INSEC Online

📅 २०८३ जेष्ठ २२

कोरोना कहरः एसईईसहितका चैतमा हुने सबै परीक्षा स्थगित (सूचना सहित)

एसईई परीक्षासहित सबै तहका परीक्षा स्थगित गरिएको शिक्षा,  विज्ञान तथा प्रविधि मन्त्रालय राष्ट्रिय परीक्षा बोर्डले छुट्टाछुट्टै सूचना निकालेर सरोकारवालालाई सूचित गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९)  को सङ्क्रमण देखिने जोखिम बढेको भन्दै सरकारले सबै तहका परीक्षा स्थगित गरेको हो ।

चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी सहभागी हुँदै थिए । उनीहरूमध्ये कतिपय परीक्षा केन्द्र तोकिएको क्षेत्रमा पुगिसकेका थिए ।

कूल ८६ ओटा विषयका करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला-जिल्ला पुगिसकेका थिए । सबै तयारी पुरा भइसकेको भएपनि परीक्षा सुरू हुने अघिल्लो दिन साँझ सरकारले स्थगितको निर्णय गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले परीक्षाहरू स्थगित गर्ने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी दिए ।

कोरोनाको जोखिम बढेको भन्दै सिटिईभिटीलगायत विश्व विद्यालयका सबै तहका परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमणको खतरालाई मध्यनजर गरी परीक्षाहरू स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएके ५ ।

सरकारी,सामुदायिक तथा निजी क्षेत्रबाट संचालित सबै प्रकारका बाचलबिकास केन्द्रहरू, आधारभूत तथा माध्यामिक विद्यालयहरू, शैक्षिक प्रतिष्ठानहरू र विश्वविद्यालयहरूको पठनपाठन पनि चैतमसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

यस्तै अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट सञ्चालन हुने सबै प्रकारका तालिम, गोष्ठी, सभा सम्मेलन जस्ता कार्यक्रमहरू पनि चैत मसान्तसम्मका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

moepressrelease20200318 nebpressrelease20200318

अन्य

भिडियो