२० वर्षीया अविवाहित चार महिनाकी गर्भवती युवतीले आफुलाई न्याय दिलाउन स्थानीय प्रशासनले चासो नलिएको गुनासो गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा फागुन ५ गते दिएको उजुरी चैत ३ गतेसम्म पनि दर्ता नगरेको पीडितको आरोप छ ।
चार महिनाको गर्भ लिएर माघ महिनादेखि नै जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, प्रदेश प्रहरी कार्यालय लगायतको सरोकारवाला निकायमा निरन्तर जानकारी गराउँदा पनि आफुले दिएको उजुरी दर्ता नगरेको पीडितको गुनासो छ ।
क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगर स्थायी घर भई मोबाइल पसलमा कार्यरत हाल जनकपुरधाम –४ बस्दै आएका २० वर्षीय शिवराज श्रेष्ठले आफुलाई विवाह गर्ने प्रलोभन दिएर बलात्कार गरि गर्भवती बनाएको पीडित युवतीले जानकारी दिनु भएको छ ।
दुई महिनादेखि दैनिक जिल्ला प्रहरी कार्यालय धनुषा लगायतको ठाउँमा आफुले उजुरी दर्ताको लागि पहल गरेपनि केटा पक्षसँग मिलेर प्रहरीले उजुरी दर्ता नगरेको पीडित युवतीको आरोप छ । पीडित युवतीका अनुसार आफु असुरक्षित भएको महसुस गरि रहेको भन्दै आफु बस्दै आएको घरको वरिपरि समेत शङ्कास्पद व्यक्तिहरु आउने जाने गरेको बताउनु भयो । उहाँ भन्नु हुन्छ–आफुलाई न्याय दिलाउनुको सट्टा केटा पक्षको पृष्ठपोषण भइरहेको छ । आफुलाई चौतर्फी रुपमा गर्भ तुहाउने दवाव दिएको पीडितले बताउनु भएको छ ।