INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरस सम्बन्धि सुदूरपश्चिम प्रदेशको अवस्था

विश्वव्यपी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेको छ । इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएको सूचना अनुसार सतर्कताका लागि प्रदेश सरकार र स्थानीय सरकारले गरेका पुर्व तयारी र समस्याहरूको जिल्लागत अवस्था यस प्रकार रहेको छ ।

इन्सेक कैलाली जिल्ला प्रतिनिधि मैनामोती चौधरीका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीबाट चैत २० गतेदेखि कोरोना भाइरस(कोभिड – १९) को प्रयोगशाल जाँच सेवा शुरु भएको छ । संधिय सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितहरुको नमुना परीक्षणका लागि आरटी पीसीआर उपकारण पठाएपछि उक्त उपकरण प्रादेशिक अस्पताल,धनगढीमा जडान भएपछि चैत २० गतेदेखि नै परीक्षण शुरु भएको अस्पतालका ल्याव इन्चार्ज रमेश शाहीले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशमा प्रयोगशाला नभएका कारण कारोना भाइरस नमुना परीक्षणका लागि काठमाडौँ पठाउने गरिएको थियो । यसभन्दा अगाडी नमुना  रिपोर्ट आउन हप्ता दिन लाग्ने गरेके भए पनि अब एक नमुना परीक्षणको रिपोर्ट आउने १० मिनेट मात्रै लाग्ने बताइएको छ ।

कैलाली जिल्लास्थित बिभिन्न स्थानीय तहले ज्यालामजदुरी गर्ने र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्यान्य वितरण गर्दै आएको छ । धनगढी उपमहानगरपालिकाले चैत २० गते धनगढी उपमहानगरपालिकाका विभन्नि वडाहरुमा आर्थिक रुपमा विपन्न, एकलमहिला र ज्यालामजदुरी गर्ने जिविकोपार्जन गर्दै आएका परिवारहरुलाई खाद्यान्य वितरण गर्ने कार्य शुरु गरेको छ ।

इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार कारोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण भारतको धारचुलामा अलपत्र परेका झण्डै ५ सयबढी नेपाली नागरिकहरूलाई भारत सरकारले क्वारेन्टाइनमाराखि सम्पुर्ण आवश्यक व्यवस्था गर्ने भनेको भए पनि उनीहरूहरूको अवस्था दयनिय रहेको छ । भारत सरकारले उनीहरूलाई भारतको पीथौडागड जिल्लाको बालुवाकोटस्थित महाविद्यालयमा तयार गरेको क्यारेन्टाइनमा राखेको छ । तर, क्यावरेन्टाइनमा बसेका नेपाली नारिकहरूले आफूहरूलाई समान्य मानविय व्यवहार समेत नगरेको गुनासो गरेका छन् । क्वारेन्टाइनमा राखिएका नेपाली नागरिकहरूले आफूहरूलाई विद्यालयको ग्यालरीमा सामुहिक रूपमा सुताउने गरेको र समयमा खाना,नास्ता समेत नदिने गरेको गुनासो गरेका छन् । भारतको पिथौडागडस्थित महाविद्यालयमा राखिएका नेपालीहरूले आफूहरूको नेपाल सरकारले तुरून्त उद्धार गरी नेपालमै क्वारेन्टाइनमा राख्न माग गरेका छन् । नेपालमा रहेका भारतिय नागरिकहरूलाई नेपाल सरकारले र भारतमा अलपत्र रहेका नेपाली नागरिकहरूलाई भारत सरकारले क्वारेन्टाइनमाराखि आवश्यक सुविधाहरू दिने शर्तमा उनीहरूलाई  भारत सरकाले पिथौडागढस्थित महाविद्यालयमा राख्दै आएको छ ।

कोराना भाइरस रोकथामका लागि जिल्लास्थित सबै स्थानीय तहहरूले पुर्व तयारी तथा प्रचारप्रसार गरिरहेका छन् । मार्मा गाउँपालिकाले हरेक वडामा क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा स्वास्थ्यकर्मी राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताउनु भयो । गाउँपालिकाभरीका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, गाउँघर क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरू २४ सैं घण्टा खुला रहने निर्णय गरेको छ । गाउँपालिकाभरी खाद्यान्नको अवस्था सहज बनाउन बिहान ७ बजेदेखि १० बजेसम्म दैनिक उपभोग्य वस्तु र खाद्यान्नका पसलहरू खोल्ने निर्णय गरिएको छ ।

शैल्यशिखर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २५ लाखको विपद् कोष खडा गर्ने र कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खटिने कर्मचारीहरूको तलबको ५० देखि ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त ४ लाख रूपैयाँमा नगरपालिकाले २१ लाख रूपैयाँ थप गरेर २५ लाखको कोष खडा गरि कोरोना भाइरस रोकथामका लागि खर्च गरिने शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टको भनाइ छ ।

यस्तै गरी नगरस्तरीय कोरोना नियन्त्रण तथा राहत विशेष कोष स्थापना गर्ने निर्णय भएको छ । कोषमा नगरकार्यपालिका पदाधिकारीहरूको तीन दिनको बैठक भत्ता, नगरपालिकाबाट नियुक्त गरिएका शिक्षक तथा कर्मचारीहरूको मासिक तलबको तीन दिन बराबरको रकम जम्मा गर्ने निर्णय गरिएको छ ।

कोरोनासंग सम्बन्धित नगरपालिकाका बिरामीहरूलाई गोकुलेश्वर आउन निःशुल्क एम्बुलेन्स सेवाप्रदान गर्ने, उपचारका लागि बाहिर जानु परेमा एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने र भारतको धारचुला तथा झुलाघाँट लगायतका विभिन्न स्थानमा अलपत्र परेका शैल्यशिखर नगरपालिकाका नागरिकहरूलाई उद्वार गरी नगरपालिकाको क्वारेन्टाइनमा राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने शैल्यशिखर नगरपालिकाको बैठकले निर्णय गरेको छ ।

भारतको धारचुलामा अलपत्र परेका मध्ये २८ जना माहाकाली नदीमा पौडिएर नेपाल प्रवेश गरेकोमा उनीहरू सबै जनालाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा राख्ने गरी चैत १९ गते पठाइएको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले जानकारी दिनु भएको छ ।

महाकाली पारी नेपालीलाई अलपत्र पारेको भन्दै सरकारविरूद्ध सर्वोच्च अदालतमा चैत १९ गते रिट निवेदन दर्ता भएको छ । नेपालभित्र आउने नपाउने गरी विपक्षीले गरेको निर्णय उत्प्रेणको आदेशले बदर गरी नेपाली जनतालाई देशका वभिन्न सिमानाकाबाट नेपाल प्रवेशमा कुनै किसिमको रोक नलागउनु भनी परमादेश जारी गरी पाउ भन्दै रिट दर्ता गरिएको हो ।

इन्सेक डोटी जिल्ला प्रतिनिधि बाशुदेब जोशीका अनुसार विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोराना भाइरसको रोकथामका लागि जिल्लामा जारी गरिएको लकडाउन पूर्ण रूपमा कार्यन्वयन भएको छ ।

कोरोना भाइरसको आशङ्कामा जिल्लाका चार जनाको नमुना परीक्षण गरिएकोमा तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

जिल्लामा स्वास्थ्यकर्मीका लागि अतिआवश्यक सुरक्षाका सामाग्रीको अभाव रहेको छ । ग्रामिण क्षेत्रमा खाद्यन्न समस्या नआयोस भन्नका लागि प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडैलको निर्देशनमा पासको व्यवस्था गरी खाद्य बस्तु धुवानी गरिदै आइएको छ । दैनिक उपभोग्य बस्तुहरूलाई ध्यानमाराखि विहान ७ बजेदेखि १० बजे र साँझ ५ बजेदेखि ७ बजेसम्म दुरी कार्यम गरी पसलहरू खुला गरिएका छन ्।

स्थानीय तहले भारत तथा अन्य मुलकबाट फर्किएकाहरूको तथ्याङ्क संकलन गर्ने कार्य सुरू गरेको छ । लकडाउनका कारण ज्यालामजदुरी गर्ने  र आर्थिक रूपमा विपन्न वर्गलाई समस्या भएको भए पनि स्थानीय तहले घुम्ती पसल सञ्चालनमा ल्याएका कारण केही राहत पुगेको छ ।

बोगटान फुडशिन गाउँपालिकाले कोरोना रोकथामको लागि ५० लाख रूपियाँको विपत व्यवस्थापन कोष खडा गरेको गाउँपालिकाका अध्यक्ष कमल गडसिलाको भनाइ छ ।

