कोरोना भाइरसको सन्त्रासका कारण भारतमा मजदुरी गर्दै आएका नेपालीहरू अझै नेपाल फर्किने क्रम जारी नै छ । भारत र नेपालमा लकडाउन हुनुको साथै सीमा नाका समेत बन्द भएको अवस्थामा नेपाल आउन थालेका नेपालीहरू दश गजा क्षेत्रमा बस्न बाध्य भएका छन् । भने खुला सिमाना भएका कारण लुकिछिपी नेपाल भित्रिने नागरिकहरूका कारण कोरोना सङ्क्रमण भित्रिन सक्ने जोखिम समेत रहेको छ ।
बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न ठाउँबाट आएका १ सय ८१ जना नेपालीहरू चैत १८ गतेदेखि सिमा नाकामा खुला आकास मूनि बस्दै आएका छन् । उनीहरू तीनदिनदेखि खुल्ला आकाशमुनी कष्टकर जीवन बिताइरहेका छन् । सडकको सुताई, लामखुट्टेको टोकाई र भोको पेटले उनीहरू झन् बिरामी पर्ने जोखिम बढेको छ ।
उनीहरू नेपाल–भारत सीमानाका दशगजा छेउमै रहेका रुखमुनी रात कटाउन बाध्य भइरहेका छन् । आफुहरु क्वारेन्टाइनमा बस्न तयार रहँदा समेत बाँके प्रशासन र जनप्रतिनिधिले बेवास्ता गरेको उनीहरूको गुनासो छ । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गराएर व्यवस्थित रुपले क्वारेन्टाइनमा राख्नुपर्ने भएपनि स्थानीय प्रशासनले प्रवेश गराउन माथिबाट आदेश नभएको भन्दै उद्धारकालागि पहल गरेको छैन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सीमा नाकाबाट कसैलाई पनि आवत–जावत गर्न नदिन गृह मन्त्रालयबाट कडाई गरिएको बताएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काकाअनुसार चैत २० गते विहान दश बजेसम्म पनि नेपालीहरू सीमानाकामै बेवारिसे छन् । भारतले रूपैडिहाको क्वारेन्टाइनमा राख्न लैजान खोजेपनि उनीहरू जान मानेका छैनन् । उनीहरूले खाना पानी माग अनुसार पाएका छैनन् भने औषधि समेत पाएका छैनन् । भारतको रुपैडिहामा सयौंको संख्यामा रहेका नेपाली नागरिकले नेपालगन्ज नाकाबाट सहजै प्रवेश गर्न नपाएपछि बाँकेको नरैनापुर, साईगाउँ, राप्तीपारी, खयरभट्टी लगायतका छोटी नाकाबाट समेत नेपालीहरू नेपालगञ्जमा प्रवेश गरिरहेका छन् ।
दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार जिल्ला लकडाउन पछि खाद्य समस्या देखिएको छ । स्थानीय तहले खाद्य सङ्कट देखिएका क्षेत्रमा दाल, चामल, नुन, तेल, सोयाविनलगायतका खाद्य सामग्री वितरण गरि रहेका छन् भने खाद्य सङ्कट हुन सक्ने विपन्न परिवारहरुको तथ्याङ्क सङ्कलनको काम अगाडि बढाइएको छ । जिल्ला हालसम्म १६ जनाको स्वाव टेष्ट गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरेको छ । हाल तीन जनालाई आइसोलेशन कक्षमा राखिएको छ ।
दाङको वेलझुण्डीमा सञ्चालन गरिएको कोरोना विशेष आइसोलेशन अस्तालमा जनरल ल्याव सेवा सुरू गरिएको छ । कोरोनाको आशङ्का गरिएका विरामीहरुमा अन्य रोग पनि हुन सक्ने र समयमै जाँच हुन नसक्दा मृत्यु समेत हुनसक्ने भन्दै अन्य रोगको परीक्षणकालागि जनरल ल्याव सेवा सुरू गरिएको छ ।
पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्लामा चैत २० गतेको अवस्था सामान्य रह्यो । चैत २० गते जिल्लाको बगनासकाली गाउँपालिकाले नौ वटा वडामा रहेका गरिव बिपन्न तथा दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका ३ सय ८० घरलाई प्रतिघर २० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ केजी नुन बितरण गरेको छ । गसैगरी तिनाउँ गाउँपालिका–२ का ५२ घरपरिवारलाई छनौट गरि राहत बितरण गरिएको र अन्य वडामा समेत सोही अनुसारको राहत बितरण गरिने भएको छ ।
तानसेन बजारका विभिन्न स्थान, रामपुर बजार क्षेत्र र बगनासकाली गाउँपालिका अन्र्तगत बिभिन्न बजारहरुमा किटनासक बिषादी छर्कने कार्य भएको छ । पाल्पा अस्पताल, मिसन अस्पताल, रामपुर अस्पताल र लुम्विनी मेडिकल कलेजले ज्वरो, रुघाखोकी लगायतका बिरामीकालागि छुट्टै फिभर क्लिनिक सञ्चालनमा ल्याएर जाँच भइरहेको छ । जिल्लाका २३ स्थानमा ३ सय ४६ वेड क्षमताको क्वारेन्टाइनमा ४१ जना रहेका छन् । जिल्लामा हालसम्म १ हजार २ सय ३१ जना विदेशबाट फर्किएका छन् । जिल्लाका सबै स्थानीय तहहरुले स्वास्थ्य संस्थाका लागि आवश्यक पिपिई सेटको ब्यवस्था गरेको जनाएका छन् ।
