बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीका सशस्त्र प्रहरी मनोज चौधरीले चैत १६ गते निर्घात कुटपिट गरेको पिडितहरु आरोप छ ।

भारत बिहारको लौकहा बजारबाट औषधिलगायत खाद्य सामाग्री लिएर नेपाल फर्किने क्रममा दुर्व्यवहार गर्नुका साथै भुइँमा घोप्टो पारेर कुटपिट गरेको पीडितहरुले बताउनु भयो । घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिनु भयो ।
भारतबाट अवैध रुपमा निरन्तर समान ओसारपसार गर्नेहरुलाई पटक–पटक सम्झाउँदा पनि नेपाल–भारत सिमा–नाका बन्द र लकडाउनको उपेक्षा गर्दै आएकाले दशगजा क्षेत्रमा नियन्त्रणमा लिई सम्झाउन खोज्दा गालीगलौज गरेकाले कुटपिट गरिएको आरोपित चौधरीले बताउनु भयो । सामान ओसारपसार गर्ने आठ जना मध्ये अरु फरार भएको उहाँले जानकारी दिनु भयो ।
कोरोना भाइरसको सङ्क्रमणका डरले हातले समाउने, छुने, कुटने आदेश नदिएको भन्नुहुँदै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आदेश विपरित कुटपिट गर्ने आरोपित चौधरीलाई राजविराज बोलाईएको र छानबिन गरी नियम अनुसार कारवाही गरिने जानकारी दिनुभयो ।
यसैगरी राजविराजस्थित नेपाल टेलिकमका ‘फिल्ड वर्कर’ राकेश मण्डललाई चैत १६ गते क्वाटरबाट कार्यालयतर्फ जाँदै गरेका बेला प्रहरी टोलीले कुटपिट गरेको पीडितले बताउनु भयो । आफु कार्यालय हिँडेको जानकारी दिई कर्मचारी परिचय–पत्र देखाउँदा पनि प्रहरीले लाठीले कुटेको मण्डलले गुनासो गर्नुभयो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आगोले जलेर घाइते भएकी पत्नीको स्याहार गर्न बसेका बोदे बर्साइन नपा–१० का ३० वर्षीय बबलेश यादव समेत चैत १५ गते प्रहरीको कुटपिटबाट घाइते हुनु भएको छ । राजविराज नपा–७ बाट खर्च सापटी लिएर अस्पताल फर्किरहेका बेला प्रहरीले दुबै खुट्टामा लाठीले निर्ममतापूर्वक कुटपिट गरेको यादवले बताउनु भयो । उहाँको राजविरास्थित अस्पतालमा उपचार भयो ।
यसैगरी ग्यास लिएर मोटरसाइकलमा फर्किरहेका राजविराज नपा–५ सरस्वती टोलका तरुण मिश्रलाई चैत १५ गते विहान प्रहरीले कुटपिट गरेको पीडितले गुनासो गर्नुभयो । विहान ६ देखि ९ बजेसम्म तरकारीलगायत अत्यावश्यक दैनिक उपभोग्य सामाग्री किनमेल गर्न छुट दिएको सुचनाबमोजिम ग्यास लिएर फर्किरहेको देखेर पनि प्रहरीले लाठीले १० पटक कुटपिट गरेको मिश्रले गुनासो गर्नुभयो ।
लकडाउनको पूर्ण पालना हुनुपर्ने सरकारी निर्णयको समर्थन गर्दै छिन्नमस्ता गाउँपालिका–५ लोखरमका जयप्रकाश ठाकुरले निर्धारित गरिएको समयमा दुध बिक्री गर्न, औषधि, तरकारी, ग्यास किन्न घरबाहिर निक्लिएका बेला कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो ।