INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले हिरासतमा कुटपिट गरेको पीडितको आरोप  

विदेह नपा–५ एकराही बस्ने २५ वर्षीय सुनिल कुमार खत्वे मण्डललाई औरहीको तीनकौरिया प्रहरी चौकीका इन्चार्ज तथा असई मोदनारायण यादवले चैत १५ गते विहान घरबाट गिरफ्तार गरी हिरासतमा कुटपिट गरि यातना दिएको पीडितको आरोप छ ।

photo20200330dhanusha

कुटपिटबाट दुबै खुट्टामा चोट लागेको मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरिएको छ । पीडित मण्डललाई कोरोना भाइरसको महामारीको कारण घरमै बसेर आराम गर्न भन्दै फागुन १७ गते साँझ ६ बजे अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

मण्डललाई घरबाटै विना पूर्जी गिरफ्तार गरि प्रहरी चौकी तीनकौरियामा राखेर दिनभर पैताला र पेटमा पाइप, हात र बुटले कुटपिट गरि घाइते बनाएको पीडितका दाजु सुकिल कुमार खत्वे मण्डलले बताउनु भयो ।

पीडित मण्डलका सालो धनौजी गाउँपालिका–३ बस्ने २० वर्षीय अनिलकुमार मण्डलले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका एक युवतीलाई लिएर भागेको घटनामा सुनिलकुमार खत्वे मण्डलले सहयोग गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।

यसअघि पीडित मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन ९ गते गिरफ्तार गरि सार्वजानिक अपराधमा मुद्दा चलाएको थियो । मण्डल जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा फागुन १३ गते प्रहरीले धरौटीमा रिहा गरेको थियो ।

मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीको आदेशमा फागुन १५ गते गिरफ्तार गरेको तीनकौरिया चौकीका असइ मोदनारायण यादवले बताउनु भयो ।

गिरफ्तार गरि तीनकौरिया प्रहरीचौकीका असई मोदनारायण यादव लगायत चार जना मिलेर पैताला र पेटमा कुटपिट गरेको विदेह नपा–६ का वडा अध्यक्षा जयराम मण्डल केवटले जानकारी दिनु भएको छ ।

प्रहरीले गिरफ्तार गरेको थाहा पाएर तीनकौरिया प्रहरी चौकी पुगेका विदेह नगरपालिकाका मेयर बेचन दासको पहलमा विदेह नपा–६ का वडा अध्यक्ष जयराम मण्डल केवट, स्थानिय प्रितम खत्वे र सुकिल मण्डलको रहोवरमा दिउँसो ३ बजे लिखित कागजनामा गरेर छोडिएको वडा अध्यक्ष जयराम मण्डलले बताउनु भयो ।

प्रहरी चौकीमै पीडित सुनिलले आफुलाई प्रहरीले हिरासतमा कुटपिट गरेको भन्दै आफु प्रहरी चौकीबाट घर नजाने अडान लिएका थिए, वडाध्यक्ष जयराम मण्डल, प्रितम दास र सुकिल कुमार मण्डलको लिखित जमानतमा कागज गरेर घर फर्के लगतै सुनिल मण्डल सोही दिन बेलुका ५ बजे हिड्न नसकेर गम्भिर भएपछि एम्बुलेन्समा राखेर राति नै प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको पीडितकी आमा समतौलिया देवी यादवले बताउनु भयो ।

धनुषाका डिएसी रामेश्वर कार्कीले सुनिल कुमार खत्वे मण्डललाई जिल्ला प्रशासन कार्यालय धनुषाले दिएको तारेखअनुसार तीनकौरिया प्रहरी चौकीमा तारेख लिएको दावी गर्नु भएको छ ।

डिएसपी कार्कीले प्रहरी हिरासतमा प्रहरीले कुटपिट नगरेको दावी गर्नु भयो । उहाँले विवाह गर्ने उमेर नपुगेका केटीलाई उनकै सालोले लिएर भारततर्फ लिएर भागेका छन् ।

केटी भगाउनमा मण्डलको सहयोग रहेकाले गर्दा भागेका केटा र केटीलाई उपस्थित गराउनका प्रहरीले दबाब सृजना मात्रै गरेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो