INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश २ मा कोरोना भाइरस रोकथामका लागि सकारात्मक पहल

प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै विभिन्न सकारात्मक क्रियाकलापहरू भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि स्वास्थ्यकर्मीहरूलाई घरघरमा पठाएर जनचेतना फैलाउने देखि अलपत्र भएकाहरूलाई उद्धार गर्ने सम्म विभिन्न तरिकाले सहयोग एवम् तयारी गरि सकारात्मक पहल भएको जिल्ला प्रतिनिधिहरूले सूचना पठाउनु भएको छ ।

धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार क्षीरेश्वरनाथ नगरपालिकाले नगर भित्रका दैनिक ज्याला मजदुरी गर्ने गरिब, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत वितरण गरेका छन् । नगरप्रमुख योगेन्द्र पंजियारले वडा नं. ५ का २ हजार घरपरिवारलाई राहत वितरण प्रदान गर्नुभएको हो । जनताको घरदैलोमै पुगेर राहत स्वरुप पाँच केजी चामल, आधा किलो दाल, आधा लिटर खाने तेल, एक केजी नुन, आधा केजी सोयाबिन, आधि केजी मुरही (भुजा), आधा केजी दालमोढ र एउटा डिटोल साबुन बितरण गर्नुभएको हो ।

कोरोना भाइरसका कारण चैत ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेपछि समस्यामा परेका परिवारलाई नगरले सहयोग गरेका छन् । क्षिरेश्वरनाथ नगरपालिकाले ८ हजार ६ सय घरधुरीलाई एउटा एउटा डिटोल साबुन वडा अध्यक्ष मार्फत पुर्याउने लक्ष्य राखेको जानकारी समेत गराउनुभयो । उहाँले यस अघि प्रत्येक वडामा मास्क समेत वितरण गरिसकेको जानकारी दिनुभयो ।

क्षिरेश्वरनाथ नगरपालिकामा भारतलगायत अन्य खाडी मुलुकबाट घर आएका ८२ जनालाई आफनै घरमा सर्तकताका साथ होम क्वारेन्टाइनमा रहन निर्देशन दिएको नगरप्रमुख पंजियारले बताउनुभयो । नगरपालिकाले नगरभित्रका वासिन्दालाई कोरोनाको शंका लागेको खण्डमा क्वारेन्टाइनमा राख्नुपर्नेमा वडा नं. ५ स्थित निमार्णाधिन अवस्थामा रहेको नगरको भवन र वडा नं. ८ स्थित हारसरको जिवन केन्द्रलाई क्वारेन्टाइनको लागि तयारी अवस्थामा राखेको प्रमुख पंजियारले बताउनुभएको छ ।

हरियो तरकारी र पाकेको गहुँ घर भित्रयाउन बन्दोवस्त मिलाउन पहल

प्रमुख पंजियारका अनुसार क्षिरेश्वरनाथ नगरपालिकामा बढ्दो शहरी क्षेत्रका साथै ग्रामिण क्षेत्रसम्म फैलिएकाले शहरी क्षेत्रमा हरियो साग, तरकारी र फलफूल लगायतका दैनिक उपभोग्य खाद्य सामाग्री विक्री वितरणका लागि सामाजिक दुरी बढाएर बिहान र बेलुका पसल खोल्न नगरका व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ ।

खाद्य पदार्थ खरिद गर्न आउने ग्राहकहरुलाई सामाजिक दुरीको घेरा बनाई खरिद गर्ने बन्दोबस्त गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ । हरियो साग र तरकारीको विक्रीका लागि विहान र बेलुका मुख्य मुख्य चोकमा ठेला लगाएर सामाजिक दुरी बनाई सुरक्षाकर्मीहरुको निगरानीमा विक्री वितरण गर्न लगाएको मेयर पंजियारले बताउनुभयो ।

क्षिरेश्वरनाथ नपाका ग्रामिण क्षेत्रका किसानहरुको खेतमा अहिले गहुँ, रहर, मुसुरोलगायतका बालीहरु घर भित्रयाउने समय भएकाले किसानलाई पाकेको बाली काटेर घरसम्म लैजाने बन्दोबस्त मिलाउनको स्थानिय प्रशासनसँग आग्रह गर्नुभयो । मेयर पजियारले भन्नुभयो, ‘तयार भई सकेको बाली समयमा काट्न र थन्काउन नपाउँदा अहिले हावा हुरी र पानीको बेला भएकोले किसानलाई ठूलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । त्यसैले प्रशासनलाई आग्रह गर्दछु कि किसानलाई बाली भित्र्याउन बन्दोबस्त मिलाउनमा सहयोग गर्नुपर्दछ ।’

कोरोना भाइरस फैलिन नदिन सम्पूर्ण शक्ति लगाउन आठै जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन

प्रदेश २ सरकारले विश्वभर फैलिँदै गरेको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि अपनाउनुपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था अपनाउन चैत १८ गते सुरक्षा परिषदको बैठकबाट निर्देशन दिएका छन् । प्रदेश २ का मुख्यमन्त्रीको निवासमा ८ जिल्लाका सुरक्षा निकायका अधिकारीहरुसंग बैठक गर्दै मुख्यमन्त्रि लालवावु राउतले कोरोना भाइरस नियन्त्रणको लागि जस्तो सुकै कदम चाल्नु परेपनि पछि नहटन निर्देशन दिनुभएको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा देश र जनताको जन धनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभयो ।

अस्पतालहरुमा सामान्य रुघा खोकी समेतको उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेल चक्र्याई गरि रहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरुको सूचि तयार गरि प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिनुभयो ।

राज्यको सेवा र सुविधा लिने सवैले अहिलेको महामारीको समयमा सहयोग गर्नुपर्नेमा मुख्यमन्त्रि राउतले जोड दिन निर्देशन दिनुभयो ।

महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझाव दिदै मुख्यमन्त्री राउतले रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुकोे बैठकमा प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायले सम्बन्धित मन्त्रालयको निर्देशन जाहेर गर्नुभएको थियो । बैठकमा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले अहिले विषेश परिस्थितमा जिल्ला जिल्लामा गर्नु पर्ने काम र कानूनी अवस्थावारे जानकारी गराउनुभएको थियो ।

बैठकमा चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकहरु सहितको उपस्थिति रहेको थियो ।

महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार चैत १८ गते सम्ममा धनुषाको शहीदनगर नगरपालिकामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण हुन सक्ने सम्भावित नगरवासीहरूका लागि ३० वेडको क्वारेन्टाइन तयारी गरेको छ । शहिदनगरपालिकाका नगरप्रमुख उदयकुमार बरवरिया यादवको विशेष सक्रियतामा यदुकुहास्थित जनता माध्यमिक विद्यालयमा क्वारेन्टाइनको रूपमा व्यवस्थापन गरिएको हो ।

भारतलगायत खाडी मुलकबाट नगरक्षेत्रमा ८२ जना आएकाले गर्दा उनीहरूलाई विशेष निगरानीमा राखेको नगरपालिकाले जनाएको छ । सहिद नगरपालिकाले चैत १० गतेपछि नगरमा आएको व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

पछिल्लो एक हप्तामा बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमै बोलाएर प्रारम्भिक जाँच गर्ने र शङ्का लाग्नेलाई रेफर गर्ने तथा सामान्यलाई केही दिनसम्म निगरानीमा राखेपछि घर फर्काउने तयारी गरेको मेयर उदयकुमार बरवरियाले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि खटिने स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई दैनिक ५ सय दैनिक भत्ताको व्यवस्था गरेको छ । उपचारमा सलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना भाइरस लागेर उपचार गर्नुपरेमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले तिर्ने र मृत्यु भएको खण्डमा नगरपालिकाबाट १० लाख राहत प्रदान गरिने निर्णय शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि साढे ३ करोड रुपैयाँ सहयोग

चैत १८ गते सङ्घीय सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्रीह डा. सुरेन्द्र कुमार यादवले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि साढे ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराउनु भएको छ ।

महोतरी क्षेत्र नम्बर ४ का सांसद समेत रहनु भएका डा. यादवले संसदीय कोष मार्फत कोराना भाइरस (कोभिड १९) को नियन्त्रण तथा यसबाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन आफ्नो क्षेत्रका पाँच ओटा पालिकाका लागि सहयोग रकम उपलब्ध गराउनु भएको हो ।

