बागमती प्रदेश सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलन नदिनको लागि तयारी थालेको छ ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा चैत ६ गते बसेको बैठकले पुर्व तयारीको लागि प्रदेश सरकारका पदाधिकारी, प्रशासनिक प्रमुखहरू, सुरक्षा निकायका प्रमुख र स्वास्थ्य क्षेत्रका प्रमुखहरूलाई राखेर विभिन्न निर्णय भएको छ ।
सरकारले प्रदेशका सबै जिल्लामा गरी २ सय बेड आइसोलेसन कक्ष स्थापना गर्ने भएको छ । प्रदेश राजधानी हेटौँडामा मात्र १ सय बेडको आइसोलेसन अस्पताल स्थापना गर्न लागिएको हो । शङ्कास्पद बिरामीहरू निगरानी तथा व्यवस्थापनका लागि प्रदेश राजधानी हेटौँडामा ५ सय शैया क्षमताको क्वारेन्टाइन कक्ष निर्माण गर्न लागिएको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनु भयो । सरकारले हेटौँडाको हेटौँडा एकेडेमीमा २ सय शैया, वनविज्ञान अध्ययन संस्थानमा १ सय, गौरिटारस्थित खेलकुद एकेडेमीमा १ सय र सशस्त्र प्रहरी क्याम्पमा १ सय शैयाको क्वारेन्टाइन कक्ष निर्माण गर्ने मन्त्री दुलालले बताए । अबको एक हप्ता देखि १० दिनसम्म दुबै काम सम्पन्न गर्ने बागमती प्रदेश समाजिक विकास मन्त्रालयका मन्त्री युवराज दुलालले बताउनु भयो ।
यसैगरी सरकारले हेटौँडा अस्पतालमा १ सय, भक्तपुर अस्पतालमा पाँच, सिन्धुपाल्चोक अस्पतालमा पाँच, रसुवा अस्पतालमा चार, नुवाकोट अस्पतालमा पाँच, धादिङ अस्पतालमा पाँच, रामेछाप अस्पतालमा दुई, सिन्धुली अस्पतालमा तीन, चितवनको भरतपुर अस्पतालमा ५०, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा ५० शैयाको आइसुलेशन सहितको व्यवस्थापन कक्ष स्थापना गर्ने जनाएको छ ।
यस्तै हेटौँडा अस्पतालमा १०, भक्तपुर अस्पतालमा पाँच, सिन्धुली अस्पतालमा पाँच, चितवनको भरतपुर अस्पतालमा २०, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा १०, निजी अस्पताल (मेडिकल कलेजहरूमा) १ सय शैयाको भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना गर्ने प्रदेश सरकारको तयारी छ । अहिलेसम्म प्रदेशका विभिन्न जिल्लामा ३० बेडको आइसोलेसन स्थापना गरिस किएको प्रदेश सरकारले जनाएको छ । कोरोनाको सङ्क्रमण देखिएमा विद्यालय नर्सलाई पनि स्वास्थ्य संस्थामा खटाएर काम गरिने मन्त्री दुलालले बताउनु भयो ।
यस्तै बागमती सरकारले कोरोनाको त्रास कम गर्न प्रदेश स्तरीय कोरोना नियन्त्रण समिति, स्वास्थ्य व्यवस्थापन समिति र बजार अनुगमन उच्च स्तरीय समिति गठन गरेको छ ।
प्रदेश स्तरीय कोरोना नियन्त्रण समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा आर्थिक मामिला तथा योजना मन्त्री, सामाजिक विकास मन्त्रालय मन्त्री सदस्य रहेका छन् । यस्तै सदस्यहरूमा मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार, प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, हेटौँडा स्थित प्रदेश स्तरीय कार्यालयका प्रमुखहरू, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य सचिव रहने निर्णय भएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गलेलले जानकारी दिनुभयो ।
यस्तै सामाजिक विकास मन्त्रीको संयोजकत्वमा ६ सदस्ययी स्वास्थ्य व्यवस्थापन समिति गठन भएको छ । समितिको सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, सदस्य रहेका छन् भने सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सदस्य सचिव रहेका छन् ।
प्रदेश सरकारले सात सदस्यीय बजार अनुगमन उच्च स्तरीय समिति पनि बनाएको छ । समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री संयोजक रहेका छन् भने सदस्यहरूमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रमुख , स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख सदस्य र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय निर्देशक सदस्य सचिव रहेका छन् ।