होटलमा यौनधन्दा सञ्चालन गरी वेश्यावृत्ति गरेको कसुरमा चितवन अदालतले तीन जनालाई १०/१० वर्ष कैद फैसला गरेको छ । न्यायाधीश अवनि मैनाली भट्टराईको चैत ७ गतेको इजलासले यस्तो फैसला गरेको हो ।
भरतपुर–२९ जुगेडीमा रहेको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक भरतपुर महानगर–२९ जुगेडीका ५० वर्षीय जङ्गबहादुर क्षेत्री र ३९ वर्षीया निर्मला थापा क्षेत्रीलाई १०÷१० वर्ष कैद र १/१ लाख रुपिँया जरिवाना फैसला गरिएको हो । सोही कसुरमा सुनसरी जिल्ला धरान उपमहानगर–८ लेटाङका २४ वर्षीया रोशिका राईलाई ११ वर्ष कैद र १ लाख रुपिँया जरिवाना फैसला भएको चितवन अदालतका सूचना अधिकारी श्रेष्तेदार रुद्रमणी गिरीले बताउनु भयो । जङगबहादुर र निर्मला पति पत्नि हुन् ।
श्रेष्तेदार गिरीका अनुसार मानव वेचविखन तथा ओसारपसार ऐन २०६४ को दफा ११८ को २ अनुसार होटल समेत जफत हुने भनी फैसला भएको छ । १४ वर्षीया बालिका र २२ वर्षीया महिलालाई होटलको कोठामा बन्धक बनाई बेश्यावृत्तिमा लगाएको घटनाको आरोपमा ०७६ मङ्सिर २९ गते गिरफ्तार भएपछि ०७६ पुस २५ गतेदेखि आरोपितहरू पूर्पक्ष थुनामा रहदै आएको श्रेष्तेदार गिरीले बताउनु भयो ।