सहयोग रकम सम्सी गाउँपालिकालाई १ करोड र औरही, रामगोपालपुर, मनरासिस्वा र सोनमा गाँउपालिकालाई ५०—५० लाखको दरले प्रयोग हुने र आवश्यकता अनुसार सो रकममा थप गरिने डा. यादवले बताउनुभयो ।

डा. यादवले सहयोग गरेको रकमबाट प्रत्येक पालिकाहरुमा कोरोना सङ्क्रमणको शंकास्पद व्यक्तिहरु र खास गरेर देश बाहिरबाट आएकाहरुलाई क्वरेण्टाइन निर्माण लगायत आवश्यक पर्ने कुराको व्यवस्थापन गरिने बताउनु भयो ।

सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार विष्णु गाउँपालिकाले पालिकाको सबै वडाहरुमा स्वास्थ्य कर्मीहरु खटाएको छ । गाउँपालिकाले सबै वडाहरुमा स्वास्थकर्मीहरुको टिम लिएर प्रत्येक घरहरुमा पुगि कोरोना भाईरस सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वमा तिब्र गतिमा फैलिरहेको नोबेल कोरोना भाईरस छिमेकी मुलुक चीन तथा भारतबाट नेपालमा सर्ने जोखिम उच्च भएको कारण प्रत्येक घरमा गएर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, पोस्टर तथा पम्पलेट टाँसिनुको साथै घरको सबै सदस्यहरुको कोरोना भाईरस जाँच गर्न लागेको बिष्णु गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सञ्जिव सापकोटाले जानकारी गराउनु भएको छ ।

सरकारले दिएको निर्देशन अनुसार महिला तथा पुरुष स्वास्थकर्मीहरुको टिमलाई दुई–दुईजनामा विभाजन गरी पालिकाको प्रत्येक वडाहरुको प्रत्येक घरमा गई कोरोना भाईरस सम्बन्धि चेतना जगाउँदै सबै घरको भित्तामा पोस्टर तथा पम्प्लेट टाँस्नुको साथै कोरोना भाईरसको जाँच समेत गर्ने गरेको सापकोटाले बताउनु भएको छ ।

बिष्णु गाउँपालिका भारतसँगको खुल्ला नाकामा जोडिएकोले यो गाउँपालिकामा कोरोना भाईरसको उच्च जोखिममा छ । त्यसैले यो गाउँपालिकाको सात मुख्य ठाउँहरुमा हेल्प डेस्क सञ्चालन गरिएको थियो तर सरकारले नियम परिवर्तन गरी पुरै देशलाई लक डाउन गरेपछि हेल्प डेस्क हटाइएको र गाउँपालिकाले सबै वडाहरुमा निशुल्क साबुन तथा मास्क वितरण गरेको सापकोटाले बताउनुभयो ।

गोडैता नपा–५ स्थित रामबन टोलमा चैत १६ गते कोरोना भाइरसका एक जना शङ्कास्पद व्यक्ति जसको १०५ डिग्री सम्मको ज्वरो आउने र रुघाखोकी लाग्ने गरेका कारण परिक्षणका लागि निजलाई एम्बुलेन्स मार्फत काठमाण्डौ पठाइएको गोडैता नगरपालिकाको प्रमुख मेयर यादवले बताउनु भएको छ ।

कोरोना भाइरसबाट प्रभावित भारतको केरला राज्यबाट केहि दिन अघि उनी आफ्नो घर रामबन आएका थिए । भारत तथा अन्य मुलुकबाट आएका २१ जनालाई गोडैता नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकिय अधिकृत बिकाउ कुमार यादवले जानकारी गराउनु भएको छ ।

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार विश्वभर देखिएको कोरोनाको महामारीको सङ्क्रमणलाई रोकथाम गर्न सिरहा जिल्लामा १७ ओटै स्थानीय तहको सहकार्यमा ४० बेडको आईसोलेसन अस्पताल र १७ ओटै स्थानीयतहमा रहने गरी १ सय ९१ बेडको क्वारेनटाइन तयार पारेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी गुरागाइका अनुसार सिरहा नपा स्थित बज्रमोहन झब्बुराम बिधालयमा १३ बेड, लहान नपा पडरिया थारुटोल बिधालयमा १५ बेड, धनगढीमाई नपाको नैनपुर स्वास्थ्यचौकीमा ५ बेड, गोलबजार नपाको गोलबजार बिधालयमा २० बेड, मिचैया नपाको मारुती होटलमा १० बेड र होलिडे होटलमा १५ बेड, कर्जन्हा नपाको जनसेवा बिधालयमा १० बेड, कल्याणपुर नपाको स्वास्थ्यचौकी भवनमा १० बेड, सुखिपुर नपाको सुखिपुर माविमा ६ बेड त्यसैगरी भगवानपुर गाउपालिकाको आधारभुत बिधालय अभयनगरमा ३ बेड, सखुवानन्कारकट्टी गाउपालिकाको महेश्वारी माविमा ६ बेड, नवराजपुर गाउपालिकाको जनता माविमा ६ बेड, औरही गाउपालिकाको सुन्दुर जनता माविमा ७ बेड, बरियारपट्टी गाउपालिकाको बरियारपट्टी बिधालयमा १० बेड, अर्नमा गाउपालिकाको कुबि श्रेष्ठ बिधालयमा ५ बेड, ब्रहमपुरी माविमा ६ बेड, लक्ष्मीपुर पतारी गाउपालिकाको स्वास्थ्यचौकी भवनमा २५ बेड, विष्णुपुर गाउपालिकाको जनता माविमा १२ बेड र नरहा गाउपालिकाको हेल्थपोष्ट भवनमा ७ बेड गरी जम्मा १ सय ९१ बेडको क्वारेन्टाइन तयार भएको बताउनु भयो ।

क्वारेन्टाइनमा बस्ने बिरामीहरुको लागि खाने सम्पुर्ण व्यवस्थाहरु स्थानीय तहलेनै गरेको र सुरक्षा तथा उपचारको लागि सुरक्षा निकाय र स्वास्थ्य कार्यालयले सहयोग गरेको जानकारी प्रमुख जिल्ला अधिकारी गुरागाईले दिनु भयो ।

त्यसैगरी सिरहा अस्पतालमा ७ बेड, लहान अस्पपतालमा ५ बेड, महेन्द्र गेनाई अस्पतालमा १८े व्यवस्था गरको मेडिसिटि अस्पतालमा ५ बेड र फुलकुमारी अस्पतालमा ५ बेड गरी ४० बेडको आसुलेसन बेडहरु तयार गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । महेन्द्र गेनाइ अस्पताललाई हाल अस्थाइ रुपमा  आजै देखि संचालन हुने गरी कोरोना भाइरस विशेष अस्पताल सञ्चालनमा ल्याएको बताउनु भयो ।

लहान अस्पतालका मेसु सुनिल कुशवाहाले कोररोना उपचारको लागि सबै तयारी पुरा भएको भए पनि प्रयाप्तरुपमा पिपिइ को व्यवस्था नभएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार क्वारेनटाइनमा शंकास्पद बिरामीहरुरुलाई निगरानीमा रराख्ने क्रम जारी रहेको  बताउनु भयो । वहाका अनुसार केही व्यत्तिहरु क्वारेन्टाइनमा बसेर गइ सकेका छन भने चैत १७ गते बिहान सम्म २५ पुरुष र २ महिलाहरु बसी रहेको  बताउनु भयो ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तरीको पूर्व–पश्चिम राजमार्गमा अलपत्र परेका ५० जना नेपाली श्रमिकहरूको चैत १५ गते राति उद्धार गरिएको छ । सप्तरीको विभिन्न भागसहित मोरङ्गको बिराटनगर, सुनसरीको इटहरी र दुहबीबाट चर्को घाममा भोकै, प्यासै घरका लागि हिँडेका सर्लाही, रौतहट र सिरहाका श्रमिकहरूलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उद्धार गरिएकाहरूमा सर्लाहीका ३८, रौतहट, बारा र सिरहाका चार÷चार जना श्रमिकहरू रहेका छन् ।

लकडाउनका बेला ठाउँ–ठाउँमा थकाइ मार्दै हिँडिरहेका उनीहरूलाई अलपत्र अवस्थामा सडकमा फेला पारी गन्तव्यका लागि पठाइएको एसपी कृष्ण प्रसाईले बताउनु भयो ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामको लागि सरकारले गएको चैत ११ गतेदेखि देशैभरि लकडाउन गर्दा कारखानाले समेत विदा दिएपछि श्रमिकहरू अलपत्र परेका हुन् ।

खाद्यान्न अभाव तथा यातायात नपाउँदा सप्तरीसहित मोरङ्ग र सुनसरीको विभिन्न कारखानामा कार्यरत मजदुरहरू घरका लागि पैदल नै हिँडेका थिए ।

लकडाउनका बेला पूर्व–पश्चिम राजमार्गमा हिँडिरहेका श्रमिकहरूलाई फेला पारी सोधपुछ गर्दा अलपत्र परेको थाहा पाएपछि उद्धार गरिएको एसपी प्रसाईले जानकारी दिए ।

श्रमिकहरूलाई कञ्चनरूप नगरपालिका र रूपनी गाउँपालिकाले चिया, नास्ता खुवाई ना १ क ६२६७ नम्बरको टिप्पर व्यवस्था गरेपछि गन्तव्यसम्म पुग्न सजिलो होस् भनेर गृह मन्त्रालयको आदेशमा पास उपलब्ध गराएर सर्लाहीको लालबन्दीसम्म पठाइएको डिएसपी तिलक भारतीलै जानकारी दिनु भयो ।

कारखाना बन्द भई विदा दिएपछि घर जाने अन्य कुनै उपाय नरहेकाले बाटोमा थकाई मार्दै जसोतसो पैदल हिँडेको उनीहरूले बताए ।

बजार बन्द रहेको र घरबाहिर हिँडन नमिल्ने अवस्थामा प्रहरीको लाठीको कुटाई सहँदै आइपुगेका उनीहरूलाई सप्तरी प्रहरीकै सहयोगमा गन्तव्यसम्म पठाइएकोमा श्रमिकहरूले खुशी व्यक्त गरे ।

तीन÷चार दिनको पैदल यात्रा गरी जोखिमपूर्ण रूपमा घर पुग्न खोज्ने श्रमिकहरूलाई रूपनीमा भेला गरी चिया नास्ता खुवाई टिप्परको व्यवस्था गरेर सर्लाहीको लालबन्दीसम्म पठाइएको रूपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले बताउनु भयो ।

कोरोना सङ्क्रमितको उपचारका आवश्यक सामग्रीहरु प्राप्त

कोरोना भाइरसका शङ्कास्पद विरामीहरुको उपचारमा प्रयोग हुने आवश्यक सामग्रीहरु राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चैत १७ गते आईपुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौंले चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुका लागि पठाएको पिपिई, गाउन, मास्कलगायत सामाग्रीहरु आएको अस्पतालले जनाएको छ । मन्त्रालयको आपूर्ति व्यवस्था महाशाखाले पठाएको २० थान पिपिई सेट, एक सय थान गाउन, पाँच हजार थान मास्क, पाँच बोतल सेनिटाइजर प्राप्त भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनु भयो ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट दासका अनुसार स्वास्थ्य सेवा विभाग टेकुबाट पठाएको नौ थान पिपिई सेट, चौधरी समूहबाट पठाएको १५ थान पिपिई सेट पनि प्राप्त भएको छ । कोरोना परीक्षण सम्वन्धी ‘ल्याब टेक्निसियन’का लागि दुई थान पिपिई सेट प्राप्त भएको छ ।

यो सँगै गजेन्द्रनारायण सिंह अस्पतालमा कुल ४६ थान पिपिई सेट र एक सय थान गाउन मौजुद रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. दासले बताउनु भयो । उक्त सामग्रीहरु आइसोलेसनमा पठाईएका कोरोनाका विरामीहरुको उपचारका क्रममा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने जनाईएको छ ।

अस्पतालमा उक्त सामाग्री उपलब्ध भएपछि स्वास्थ्यकर्मीहरुले सुरक्षित महसुस गरेका छन् । तत्कालका लागि विकल्पको रुपमा ४६ थान रेनकोट (वर्साती), ५० थान कपडाको गाउन, क्याप, गमबुट, गोगल्स चश्मा लगायतका सामग्रीहरु व्यवस्था गरिएको थियो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले न्यून श्रोत साधनका बीच सेवा दिँदै आएको जानकारी दिनुहुँदै दासले भन्नु भयो–‘अस्पतालमा सञ्चालित ‘फिभर क्लिनिक’मा चैत १७ गतेसम्म १ सय ५१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ, जसमध्ये २६ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने १३ जनालाई सम्बन्धित नगरपालिका तथा गाउँपालिकाको क्वारेन्टाइनमा निगरानीमा राखिएको छ ।

