कोरोना भाइरस(कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन गरेसँगै मदन भण्डारी राजमार्गको विभिन्न खण्डमा अलपत्र परेका तीन सय ४७ जना मजदूरलाई जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गरी घर फर्काएको छ ।
राजमार्गको उदयपुर–सिन्धुली–भिमान खण्डमा कार्यरत २३ जिल्लाका मजदूरहरू विचल्लीमा परेका थिए । जेडआईईसी शर्मा लामा जेभी कम्पनी मातहतमा कार्यरत मजदूरहरू सातायता सडकमै बेवारिसे अवस्थामा रहेका थिए ।
लामा शर्मा जेभिका इञ्जिनियर सिताराम दाहालका अनुसार दाङ्ग जिल्लाका ५६ जना, कैलालीका ५३ जना, दोलखाका २३ र सल्यानका ३० जनालाई घर फर्काइएको छ ।
अलपत्र परेका मजदूरहरूलाई घरसम्म पुर्र्याउने जिम्मेवारी कम्पनीको भएकाले प्रशासनसँग समन्वय गरी घर फर्काइएको दहालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराएपछि सवारी व्यवस्था गरेर मजदूरको घर–घर पुर्र्याएको उहाँको भनाई छ ।