कोरोना भाइरसको रोकथामका लागि कर्णालीमा प्रदेश तथा स्थानीय सरकारले विभिन्न प्रयास गरेका छन् । कर्णाली प्रदेशबाट केन्द्रिय प्रयोगशालामा पठाइएका थप ११ जनाको स्वाब परीक्षणको नतिजा नेभेटिभ आएको छ । यस अघि १७ जनाको पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो । चैत १९ गतेबाट सुर्खेतस्थित प्रदेश अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले प्रदेशका दुर्गम जिल्लामा हेलिकप्टरमार्फत औषधि ढुवानी गर्न थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले चैत १८ गते हुम्ला, डोल्पा र मुगुमा हेलिकप्टरबाट औषधि पठाएको जनाएको छ । प्रदेश सरकारले ५० लाख हरेक जिल्ला प्रशासन र २५ लाख जिल्ला अस्पतालमा पठाएको सामाजिक विकास मन्त्री रावलले जानकारी दिनुभयाे । कोरोना भाइरसको सतर्कताका लागि गरिएका पूर्व तयारी र समस्यालाई जिल्लागत रुपमा विश्लेषण गरिएको छ ।
डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार कोरोनाको आशंकामा चैत १८ गते डोल्पामा दुई जनालाई आइसोलेसनमा भर्ना गरिएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका दुई कर्मचारीलाई उच्च ज्वरो, खोकी, आँखा दुख्ने, नाकबाट पानी बग्ने जस्ता लक्षण देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको डा. सिजन रावलले बताउनु भयो ।
आइसोलेसनमा राखिएका कर्मचारी देशभर लकडाउन हुनु भन्दा एक दिन अगाडि नेपालगञ्जबाट डोल्पा आएका थिए । डोल्पाका विभिन्न क्षेत्रमा स्थापना गरिएका क्वारेन्टाइनमा ८७ जनालाई राखिएको भएपनि आइसोलेसनमा बस्ने दुई कर्मचारी नै पहिलो हुन ।
आइसोलेसनमा राखिएका दुई जना बिरामीको स्वाब परिक्षणको लागि चैत १८ गते सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।
उपकरण र औषधि लिएर मुख्यमन्त्री डोल्पा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री नेपाली सेनाको हेलिकप्टरमा औषधि र उपरकण लिएर डोल्पा पुग्नुभएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्रीले चैत १८ गते जिल्ला अस्पताल पुगेर औषधि र उपरकण हस्तान्तरण गर्नु भएको छ ।
मुख्यमन्त्रीको टोलीबाट सर्जिकल मास्क २ हजार, पिपीई ६० थान, लुज ग्लोब्स १ हजार, एन नाइन्टी मास्क २५ थान, पारासिटामोल ५ हजार टयाब्लेटस, साधारण मास्क एक हजार थान, गाउन ५ थान, ब्रोसर ५ सय थान, बिरामीको लगत राख्ने किताब १० थान, सेनिटाइजर दुई बोतल, क्यानुला २४ नम्बरकोे २१ थान, २२ नम्बर ३० थान र क्लोरोक्वीन औषधि ५ सय टयाब्लेटस स्वास्थ्य सेवा कार्यालयले बुझेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी देव बहादुर बिसीले जानकारी दिनुभयो ।
आइसोलेसनमा राखिएका बिरामीहरूलाइ भेटेका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले लाजमर्दो आइसोलेसन भएकोले तत्काल बाहिर घर भाडामा लिएर भरपर्दो कम्तीमा पनि ३० सैयाको आइसोलेसन निर्माण गर्न निर्देशन दिनु भएको छ ।
जिल्ला अस्पतालका डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलनमा
स्वास्थ्य सेवा प्रमुखलाई थुनामा राख्न खोजेको भन्दै जिल्ला अस्पताल डोल्पाका डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
