्ख्या ६ जना पुगेको छ ।
गत चैत ४ गते कतारको दोहा हुँदै काठमाण्डौ आएकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्ठि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कतारबाट आएको क्यू आर ६५२ जाहाजमा आएका यात्रुमध्ये अहिलेसम्म तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यसअघि यही जाहाजमा फ्रान्सबाट आएकी काठमाण्डौकी एक महिला र बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बाग्लुङकी १९ वर्षिया महिलामा सङ्क्रमण देखिएको थियो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ पुगेको छ । कोरोना सङ्क्रमित ६ मध्ये एकजना उपचारपछि घर फर्किसकेका छन भने पाँच जनाको उपचार भइरहेको छ ।
यसैबीच बागमती प्रदेशको विभिन्न जिल्लामा कोरोना परीक्षण सुरु गरिएको छ । मकवानपुर र भक्तपुर जिल्लामा चैत २० गतेबाट काेराेना परीक्षण सुरू गरिएकाे छ । सबै जिल्लाका पालिकाहरूले सङ्क्रमणको लागि उच्च सतर्कता अपनाइरहेका छन् ।
१ सय ३३ जनाको स्वाब परीक्षण, १ सय १० जनाको नेगेटिभ रिपोर्ट, २३ जनाको रिपोर्ट बाँकी
बागमती प्रदेशका १३ ओटा जिल्लामा कोरोना भाइरसका (कोभिड—१९) रोकथाम, नियन्त्रण र उपचार गर्नका लागि ६ सय १५ वेड क्षमताको आइसोलेशन वार्ड र २ हजार ५ सय ३३ क्वारेन्टाइन निर्माण गरिएको छ ।
बागमती प्रदेशभित्र सबैभन्दा बढी आइसोलेशन वार्ड चितवनमा निर्माण गरिएको छ । चितवनमा मात्रै १ सय ९६ वेडको आइसोलेशन वार्ड तयार भइसकेका छन् भने १ सय ८२ वेडको क्वारेन्टाइन निर्माण भइसकेको छ । चितवनस्थित कोरोना अस्पतालमा नौ जना आइसोलेशन वार्डमा रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार दोलखामा ५९ वेडको आइसोलेशन वार्ड र १ सय १८ ओटा बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । दोलखाका स्वास्थ्यकर्मीलाई ४८ थान पीपीई उपलब्ध गराइएको छ ।
बागमती प्रदेशको दुर्गम जिल्ला रसुवामा २ सय १६ वेडको क्वारेन्टाइन र ५२ वेडको आइसोलेशन वार्ड निर्माण गरिएको छ । यसैबीच सिन्धुपाल्चोकमा १ सय ४३ शैयाको आइसोलेशन वार्ड तयार पारिसकेको छ । २ सय १३ बेड क्वारेन्टाइन निर्माण गरिएको छ । रामेछापमा २ सय २७ शैयाको क्वारेन्टाइन निर्माण गरिसकेको छ । २९ शैयाको आइसोलेशन तयारी अवस्थामा छ । यस जिल्लाका तेस्रो मुलुकबाट आएका ३६ जना क्वारेन्टाइनमा छन् भने एक जना आइसोलेशन वार्डमा छन् ।
मकवानपुरमा अहिलेसम्म १ सय ८६ बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ । ३० बेडको आइसोलेशन पनि तयारी अवस्थामा छ । यस प्रदेशको १३ ओटा जिल्लामा ३ सय २० ओटा आईसियू तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । विभिन्न जिल्लाका क्वारेन्टाइनमा ६ सय ५४ व्यक्ति बसिरहेका छन् ।
उपत्यकासँग जोडिएको काभ्रे जिल्लामा २१ ओटा आइसोलेशन वार्ड निर्माण गरिसकेको छ । नेपाली सेनालगायत स्थानीय तहको सक्रियतामा १ सय ४३ शै्याको क्वारेन्टाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । यसैगरी नुवाकोटमा १० ओटा आइसोलेशन वार्ड र एक सय ९१ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । उक्त जिल्लामा विदेशबाट आएका १५ जना सेल्फ क्वारेन्टाइनमा छन् ।
सिन्धुलीका नौ ओटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ । एक पालिकामा दुइदेखि ३९ सम्म क्वारेन्टाइन निर्माण गरिएको छ । सिन्धुलीमा १ सय ३ ओटा क्वारेन्टाइन बेड तयार राखिएको छ । पाँच ओटा स्थानीय तहमा १४ ओटा आइसोलेशन वार्ड निर्माण गरिएको छ । चारओटा पालिकामा आइसोलेशन छैन । सेल्फ क्वारेन्टाइनमा १० जना रहेका छन् ।
धादिङमा ६ वेडको आइसोलेशन वार्ड निर्माण गरिएको छ भने ४ सय ६४ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । विभिन्न मुलुकबाट आएका स्थानीय ३ महिलासहित ६९ जना क्वारेन्टाइनमा छन् ।
प्रवक्ता सुवेदीका अनुसार यस प्रदेशका विभिन्न जिल्लाका १ सय ३३ जनाको स्वाब परीक्षण गरेकोमा १ सय १० नतिजा आइसकेको छ । सबैमा कोरोनाको लक्षण नेगेटिभ देखिएको छ । मकवानपुरबाट इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार २३ जनाको रिपोर्ट आउन बाँकी छ । सबैभन्दा धेरै चितवन जिल्लामा स्वाब परीक्षण गरिएको छ । ५४ जनाको स्वाब परीक्षण गर्न पठाएकोमा ४५ जनाको रिपोर्ट आएको सुवेदीले बताउनुभयो ।
यसैबीच रामेछाप जिल्लामा क्वारेन्टाइनमा बसेकाहरूको अवस्था सामान्य भएपछि घर फर्कन थालेको जिल्ला प्रतिनिधि नबराज पथिकले जानकारी दिनुभएको छ ।
जिल्लाका विभिन्न पालिकामा क्वारेन्टाइनमा राखिएकाहरूको अवस्था सामान्य भएपछि छाडिएको हो । हालसम्म दोरम्बा गाउँपालिकाका ६ जना र गोकुलगङ्गा गाउँपालिकाका–तीनजना होम क्वारेन्टानमा बसेकाको स्वास्थ्य स्थिति सामान्य भएपछि उनीहरूलाई निगरानीबाट छुटाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म ७६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको हो । गोकुलगङ्गा गाउँपालिकामा सात जना, दोरम्बा गाउँपालिकामा चार जना, मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा २६ जना, सुनापति गाउँपालिकामा १३ जना, खाँडादेवी गाउँपालिकामा ११ जना, लिखुतामाकोशी गाउँपालिकामा पाँचजनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । यस मध्य ६८ जना होम क्वारेन्टाइनमा बसेका छन् ।
भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने,गरिब, अति विपन्न परिवारलाई २० गतेबाट राहत वितरण सुरु गरेको छ । नगरपालिकाको बोर्ड बैठकले पारित गरेको मापदण्डमा रहेक प्रत्येक वडाका वडाध्यक्ष संयोजक रहेका समितिले राहत वितरणदेखि खाद्यान्न आपूर्ति एवम् वितरणको कार्य गरेको छ ।
नगरपालिकाले नगर विपद कोषमा ३ करोड रुपियाँ बजेट विनियोजन गरि प्रत्येक वडालाई ५ लाखका दरले बजेट पठाई राहत वितरण लगायतका काम सुरु गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले चार जनासम्मको परिवारलाई १० किलो चामल, एक किलो दाल, एक प्याकेट नून, आधा किलो दालमोठ, एक किलो चिउरा र एक लिटर तेल राहत वितरण सुरु गरेको छ । त्यसैगरि पाँचदेखि सात जनासम्मका परिवारलाई १५ किलो चामल, एक किलो आधा दाल, दुई प्याकेट नून, एक किलो दालमोठ, एक किलो आधा चिउँरा र दुई लिटर तेल राहत वितरण सुरु गरेको छ ।
