मालिका गाउँपालिका–६ तोलावाङमा ०७६ चैत २ गते राति एउटा एक्जाभेटर र जेसिभीमा अज्ञात पक्षले आगजनी गरेको छ ।
क्याराबान कन्स्ट्रक्सनको बा २ क ७४४ नम्बरको जेसिभी र पिसि २१० को बा २ क ९२१० नम्बरको एक्जाभेटर आगजनीबाट पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय दरवाङका इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताउनुभयो ।
राति १२ बजेर ४५ मिनेटको समयमा एक्कासि आगो लागेको सूचनाका आधारमा दरवाङबाट खटिएर गएको प्रहरी टोलीले राति साढे १ बजे आगो नियन्त्रण गरेको इन्स्पेक्टर अधिकारीले बताउनुभयो ।
बेनी–दरवाङ सडक खण्डको मंगला गाउँपालिका–२ को लाम्पाटा देखि मालिका गाउँपालिका–६ दरवाङ सडक स्तरोन्नतिको लागि काम गर्दै गरेको उक्त एक्जाभेटर र जेसिभीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जि.सी.ले बताउनुभयो ।
आगजनी गर्नेहरुको पहिचानका लागि प्रयास भएपनि आगजनी कसले के कारणले गरेको भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताउनुभयो ।





