हिमा गाउँपालिकास्थित पशु शाखामा दरवन्दी अनुसारका पशु प्राविधिक पाँच महिनादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् ।
६ जना कर्मचारीको दरवन्दी रहेको उक्त पशु शाखामा हाल एक जना मात्र कर्मचारी कार्यरत छन् ।
समयमा पशु सेवा नपाउदा हिमा गाउँपालिका–६ महाबैपाथरखोला गाउँका छत्रबहादुर अधिकारीका २० ओटा भेडाबाख्रा अज्ञात रोगले मरेका छन् ।
समयमा उपचार नपाएपछि उहाँका २० भेडाबाख्रा अज्ञात रोगले मरेका थिए । भेडाबाख्रा मरेपछि करिब डेढ लाख रुपियाँ बराबरको क्षति भएको उहाँले गुनासो गर्नु भयो ।
भेडाको भुडी ढाडिने र पहेलो पातलो दिशा गरेर मर्ने गरेको भेडा कृषक अधिकारीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो अहिले यस्तो रोग भेडीखर्कमा फैलिएको छ । यसको समयमा नियन्त्रण नहुँदा ठूलो क्षति हुने सम्भावना रहेको उहाँले बताउनु भयो ।
जीविकोपार्जनका लागि साना ठूला गरी ६५ भेडाबाख्रा पालेको थिए त्यही पनि के रोग लागेर २० भेडा मरिसके अझ कति मर्ने हुन् । रोग फैलिएको छ । यसलाई समयमा नियन्त्रण गर्न उहाँले स्थानीय सरकारसँग माग गर्नुभयो ।
भेडाको बीमा पनि गरिएको छैन । मरेका भेडाको क्षतिपूर्ति पनि पाउने सम्भावना छैन । जुम्लामा शिखर इन्सुरेन्समार्फत पशु बीमा गर्ने भएपनि हिमा गाउँपालिकामा एजेन्ट नभएका कारण बीमा नभएको जनाइएको छ ।
हिमा गाउँपालिकाका पशु शाखाका संयोजक नरसिंह थापाका अनुसार भेडा मरेको जानकारी आएको छ । लक्षण अनुसार ६ मासे रोग हुनुपर्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो सोही अनुसार औषधि दिएर पठाएका छौँ ।
यस पशु शाखामा ६ जनाको कर्मचारी दरवन्दी हो तर अहिले एक जना मात्र भएकाले फिल्डमा जान पाइएको छैन । एक जना कर्मचारीले कार्यालय खोल्ने कि फिल्ड जाने निकै समस्या भएको उहाँले बताउनुभयो ।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर्मचारी समायोजनका कारण दरवन्दी अनुसार कर्मचारी व्यवस्थापन भएको छैन् । प्राप्त कर्मचारी छैनन् उहाँले भन्नुभयो भएका कर्मचारीले जेनतेन व्यवस्थापन गर्दै आएका छौँ । भेडीखर्कमा फैलिएको रोगका विषयमा जानकारी लिन र उपचार गरी रोकथाम गर्न कर्मचारी खटाउने उहाँले बताउनुभयो ।