कपिलवस्तु जिल्ला प्रतिनिधि पार्बती आचार्यका अनुसार हाल सम्म ५ सय २२ जना क्वारेन्टाईनमा रहेका छन । क्वारेन्टाइनमा बसेका मध्ये ९५ प्रतिशत बढी भारतबाट फर्केकाहरू छन ।
सिमा नाका बन्द गरिएको भएपनि भारतका विभिन्न शहरमा रोजगारीका लागि गएकाहरु कोरोनाको डरले अझै दैनिक सयांै व्यक्तिहरू चोर नाका हुदै फर्किने गरेका छन् । यसरी लुकीछिपी भित्रिने र क्वारेन्टाइनमा नबस्दा कपिलवस्तु उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरूको भनाई छ । ९३ किलो मिटरको खुला सीमाका कारण निगरानी राख्न अप्ठेरो रहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल बताउनु भयो । टोल छिमेक गाउलेहरुले नै यस बिषयमा गंभीर हुनु पर्ने र त्यस्ता ब्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाईनमा पठाउनु पर्ने उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार स्वास्थ्यर्मीहरुलाई पीपीई प्रदान गराउने भनिए पनि प्रदेश ५ स्वास्थ्य आपुर्ति व्यवस्था केन्द्रले अझै नपठाएको बताउनु भयो ।प्रमुख जिल्ला अधिकारी दिर्घ नारायणपौडेलले खुला सिमा मुख्य चुनौती भए पनि सिमा क्षेत्रबाट नेपाल प्रवेश गर्न नदिन थप कडाई गरिने बताउनुु भयो ।
गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार सबै स्थानीय तहले अहिले बिपन्न परिवारहरुको पहिचान गर्ने र राहत वितरणको काम गरिरहेका छन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यावस्था केन्द्र बुटवलबाट प्राप्त ३ सय थान माक्स र १५ थान गाउन प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले गुल्मी अस्पताल तम्घास र स्वास्थ्य कार्यालय गुल्मीलाई प्रदान गर्नुभएको छ । इस्मा गाउँपालिकामा अहिलेसम्म कुनै स्वास्थ्य संस्थामा पीपीइ थिएन् । चैत १९ गते इस्माली समाज काठमाण्डौले पीपीइ १३ थान, सेनिटाइजर आठ थान र मास्क ५० थान प्रदान गरेको छ ।
स्थानीय तहमा प्रदेश सरकारले अहिलेसम्म कुनै किसिमको सहयोग प्राप्त नभएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले गुनासो गर्नु भएको छ । स्थानीय तह र सदरमुकाम अस्पतालमा स्वास्थ्य सामग्रीको आवश्यकता परेको भएपनि अहिलेसम्म गुल्मी अस्पतालमा तीन सय माक्स र १५ थान ग्राउन तथा ५ लाख रूपिँया बाहेक केहि नपाएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताउनु भयो । केहि दिन अघि प्रदेश ५ को मन्त्री परिषद्को निर्णय अनुसार १२ जिल्लाका एम्बुलेन्स चालकहरुलाई पीपीइ दिने निर्णय भए पनि अहिलेसम्म सामग्री नआएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिनुभयो ।
रूपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार सीमामा अलपत्र परेकि सुत्केरी महिलाको चैत १९ गते उद्धार गरिएको छ । पाँच दिनकी सुत्केरी महिला दिल्लीबाट बस र पैदल यात्रा गरेर सिमामा आई पुग्नु भएको थियो । तिलोत्तमा नगरपालिका–१० कान्छी बजार स्थायी घरभई भारतको दिल्लीस्थित गाजियाबादमा बस्दै २८ वर्षिया लक्ष्मी परियार दर्जीलाई चैत १९ गते बेलहिया नाका सुनौलीबाट तिलोत्तमा नगरपालिकाका उद्धार गरिएको छ ।
कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै त्रासमा रहेकी लक्ष्मी पाँच दिनको नवजात शिशु बोर परिवारसँग्ै नेपाल फर्केकी थिइन् । सिमा नाकामा बन्द भएपछि तीन देखि अलपत्र पर्नुभएकी परियारलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तसँगको छलफल गरी भारतीय सुरक्षा निकायहरुको समन्वयमा नेपाल ल्याइएको हो । अन्य नेपालीहरुसँगै आफ्नो घर फर्किन लागेकी लक्ष्मीलाई सुरक्षाकर्मीहरुले सीमा कटेर आउन नदिएपछि उहाँ अलपत्र पर्नुभएको थियो ।