कर्णाली प्रदेश सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामूदायिक अस्पताल रुकुम पश्चिमलाई आइसोलेसन अस्पतालको रुपमा तोकेको छ ।
चैत १३ गते बसेको मन्त्रीपरिषदको बैठकले उक्त अस्पतालमा आवश्यक व्यवस्थापनका लागि क्रमशः १÷१ करोड र ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । यसैगरी अत्यावश्यक सामग्री उपलब्ध गराउन नेपाल सरकारसंग आग्रह गर्ने र उपलब्ध हुन नसके आफैं खरिद गर्ने पनि बैठकको निर्णय छ ।
कर्णाली प्रदेश सरकारद्वारा स्थापित विपद व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहित सबै मन्त्रीहरूको एक महिनाको पारिश्रमिक जम्मा गरिने भएको छ । उक्त कोषमा रकम जम्मा गर्न जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापारी लगायत सबैलाई अपिल गरेको छ ।
यसैबीच मुख्य मन्त्रीको स्वकिय सचिवालयको मुख्य पदमा कार्यरत ५ जनाले १ महिनाको पारिश्रमिक उक्त कोषमा दाखिला गर्ने निर्णय गरेका छन् ।
५ जनाको १ महिनाको पारिश्रमिकमा सामाजिक सुरक्षा कर कट्टी गरेर प्राप्त हुने १ लाख ९८ हजार ८ सय ९० रूपियाँ कोषमा दाखिला गरिने प्रमुख स्वकिय सचिव खेमवहादुर सिंहले जानकारी दिनुभयो ।
कोरोना भाइरसको अवस्था तथा नियन्त्रणका लागि प्रदेश सरकार तथा स्थानीय तहबाट भएका प्रयासका सम्बन्धमा जिल्ला जिल्लाबाट प्राप्त समाचार यस प्रकार रहेका छन् ।
सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार काठमाडौं र भारतका विभिन्न स्थानबाट आई सम्पर्कमा आएका व्यक्तिलाई वीरेन्द्रनगरस्थित क्वारेन्टाईनमा राखिएको छ । होटल अशोकामा ७८, अन्तरनिरभर समाजको भवनमा २४ र जन उमाविको भवनमा २४ गरी जम्मा १ सय २६ जनालाई जिल्ला जनस्वास्थ्यको टोलीले चेकजाँच गरिराखेको छ ।
भेरीगंगा नपा–४ दमार गाउँमा चार, पंन्चपुरी नपा–६ मा एक, बराहाताल गाउँपालिका–५ मा एक, दैलेख घर भई हाल वीरेन्द्रनगर नपा–१२ नेवारेमा बस्ने एक जना गरी जम्मा ७ जना प्रहरीको सम्पर्कमा होम क्वारेन्टाईनमा बसिरहेको जिल्ला प्रहरीले जनाएको छ ।
यसैगरी लकडाउनको अवज्ञा गरेको भन्दै चैत १३ गते ६१ वटा सवारी साधन र पाँच जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डोल्पा जिल्ला प्रतिनिधि विष्णु प्रसाद देवकोटाका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि पूर्व सर्तकता अपनाउन नेपाली सेनाको सुलिगाडस्थित इश्वरी बक्स गुल्मले घरदैलो अभियान गरिरहेकोे छ ।
सेनाले सदरमुकाम दुनैबजार कालागौडा लगायतका बजार क्षेत्रमा लकडाउनको समयमा घरबाट बाहिर ननिस्कउ, सफासुग्घर रहौ, भिडभाडमा नजाऔं, साबुन पानीले हात धोऔं, कोरोना हावासरी फैलने सरुवा रोग भएकाले समयमै सुरक्षित रहांै भन्ने सन्देशसहित सडकमा माइकिङ्ग गरिरहेको छ ।
गुल्म डोल्पाका सह सेनानी माधवप्रसाद उपाध्यायले अहिलेको समयमा जनचेतनामुलक सन्देशले ठूलो सहयोग गर्ने भएकाले आफूहरूले पूर्व सर्तकता अनुरुप अभियान सुरु गरेको बताउनु भयो ।
डोल्पाको ठुलिभेरी नपा–३ स्थित सदरमुकाम दुनैको सरस्वती माद्यमिक विद्यालय दुनैमा २० बेड क्षमताको क्वारेनटाईन स्थापना गरिएको छ । यसैगरी जिल्ला अस्पताल दुनैमा चार बेड र रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाको भवनमा चार बेड गरेर आठ बेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ ।