यसैगरी सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएका पाँचौ व्यक्तिको स्वास्थ्य परिक्षण प्रतिवेदनमा कोरोना देखिएन । पाण्डेका अनुसार चैत २० गतेबाट जिल्लामा रहेको आइसोलेशन वार्डमा बिरामी छैनन् । जिल्लामा कमलामाई नगरपालिकाले मजदुरलाई राहत वितरण गरिरहेको छ । कमलामाईले चैत २० गते नै दमका बिरामी तथा सुकम्बासी वृद्ध र उनको परिवारलाई नगरप्रमुख राहत प्याकेज हस्तान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पास वितरणमा रोक लगाउँदै निशेधाज्ञा पनि जारी राखेको छ । दुधौली नगरपालिका– १ का वडाध्यक्ष गोविन्द प्रसाद पहाडीले नगरपालिकाले वडाबासीलाई बाँड्न दिएको कपडाको १ हजार माक्र्स गायव गरेको सार्वजनिक भएको भने तिनपाटन गाउँपालिका–१ का वडाध्यक्ष गोविन्द राउतले १ हजार २ सय ओटा कपडाको मास्क वडाका नागरिकलाई वितरण गर्नुभएको छ ।
चितवन प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार लकडाउन उल्लङ्घन गरेको आरोपमा चितवन प्रहरीले ५६ जनालाई गिरफ्तार गरेको छ । चितवनको कारोना विशेष अस्पतालमा चारजनाकोे उपचार भइरहेकोे छ ।
यस्तै नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले जनाए अनुसार नुवाकोट प्रशासनले विभिन्न निर्माण आयोजनामा कार्यरत करिब ६ सय ९५ सय जना मजदुरहरू यातायात पास बनाएर उनीहरूकै जिल्लामा पठाइएको छ । थप करिब २ सय जना मजदुरलाई उनीहरूको गृहजिल्ला पठाउने तयारी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनु भयो ।
धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार यहाँका स्थानीय निकायहरूले कोरोना सङ्क्रमण फैलिन नदिन स्वास्थ्य डेक्स राखेका छन्, तर त्यहाँ ज्वरोमात्रै जाँच गरिने गरेको छ । स्थानीय निकायहरू विदेशबाट फर्केकाहरूको नामावली अध्यावधिक गर्ने र उनिहरूको निगरानीमा सुरु गरेको छ ।
ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार यहाँ ३० जनालाई कोभिड–१९ का आशङ्कामा स्वास्थ्य परीक्षण गर्दा २७ जनाको नतिजा नेगेटिभ आएको छ । बाँकी तीनजनाको नतिजा आउन बाँकी रहेको छ ।
सबै स्थानीय तहहरूले बिपन्न परिवारको लगत सङ्कलन गरिरहेका छन् । कोन्ज्योसोम गाउँपालिकाले माक्स,सेनिटाइजर र साबुन प्रत्येक घर परिवारलाई वितरण गरेको गाउँपालिका अध्यक्ष गोपिलाल स्याङतानले बताउनु भयो । ललितपुरको महालक्ष्मी नगरपालिका–४, खरिबोट, इमाडोलस्थित मस्जिदमा १३ जना इण्डोनेसियन नागरिकहरू चैत १९ गते राती ल्याएर छोडिएपछि स्थानीयहरूले उनीहरूलाई क्वारेन्टाइनमा राख्न माग गरे । महालक्ष्मी नगरपालिकाले उनीहरूलाइ फिर्ता पठाएकाे छ ।
दोलखा जिल्लामा चैत २० गते दिनभर निशेधाज्ञा जारी गरिएको दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेल जनाएका छन् । बिहान ७ बजे भित्र र बेलुकी ६ बजे पछि एक घण्टाका दरले दैनिक उपभोग्य सामान खरिद गर्न मूख्य बजार क्षेत्रका लागि समय खुल्ला गरिएको छ । भीमेश्वर नगरपालिकाले नगरबासी अपाङ्ग, ज्येष्ठ नागरिक, सुत्केरी र बिपन्नलाई बिरामी भएमा एम्बुलेन्सको व्यवस्था र अति विपन्नलाई खानाको व्यवस्था गर्ने तयारीमा लागेको छ । यसैगरी शैलुङ्ग गाउँपालिकाले स्थानीय विपत व्यवस्थापन कोष खडा गरी भोकमरीको अवस्था आएमा तथ्याङ्क सङ्कलन गरी समस्या समाधान गर्ने, कोरोनाबाट सङ्क्रमित बिरामी भएमा १० हजार रुपिँया उपचार खर्च र काठमाडाँैसम्म एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बिरुद्धको अभियानका क्रममा स्थानीय समन्वय समिति, कर्मचारीहरू, स्वास्थ्यकर्मी, प्रहरीहरू सङ्क्रमित भएमा १ लाख उपचार खर्च र मृत्यु भएमा ५ लाख राहत उपलब्ध गरांउने निर्णय गरेको छ ।
रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्लाको अवस्था सामान्य छ । चीनसँग सिमाना जोडिएको रसुवागढी नाका खोल्ने काम नगरी हाललाई अत्यावश्यक सामान ल्याएर बन्द गरिनुपर्ने माग स्थानीयहरुले गरेका छन् । विदेशमा रहेका नेपाली तथा विदेशी पर्यटक केही समय आउन राकेर सङ्क्रमित तथा विदेशबाट आउनेहरूको तथ्याङ्क लिने र आइसोलेसनमा राख्ने गर्नु पर्न सुझाव दिइएको छ ।
काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार काभ्रेमा हालसम्म सङ्क्रमितको देखा परेको छैन । तर सतकर्ता तथा पुर्वतयारी भने गरिएको छ । जिल्लामा १३ आइसोलेशन कक्ष र २ सय ७१ वटा क्वारेन्टाइन कक्ष तयारी अवस्थामा राखिएको छ ।
मण्डनदेउपुर नगरपालिकामा ६ जना क्वारेन्टाइन रहेका छन् । ती विदेशबाट आएका हुन् । क्वारेन्टाइनमा बस्नेहरुका लागि नगरपालिकाले बाइफाई र खाना बस्नाको राम्रो व्ययस्था गरेको छन् । यसैगरी धुलिखेल अस्पतालमा तीन जनाको आइसोलेशनमा उपचार भैरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमख नरेन्द्रकुमार झले बताउनुभयो ।
कोरोना रोकथाम गर्नका लागि तेमाल गाउँपालिकाले चैत २० गते सर्वदलिय बैठक बसी लकडाउनलाई पूर्णरुपले कार्यान्वयन गराउने, कोरोना भाइरस विरुद्धको सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, विदेशबाट आएका व्यक्तिहरुको विवरण सङ्कलन गरी तत्कालन गाउँपालिकामा पठाउने पनि निर्णय गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार तामाङले जानकारी दिए ।
पाँचखाल नगरपालिकाका मेयर महेश खरेल किसानद्धारा उत्पादीत तरकारी, दूध बजारमा लैजान समस्या बारे छलफल गर्नुभएको छ । मेयर खरेलले यो महामारी विश्वले नै झेलिरहेको भन्दै नआत्तिकन सामाजिक दुरी कायम गरेर आफ्नो दैनिक काम गर्न र उत्पादित सामान बजारसम्म पु-याउन कुनै समस्या भए आफूले समन्वय गर्ने आश्वासन दिनुभयो ।
कोरोना भाईसर रोकथामका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक काभ्रेले जिल्लामा रहको रेडियोहरुबाट सुचना सन्देश प्रसाराण गरेको छ । जिल्लामा रहेको सामुदायिक रेडियो नमोबुद्ध, रेडियो गौरव, रेडियो रोशी, मनोरञ्जन एफ एम, रेडियो एविसी र रेडियो कोशीपारी क्रान्ती ले २०७६ चैत १७ गतेदेखि प्रसारण शुरु गरेको हो ।
सुझाव
विदेशबाट आउनेहरूलाई अनिबार्य क्वारेनटाइनमा राख्नुपर्ने देखिन्छ । राज्यले नागरिकका अवाश्यकता र समस्या बुझ्न आवश्यक छ । हातमुख जोर्न गाह्रो भएका परिवालाई तत्काल राहात सामाग्रि पु-याउन आवश्यक छ । यो काममा ढिलाई भइसकेकोले अब त्यसमा ध्यान दिन आवश्यक छ । नागरिकले पनि यो सङ्कटको घडिमा संयमित हुन र राज्यको आदेशको पालना गर्न आवश्क छ ।