INSEC Online

📅 २०८३ जेष्ठ २१

रामगोपालपुरको स्वास्थ्य चौकी शुद्ध खानेपानी र शौचालयविहीन

रामगोपालपुर नपा–७ सहसौला स्थित स्वास्थ्य चौकीमा शौचालय र खानेपानीको व्यवस्था नहुदाँ सेवाग्राहीहरुलाई समस्या भएको छ ।

स्वास्थ्य सेवा प्रदान गर्ने जस्तो संवेदनशील सार्वजनिक संस्थामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था नहुँदा उपचारका लागि आउने सर्वसाधारणहरू मार्कामा पर्दै आएका छन् ।

परिसरमा शौचालयको व्यवस्थापन नभएपछि उपचारका लागि आउनेहरू दिसापिसाब लागेको समयमा छट्पटिएर सेवा लिन बाध्य रहेको स्थानिय कलावती यादवले गुनासो पोख्नु भयो ।

शौचालय नभएपछि शौच गर्नका लागि अरुको घरमा जानुपर्ने बाध्यता रहेको सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी सरस्वती यादवले दुःखेसो पोख्नु भयो । पुरुष कर्मचारीले यताउति गएर काम चलाइहाल्छन्, तर महिलालाई शौचालय र खानेपानी नहुदाँ झनै समस्या हुन थालेको अनमी यादवले बताउनु भयो ।

स्वास्थ्य चौकी सहसौलामा विगत लामो समयदेखि शौचालय र खानेपानीको व्यवस्था नभएको स्वीकार गर्नुहुँदै स्वास्थ्य चौकी प्रमुख अहेव. लक्ष्मण महतोले भन्नु भयो–“यस सम्बन्धमा हामीले विभिन्न समयमा स्थानिय तहलाई जानकारी गराइसकेको छौँ । नगरपालिकाको कार्यालयले अहिलेसम्म सोको सम्बन्धमा कुनै किसिमको व्यवस्थापन गर्न सकेको छैन ।”

यस सम्बन्धमा नगर प्रमुख अशोककुमार मण्डलले स्वास्थ्य चौकीको लागि पर्याप्त बजेट नहुँदा शुद्ध खानेपानी र शौचालय समयमा निर्माण गर्न नसकिएको प्रतिक्रिया दिनु भयो । अगामी दिनमा सो स्थान लगायत सार्वजानिक स्थलमा शुद्ध खानेपानी र शौचालय निर्माण गरिने नगर प्रमुख मण्डलले बताउनु भयो ।

सो स्वास्थ्य चौकीमा हाल सिनियर अहेब एक जना, अहेव दुई जना र अनमी एक जना गरी चार जना कार्यरत छन् ।

अन्य

भिडियो