साइल गाउँपालिकाले कारोना रोकथामका लागि ३० लाख रूपियाँको कोष खडा गरेको र स्थानीयहरूलाई मास्क र साबुन वितरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहलेको भनाइ छ ।

दिपायल सिलगडी नगरपालिकाले ५० हजार मास्क वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पुर्ण कर्मचारीको आठदेखि १० लाखसम्मको जिवन विमा गर्ने र २५ प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीको भनाइ छ ।

पुर्वीचौकी  गाउँपालिकाले पनि सचेतनाका कार्यक्रम तथा स्थानीयलाई मास्क र साबुन वितरण गर्दै आएको छ । जिल्लामा  २० बेडको आइसोलेसन कक्ष तयार गरिएको छ ।

इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार कोरोना भाइरसको सङ्कमण रोक्न नेपाल सरकारले घोषणा गरेको लकडाउनको प्रभाव बजार र राजमार्ग क्षेत्रमा देखिए पनि ग्रामिण क्षेत्रमा भने पूर्णरूपमा कार्यान्वयन भएको छैन् । राजमार्ग र बजार क्षेत्रहरू सुनसान भएपनि गाउँघरमा भने दैनिक कामकाग चलिरहेकै छ ।

जिल्लाका  १० ओटै स्थानीय तहहरूले हालसम्म ७ सय २ जना क्षेमताको क्वारेन्टाइन तायर गरेका छन् । स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा हालसम्म भारतबाट फर्किएका ३ सय १७ जना मात्रै  बसेका छन् । भारतबाट फर्किएका अधिकाङ्स नेपाली नागरिकहरू क्वारेन्टाइनमा बसेका छैनन् ।

चैत १९ गते बिहान मात्रै जिल्लाको पञ्चेश्वरस्थित माहाकाली नदीमा ट्युबबाट तरेर सुर्खेत जिल्लाका ३७ जना नेपाली नागरिकहरूले नेपाल प्रवेस गरेका छन् । तिनिहरूको गाउँपालिकाले स्वास्थ्य परीक्षण गरेको छ भने उनीहरूलाई सम्बन्धित ठाउँमा पठाउने बारेमा छलफल भइरहेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले भनाइ छ ।  सुदूर र कर्णाली प्रदेशको मुख्य नाका बैतडीको जुलाघाटमा अलपत्र परेका २ सय २७ जना नेपाली नागरिकलाई भारतीय सरकारले आफ्नो क्वारेनटाइनमा राखेको छ ।

कारोना भाइरस सतर्कताका लागि सिगास गाउँपालिकाका दुई स्थानमा हेलिप्याड बनाइएको छ  । सडक सञ्जालसँग नजोडिएको गाउँपालिकाका वडा नम्बर २  गाँजरी र वडा नम्बर ८ लेकममा कोरोना भाइरसबाट सङ्क्रिमत भएकाहरूलाई तत्काल जिल्लाबाहिर लैजानका लागि हेलिप्याड बनाएको गाउँपालिकाले जनाएको छ ।

लकडाउनको समय अझै थप भए जिल्लामा खाद्यान्नको अभाव हुने दखिएको छ । जिल्लामा तीन महिनाका लागि २ लाख क्विन्टल खाद्यान्न आवश्यक पर्ने भएपनि हाल ८५ हजार क्विन्टल मात्रै खाद्यान्न मौजात रहेको छ । जिल्लाको डिलाशैनी गाउँपालिकामा खाद्यान्न अभाव हुने सम्भावना भएकाले बजार अनुगमन र तथ्याङ्क सङ्कलन गर्नका लागि  चैत १९ गते गाउँपालिकामा बैठक बसेको पालिका अध्यक्ष उकेन्द्र बोहराले बताउनु भयो । जिल्लामा स्वास्थ्यकर्मीहरूको लागि पीपीइ प्रयाप्त नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर बसन्तराज जोशीले भनाइ छ  ।

इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भूपेन्द्र बिष्टका अनुसार अमरगढी नगरपालिकाले ब्लड बैंक, डडेल्धुरालाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, डडेल्धुराले सञ्चालनमा ल्याएको ब्लड बैंकलाई स्वास्थ्य सुरक्षा सामाग्री अन्तर्गत एक थान पीपीइ सेट, एक थान एन ९५ मास्क र १० थान सर्जिकल मास्क प्रदान गरेको छ ।

अजयमेरू गाँउपालिका – २ कोखबसानामा रहेको विन्द्राधुरा पन्नडा सामुदायिक वन उपभोक्ता समुहले आफ्ना सम्पुर्ण उपभोक्ताहरूलाई साबुन र मास्क वितरण गरेको छ । सामुदायिक वन समुहको चैत १७ गतेको बैठकको निर्णय अनुसार सम्पुर्ण उपभोक्ताहरूलाई प्रतिव्यक्ति ६ पिसका दरले ४ हजार ९ सय ४४ साबुन र  ८ सय २४ जनालाई मास्क वितरण गरेको सामुदायिक वनका अध्यक्ष भरत सार्कीले बताउनु भयो ।

विश्वमा कोरोना भाइरसको सङ्क्रण फैलिएसँगै नेपालमा समेत यसको सङ्क्रण देखीएपछि यसको रोकथामका लागि स्थानीय स्तरबाट पनि विभिन्न प्रयासहरू भइरहेका छन् ।

सामुदायिक वनका हरेक उपभोक्तालाई कोरोना भाइरसको सङ्क्रणबाट बच्नका लागि सचेतना अपनाउन र लकडाउनको समयमा घरभित्रै वस्न आग्रह गरिएको सामुदायिक वनका सचिव पार्वतीदेवी भाटले बताउनु भयो ।

लकडाउन उल्लङ्घन गरी सवारी साधन चलाएको भन्दै चैत २० गते विहान ३१ ओटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा विना पास सडकमा गुडरिहेका मोटरसाईकलहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय,डडेल्धुराका डिएसपी दधिराम न्यौपानेको जानकारी दिनु भएको छ ।

जिल्लाको बागबजार, तुफानडाडा र स्याउले क्षेत्रमा विनापास सञ्चालनमा रहेका मोटरसाईकल नियन्त्रणमा लिएर लकडाउनको परपालना गर्ने सहमतिका आधारमा र कारोना भाइरसको सम्भावित जोखिमका बारेमा सम्झाई बुझाई छोडिएको डिएसपी न्यौपानेले बताउनु भयो ।

इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लाको सदरमुकाम र अन्य ब्यापारी क्षेत्र कोल्टि रिठाबजार, बेतालमाण्डौ बजार, बाम्क बजार, ताप्रीसेरा बजार र तिपाडा बजारका पसलहरू पूर्णरूपमा बन्द रहेका भए पनि ग्रामीण बस्तिहरूमा लकडाउनको पूर्ण पालना भएको छैन् । लकडाउन भइरहेको अवस्थामा पनि अन्य जिल्लाबाट भित्रिने क्रम नरोकिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेको भनाइ छ ।

जिल्ला अस्पताल बाजुरामा दुई बेड, जिल्ला समन्वय समितिको सभा हलमा १० बेड र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दुई बेड गरी १४ बेडको आइसोलेसन कक्ष तयार गरिएको छ ।

कोरोनाको अशङ्कामा एक जनालाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरी उपचार भइरहेको र उनको नमुना परीक्षणका लागि धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रूपचन्द्र बिश्वकर्माले जानकारी दिनु भएको छ ।

जिल्लामा कुल १८ ओटा क्वारेन्टाइन तयार गरिएको छ । चैत २० गते १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने ९२ जनालाई अगाडीदेखि नै क्वारेन्टाइनमा राखिदै आइएको छ । हालसम्म ६ हजार ३ सय ६६ जनालाई हेल्थ डेस्कमार्फत स्क्रिनिङ्ग गरिएको जनाइएको छ ।

भारत तथा अन्य मुलुकबाट हजारौँको संख्यामा फर्किएका भए पनि यहाँका स्थानीय तहसँग हालसम्म कुनै तथ्याङ्क छैन् । सम्बन्धित स्थानीय तहका वडाहरूलाई तथ्याङ्क संकलन सुरू गर्न भनिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेको भनाइ छ ।

जिल्लास्थित स्वास्थ्य सस्थामा अतिअवाश्यक सुरक्षाका सामाग्री नभएका कारण उपचार गर्न समस्या भएको स्वास्थ्यकर्मीहरूले गुनसो गर्दै आएका छन् ।

इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुंगानाका अनुसार कोरोना भाइरसको सम्भावित जोखिमका विरूद्ध जिल्लामा १० ओटै स्थानीय तहले विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने, क्वारेन्टाइन निर्माण गर्ने, औषधि, खाद्यन्न, मास्क वितरण गर्ने आपतक र आपतकालिन कोष स्थापना गर्ने कार्य गरिरहेका छन् ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा बाधा पार्नेलाई सङ्क्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन बमोजिम कारवाही र सजाय गर्ने जिल्ला प्रशासन कार्यालय, अछामले सूचना जारी गरेको छ । प्रहरीले बजार र स्थानीय तहका केन्द्रमा गस्तीमार्फत नागरिकलाई घरमै बस्न सुझाव दिइरहेको छ ।

मंगलसेन नगरपालिकाले वडा तहमै गएर घरघरमै स्थानीय नागरिकलाई  मास्क वितरण  गरिरहेको छ । मंगलसेन नगरपालिकाले आफ्नो क्वारेन्टाइनमा रहेका विभिन्न गाउँपालिका र नगरपालिकाका ५३ जनाको आवश्यक प्रबन्ध गरिरहेको नगरका प्रमुख पदमबहादुर बोहराको भनाइ छ ।

पञ्चदेवल विनायक नगरपालिकाले पनि वडा तहमा मास्क वितरण थालनी गरेको नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले जानकारी दिनु भयो ।

भारतबाट आएर घरमा बसेका ढकारी गाउँपालिकाका १ सय २२ जना ज्वरो र रूघाखोकीका बिरामीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाका एक महिलासहित चार जनालाई ज्वरो, रूघाखोकी देखिएपछि वयलपाटा अस्पतालमा राखेर उपचार भइरहेको गाउँपालिकाका उपाध्यक्ष लोकेन्द्र साउँदले जानकारी दिनु भएको छ ।

साँफेबगर नगरपालिकाले वडा तहमा क्वारेन्टाइन तयार गरी क्वारेन्टाइनमा बस्ने व्यक्तिाहरूका लागि खाद्यन्न, लत्ताकपडा र अन्य आवश्यक सामग्री तयारी अवस्थामा राखेको छ ।

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार कोरोना भाइरस (कोभिढ १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको चैत २० गते बसेको बैठकले लकडाउनलाई व्यवस्थित गर्न सात ओठा निर्णयहरू गरी सूचना जारी गरेको छ । नेपाल सरकारको निर्णयबमाजिम प्रमुख जिल्ला अधिकारीको सयोजकत्वमा बसेको बैठकले डाइलोसिस गर्ने बिरामीलाई निवाद रूपमा अस्पताल जान दिने, जिल्लास्थित बैंकहरूमा भिडभाड नहुने गरी चैत २३ गतेदेखि बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म देनिक दुई घण्टा खोल्न दिने, भिडभाड नहुने गरी स्थानीय कृषकहरूले गहुँ काटने र थ्रेसर चलाउन पाउने,कुखुराको दान धुवानी साझ ८ बजेदेखि रातको समयमा गर्न दिने, प्रमुख प्रशासकिय अधिकृतको रोहवरमा निरिक्षण गरी क्वारेन्टाइन सञ्चालन गर्ने, लकडाउन उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिइ नगरपालिकाले तोकेको र भिमदत्त नपाको बैजनाथा माध्यमिक विद्यालयमा राख्ने र दैनिक उपभोग्य बस्तुको सहज आपुर्तीका लागि स्थानीय तहमा सञ्चालन गरिएका घुम्ती पसल सेवालाई थप सुदृढ र व्यवस्थित गर्ने निर्णय गरेको छ ।

कोराना भाइरसको सम्भावित सङ्क्रणको रोकथामका लागि जिल्लामा हालसम्म ३ सय ४० बेडको क्वारेन्टाइन तयार गरिएको छ । २५ बेडको आइसोलेसन कक्ष तायर गरिएको छ । स्वास्प्रस्वास ,रूवाखोकि र ज्वरोको समस्या भएका दुई जनालाई आइसोलेसन बेडमा भर्ना गरी उपचार भइरहेको छ । भारत लगायत अन्य मुलकबाट ४ हजार २ सय ८२ जना फर्किएको जिल्ला प्रशासनसँग तथ्याङ्क रहेको भए पनि हाल ३८ जना मात्रै क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालयले आद्यवधिक गरी प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

 

अन्य

भिडियो