INSEC Online

📅 २०८३ जेष्ठ २१

आइसोलेसनमा रहेकाहरूको स्वास्थ्यमा सुधार

कोरोनाको सङ्क्रमणको आशङकापछि आइसोलेसनमा राखिएकाहरुको स्वास्थ्यमा सुधार भएको छ ।

सिन्धुली अस्पतालको आइसोलेसनमा रहेका पाँच जनाको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेले जानकारी दिनु भयो । उहाँको अनुसार चारजनाको रिपाेर्ट नेगेटिभ प्राप्त भएको छ । एकजनाको उपचार चलिरहेको छ ।

कोभिड–१९ को सङ्क्रमण हुनबाट बच्न नेपाल सरकारले गरेका लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरपालिकाले सबैलाई घरमा नै बस्न आग्रह गरेको छ । जसका लागि वडा कार्यालयहरू तथा टोल विकास संस्थाहरूले निगरानी बढाएका छन् । सबैको घर–घरमा पुगेर कोरोना भाइरसबाट बच्ने उपायको बारेमा जानकारी दिदै आएको दुधौली नगरपालिका मेयर घनश्याम राउतले बताउनु भयो ।

दुधौली नगरपालिकाले विदेशबाट आएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरी रहेको छ । जनप्रतिनिधि र नगर प्रहरी परिचालन गरेर विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गरिएको हो ।

हालसम्म ३६ जनाको लगत सङकलन भएको मेयर राउतले बताउनु भयो । उहाँका अनुसार ती व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा राखेर घरमै स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाईएको छ । उनीहरूको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मी र नगर प्रहरीको एक टोली खटाईएको छ । नियमित रुपमा घर घरमा नै पुगेर स्वास्थ्य जाँच गर्दै आएको मेयर राउतले बताउनु भयो ।

दुधौली नगरपालिकाले नगरपालिका छिर्ने नाकामा बाहिरबाट आउने व्यक्तिलाई रोक लगाउन प्रहरी परिचालन गरेको छ । दुधौलीमा रहेको कवर्ड हलमा १० बेडको क्वारेन्टाईन निर्माण गरिएको छ भने नगरपालिकाले कमलामा मावि भलुवाईमा थप १० बेडको क्वारेन्टाईन निर्माण गरिरहेको राउतले बताउनु भयो । नगरपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक पर्न सात सेट पिपीई पनि खरिद गरेको जनाएको छ ।

तीनपाटन गाउँपालिका–१ वेलघारीले विदेशबाट आएका ६ जनालाई होम क्वारेन्टाइनमा राखेको छ । उनीहरूको नियमित रुपमा स्वास्थ्य जाँच भै रहेको वडा अध्यक्ष गोविन्द राउतले बताउनु भयो । वडामा विदेशबाट आएका व्यक्तिहरूको पहिचान गरी उनीहरूको नियमित चेकजाँच भै रहेको उहाँले बताउनु भयो ।

यसैबीच रामेछाप जिल्लामा आइसोलेसनमा राखिएकाहरूको स्वास्थ्यमा पनि सुधार आएको इन्सेक जिल्ला प्रतिनिधि नवराज पथिकले जानकारी दिनुभयो ।  आइसोलेसनमा राखिएकाहरूको स्वास्थ्यमा  क्रमिक सुधार भएकाे  जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।

चैत १५ गतेसम्म साँझसम्म विभिन्न स्थानमाबाट जिल्ला भित्रिएका ५४ जनालाई सङ्क्रामक कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने खतरालाई ध्यानमा राखि क्वारेन्टाइनमा राखिएको छ ।
गोकुलगङ्गा गाउँपालिकामा सातजना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ६ जना, रामेछाप नगरपालिकामा १७ जना र खाँडादेवी गाउँपालिकामा १० जना लिखुतामाकोशी गाउँपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले जानकारी दिनुभयो ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ ओटै स्थानीय तहले आइसोलेसन वार्ड र सामुदायिक क्वारेन्टाइन स्थापनाको कामलाई तिब्रता दिइएको छ । जिल्लाका विभिन्न पालिकाहरूमा आवश्यक पर्दा चिकित्सकहरू गएर उपचार गर्न खालका ४५ ओटा आइसोलेसन कक्ष र १ सय ६७ क्वारेन्टाइन स्थापना भई सकेका छन् ।

अन्य

भिडियो