जिल्ला विपद व्यवस्थापनको बैठकमा छलफलकै क्रममा स्वास्थ्य सेवा प्रमुखलाई प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले कामबाट पन्छिन खोजेको भन्दै हिरासतमा राख्न भनेपछि स्वास्थ्यका कर्मचारी आन्दोलित भएका हुन ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रशासनको नेतृत्वमा सदरमुकाममा क्वारेन्टाइन थप गर्न र कम्तीमा पनि ३० सैयाको विशेष व्यवस्थापनसहितको आइसोलेसन निर्माण गर्न निर्देशन दिएपछि सो व्यवस्थापनको लागि बसेको बैठकमा स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले काम गर्न नसक्ने र आफूलाई कारवाही गरे हुन्छ भन्दै बाहिरिएपछि कारवाही गर्नको लागि आदेश दिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनु भयो ।
स्वास्थ्य सेवा प्रमुखले संकटको घडिमा काम गर्न सक्दैन भन्दै पन्छिन नपाउने प्रजिअ सुनारको भनाई छ ।
‘अहिले दुई बेडको आईसोलेसन कक्ष छ तर बिजोग छ बारम्बर स्वास्थ्य सेवाका बिषयमा कुरा गर्दा विभिन्न बाहनामा पन्छिने र गैरजिम्मेवार कुरा गरेकोले कारवाही गर्ने भनेकै हो कारवाही हुन्छ’ प्रजिअ सुनारले ठोकुवा गर्नु भयो ।
तर यता स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले आईसोलेसनको सबै व्यवस्थापन आफूलाई गर्न भनेपछि सबै गर्न नसक्ने मात्र भनेको जिकिर गर्नुभयो ।
स्वास्थ्यकर्मीलाई हेपियो हामी अब कुनैपनि सम्झौता गर्दैनौ डाक्टर थुन्ने प्रमुख जिल्ला अधिकारी चाहिदैन भन्दै स्वास्थ्यका कर्मचारी सडकमा उत्रिएका छन् ।
हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले चैत अन्तिमसम्मको हाजिर गरी घर बसेका छन् ।
कोरोना भाइरस कोडिभ (१९) को संक्रमण नेपालमा देखिएपछि स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछोड्न निर्देशन दिएको भएपनि उक्त स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीहरूले कार्यालयमा पुगेर शनिवारको समेत महिनाभरीको हाजिर गरी स्वास्थ्य चौकी छोडेका छन् ।
चैत ८ गतेदेखि स्वास्थ्य चौकीमा संयोजकसहित अन्य स्वास्थ्यकर्मी नभएपछि सेवा लिन गएकाहरू रित्तो हात फर्किनु परेको स्थानीय बाँचु शाहीले गुनासो बताउनु भयो ।
स्वास्थ्य चौकीमा दुई जना अहेब, एक जना एचए, तीन जना अनमी र एक जना कार्यालय सहयोगी गरेर सात जनाको दरबन्दी रहेपनि हाल करारमा कार्यरत एक जना अनमीको भरमा कार्यालय सञ्चालित छ ।
आवश्यक औषधि लिनको लागि कार्यालय सहयोगीलाई सदरमुकाम पठाए पनि औषधि लिएर आई नपुगेको अनमी संगिता रोकायाले जानकारी दिनुभयो । यद्यपी गाउँपालिकाले औषधि पठाइरहेको दावी गरेको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक दान बहादुर बोहराले यस विषयमा बुझन खोज्दा चौकी इन्चार्जले आफ्नो फोन नउठाएको भन्दै शनिबार हाजिर गर्न नमिल्ले र विदा नबस्न नपाइने अवस्थामा बेवास्ता गर्ने कर्मचारीलाई कारबाही गरिने बताउनु भयो ।
जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार कोभिड १९ नियन्त्रणका लागि भेरी नपाले नगरभित्रका ५६ टोलमा टोल स्तरीय छरितो प्रतिकार कार्यदल गठन गरेको छ ।
भारत लगायतका देशबाट मानिस जिल्ला भित्रिरहेको र उनीहरूबाट कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेतनाका लागि ५६ ओटा टोल स्तरीय छरितो प्रतिकार कार्यदल, १३ ओटा वडा स्तरीय सिघ्र ब्यवस्थापन समूह र एउटा नगरस्तरीय तत्काल व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।
वडाध्यक्षले नेतृत्व गरेको समूहले दैनिक उपभोग्य बस्तु लगायतको आपूर्तिमा सहजता ल्याउने र नगरप्रमुखले नेतृत्व गरेको व्यवस्थापन समितिले समग्र नगर भित्रको व्यवस्थापनलाई ध्यान दिने नगरप्रमुख सिपी घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको नेतृत्वमा शिक्षक, बुद्धिजीवी, टोलसुधार समिति र स्वास्थ्यकर्मीलाई समेटेर बनाइएका विभिन्न समितिमा एकै पटक तीन सय २७ जना ब्यक्तिलाई परिचालित गरिएको छ ।
भेरी नपामा भारत र अन्य मुलुकबाट हालै आएका ६० जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता
जाजरकोटको नलगाड नपाले कोभिड—१९ विरुद्धको अभियानमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप तलबको थप ५० प्रतिशत रकम दिने निर्णय गरेको छ ।
स्वास्थ्य संस्थामा काम गर्ने प्रत्येक स्वास्थ्यकर्मीलाई मासिक तीन हजार जोखिम भत्ता र संक्रमण नियन्त्रणमा खटिने सुरक्षाकर्मीलाई दैनिक दुई सय ५० रुपियाँ भत्ता दिने निर्णय गरेको प्र्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनु भयोे ।
यसैगरी कोरोना रोकथामका लागि खटिने जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको मनोबल उच्च राख्न पाँच लाखको जीवन विमा गर्ने र यस अवधिमा बिरामी हुने राष्ट्र सेवकलाई ५० हजार रुपियाँसम्मको औषधोपचार गर्ने निर्णय समेत गरेको छ ।
रुकुम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार रुकुम पश्चिममा जिल्ला बाहिरबाट आएका शंकास्पद व्यक्तिलाई राख्नका लागि स्थानीय तहहरूले वडा स्तरमै क्वारेन्टाइन निर्माण गरेका छन् ।
अहिलेसम्म २ सय ५२ जना क्षमताका २३ वटा क्वारेन्टाइन निर्माण गरिसकेको र अझै पनि निर्माण गरिरहेको स्थानीय तहले जनाएका छन् ।
बाँफीकोट गाउँपालिकामा भने मापदण्ड अनुसार क्वारेन्टाइन बनाउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले जानकारी दिनुभयो । अन्य क्वारेन्टाइनमा आधारभूत मापदण्ड बमोजिम खान बस्नको सुविधा सम्बन्धित स्थानीय तहहरूले गरेका छन् भने चौरजहारीस्थित सितल माविमा रहेको क्वारेन्टाइनमा टेलिभिजन र वाईफाईको सुविधा समेत दिइएको नगरपालिकाले जनाएको छ ।
जिल्ला अस्पताल सल्लेमा पाँच र चौरजहारी अस्पतालमा ८० बेडको आइसोलेसन निर्माण गरिएको छ । भारतबाट आएका एक व्यक्तिलाई कोरोनाको आशंकामा निगरानीमा राखिएपनि स्वाब परीक्षणपछि कोरोना नभएको पुष्टी भएको छ । क्वारेन्टाइनमा बसेका २४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
प्रत्येक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गरीरहेका छन् । वडा वडामा मास्क र हात धुने साबुन वितरण, माइकिङ गरीरहेका छन् भने टोलटोलमा गएर हात धुने तरिका सिकाइरहेको गाँउपालिकाका प्रमुखले जानकारी दिनु भयो । होम क्वारेन्टाइनमा बसेका व्यक्तिका लागि वडा अध्यक्ष र वडा सचिवले निगरानी गरीरहनु भएको छ ।
सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार सिद्ध कुमाख गाउँपालिकाले २५ वेडको क्वारेन्टाइन तयार गरेको अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिनुभयो ।
भारत लगायत अन्य मुलुकबाट सल्यानमा आएका नागरिकहरूमा कोरोना भाइरसको आशंका लागेमा तत्काल निराजन माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने र निरन्तर स्वास्थ्य अवस्था जाँच गरिने अध्यक्ष चलाउनेले बताउनुभयो । शुद्ध पिउने पानी, शौचालय, चमेनागृह लगायतको व्यबस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
वनगाड कुपिण्डे नगरपालिकाले प्रभाकर मावि देवस्थलमा २० बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । विपन्न परिवारलाई खाद्यान्नका लागि चार जनाको परिवार सम्मलाई २ हजार, ४ जना भन्दा माथि भएमा ३ हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको मेयर गोविन्द पुनले बताउनु भयो।