डा. दासका अनुसार अस्पतालको ‘फिभर क्लिनिक’ मा क्रमशः विरामीहरु घट्दै गएका छन् । चैत १७ गते आठ जना ‘फिभर क्लिनिक’मा आएकोमा सबैलाई परिवारकै क्वारेन्टाइनमा पठाईएको उहाँले बताउनु भयो ।

हाललाई अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सामाग्री उपलब्ध रहेकोले कोरोनाका सम्भावित विरामीलाई आइसोलेसनमा राखेर उपचार गर्न सकिने अवस्था बनेको डा. दासले जानकारी दिनुभयो ।

डा. दासका अनुसार अस्पतालमा कोरोनाका सम्भावित विरामीहरुका लागि ६ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको छ । यसैगरी राजविराज नगरपालिकास्थित छिन्नमस्ता अस्पताल र रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा २०÷२० गरी ४० तथा रुपनी गाउँपालिकास्थित ठाकोदेबी जोगेन्द्र भगत क्षेत्रीय प्रहरी अस्पतालमा १० शैयाको आइसोलेशन वार्ड तयारी अवस्थामा रहेको छ ।

आइसियु सेवा समेत छिन्नमस्ता र युनिक अस्पतालमा उपलब्ध रहेकोले त्यसलाई प्रयोग गर्न सकिने सञ्चालकहरुले प्रतिवद्धता जनाउनु भयो ।

सप्तरीमा ४ सय ४४ शैयाको क्वारेन्टाइन सञ्चालित

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि एकान्तवासमा बस्न सप्तरीको विभिन्न २७ स्थानमा ४ सय ४४ शैयाको क्वारेन्टाइन सञ्चालन गरिएको छ ।

भारतलगायत विदेशबाट आएका व्यक्तिहरुलाई १४ दिनसम्म निगरानीमा राख्न सप्तरीको १८ ओटै स्थानीय तहहरुले आ–आफ्नो श्रोत साधनलाई उपयोग गर्दै क्वारेन्टाइन थप्दै गएपछि सङ्ख्या ४ सय ४४ पुगेको हो ।

राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा २५, कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माविमा १२, वडा नम्बर–१० स्थित बदगामा स्वास्थ्य चौकीमा पाँच,  वडा नम्बर–११ स्थित दुर्गा आधारभूत विद्यालय ठेलियामा १०, वडा नम्बर १२ स्थित शंकर माविमा १२, डाकनेश्वरी नगरपालिका–५ स्थित कच मावि पातोमा ५, बोदे बर्साइन नगरपालिका–५ स्थित जियालाल माविमा १० र जीवनदिप अस्पतालमा ७, शम्भुनाथ नगरपालिका–७ स्थित बुद्धिलाल बिद्या मुनर नमूना मावि भगवतपुरमा १०, सुरुङ्गा नगरपालिका–५ स्थित मसिलाल मावि कुशहामा २०, हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित सकरदही विद्यालयमा २० र वडा नम्बर–११ स्थित सामुदायिक भवनमा ३०, सप्तकोशी नगरपालिका–२ स्थित गोबैज मावि फत्तेपुरमा २१ र वडा नम्बर–१० स्थित जनता मावि भगनी मलेठमा २१ तथा खडक नगरपालिका–९ स्थित स्वास्थ्य चौकी मैना सहर्षबाहुमा २० शैया क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार राजगढ गाउँपालिका–३ स्थित जसमावि नर्घोमा ३०, अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनचेतना मावि घोघिदाहामा २४, छिन्नमस्ता गाउँपालिका ३ स्थित चौरसिया धर्मशालामा २५, महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि पकरीमा २५ र वडा नम्बर ३ स्थित मावि बथनाहामा २५, तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित बृद्धाश्रममा १० र वडा नम्बर–८ स्थित लबनमावि बमनगामा कट्टीमा १५, रुपनी गाउँपालिका ४ स्थित जमुनी मधेपुरा माविमा १०, वडा नम्बर ६ स्थित मावि तेरहौतामा १५, बिष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि बिष्णुपुर कट्टीमा १५, बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियामा १८ र तिरहुत गाउँपालिका–५ स्थित सरस्वती जनता मावि लोहजरामा ४ शैया क्षमताको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

अन्य

भिडियो