डिलाशैनि गाँउपालिकाकाको केन्द्र तोक्ने विषयमा विवाद हुँदा चैत २ गतेदेखि गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ को वडा कार्यालयमा स्थानीयले लगाएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका छन् ।
वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण सेवाग्राहीले समस्या भोग्नु परेको स्थानीय इश्वर बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘नागरिकताको सिफारिस, जन्म दर्ता लगायत अन्य कामको सिफारिसका लागि समस्या भएको छ ।’
पुनर्संरचना आयोग र गाउँकार्यपालिकाको पहिलो बैठकले गरेको निर्णय कार्यान्वयन गर्न माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । ।
पुनर्संरचना आयोग र गाउँकार्यपालिका बैठकको पहिलो निर्णयले गाउँपालिकाको केन्द्र डिलाशैनी – ७ मा राख्ने निर्णय गरेको भएपनि गाउँसभाबाट पालिकाको केन्द्र डिलाशैनी गाउँपालिका– ३ पंसेरामा राख्ने भनि सिफारिस भएपछि विवाद चर्किएको हो ।
‘कार्यपालिकाको पहिलो बैठकमा गरिएको निर्णय कार्यान्वयन नगरेपछि स्थानीयले ताला लगाएका हुन् । वडा कार्यालयमा लगाइएको ताला खोल्ने विषयमा छलफल भइरहेको छ ।’ डिलाशैनी –७ का वडा अध्यक्ष प्रेमसिह धामीले भन्नु भयो।
गाउँपालिकाको केन्द्र तोक्ने विषयमा डिलाशैनी गाउँपालिका– ४, ५, ६ र ७ का स्थानीयले विगतदेखि नै आन्दोलन गर्दै आएका थिए ।
स्थानीयले आन्दोलन गरिरहेकै अवस्थामा चैत ३ गते गाउँसभाले गाउँपालिकाको केन्द्र हालको सम्पर्क कार्यालय रहेको डिलाशैनी गाउँपालिका –३ पंसेरामा राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराको भनाइ छ ।
गाउँकार्यपालिकाका केही सदस्यहरूलाई डर र धम्की देखाइ बलजफती गाउँपालिकाको केन्द्र पंसेरा तोकिएकाले आन्दोलन गर्नु परेको डिलाशैनी गाउँपालिका – ७ का स्थानीय प्रजापती जोशीले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले गाउँसभाको दुई तिहाईबाट पालिकाको केन्द्र पंसेरामा राख्ने निर्णय गरेको बताएपछि गाउँसभामा सहभागि कार्यपालिका सदस्य बिरदत्त भट्टले आफूलाई डरधम्की देखाइ पंसेराको पक्षमा वकालत गर्न दवाफ दिइएको आरोप लगाउनु भयो ।
डिलाशैनी गाउँपालिकाको केन्द्र तोक्ने विषयमा विगतदेखि नै विवाद हुदै आएको र पालिकामा विरोध प्रर्दशन, आगजनी, चक्काजाम र तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेका छन् ।