जिल्ला अस्पताल सल्यानमा एम्बुलेन्स नभएपछि प्रमुख जिल्ला अधिकारीको आग्रहमा छत्रेश्वरी गाउँपालिकामा रहेका एम्बुलेन्स मध्ये एउटा चैत १९ गतेदेखि जिल्ला अस्पताल खलंगामा पठाइएको छ । उक्त एम्बुलेन्सलाई जिल्लाका सम्पूर्ण बिरामीले प्रयोग गर्न पाउने वातावरण मिलाइएको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो ।
यस्तै जिल्ला अस्पताल सल्यानमाफर्त नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएका तीन जनाको रिर्पोट नेगेटिभ आएको छ । उनीहरूलाई आजै डिस्चार्ज गरिने जिल्ला अस्पताल सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताउनुभयो ।
दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार दैलेखका ११ ओटै पालिकाले भारतबाट फर्किएकाको निगरानी बढाएका छन् । कोरोना संक्रमणको त्रासको नाममा स्वास्थ्यकर्मीले अरु विरामी हेर्नै छाडेको गुनासा आएका छन् ।
शंकास्पद विरामी वा निगरानी गर्नुपर्ने विदेशबाट आएकाहरूलाई प्रहरीले क्वारेन्टाइनमा ल्याउने काम गरिरहेका छन् । विदेशबाट आएकामध्ये चार ओटा पालिकाले क्वारेन्टाइनमा २ सय ५० जनालाई राखेका छन् । क्वारेन्टाइनमा भएका सबैको स्वास्थ्य परीक्षण गरिएको छ, तर स्वाब लिनुपर्ने खालको शंकास्पद नभएको भन्दै लिइएको छैन । यस अघि आठबीस नगरपालिकाको राकम स्वास्थ्य चौकीले पठाएका दुई जनाको स्वाब मध्ये दुबै जनामा कोरोनाको लक्षण नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंले चैत १६ गते रिपोेर्ट दिएको थियो ।
कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार तीनवटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको कालिकोट जिल्लामा १४ आइसोलेसन बेड, ६ सय १३ वेड क्षमताको क्वारेनटाइन निमार्ण भएका छन् । भारत तथा अन्य देशबाट फर्केका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द पौडेलले बताउनु भएको छ ।
यस्तै स्वास्थ्य कार्यालय, कालिकोटका सूचना अधिकारी कटक महतका अनुसार जिल्लाका नरहरीनाथ, पलाता, भहावै गाउँपालिकमा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको छ । क्वारेनटाइनमा आवश्यक पर्ने खाद्यान्न, लत्ता कपडा, स्वास्थ्य सामग्रीको समस्या छ ।
यसैगरी नरहरिनाथ गाउँपालिका कुमालगाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सिटामोल र जीवनजल बाहेक कुनैपनि औषधि नभएको प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँका इन्चार्ज डा. जितेन्द्र महत्तोले बताउनुभयो ।
चैत १८ गतेसम्म जिल्लामा ४ सय २९ जनाको स्वस्थ्य परीक्षण भएको छ । जाँच गरिएका मध्ये सवैको स्वास्थ्य ठिक रहेको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. भिष्म पोखरेलले जानकारी गराउनु भयो । ८१ जना क्वारेनटाइनमा राखिएकोमा २७ जना घर फर्केका छन् भने २३ जना नयाँ भर्ना भएका छन् । हाल क्वारेनटाइनमा ५४ जना रहेका छन् ।
मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार सोरु गाउँपालिले दुबैबाट आएका दुई जना र भारतबाट आएका आठ जनालाई क्वारेन्टाइनमा राखेको छ । आवश्यक जाँचका लागि पिपिई, थर्मगन नभएको र क्वारेन्टाइनमा बस्नेलाई शौचालय तथा पानीको असुविधा भएको स्वास्थ्य इन्चार्ज चरित्र धामीले जानकारी दिनुभयो ।
खत्याड गाउँपालिकामा भारतबाट आएकाहरू क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन् । १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने कुरालाई बोझको रुपमा लिएर दिनभर जंगलमा, रातिमा घरमा बस्ने गरेको र परिवारले पनि सही सूचना दिन नमानेको पालिका अध्यक्ष उब्जन बहादुर शाहीले बताउनुभयो ।