त्रिपुरासुन्दरी नपाले खदाङ्ग र त्रिपुराकोटमा स्वास्थ्य परिक्षणको लागि हेल्थ डेक्स स्थापना गरेर स्वास्थ्य परीक्षण गरिदै आएपनि प्रयाप्त औषधि र उपकरणको अभावमा स्वास्थ्यकर्मी नै जोखिममा पर्ने अवस्था रहेको त्रिपुराकोट कोटबगरस्थित स्थापना गरिएको हेल्थ डेक्समा खटिएका स्वाथ्यकर्मी शेरबहादुर कठायतले बताउनु भयो ।
जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार जाजरकोट स्थित नेपाली सेनाको ज्वालादल गणले जिल्लामा भित्रिएका ४९ जना सैनिकलाई आफैले निर्माण गरेको ब्यारेक भित्रको क्वारेन्टाईनमा राखेको जनाएको छ ।
तालिम, विभिन्न कार्यक्रम, घरविदा र सरुवा भई जिल्लामा आएका सैनिकलाई क्वारेन्टाईनमा राखिएको ज्वाला दल गणका गणपति प्रमुख सेनानी सुरेन्द्रप्रताप रावलले जानकारी दिनुभयो । उहाँका अनुसार सम्भावित महामारी विरुद्ध हाई अलर्ट अवस्थामा रहन विदा, काज तथा तालिममा रहेका सबै सैनिकलाई ब्यारेक बोलाइएको र १४ दिन क्वारेन्टाईनमै राखिने छ । आवश्यक परे शंकास्पद या संक्रमितहरूलाई सेनाको क्वारेन्टाईनमा राख्न सकिने सेनाले जनाएको छ ।
आपतकालिन अवस्थामा मात्र अस्पताल आउन आग्रह
स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले आपत कालिन अवस्थाबाहेक अस्पताल नआउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
‘प्रेसर, दम, सुगर जस्ता दिर्घ रोग भएका र हाल औषधि सेवन गरिरहेका विरामीले प्रयोग गरिरहेको औषधिलाई नियमित गर्न र दाँत, मुख, गिजामा सामान्य समस्या भएकालाई पनि यतिवेला अस्पताल नआउन उचित हुन्छ’ स्वास्थ्य सेवा कार्यालयले निकालेको सूचनामा भनिएको छ ।
जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले चेकजाँचमा प्रयोग गर्ने गाउन, ग्लोब्स, क्याप, मास्क, बुट, हेन्ड सेनेटाईजर लगायतका व्यक्तिगत सुरक्षाका सामग्री नहुँदा आफूहरू असुरक्षित भएको गुनासो गरेका छन् । ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको जिल्ला अस्पतालमा हाल १८ जना मात्र कार्यरत छन् ।
अस्पतालमा ३० बेडको क्वारेन्टाईन स्थापना गरिए पनि जनशक्ति, उपकरण र औषधिको अभाव देखिएको छ ।
रुकुम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा कोरोना भाइरसको लक्षण देखिएका बिरामीको चेकजाँच र उपचार गर्नका लागि आवश्यक सामाग्री नहुँदा समस्या भएको छ । पछिल्लो समय भारतबाट फर्किएका व्यक्तिहरूमा कोरोनाको आशंका भएकाले त्यस्ता बिरामी बढ्न थालेपछि उपचारमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।
कोरोना संक्रमणको आशंकामा चेकजाँचका लागि स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) र अन्य उपकरणहरू नभएकाले त्यस्ता बिरामीको चेकजाँच गर्न स्वास्थ्यकर्मी समेत डराउने गरेकाले बिरामी मर्कामा परेका छन् । जिल्ला अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री नभएको, अहिले सामाग्रीको नाममा मास्क मात्रै भएको र त्यो पनि पर्याप्त मात्रामा नभएपछि एउटै मास्क चार÷पाँच दिनसम्म प्रयोग गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा. महेश चौलागाईँले बताउनुभयो ।
उहाँका अनुसार कोरोना लक्षणका बिरामी अस्पतालमा उपचारको लागि आएपछि बिरामीलाई सेवा दिन सक्ने अवस्था छैन । अहिलेसम्म जिल्ला अस्पतालमा पाँच जना कोरोना लक्षणका बिरामी आएको र तिनीहरूको कोरोना परीक्षणको लागि नमूना पठाइएको उहाँको भनाई छ । कर्णाली प्रदेश अस्पतालबाट आएका ल्याब टेक्निसियन कलम थापाले आशंकामा रहेका ती व्यक्तिहरूको नमूना परीक्षणका लागि लिएर गएको डा चौलागाईले जानकारी दिनुभयो ।