INSEC Online

📅 २०८३ जेष्ठ २२

हत्या घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका– ४ डिमनका दिलिपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय बिनोदकुमार यादवलाई फागुन २९ गते पक्राउ गरेको छ ।

photo20200313saptari (2)

फरार रहेका आरोपितहरूलाई ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा सुनसरीको इनरुवा नगरपालिका– ९ बबीयाबाट गिरफ्तार गरेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

आरोपितहरूले ०६२ असोज १७ गते दिलिपलाई गोली हानी हत्या गरेको आरोपमा मृतकका भाई दिपनारायण यादवले ईलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०६२ असोज १८ गते उजुरी दिनुभएको थियो । प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यानको उजुरी दर्ता गर्दै शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०६२ असोज १८ गते पोस्टमार्टम गरेको थियो ।

photo20200313saptari (1)

जिल्ला अदालतबाट ०७५ मङ्सिर २० गते वारेण्टसहितको म्यादी पुर्जी जारी भएपछि आरोपितहरूको खोजी भइरहेकोमा सुनसरीको इनरुवाबाट उनीहरूलाई फेला पारी गिरफ्तार गरिएको डिएसपी मिश्रले बताउनु भयो । घटना लगत्तै फरार रहेका सुकदेव यादवको परिवार पछिल्लो समय सुनसरीको इनरुवा नपा–९ बबीया गई बसोवास गर्न थालेका थिए । डिएसपी मिश्रका अनुसार फागुन २९ गते गिरफ्तार आरोपितहरूलाई सुनसरीबाट सप्तरी ल्याइएको र ईलाका प्रहरी कार्यालय कञ्चनरुपमा नियन्त्रणमा राखिएको छ ।

गिरफ्तार सुकदेव तत्कालिन नेकपा माओवादीका एरिया कमिटी सदस्य रहेको जानकारी दिनु हुँदै तत्कालिन माओवादीका नेता एवम् नेकपा प्रदेश कमिटी सदस्य देवनाथ यादवले घर गएका बेला सुकदेवको घर तोडफोड गरी आक्रमण गर्न खोज्दा प्रतिकारमा दिलिप मारिएको बताउनु भयो । उक्त घटना द्वन्द्वकालिन मुद्दा भएको र मृतक परिवारले सो वापत राज्यबाट क्षतिपूर्ति समेत पाइसकेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो