भजनी नगरपालिकाको न्यायिक समितिले एक महिनादेखि न्याय सम्पादन गर्ने कार्य बन्द गरिएपछि त्यस क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् ।
भजनी नगरपालिका—८ थापापुरका टिकाराम चौधरीले जग्गाको साँधसीमाना विवादको उजुरी दिन जादा उजुरी दर्ता भएको तर छलफल र निर्णय नभएको गुनासो गर्नु भयो ।
घरेलु हिंसाको उजुरी गर्न गएकी भजनी नगरपालिका—३ की कस्तुरीया चौधरीले उजुरी दर्ता गराएर मात्र फर्केको गुनासो गर्नु भयो ।
न्यायिक समितिका सदस्य चिरन्जीवि उपाध्यायले एक महिनादेखि सेवाग्राहीको उजुरी मात्र दर्ता गर्ने गरेको तर कुनै छलफल र निर्णय नभएको बताउनु भयो ।
न्यायिक समितिमा कानुनी सल्लाहाकार र इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको कारण न्यायिक समितिको कामकाज बन्द गर्नु पारेको भजनी नगरपालिका न्यायिक समिति संयोजक छाया देवकोटाले बताउनु भयो ।
उहाँले भन्नु भयो — ‘छैठौँ नगर सभामा कानुनी सल्लाहाकारको लागि प्रस्ताव पेश गरे । तर, कुनै सुनुवाइ भएन् । आफूलाई कानुनी ज्ञान नभएको कारण न्याय सम्पादनमा समस्या भएको छ । ज्ञानको अभावमा निर्णय गर्दा समस्यामा पर्ने हुँनाले न्यायिक समितिको जिम्मेवारी नगर प्रमुखलाई नै दिएकी छु ।’
न्याय सम्पादन ठप्प हुनुको कारण र स्थानीय सेवाग्राहीलाई परेको समस्याका सम्बन्धमा भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीसँग जानकारी लिन प्रयास गरिएको भए पनि उहाँसँग सम्पर्क हुन सकेन् ।